तरवार भन्दा कलम ठूलो हो । मनस्थिति बदले परिस्थिति बदलिन्छ । अब हामी पुराना मक्किएका वाद र सिद्धान्तको परिधिमा बाँधिएर आग्रह पूर्वाग्रह राखेर होइन तिनीबाट बाहिर निस्किएर आजको परिस्थितिमा मानवताको रक्षा गर्ने सोच, विचार र मनस्थिति बनाउन अग्रसर हुनुपर्दछ । हामी अग्रसर हुने मूल मार्ग अध्यात्म र भौतिक बिज्ञानको संयोजनबाट निकाल्नुपर्छ ।
प्रसिद्ध वैज्ञानिक तथा भारतीय पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामले गलत निर्णयको अनुभवबाट सही निर्णय लिदै सफलतापूर्वक परिश्रम गर्नु नै मानिस सफल हुने सूत्र हो भनेका छन् । उनै कलामले समय, धैर्य र प्रकृतिलाई सबै समस्याको निवारण र सबै प्रकारका घाउहरू निको पार्ने चिकित्सक मान्दछन् । मानिसको हकमा लागुहुने यो सूत्र राज्य , राजनीतिक दल र कुनै पनि संघसंस्थाको हकमा पनि लागु हुन्छ । किनकी सबै ब्यक्ति हुन, फरक केवल रुपमा छ ।
मानिसको रुप प्राकृतिक र अरु बाँकीको रुप कानूनी । धेरै कुरामा समानता छ । सबैले विचार गरेर निर्णय लिन्छन् र निर्णय गरेर मात्र कार्य गर्छन् । यी सबै विचार द्वारा डोरिन्छन । विचारहरू मनका सन्तान हुन । योग चिकित्साका अनुसार शरीर एक यन्त्र हो जसलाइ मनले जस्तो बनाउन चाह्यो उस्तै बन्छ । रोग मनले उत्पन्न गराउने हो । मनले नै रोग हटाउन हुन्छ सक्छ । राम्रा विचारले शरीर हृष्टपुष्ट र बलवान बनाउँछ । नराम्रा विचारले हृष्टपुष्ट र बलवान शरीर कमजोर र सिथिल हुन जान्छ । मानिसलाई जसरी नै विचारले देशलाई सबल वा दुर्वल दुबै बनाउन सक्छ । शारीरिक अवस्थाको चेकजाँच बेलाबेलामा गरेझैँ देशको अवस्था बारे पनि समीक्षा गरेर आवश्यक निर्णय लिदै कार्यान्वयनमा लानु हरेक देशभक्त नागरिकको कर्तव्य भित्र पर्दछ ।
हामी अधिकांश जनता , दल र विभिन्न संघसंस्थाले देश संमृद्ध बनाउन पटकपटक ब्यबस्था बदल्ने निर्णय गरी आन्दोलन गर्यौं । जहानियाँ राणा शासन देखि, संसदीय प्रजातन्त्र,सार्वभौमसत्ता राजामा निहित रहेको निर्दलीय पञ्चायत, संवैधानिक राजतन्त्र सहितको संसदीय प्रजातन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको अनुभब बटुल्यौं । तर अहिले सम्म पनि नेपाल संमृद्धिको यात्रामा हिँडेको छैन । एउटै पुस्ताले पाँचवटा ब्यबस्था परिवर्तनका लागि संघर्ष गर्यो । हरेक परिवर्तनमा शहीदको रगत बगेको छ । दश वर्ष त घोषित ‘जनयुद्ध’ नै भयो । यसले सत्र हजार नेपालीको ज्यानै लियो हजारौं वेपत्ता पार्यो । शहीदको रगत र वेपत्ताका परिवारको पीडा नेतालाई सत्तामा पुर्याउने भर्याङ बन्यो ।
