महिला टी– २० क्रिकेट : पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित

काठमाडौं । क्रिकोणात्मक महिला टी– २० आई क्रिकेटअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल नेदरल्याण्डससँग २० रनले पराजित भएको छ । काठमाडौंमा आजदेखि सुरू भएको खेलमा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित छन् ।

यस सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले दिएको १५८ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि सिता रानामगरले सर्वाधिक २८ रन बनाइन् । ४५ बलको सामना गरेकी सिताले ३ चौका प्रहार गरिन् । त्यस्तै कविता जोशीले २७ तथा पुजा महतोले २४ रन बनाइन् ।

नेदरल्याण्ड्सका लागि इभा लिन्च र क्यारोलिन डे लाङले २–२ विकेट लिए । आइरिस विलिङ र फ्रेडरिक ओभरडाइकले १–१ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनाएको थियो ।

नेदरल्याण्ड्सका लागि रोबिन रिकेले अविजित अर्धशतकीय पारी खेलिन् । उनले ४८ बलमा ८ चौकासहित ५९ रन बनाइन् । त्यस्तै आइरिस विलिङले १३ बलमा ३१ रनको फिनिसिङ पारी खेलिन् ।

नेपालका लागि कविता कुँवर, पुजा महतो, सिता राना मगर र ईश्वरी विष्टले एक–एक विकेट लिए । नेपालले महिला टी–२० आईमा पूरा गरेको सबैभन्दा ठूलो लक्ष्य ११६ रनको हो । यो लक्ष्य नेपालका लागि चुनौतिपूर्ण हुनेछ । नेपालका लागि दुई खेलाडीले डेब्यू समेत गरे । एलिसाकुमारी यादव र मनीषा उपाध्यायले डेब्यू गरेका हुन् ।

शृंखलामा सबै टोलीले एक अर्कासँग ३–३ खेल खेल्ने छन् । नेपालले दोस्रो खेल शनिबार थाइल्याण्डसँग खेल्ने छ । माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्याण्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने तालिका छ ।

प्रतिक्रिया