काठमाडौँ । कोसी प्रदेशसँगको खेलमा सानदार जित हात पार्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सुपर ४ मा प्रवेश गरेको छ । बुधबार भएको खेलमा आर्मी ९ विकेटले विजयी भएको हो ।
जितसँगै ३ खेलमा ४ अंक जोडेको आर्मीले समूह ‘बी’ बाट सुपर ४ मा स्थान पक्का गरेको हो । पहिलो हार बेहोरेको कोसीको पनि ४ अंक नै छ । तर, नेट रनरेटमा कोसी पछाडि छ । यसअघि मधेस प्रदेशलाई १० विकेटले पराजित गरेको आर्मीले बाग्मतीसँग १४ रनको हार बेहोरेको थियो । कोसीले बाग्मतीलाई १० रन र मधेसलाई ४७ रनले पराजित गरेको थियो । कोसीले दिएको ४७ रनको लक्ष्य पछ्याएको आर्मीले ४ बल बाँकी रहँदा १ विकेट गुमाएर ४० रन बनायो । आर्मीकी ओपनर सम्झना खड्काले अविजित रहँदै सर्वाधिक ३२ रन बनाइन् । अञ्जली विश्वकर्मा ६ रनमा आउट हुँदा रुवि पोद्दर एक रनमा अविजित रहिन् ।
त्यसअघि धनगढीको कैलालीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कोसीले निर्धारित सात ओभरमा ५ विकेट गुमाउँदै ३६ रन बनाएको थियो । खराब मौसमका कारण सात÷सात ओभरको खेल खेलाइएको हो । कोसीकी सम्मृति कटुवालले सर्वाधिक १४ रन बनाइन् । १३ बल खेलेकी उनले १ चौका प्रहार गरिन् । उनीबाहेक अन्य कोही खेलाडी क्रिजमा जम्न सकेनन् । आर्मीकी मनीषा उपाध्ययले सर्वाधिक ३ विकेट लिइन् । सुस्मिता भुषालको नाममा २ विकेट रह्यो ।
यसैगरी, मधेसमाथि सानदार जित हात पार्दै बाग्मती प्रदेश पनि सुपर ४ मा पुगेको छ । बुधबार भएको खेलमा बाग्मती ७ विकेटले विजयी भएको हो । ३ खेलमा ४ अंक जोडेको बाग्मतीले समूह ‘बी’ बाट सुपर फोरमा स्थान पक्का गरेको हो । योसँगै साबिक उपविजेता कोसी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतिक्रिया