सत्तामा पुगेको नेता शहीद र वेपत्ताको सपना पूरा गराउनमा केन्द्रीत हुनुपर्नेमा भएन । सत्तामा कसरी बढी टिक्ने र आफु र आफ्ना नजिकका लागि धन, पद र प्रतिष्ठा आर्जिने भन्नेमा ध्यान गयो नेताको । यसले गर्दा शान्ति प्रक्रिया टुंगिएन,शहीद र वेपत्ताका परिवार सम्मानित हुनुपर्नेमा अपमानित हुन पुगे । शहीद र वेपत्ताको वलिदानी दुषित राजनीतिको गोटी बनाइयो । सत्तामा पुग्न विपरीत विचारका पार्टीसँग गठबन्धन गरेर निर्वाचनमा जाने, सत्तामा पुगेपछि आफ्नै पार्टीका नेता कार्यकर्तालाई पनि पाखा पारेर एकलौटी रजाई गरियो । भ्रष्टाचार र दण्डहीनता बढाइयो । गरिखानेले पनि वातावरण पाएन । काम र शिक्षाका लागि यूवा र पूँजी विदेश पलायन भयो । देश संमृद्ध बनाउन सघाउने सहकारी क्षेत्र कमजोर अनुगमनले संकटग्रस्त बन्न पुगि अधिकांश नेपालीको आर्थिक गतिविधि अवरुद्ध भई घरपरिवारमा झगडा उत्पन्न गराएको छ ।
नेपालमा अहिले भएका सबै राष्ट्रिय दलले सत्ताको नेतृत्व गरे । लगभग सबैखाले ब्यबस्थाको परीक्षण पनि भयो । नेपालको गरिवी र पछौटेपनको समस्या बढेर नेपाली स्वाभिमान घाइते भएको छ । बहुसंख्यक श्रमजीवी युवाहरु स्वदेशमा टिक्न नसकेर विदेशमा झन कठोर श्रम गर्ने आधुनिक दास बन्न बाध्य भए । पंचायती व्यवस्थाले ३० बर्ष बितायो, पैतिस बर्ष नाघ्यो दलहरुले नेपालको शासन सम्हालेको तर देश जहाँको तहीँ छ भन्नुपर्ने दुखःद अवस्था छ । विकसित राष्ट्रहरूमा फरक–फरक ब्यबस्था छन् । ती राष्ट्रमा ब्यबस्था फरक भएपनि सबैमा स्वच्छ राजनीति छ । विधि र पद्दतिमा आधारित स्वच्छ राजनीतिले नै उन्नतिको शिखरमा पुर्याएको हो ती राष्ट्रलाई । यसबाट विकासको लागि ब्यबस्था भन्दा स्वच्छ राजनीति आबश्यक हुन्छ भन्ने देखायो ।
नेपालमा कहिल्यै कसैबाट पनि स्वच्छ राजनीतिको विकास गर्ने पहल भएन । राजाको देवत्वकरणले पंचायत छायामा पर्यो । नेताहरुको देवत्वकरण र दानवीकरणको अवान्छित प्रतिष्पर्धाले संघिय लोकतान्त्रीक गणतान्त्रको चिरहरण गर्यो । ठूलो जन धन र लामो समय खर्चिएर सबैखाले ब्यबस्थाको परिक्षण भईसकेकाले राजनीतिक परिवर्तनको औचित्य देखिदैन । औचित्यहीन परिवर्तनका लागि फेरि जीवन संघर्षमा होम्नु निरर्थक छ ।
परिवर्तनका लागि जोखिमयुक्त संघर्ष र आन्दोलनले मात्र नहुँदो रहेछ भन्ने अनुभब हामी सबैलाई भयो । यो अनुभवले संघर्ष र आन्दोलन नै गर्नुपर्छ भन्ने पुरानो मानसिकता बदल्नु पर्ने शिक्षा र प्रेरणा दियो । तरवार भन्दा कलम ठूलो हो । मनस्थिति बदले परिस्थिति बदलिन्छ । अब हामी पुराना मक्किएका वाद र सिद्धान्तको परिधिमा बाँधिएर आग्रह पूर्वाग्रह राखेर होइन तिनीबाट बाहिर निस्किएर आजको परिस्थितिमा मानवताको रक्षा गर्ने सोच, विचार र मनस्थिति बनाउन अग्रसर हुनुपर्दछ ।
हामी अग्रसर हुने मूल मार्ग अध्यात्म र भौतिक बिज्ञानको संयोजन बाट निकाल्नुपर्छ । ऋषिहरुले आफ्नै शरीरमा लामो अनुसन्धान गरेर पत्ता लगाएको विज्ञान हो आध्यात्म । अध्यात्मले आफु भित्रको क्षमता र प्रतिभा समग्रतामा चिनाउँछ, जनाउँछ । आफु भनेको जीवन हो । जीवन प्राणवायु देखि उर्जा, चेतना, सत्य, शरीर, मन, चित्त, अहंकार, वुद्धि, विवेक, आत्मा, ज्ञान, सजगता, रिस , राग , द्वेष, अनुभब र अनुभुती जस्ता अदृश्य कुराहरुले चलाएको हुन्छ । यिनै अदृश्य कुराहरु नै बलवान छन ।
