भारत वर्षमा गणतान्त्रिक प्रणालीको बीजारोपण चक्रवर्ती सम्राट भरतले गरेको मानिन्छ । गणतन्त्रको प्रभाव गौतम बुद्ध तथा उनको पुर्खाको शासनकालमा पनि रहेको पाइन्छ । स्वयं सिद्धार्थ पनि एउटा गणराज्यमै जन्मेका थिए । कौटिल्यको अर्थशास्त्रमा गणराज्यहरूको शक्ति तथा कमजोरीको तुलनात्मक विश्लेषण राजतन्त्रसँग गरिएको पाइन्छ । गणतान्त्रिक राज्यसत्ता मौर्य साम्राज्यको स्थापनासँगै समाप्त हुन पुग्यो
दक्षिणी छिमेकी देश भारतले आफ्नो ७६औँ गणतन्त्र दिवस मनाइरहेको छ । आजकै मितिमा अर्थात सन् १९५० जनवरी २६ मा भारतको संविधन जारी भएको थियो । भारतको संविधानको साढे ७ दशकको यात्रा निकै सफल र उपयोगी सावित भएको छ । १४० करोड जनसङ्ख्या, धार्मिक, जातीय एवं भाषिक विविधता र विशाल क्षेत्रफलका बावजुद भारतीय जनतामा अभूतपूर्व राष्ट्रप्रेम र एकता देख्न सकिन्छ । भारतीय जनताले संविधानलाई सर्वोपरि मानेका छन् र प्रत्येक समस्याको समाधान लोकतान्त्रिक तरिकाले तथा संविधानको परिधिभित्र रहेर नै चाहन्छन् । भारतको सफल सङ्घीयता, उच्च कोटीको लोकतन्त्र र निरन्तर समृद्ध हुँदै गएको गणतन्त्रको चारैतिर प्रशंसा गरिन्छ । भारतको संविधानमा आवश्यकता अनुसार संशोधन भएका छन् । प्रत्येक संशोधनले त्यहाँको लोकतन्त्रलाई बलियो बनाएको छ ।
विश्वको पाँचौ ठुलो अर्थव्यवस्था बनेको भारत, चाँडै नै चौथो ठुलो अर्थव्यवस्था बन्ने दिशामा अग्रसर छ । विश्वको चौथो ठुलो सैन्य क्षमता भएको भारतले, सूचना प्रविधि, अन्तरिक्ष अनुसन्धान विज्ञान, शिक्षा, कला साहित्य एवं संगीत समेतको क्षेत्रमा अभूतपूर्व उपलब्धि हासिल गरेको छ । भारतको सफल लोकतन्त्र, संघीयता र गणतन्त्र विश्वका अनेकौँ देशहरूको निम्ति प्रेरणाको स्रोत बन्न सक्छ । भारत, सन् १९४७ अगस्त १५ मा स्वतन्त्र भईसकेको थियो, तर जुनदिन भारतले आफ्नो संविधान जारी तथा लागु गर्यो , त्यसै दिन गणतन्त्र अथवा रिपबलिक भारतको घोषणा गरियो । त्यसै दिन भारतका प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले रावी नदीको किनारामा पुर्ण स्वराजको घोषणा गरेका थिए । त्यहाँका संविधन निर्माताहरूले दूरदर्शिता देखाएका थिए । संविधान कुनै धर्म ग्रन्थ जस्तो हुँदैन, यसमा संशोधनको सम्भावना रहन्छ, तर संविधानको निर्माण भने ऋषिमनले अवश्य पनि हुनुपर्दछ । संविधान निर्माताको सोच संकिर्ण हुनुहुँदैन । भारतको संविधान जारी भएको ७५ वर्ष पुरा भईसकेको छ तर आजसम्म कसैले संविधान र शासन प्रणाली माथि औँला ठडयाउने आवश्यकता महसुस गरेन ।
