काठमाडौँ । आगामी शनिबार हुने पालिकास्तरीय इन्डोर क्रिकेट प्रतियोगिता २०८१ को ट्रफी अनावरण गरिएको छ । नेकपा (एमाले) रिब्दिकोट पाल्पा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजना हुन लागेको पालिकास्तरीय इन्डोर क्रिकेट प्रतियोगिताको बिहीबार काठमाडौँमा एक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले ट्रफी अनावरण गरेका थिए । सो अवसरमा प्रतिनिधिसभा सदस्य गैरेले खेलकुदले व्यक्तिको शारीरिक र मानसिक विकाससँगै समाजमा उत्साह र जागरण ल्याउने बताए । उनले खेलको मर्यादालाई आत्मसात् गरेर कार्यक्रमलाई सफल बनाउनेमा आफू आशावादी रहेको बताए ।
‘खेलकुदले व्यक्तिको शारीरिक मात्रै नभएर मानसिक विकाससँगै समाजमा उत्साह र जागरण ल्याउँछ ।’ प्रतिनिधिसभा सदस्य गैरेले भने, ‘खेलको मर्यादालाई आत्मसात् गरेर कार्यक्रमलाई सफल बनाउनुहुन्छ भन्नेमा म आशावादी छु ।’
सो अवसरमा नेकपा (एमाले) पाल्पा–काठमाडौँ सम्पर्क मञ्चका इन्चार्ज रामहरि शाही समुन्द्रीले ट्रफी देख्दा तामा, पित्तल लगायतका पदार्थहरूले बनेको भए पनि यो सम्मानको एउटा बिम्ब रहेको बताए ।
मञ्चको आयोजनामा आगामी शनिबार ललितपुरको हात्तीवनस्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा प्रतियोगिता आयोजना हुँदै छ । प्रतियोगितामा ८ टोली सहभागी हुने एमाले रिब्दिकोट पाल्पा–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष कमलप्रसाद पाण्डेले जानकारी गराए ।
उनका अनुसार विजेता टोलीले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीले नगद ११ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । खेलमा ‘म्यान अफ द म्याच’ हुनेलाई एकदिनको चन्द्रागिरि हिल्सको टिकटसँगै प्याकेजको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया