काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० महिला क्रिकेट सिरिजअन्तर्गत नेपाल आफ्नो दोस्रो खेलमा आज थाइल्याण्डसँग ४ विकेटले पराजित भएको छ । यो नेपाली टोलीको लगातार दोस्रो हार हो भने थाइल्याण्डले लगातार दोस्रो जित हात पारेको हो । पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो ।
थाइल्याण्डले शुक्रबार भएको खेलमा नेदरल्याण्ड्समाथि ८ विकेटको सहज जित हासिल गरेको थियो । आज टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । थाइल्याण्डका लागि नान्नापतले नट आउट रहँदै सर्वाधिक ६० रन जोडिन् । उनले ५८ बलमा ६ चौका प्रहार गरिन् ।
१६औँ ओभरको चौथो बलमा नान्नापतले जीवनदान पाएकी थिइन् । उनी रुबिना क्षेत्रीको बलमा कप्तान इन्दु बर्माले क्याच मिस गरेका थिइन् । १७औँ ओभरको अन्तिम बलमा नेपालकी मनिषा उपाध्याय घाइते भएर मैदान छोडेकी थिइन् ।
सुवानान खियाओतो १४ तथा कप्तान नारुइमोल चाइवाई १३ रनमा आउट भइन् । नेपालका लागि मनिषा उपाध्यायले २ तथा कविता जोशी, कविता कुँवर र रुबिना क्षेत्रीले समान १ विकेट लिइन् । तेस्रो ओभरको अन्तिम बलमा बलिङका क्रममा कविता कुँवर घाईते भएकी थिइन् ।
उनको ढाडमा समस्या आएपछि अस्पताल लगिएको थियो । त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको थियो ।
नेपालका लागि कविता कुँवर र विन्दु रावलले सर्वाधिक रुपमा समान २५ रन बनाए । कविताले ३२ बलमा २ चौका प्रहार गरिन् । बिन्दुले २५ बलमा ३ चौका प्रहार गरिन् । कप्तान इन्दु बर्माले १७ बलमा २ चौकाको सहयोगमा १५ रन जोडिन् ।
ओपनर सम्झना खड्काले रनको खाता खोल्न नसक्दा ममता चौधरीले २ रन जोडिन् । पुजा महतो ६ तथा रुबिना क्षेत्री ४ रनमा आउट भइन् । कविता जोशी ८ तथा सिता राना मगर २ रनमा आउट भइन् ।
थाइल्याण्डका लागि थिपचा पुत्थावोंगले ३, फन्नीता माया र नाट्टाया बुचाथमले समान २ तथा चानिदा सुत्थीरुआंगले १ रन जोडिन् । नेपालले चौथो भेटमा पहिलो पल्ट थाइल्याण्डसँग टि ट्वान्टी आईमा १ सय रन पूरा गरेको हो ।
जितसँगै २ खेलमा थाइल्याण्डको ४ अंक भएको छ । खेलेको दुवै खेलमा पराजित नेपाल अंकविहीन छ । आफ्नो तेस्रो खेलमा नेपालले आइतवार नेदरल्याण्ड्ससँग खेल्नेछ । थाइल्याण्डले भने तेस्रो खेलमा सोमवार नेदरल्याण्डसँग खेल्नेछ ।
प्रतिक्रिया