भारतका संविधान निर्माता डा.भीमराव अम्बेडकरले भनेका थिए, कुनै पनि देशको संविधान वकिलहरूले बनाएको कानूनी दस्तावेज मात्रै हुँदैन, यसमा मानवीय संवेदना र जनताका चाहना एवं अपेक्षालाई पनि समेटेको हुन्छ । संविधानको भाषा र दिशा प्रष्ट भएन भने यो केवल शब्दहरूको जंगल मात्रै सावित हुन्छ ।
महाभारतमा भिष्म पितामहले युद्धिस्ठिरलाई गणतन्त्रको स्थिरता र गणतन्त्रको विकासका बारेमा सम्झाउँदै भनेका छन् । ‘क्रोधो भेदो भयं दण्ड ः कर्षर्ण निग्हो बध, नत्यरिवंश सद्यो गणान् भारत सत्तम ।’ संघका जनतामा क्रोध, भेद, भय, दण्डप्रहार, बन्धनमा राख्ने प्रकृति तथा मार्ने प्रवृति उपस्थित भयो भने ती तत्काल शत्रुको बसमा परेका हुन्छन् । गणतन्त्रको सबैभन्दा बलियो पक्ष शासकीय पद्धति हुन्छ । शासकीय व्यवस्थामा जनताका जनजिविकाका सवालमा राज्य गम्भीर हुनु अनिवार्य मानिन्छ । गणतन्त्रको मुल मन्त्र जनतामा एकता हुनु हो । भारतको संविधानले त्यहाँका नागरिकलाई अधिकार सम्पन्न बनाई लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने काम गरेको छ ।
भारत वर्षमा गणतान्त्रिक प्रणालीको विजारोपण चक्रवर्ती सम्राट भरतले गरेको मानिन्छ । गणतन्त्रको प्रभाव गौतम बुद्ध तथा उनको पुर्खाको शासन कालमा पनि रहेको पाईन्छ । स्वयं सिद्धार्थ पनि एउटा गणराज्यमै जन्मेका थिए । कौटिल्यको अर्थ शास्त्रमा गणराज्यहरूको शक्ति तथा कमजोरीको तुलनात्मक विश्लेषण राजतन्त्रसँग गरिएको पाईन्छ । गणतान्त्रिक राज्यसत्ता मौर्य साम्राज्यको स्थापनासँगै समाप्त हुन पुग्यो ।
गणतन्त्र , लोकतन्त्र र जनगतन्त्रको सम्बन्ध बारे बुझनु आवश्यक छ । बेलायतमा लोकतन्त्र छ, गणतन्त्र होइन । तर जनतन्त्र निर्विवाद रुपले छ । अमेरिकामा गणतन्त्र पनि छ र जनतन्त्र पनि । फ्रान्सेली क्रान्ति पश्चात त्यहाँ बीच–बीचमा रुपान्तरित शासन पनि आयो, तर पनि त्यहाँ गणतन्त्र र जनतन्त्र दुवै रहि रह्यो । बेलायती उपनिवेशबाट मुक्त भएका अनेकौँ देशहरू क्यानडा, अष्ट्रेलिया र न्यूजिल्याण्डमा जनतन्त्र त छ तर गणतन्त्र छैन, किनभने यी राष्ट्रहरू बेलायतकी महारानीलाई राष्ट्रप्रमुख मान्ने गर्छन । अर्कोतिर उत्तरी कोरियाले पनि आफ्नो देश जनगणतान्त्रिक राज्य भएको दावी गर्दछ, तर यसको कसौटीमा कहिल्यै यो सफल भएको छैन ।
साम्यवादी शक्तिको उत्कर्षका बेला केन्द्रीय जनतन्त्रको परिकल्पनालाई प्रचार गरिएको थियो । माओवादी चिनियाँ क्रान्ति पश्चात देशका नामकरण पनि जनवादी गणतन्त्रको रुपमा गरियो । सोभियत संघ गणतन्त्रहरूको एकीकृत संघ थियो, तर उपरोक्त कुराहरू पाठयपुस्तकमै सिमित थिए । आज पनि जनमानस गणतन्त्र र जनतन्त्रलाई एक अर्काको पयार्यवाची मान्ने गर्दछन् र यिनीहरूको निम्ति एउटै अर्थ हो स्वाधिनता । जनतन्त्र र लोकतन्त्र पर्यायवाची शब्द भएका छन् ।
