काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाई बिदाई भएका छन् । उनलाई नेपाल क्रिकेट एसोसियसन (क्यान) ले सम्झौता सकिएपछि सम्झौता नवीकरण नगरेर बिदाई गरेको जनाएको छ ।
क्यानले दुई वर्षअघि नेपाली राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षकमा नियुक्त भएका मोन्टीको सम्झौता नवीकरण नगरेर बिदाई गरेको जनाएको हो ।
क्यानका प्रवक्ता छुम्बी लामाले प्रेस विज्ञप्ति जारी गर्दै मोन्टीको सम्झौता नवीकरण नगर्ने क्यानले निर्णय गरेको जानकारी दिए ।
क्यानले मोन्टीको प्रशिक्षणमा नेपाली पुरुष क्रिकेट टिमले गरेको उत्कृष्ट प्रदर्शन र सफलताको लागि उनलाई धन्यवादज्ञापनसमेत गरेको छ ।
देसाई २०७९ माघमा मासिक १५ हजार डलर पारिश्रमिक र अन्य सुविधा पाउने गरी नेपाली राष्ट्रिय पुरुष क्रिकेट टीमको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए । उनी प्रशिक्षक बनेसँगै नेपालले लिग– २ का अन्तिम १२ मध्ये ११ खेल जितेर एक दिवसीय मान्यता जोगाएको थियो ।
तर पछिल्लो अवधिमा राष्ट्रिय टीमको प्रदर्शन सन्तोषजनक रहेको छैन । मोन्टीको प्रशिक्षणमा नेपालले ओडीआइ मान्यता जोगाउनुका साथै विश्वकप छनोट, एसिया कप र दोस्रो पटक टी–२० विश्वकप खेलेको थियो ।
मोन्टीकै प्रशिक्षणमा नेपालले दोस्रो पटक टी– २० विश्वकप समेत खेलेको थियो । अब भने उनको स्थानमा मुख्य प्रशिक्षक कसलाई नियुक्त गर्नेबारे यकिन छैन ।
प्रतिक्रिया