एपिएफले जित्यो उपाधि

काठमाडौँ । अपराजित रहँदै एपिएफ क्लबले एन्फा महिला लिगको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गरेको हो । एपिएफले लिगका १९ खेलमा १८ जित र १ बराबरीको नतिजा हात पा¥यो । त्यो १ बराबरी लिग चरणमा पुलिसविरुद्ध नै थियो । तर, चौथो भेटमा भने पुलिसले त्यति सशक्त प्रदर्शन गर्नै सकेन ।

एपिएफलाई लगातार उपाधि दिलाउन सविता रानामगरले २ गोल गरिन् । यस्तै, सरु लिम्बू र अनु लामाले समान १–१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६४औँ मिनेटमा सविताको गोलमार्फत एपिएफले सुरुआती अग्रता लिएको हो । अनिता केसीसँग तालमेल मिलाउँदै सरु लिम्बूले दिएको क्रसमा सविताले सहजै गोल गरिन् ।

त्यसको ६ मिनेटपछि नै सरुले नै अग्रता दोब्बर बनाएकी हुन् । रश्मिकुमारी घिसिङको हेडर बारमा लागेर फर्किएको थियो । त्यही बललाई डिफेन्डर अमृता जैशीसामुबाट सरुले फिनिसिङ गरिन् । ८४औँ मिनेटमा सविताले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन् । प्रीति राईले मध्यभागभन्दा तलबाट दिएको लामो क्रसलाई उनले रन बनाउँदै सहजै गोलमा परिणत गरे । लगत्तै प्रीतिको प्रहार माथिल्लो बारमा लागेर फर्किएको थियो । इन्जुरी समयमा वैकल्पिक खेलाडी अनुले गोल गर्दै एपिएफको ४–० को जित पक्का गरिन् । उनी ८७औँ मिनेटमा रेनुका नगरकोटेको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

अनुले लिइन् सन्न्यास

नेपाली राष्ट्रिय टोलीकी पूर्वस्ट्राइकर अनु लामाले घरेलु फुटबलबाट पनि सन्न्यास लिएकी छन् । करिब ६ वर्षअघि नै अन्तर्राष्ट्रिय खेल जीवनबाट उनले सन्न्यास लिइसकेकी थिइन् । यद्यपि, ३७ वर्षीय अनुले विभागीय टोली एपिएफबाट घरेलु फुटबल भने खेल्दै आएकी थिइन् । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न एन्फा महिला लिगको फाइनलमा नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गरेलगत्तै उनले सन्न्यास लिएकी हुन् ।

उनी ८७औँ मिनेटमा रेनुका नगरकोटेको स्थानमा कप्तानी आर्मब्यान्ड लगाउँदै मैदान छिरेकी थिइन् । इन्जुरी समयमा उनले गोलसमेत गरेकी थिइन् । उनलाई खेल सकिनेबित्तिकै भावुक बनेकी उनलाई एपिएफका खेलाडीले गार्ड अप द अनरबाट सम्मान गर्दै बिदाइ गरेका थिए ।

उनले सन्न्यास लिने भएसँगै फाइनलअघि नै एपिएफका प्रशिक्षक, स्टाफ र खेलाडीहरूले अनुसँग सामूहिक तस्बिर लिएका थिए । अनुले सन् २०१० मा बंगलादेशविरुद्ध दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबल प्रतियोगितामा नेपाली यु–२३ टोलीमा डेब्यू गरेकी थिइन् । उनले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई कांस्य पदक जिताउन महत्वपूर्ण योगदान दिइन् । अनुले पाकिस्तानविरुद्धको सेमिफाइनलमा ह्याट्रिक गर्दै नेपाललाई ७–० को जित दिलाएकी हुन् ।

त्यही वर्ष आयोजना भएको साफ महिला च्याम्पियनसिप खेल्न उनलाई नेपाल राष्ट्रिय महिला टोलीमा बोलाइएको थियो । १२ डिसेम्बर १२ मा माल्दिभ्सविरुद्धको डेब्यु खेलमै गोल गरेकी थिइन् । सो खेलमा नेपालले ३–० को जित हासिल गरेको थियो । त्यसको २ दिनपछि अफगानिस्तानसँगको भेटमा उनी एक्लैले ५ गोल गर्दै १३–० को जित दिलाएकी थिइन् ।

पाकिस्तानसँगको १२–० को जितमा पनि उनले ह्याट्रिक गरेकी थिइन् । बंगलादेशलाई ३–० ले हराउँदा उनले १ गोलको योगदान दिए पनि नेपाल फाइनलमा पराजित भएको थियो । उनले ३ पटक साफमा सहभागिता जनाएकी छन् । जसमा २१ गोल गर्दै नेपालका लागि सर्वाधिक गोलकर्ताको सूचीमा उनी अग्रस्थानमा पुगेकी थिइन् ।

सो कीर्तिमानलाई सावित्रा भण्डारीले मात्रै पछ्याइरहेकी छन् । अनुले साफसहित राष्ट्रिय जर्सीमा ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छन् । यद्यपि, एसिएल शल्यक्रियापछि डिसेम्बर २०१६ देखि उनलाई बेन्चमा राखिएको थियो । अनुले शल्यक्रियापछि डेढ वर्षको विश्राम लिएर पुनः खेलमा फर्किएकी थिइन् । यद्यपि, उनी कहिल्यै राष्ट्रिय टोलीको पहिलो रोजाइमा परिनन् ।

उनको लोभलाग्दो प्रदर्शनका बाबजुद सन् २०१९ मा भएको १९औँ सागअन्तर्गत विराटनगरमा सम्पन्न महिला फुटबलमा तत्कालीन मुख्य प्रशिक्षक हरि खड्काले उनलाई टोलीमा राखेका थिएनन् । त्यसैले उनले एन्फा डेको अवसर बनाएर अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएकी थिइन् ।

प्रतिक्रिया