हाम्रो दक्षिण छिमेकी भारतले स्वाधिनता प्राप्त गरेपछि त्यतिबेला निकै चुनौतिहरू थिए । अंग्रेजहरूले राष्ट्र विखण्डनको बिऊ बोएर गएका थिए । राष्ट्र एकीकरण र राष्ट्रिय एकताको प्रकृयालाई कायम राख्दै जागरुक तथा विचारधारात्मक प्रयासको निरन्तरता आवश्यक थियो । भारतका तात्कालिन प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरू र तात्कालिन भारतीय नेताहरूको उदारमना, दुरदर्शिता, त्याग, समर्पण र राष्ट्रप्रेमका कारण यो फलिभूत भएको हो ।
नेहरूको विचारमा लोकतन्त्र मात्रै होइन, गणतन्त्र पनि थियो जसमा बृहतको शासन हुन्छ, साथै समावेशिता पनि । नेहरूको स्पष्ट मान्यता थियो की, भारतमा पाकिस्तानको नीति लागु गर्न सक्दैन, यहाँ निर्वाचनको प्रयोग एउटा हिन्दु भारतको निम्ति होइन, अपितु धर्मनिरपेक्ष भारतको जगलाई बलियो बनाउनका निम्ति गरिनेछ । यसले गर्दा भारत एउटा स्थिर, आधुनिक र लोकतान्त्रिक गणतान्त्रिक बन्न सक्नेछ । भारत लोकतान्त्रिक अथवा गणतान्त्रिक नभई एउटा लोकतान्त्रिक गणतन्त्र हो । नेहरूको गणतन्त्रको अवधारणामा भारतका प्रत्येक नागरिकको आवाज र अधिकारलाई सुरक्षित गर्नु थियो । कुनै एउटा पार्टीको विचार र प्रधानतालाई उनले स्वीकार गरेका थिएनन ।
लोकतन्त्रमा संवाद र छलफलको महत्वलाई उनले बुझेका थिए । आफ्नो सिद्धान्तप्रति दृढ रहँदै उनले अन्य राजनीतिक दलहरूका विचारलाई स्वीकार गर्नमा पनि ठुलो उत्साह देखाउँथे । नेहरूको युगलाई आशा र उपलब्धिले भरिएको युगको रुपमा लिन सकिन्छ । भारतमा जनवादको सुदृढ स्थापना ठुलो उपलब्धि हो, जनवादको स्थापनाको थालनी सन् १९४७ मा संविधान निर्माण प्रकृयावाट सुरु भयो र २६ जनवरी १९५० मा संविधान लागु भए पश्चात सन् १९५१–५२ मा भएको पहिलो आम चुनाव पश्चात भारतको जनवादले ठुलो फडको मार्यो ।
भारतको संघीय संरचनाको सफलतालाई पनि उदाहरणीय मानिन्छ । जनताको माग र चाहना अनुसार यहाँ प्रादेसिक संरचनाहरूको विस्तार हुँदै गएको छ । भारतमा भाषा–संस्कृतिको आधारमा पनि प्रादेसिक संरचनाहरू गठन भएको पाइन्छ भने द्रुत एवंसम्यक विकासका लागि भुगोलको आधारमा पनि प्रदेसका एकाईहरूको गठन भएका छन् । भारतको धार्मिक, सांस्कृतिक एवं भाषिक विविधतालाई त्यहाँको संविधानले एक सुत्रमा बाँधि राष्ट्रिय एकतालाई सुदृढ बनाएको छ, जनतामा राष्ट्रप्रेम स्वतः नै जागृत भएको छ ।
