यु–१९ महिला विश्वकप क्रिकेट : अस्ट्रेलियाले नेपाललाई दियो १४० रनको बलियो लक्ष्य

काठमाडौं । मलेसियामा जारी आइसिसी यु–१९ महिला विश्वकप क्रिकेट खेलमामा अस्ट्रेलियाले नेपाललाई जितका लागि १४० रनको बलियो लक्ष्य दिएको छ ।

आफ्नो तेस्रो खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध टस हारेर पहिला बलिङको निम्तो पाएको थियो । अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रनको योगफल बनाएको हो । सोमबार स्कटल्याण्डसँग खेलेको नेपाली टोली १ विकेटले हारेको थियो ।

अस्ट्रेलियाका लागि काओइमे ब्रेले सर्वाधिक ४५ रन जोडिन् । उनले ३४ बलमा ३ चौका र ३ छक्का प्रहार गरिन् । एक समय १४ रन जोड्दा ३ विकेट गुमाएर खराब सुरुवात गरेको अस्ट्रेलियाका लागि इलनरा लोरास र काओइमे ब्रेले चौथो विकेटका लागि ७२ रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफलमा पुर्याए ।

लोरासले ३९ बलमा ३१ रन जोडिन् । हसरत गिलले २१ बलमा नट आउट ३० रन जोडिन् । नेपालका लागि कप्तान पुजा महतोले ३, सिमाना केसीले २ तथा रिया शर्माले १ विकेट लिइन् ।

नेपालले सुरुवाती दुवै खेल हारेको थियो । नेपाललाई सुपर सिक्सको सम्भावना कायमै राख्न अस्ट्रेलियामाथि जित बाहेकको विकल्प छैन । अस्ट्रेलियासँग पराजित भएमा नेपालको सुपर सिक्स प्रवेशको सम्भावना समाप्त हुनेछ ।

अस्ट्रेलिया सुरुवाती दुवै खेल जितेर १ खेल अघि नै सुपर सिक्स प्रवेश गरिसकेको छ । महिला क्रिकेटको कुनै पनि स्तरमा नेपालले अस्ट्रेलियासँग पहिलो पटक खेलेको हो ।

नेपालको प्लेइङमा कृष्मा गुरुङ, तृषना विक, साना प्रविन, सावित्रा धामी, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो ९कप्तान०, ज्योत्सिका मरासिनी, सिमाना केसी, रचना चौधरी र अनु कडायत रहेका छन् ।

प्रतिक्रिया