क्रिकेटर मार्टिन गुप्टिलले लिए संन्यास

वेलिङ्टन । न्युजिल्यान्डका मार्टिन गुप्टिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । सन् २०२२ को अक्टोबरमा अन्तिम पटक न्युजिल्यान्डको टोलीबाट खेलेका उनले टी–२० घरेलु तथा फ्रेन्चाइजलाई निरन्तरता दिने बताएका छन् । ३८ वर्षीय गुप्टिल अहिले न्युजिल्यान्डको टी–२० प्रतियोगिता खेल्नका लागि अकल्यान्डमा छन् । पिएसलको ड्राफ्टमा समेत रहेका उनलाई इस्लामवाद युनाइटेडले रिटेन गर्ने अनुमान गरिएको छ ।
न्युजिल्यान्डका लागि १९८ एक दिवसीय खेलेका उनले सो क्रममा ४३ सय ४६ रन प्रहार गरेका छन् । उनले भन्दा बढी रोज टेलरले आठ हजार ६०७ तथा स्टेफन फ्लेमिङले आठ हजार ७ रन प्रहार गरेका छन् । टी–२० उनले न्युजिल्यान्डका लागि सबै भन्दा धेरै रन प्रहार गरेका छन् । उनले १२२ खेलमा तीन हजार ५३१ रन प्रहार गरेका छन् । उनी पछिल्लो समय नेपाल प्रिमियर लिग खेल्न काठमाडौँ आएका थिए । उनले सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सबाट खेलेका थिए ।

सन् २००९ देखि २०१६ सम्म उनी टेस्ट टोलीमा थिए । उनी सीमित ओभरको खेलमा झैँ टेस्टमा सफल भएनन् । उनले ४७ टेस्टमा २५ सय ८६ रन प्रहार गरे । ‘म सानो हुँदा नै न्युजिल्यान्डका लागि खेल्ने सपना पालेको थिएँ । मेरो देशको जर्सीमा ३६७ खेलमा सहभागिता जनाउँदा आफूलाई भाग्यमानी ठानेको छु,’ संन्यासपछि उनले भने । गुप्टिलले सबै टोलीका सहकर्मी खेलाडी, व्यवस्थापक तथा प्रशिक्षकलाई धन्यवाद दिएका छन् । यु–१९ समूहमा रहँदाका उनका प्रशिक्षक मार्क ओ डोनेलप्रति उनले विशेष आभार व्यक्त गरेका छन् ।

उनले यस सफलतामा परिवारले गरेको त्याग पनि महत्त्वपूर्ण रहेको बताएका छन् । सन् २००९ मा एक दिवसीय खेलको डेब्यु मै उनले वेस्ट इन्डिजको विरुद्धमा १३५ बलमा अविजित १२२ रन प्रहार गरेका थिए । सन् २०१५ मा विश्वकप क्वार्टर फाइनलमा नै घरेलु भूमिमा उनले सोही टोलीको विरुद्धमा अविजित २३७ रन प्रहार गरेका थिए सो क्रममा उनले १६३ बलको सामना गरेका थिए ।

न्युजिल्यान्ड उपविजेता बनेको सो विश्वकपमा उनले सबै भन्दा धेरै रन प्रहार गरेका थिए । उनले कुल ५४७ रन प्रहार गरे ।
त्यसको ४ वर्ष पछिको विश्वकपमा पनि उनी चर्चाका रहे । नियमित समयमा १८ बलमा १९ रन बनाएर आउट भएका उनी सुपर ओभरमा ब्याट राख्न ढिला भएका कारण रन आउट भएका थिए । उनको साथमा जिमी निसम थिए । सोही कारण सुपर ओभरमा पनि बराबरी भएकाले बढी बाउन्ड्री प्रहार गरेका कारण इङ्गल्यान्ड विजयी भएको थियो ।

सन् २०१९ मा उनी ब्याटिङमा फर्ममा नरहे पनि फिल्डिङमा उत्कृष्ट थिए । सेमिफाइनलमा उनले गरेको डाइरेक्ट हिटको सिकार हुँदै भारतीय कप्तान महेन्द्र सिंह धोनी आउट भएकाले न्युजिल्यान्ड फाइनल प्रवेश गरेको थियो । सन् २०२१ मा दुबईमा भएको टी–२० विश्वकपमा उनी सहितको न्युजिल्यान्ड फाइनल प्रवेश गरेको थियो । सन् २०२२ मा अस्ट्रेलियामा भएको अर्को संस्करणमा उनी टोलीमा रहे पनि पहिलो प्राथमिकता फिन एलनले पाएका कारण बेन्चमा नै बिताउन बाध्य भएका थिए ।

प्रतिक्रिया