यसको ठिक विपरीत सन् १९४७ मा नै धर्मको आधारमा मुसलमानहरको निम्ति छुटै देश पाकिस्तानको जन्म भयो । पाकिस्तानलाई इश्लामिक राष्ट्र पनि घोषित गरियो तर त्यहाँ बंगलाभाषाको सम्मान भएन भन्दै पूर्वी पाकिस्तानका बंगला भाषीहरूले आफ्नो निम्ति छुटै देश बंलादेशको गठन गरे । विगत ७८ वर्ष देखि पाकिस्तान पनि अस्तित्वमा छ । मुसलमानहरूको देशको रुपमा यसले ख्याति पनि प्राप्त गरेको छ, तर न त त्यसले आर्थिक प्रगति गर्न सकेको छ, न त त्यहाँ राजनीतिक स्थायित्व नै छ, न त लोकतन्त्र नै बलियो भएको छ । बंगलादेशमा पनि धार्मिक असहिष्णुता बढेको छ, देशलाई इश्लामी राष्ट्र बनाउने अभियान सुरु भएको छ, तर त्यहाँ पनि राजनीतिक अस्थिरता छ, लोकतन्त्र बलियो भएको छैन ।
पाकिस्तानमा जस्तै त्यहाँ पनि सैन्य हस्तक्षेपको सम्भावना कायमै छ । भारत जस्तो बहुलवादी र सामाजिक विषमताले भरिएको देशमा लोकतन्त्र सफल सावित भएको छ, तर एउटै धर्म, एउटै भाषा र एउटै संस्कृति लागु गर्ने मनसाय राखेको पाकिस्तान, बंगलादेश र श्रीलंका जस्ता देशले अपेक्षित प्रगति गर्न सकेनन् । अधिकांश औपनिवेशिक देशहरूमा स्वाधिनताका निम्ति आम जनता मिलेर आन्दोलनमा भाग लिए, राष्ट्र व्यापी आन्दोलन चलाए । तर, देश स्वतन्त्र भएपछि अन्य दलमाथि प्रतिबन्ध लगाउने काम भयो र लामो समय सम्म एउटै पार्टी सत्तामा रही रहने षडयन्त्र गरियो, तर भारतमा भने अन्य दलको जनाधारलाई विकसित गर्नमा रोक लगाउने काम भएन । त्यसैले त्यहाँको लोकतन्त्र पनि बलियो हुँदै गयो र सेनाले राजनीतिमा चासो देखाएन । क्षेत्रीय राजनीतिक दलहरूको जनाधारमा पनि अभिवृद्धि भएको छ । देशमा सुशासन पनि कायम भएको छ र त्यहाँको लोकतन्त्र पनि बलियो भएको छ ।
नेपाल र भारत परम्परागत छिमेकी राष्ट्र हुन् । जनताबीचको सम्बन्ध देशको इतिहास भन्दा पनि पुरानो छ । नेपाल र भारत दुई यस्ता दक्षिण एशियाली भित्र राष्ट्र हुन्, जसलाई भूगोल, इतिहास र जनजीवनले एसियाको मार्ग चित्रमा सँगसँगै गाँसिदिएको छ । खुला सिमाना सामाजिक र सांस्कृतिक सम्बन्धले हामी विचको मित्रतालाई अझ बढी प्रगाढ बनाईदिएको छ । अर्को शब्दमा भन्नु पर्दा यी दुई देशबीचको भौगोलिक सन्निकटता, आर्थिक अन्तर सम्बन्ध राज्य स्तरमा मात्रै सिमित नभई जनस्तरमा पनि कायम छ । यस बहुआयामिक सम्बन्धलाई थप प्रगााढ बनाउन दुवै देशका सरकार, जनता र सामाजिक संघ संस्थाहरू समेतले पनि आ–आफ्नो स्तरवाट हर सम्भव सहयोग गर्दै आएका छन् । भारतको सफल गणतान्त्रिक यात्रा, नेपालको लागि पनि उपयोगी र प्रेरणादायी सावित भएको छ ।
प्रतिक्रिया