काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । आइतबार भएको समूह ‘बी’ को पहिलो खेलमा कोशीले बागमती प्रदेश र आर्मीले मधेश प्रदेशलाई पराजित गरेका हुन ्। जितसँगै दुवै टोलीले समान दुई अंक जोडेका छन् ।
पहिलो खेलमा आर्मीले मधेशमाथि १० विकेटको जित निकाल्यो । मधेशले दिएको २६ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले २.५ ओभरमा कुनै विकेट नगुमाई २९ रन बनायो । आर्मीकी ओपनर सम्झना खड्काले अविजित रहँदै सर्वाधिक २२ रन बनाइन् । अञ्जली विश्वकर्मा चार रनमा अविजित रहिन् ।
त्यसअघि धनगढीको कैलालीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मधेशले १५ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २५ रन बनायो । मधेशका भूमि सिंहबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। २१ बल खेलेका उनले दुई चौकासहित १० रन बनाइन् ।
आर्मीकी आश्मा पुलामी मगरले सर्वाधिक ३ विकेट लिइन् । १ दशमलव २ ओभर बलिङ गरेकी उनले ४ रन मात्रै खर्चिइन् । मनीषा उपाध्याय र लक्ष्मी साउदको नाममा दुई÷दुई र ईश्वरी विष्ट र सीता साहीको नाममा समान एक विकेट रह्यो ।
अर्को खेलमा कोशीले बागमती प्रदेशमाथि १० रनको रोमाञ्चक जित हात पा¥यो। कोशीले दिएको ६४ रनको लक्ष्य पछ्याएको बागमतीले १२.१ ओभरमा सबै विकेट गुमाउँदै ५३ रन मात्रै बनाउन सक्यो ।
बागमतीकी ओपनर सबिका यादवले सर्वाधिक २० रन बनाइन् । २० बल खेलेकी उनले २ चौका प्रहार गरिन् । बिपशा शाही १२ रनमा अविजित रहिन्। अन्यको ब्याटिङ सम्झनयोग्य रहेन। कोशीका ज्योति दनुवार, रुबिना क्षेत्री र संगिता राईले समान दुई विकेट लिए । निशा शाहको नाममा एक विकेट रह्यो ।
त्यसअघि ब्याटिङ थालेको कोशीले १३ ओभरमा ७ विकेट गुमाउँदै ६३ रन बनाएको थियो । खराब मौसमका कारण खेलको ७ ओभर घटाइएको हो ।
कोशीकी विमला मलाहले अविजित रहँदै सर्वाधिक १९ रन बनाइन् । २३ बल खेलेकी उनले दुई चौका प्रहार गरिन् । ओपनर तथा कप्तान रुबिनाले १५ रन बनाउँदा अन्यको प्रदर्शन उल्लेख्य रहेन । बागमतीकी मनीषाले सर्वाधिक ४ विकेट लिइन् । ३ ओभर बलिङ गरेकी उनले एक मेडनसहित ७ रन खर्चिइन् । पूजा साउद, बिपिशा र संस्कृति फूँयालको नाममा समान एक विकेट रह्यो ।
प्रतिक्रिया