काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्को मंगलबार बसेको बोर्ड बैठक विवादित भएको छ । सिंहदरबारमा बसेको १२०आँै बोर्ड बैठकले २३ चैतदेखि हुने भनिएको १०आँै बृहत् राष्ट्रिय खेलकुदसमेत निर्धारित समयमा नहुने सम्भावना बढेको छ । बोर्ड बैठकको अध्यक्षता गरिरहेका युवा तथा खेलकुदमन्त्री तेजुलाल लाल चौधरीले सरकारमा एमाले र कांग्रेस रहेका कारण सोही दलका व्यक्ति कार्यकारी सदस्य हुनुपर्ने भन्दै सुवर्ण श्रेष्ठ र भानु चन्दको नाम प्रस्ताव गरेका हुन् ।
मन्त्री चौधरीले नाम प्रस्ताव गर्ने बित्तिकै बोर्ड सदस्य अञ्जन धमला, प्रकाश कुमार कुसारी र जनक बड्तौलाले बहिष्कार गरेका थिए । उनीहरूलाई एमालेबाट प्रतिनिधित्व गरेकी नन्दा बस्यालले पनि साथ दिइन् । समाचार श्रोतका अनुसार डा.मधुसुदन सुवेदी, बिना श्रेष्ठ र अञ्जना श्रेष्ठले पनि बैठक बहिष्कार गरे । उनीहरूले योग्यता र दक्षताको आधारमा तथा खेलकुदमा गरेको योगदानको आधारमा कार्यकारी सदस्य हुनुपर्ने आवाज उठाएका थिए ।
२३ देखि ३० चैतसम्म कर्णाली प्रदेशमा हुने भनिएको १०औँ राष्ट्रिय खेलकुदसमेत मन्त्रीको कारण हुन नसक्ने उनीहरूको दाबी थियो । मन्त्री चौधरी विवादमा परेको यो पहिलो घटना भने होइन । यसअघि मन्त्री चौधरीले धमला, कुसारी र बड्तौलालाई बोर्ड सदस्यबाट बर्खास्त गरे पनि तीनै जना अदालतको स्टे अर्डरका कारण पदमा फर्किएका थिए ।
चौधरीले आफैँ सञ्चालक रहेको नाइटिङ्गल स्कुलकी प्रिन्सिपल रञ्जना प्रधानलाई राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकमा नियुक्त गरेका छन् । यसअघि मन्त्री चौधरी विभिन्न विषयमा विवादमा समेत आएका छन् । आफू सञ्चालक रहेको नाइटिङ्गल स्कुलकी प्रिन्सिपल रञ्जना प्रधानलाई बोर्ड सदस्य चयन गरेको भन्दै मन्त्री चौधरी विवादमा आएका थिए ।
कार्यकारी सदस्यमा नियुक्त श्रेष्ठ मदन भण्डारी स्पोट्र्स फाउन्डेसनकी नेतृत्व तहमा छिन् । यसअघि सुवर्ण राखेपको बोर्ड सदस्यको रूपमा काम गरिसकेकी छन् । उनी नेपाल हक्की संघको महासचिवसमेत हुन् । यस्तै कांग्रेस कोटाबाट बोर्ड सदस्यमा आएका चन्द पाटी सभापति शेरबहादुर देउवाका निकट भएकै कारण उनलाई कार्यकारी सदस्यमा नियुक्त गर्न मन्त्री चौधरीमाथि दबाब परेको जनाइन्छ । राखेपका ७ सदस्यीय कार्यकारी समितिमा यसअघि नै कमल भट्टराई कार्यकारी सदस्यमा नियुक्त भइसकेका छन् ।
प्रतिक्रिया