अध्यात्मले यी अदृश्य कुराहरुको बिच समन्वय , सहकार्य र सहअस्तित्व कायम गरेर मानिसमा असल ब्यक्तित्व भरिदिन्छ । असल ब्यक्तित्व निर्माण गरिदिने माध्यम अध्यात्म भित्र पर्ने योग , प्राणायाम र ध्यानको साधना हो । योगले जीवन उर्जा प्रकट र संचार गरी शरीर स्वस्थ राख्छ । प्राणायामले हरेक सोच विचार उत्पन्न गरी कर्म गर्ने गराउने सर्वेसर्वा मनलाई स्वस्थ र संयमित बनाउँछ । ध्यानले ज्ञानको दायरा फराकिलो र गहिरो पार्दै म को हुँ र के गर्नुपर्छ भन्ने बोध गराउँछ । अष्टावक्रले झै हाँसेर अहिलेको नेपाली राजनीतिलाई नेतृत्व गरेका तर विकासको मार्गचित्र नभएका नेतालाई अब हामी जनताले जवाफ दिनुपर्छ ।
यहाँनेर अष्टावक्र ऋषिले बाल्यकालमा राजा जनकको दरबारमा शास्त्रार्थ गर्न भेला भएका सबै विद्वानहरुलाई हाँसेर जवाफ दिएको रमाइलो प्रसंग उल्लेख गर्नु सान्दर्भिक हुन्छ । एक विहान अष्टावक्र बाहिर खेलेर घर फर्किदा बाबुलाई देखेनन् । आमालाई सोध्दा राजा जनकको दरबारमा बुबा गएको लामै समयसम्म नफर्किएकोले आमा ब्याकुल भएको थाहा पाए । बाबुलाई लिएर आउछु भन्दै दरवारमा जाँदा आठ ठाँउमा बांगो टेडो रहेको आफ्नो शरीर देखेर सबै विद्वानहरूले हासेर अपमान गरेको थाहा पाई उनीपनि खित्का छोडेर हाँसे ।
उनको हाँसोको कारण सोधे राजा जनकले । दरबारमा भेला भएका सबै विद्वान होलान भनेको त चमार रहेछन् भन्ने थाहा पाई आफु झुक्किएकोमा हाँसेको भनेर जवाफ दिए । हाड मासु रगत छालाले बेरेको मेरो शरिरमा हाँस्नुपर्ने कारण नैं के छ र ? यो देखेर विद्वान हास्दैनथे भन्दै शास्त्रार्थ गरेर सबैलाई जिते । शास्त्रार्थमा हारेर कैदमा राखिएका बाबुलाई छुटाए । पछि उनी राजा जनकको गुरु भए । अष्टावक्र ऋषि र राजा जनक बिचको संवाद अष्टावक्र गीताको रुपमा प्रख्यात र उपयोगी छ आज पनि ।
अध्यात्म परम स्वतन्त्रता हो । अध्यात्म र धर्म अन्तरसम्बन्धित छन तर फरक कुरा हुन् । अध्यात्मले आफु भित्रै भएको क्षमता र प्रतिभा सदुपयोग गर्ने ज्ञान र विधि दिदै परिश्रमी हुन प्रेरित गरि स्वनिर्भर बनाउँछ भने धर्मले मिहेनत गरेपनि भगवानको पूजामा गर भनि शरणागत हुन प्रेरित गर्छ । अध्यात्म र भौतिक बिज्ञान बिच समानता र फरक दुबै छ तर द्वन्द्व छैन । अध्यात्म, धर्म र भौतिक बिज्ञान सबै मानिसको हितको लागि मानिसले सृजना गरेका अवधारणा हुन । अवधारणाहरु समयक्रममा बदलिन्छन् बदल्नु पर्छ ।
वेदमा उल्लेखित धार्मिक अवधारणालाई गीताले कर्ममा परिस्कृत गरिदियो । भगवान को हुन् ? भन्ने गलत प्रश्न गर्ने वर्तमान समाजले मन्दिर र मूर्तिहरुमा भगवान खोज्ने र पूजे धर्म हुन्छ भन्ने भ्रान्ति ब्याप्त गरायो । अब हामीले समाजलाई धर्म के हो भन्ने सही प्रश्न गर्न सिकाएर आफैँभित्रका क्षमता र प्रतिभाका गुणहरू भगवान हुन भन्ने बोध गराउनुपर्छ । र ती गुणहरूको विकास र विस्तार गर्नु धर्म हो भन्ने बुझाउनु पर्छ । सुख, शान्ति, समृद्धि मानिस भित्रै छ । हरेक मानिसमा रहने नवगुण विकसित गरे सुख , शान्ति, समृद्धि प्राप्त हुन्छ । ती नवगुण हुन् – सत्यता, स्वाध्याय, निरहंकारीता, क्षमाशीलता, सर्वकल्याण भाव , सेवा भाव , मधुर वाणी , लक्ष्यसंग एकाकार र मुमुक्षा । यी नवगुणबाटै मानिसको क्षमता र प्रतिभा प्रस्फुटन हुन्छ ।
हरेक मानिसमा कुनै न कुनै प्रतिभा र क्षमता हुन्छ । आफ्नो क्षमता र प्रतिभा चिनेर आफ्नो स्टोरी लेखे जीवन सफल बन्छ । किनभने जीवन चलचित्र जस्तै हो । अध्यात्मले स्टोरी लेख्ने ज्ञान र अभिनय गर्ने कला सिकाउँछ । समस्यामा नै समाधान हुन्छ । माक्र्स, लेनिन माओ र अन्य पश्चिमी विद्वानका नीति सिद्धान्तको अन्धानुकरण गर्ने र हाम्रै ऋषि मुनिहरुले रचेका वेद पुराण र गीताको दुरुपयोग गरेर धर्माअन्धतामा रुपान्तरण गर्न चाहने दुई अतिवादी सोचले मुलुकको शासन संचालन गर्ने ब्यक्तिलाई सेवक होइन शासक बनायो । विगत देखि अहिलेसम्म देश झन झन कमजोर हुदै गयो ।
कतिपय भौतिकवादी विद्वानले समेत उत्कृष्ट मान्ने संसारकै अब्बल ग्रन्थ भागवत गीताले सही सोच र मार्गदर्शन दिन्छ हामीलाई । गीताले सबैलाई सेवक र कर्मशील बनाउँछ । भौतिक प्रगतिको भागदौडले मानव जीवनमा उत्पन्न भएको मानसिक समस्याको समाधान भौतिक बिज्ञानले दिन सकेन योग ध्यानले निको पार्यो । अघोषित विश्वयुद्धको चपेटामा लपेटिदै गएको विश्वलाई वसुधैवकुटुम्वकम्को आध्यात्मिक ज्ञानले मात्र समाधान गर्दै शान्ति ल्याउनेछ ।
योग ध्यानको उत्पत्ती र वेद पुराण तथा गीताको रचना गरेको नेपालसँग आफुसँगै विश्वलाई सुख शान्ति समृद्धि बनाउने खजाना छ । त्यो खजाना हो अन्यत्र नपाइने अलौकिक उर्जा र आध्यात्मिक ज्ञान र साधना । अध्यात्म र धर्मको मर्म बुझ्ने ज्ञानीलाई नेपाली राजनीतिको नेतृत्वमा पुर्याए मात्र नेपाल शान्त र समृद्ध बन्नेछ । अध्यात्मको जग बसालेको र ध्यान उत्पत्ती भएको शान्त र समृद्ध नेपालले विश्वसमुदायलाई सुख, शान्ति र समृद्धि तर्फ डोर्याउन सक्नेछ । त्यसकोलागि बाहिरी आन्दोलन र क्रान्तिको कुनै जरुरत छैन । केवल गणतन्त्रको अनुचित दोहन गरे भनेर चर्को आलोचना गर्ने, निर्वाचनमा उनैलाई भोट हाल्ने पुरानो मानसिकता बदले मात्र पुग्छ । किनभने मनस्थिति बदले जस्तोसुकै परिस्थिति पनि बदलिन्छ । प्रसिद्ध वैज्ञानिक तथा भारतीय पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामले दिएको सफलताको सूत्र अर्थात हाम्रा विगतका गलत निर्णयको अनुभवबाट सही निर्णय गर्न ढिला नगरौँ ।
प्रतिक्रिया