राजा ज्ञानेन्द्रको दोस्रो पटकको ‘कू’

राजीनामाको कागज थमाउँदै जर्साबले भनेछन्, ‘यो कागजमा सभामुखज्यूको हस्ताक्षर चाहिएको हुकुम सरकारबाट भएको छ ।’ ताराजीले त्यो पत्र पढ्दा सभामुख पदबाट राजीनामा गरिएको ड्राफ्ट रहेछ । ताराजी तत्काल हस्ताक्षर गर्न तयार हुनुभएन । उहाँले भन्नुभयो, ‘जर्साब, मलाई अलिकति समय दिनुपर्यो, आधा घन्टा जति समय पाएँ भने यस विषयमा निर्णय गर्छु ।’

गोपालमान श्रेष्ठ

२०६१ साल जेठ २८ गतेको कुरा हो यो । संसद विघटन भए पनि संविधानतः सभामुख र उपसभामुख पद रिक्त भएको थिएन । हामीले उपसभामुख चित्रलेखा यादवलाई अघि सारेर सडकमै संसद चलाई आन्दोलनको अभ्यास गरिरहेका थियौं । राजालाई सभामुख पद घाँडो भइरहेको थियो, किनकी संवैधानिक परिषदमा सभामुख समेत रहने व्यवस्था थियो । संवैधानिक अंगमा नियुक्तिका लागि राजाले आँफू खुसी गर्न नपाउने अवस्था थियो । त्यसैले सभामुख पद रिक्त बनाउने रणनीतिमा राजा लागिरहेका थिए ।

मैले ताराजीलाई फोन गरेर भने –‘ ताराजी, के सभामुखबाट राजीनामा गरेर एक पटक प्रधानमन्त्री बन्ने इच्छा हो तपाँइको ?’ ताराजीले भन्नु भयो, गोपालमानजी, सभामुख पदलाई यथावत राखेर म प्रधानमन्त्री हुने कुरा छ ।’ मैले भने, ताराजी तपाइँ भ्रममा नपर्नु होला, सभामुख पद नछाड्नु भएको अवस्थामा तपाँइलाई प्रधानमन्त्री दिन्छन् जस्तो मलाई लाग्दैन ।, राजालाई सभामुख पद घाँडो भएको छ, त्यसका लागि तपाँइलाई प्रधानमन्त्री पदको आश देखाएर सभामुख पदबाट राजीनामा गराउने प्रपन्च भएको हुनुपर्छ ।’ तर यस विषयमा मेरो कुरा भइसकेको छ भन्नु भयो ताराजीले ।

आखिर मैले जे कुरा गरेको थिएँ, त्यही हुन गयो । मौजुदा मन्त्रिपरिषदबाट मुलुक नचले पछि र यता आन्दोलन पनि नथामिए पछि राजा ज्ञानेन्द्रले अर्को विकल्प खोजेका थिए । ताराजी सभामुखको हैसियतले सरकारी निवासमा बस्नु हुन्थ्यो । प्रधानमन्त्री नियुक्तिका लागि ताराजीले ओके गरे पछि जर्नेलको नेतृत्वमा सेनाको एउटा टुकडी ताराजीको निवासमा पुगिसकेको थियो । ताराजीलाई सेलोट गर्दै, तपाई प्रधानमन्त्री बन्दै हुनुहुन्छ, शपथ ग्रहणका लागि दरबार जानु पर्ने भयो, तयारी गर्नोस् भनेछन् ।

ताराजीले दौरा सुरुवाल लगाई आफ्ना बयोवृद्ध पिताजीको हातबाट टिकाटाला लगाएर दरवार प्रस्थानको तयारी गर्नु भयो । त्यही वीचमा दरबारबाट गएका सेनाका जर्सावले एउटा कागज हातमा थमाए । त्यो कागज थियो, सभामुख पदबाट राजीनामाको । राजीनामाको कागज थमाउँदै जर्सावले भनेछन्, यो कागजमा सभामुखज्युको हस्ताक्षर चाहिएको हुकम सरकारबाट भएको छ ।’ ताराजीले त्यो पत्र पढ्दा सभामुख पदबाट राजीनामा गरिएको ड्राफ्ट रहेछ । ताराजी तत्काल हस्ताक्षर गर्न तयार हुनु भएन । उहाँले भन्नु भयो, जर्साव, मलाई अलिकति समय दिनु पर्यो, आधा घण्टा जति समय पाएँ भने यस विषयमा निर्णय गर्छु । जर्नेलले भनेछन्, हुन्छ, तर जति सक्दो छिटो निर्णय गर्नोस् । जर्सावले तत्काल टेलिफोन बाटै यो जानकारी दरवारमा गराए । आधा घण्टा बित्दा पनि ताराजीले निर्णय गर्न सक्नु भएन । त्यस पछि ताराजीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव फिर्ता भयो । ‘स्कटिङ’का लागि गएको सेनाको ट्कडी ताराजीको निबासबाट तत्काल फिर्ता भयो ।

सभामुख पद यथावत राखेरै ताराजीलाई प्रधानमन्त्री बनाउन दरवार तयार नभए पछि घुमिफिरी फेरी शेरबहादुरजीकै पोल्टोमा आयो । २०५९ आसोज १८ गते प्रधानमन्त्री पदबाट अपदस्थ गरिनु भएका देउवा त्यतिबेला नेपाली कांग्रेस ( प्रजातान्त्रिक) को सभापति हुनुहुन्थ्यो । राजाका सचिव पशुपतिभक्त महर्जनले देउवाजी सँग सम्पर्क गर्नु भयो । सरकारले तपाइँलाई प्रधानमन्त्री पदमा नियुक्त गर्ने इच्छा व्याक्त गरिबक्सेको छ, आजै शपथ ग्रहण गराउने तयारी भएको छ, भन्नु भयो ।

त्यतिबेला साँझको ६–७ बजिसकेको अवस्था थियो । त्यस पछि देउवाजीले आवश्यक परामर्शका लागि थोरै समय माग्नु भयो । उहाँले तुरुन्तै एमालेका महासचिव माधवकुमार नेपाललाई सम्पर्क गर्दै भन्नु भयो –‘ माधवजी, हाम्रो आन्दोलनले पनि खासै गति लिन सकेको छैन, जुन ढंगले आन्दोलन चर्काउनु पथ्र्यो, त्यसमा हामी सफल भइरहेका छैनौ । दरबार बाट भरखरै हामीलाई मन्त्रिपरिषद बनाउन जिम्मेवारी दिने प्रस्ताव आएको छ, तपाँइ प्रधानमन्त्री बन्नोस भनेर मलाई कुरा आएको छ । म प्रधानमन्त्री बन्ने हो भने तपाँइले साथ दिनु पर्छ, तपाईको पार्टी पनि मेरो नेतृत्वको मन्त्रिपरिषदमा सहभागी हुनुपर्छ ।’ माधवजीले पनि तत्काल आँफ्नो पार्टी भित्र सरसल्लाह गरेर ठीक छ, तपाँइको नेतृत्वमा सरकार बन्ने हो भने हामी पनि सहभागी हुन्छौं भन्नु भयो । यसरी अपधस्त भएको ड्ढ वर्ष वित्दा नवित्दै देउवा फेरी प्रधानमन्त्री पदमा नियुक्त हुनु भयो । देउवाजीको नेतृत्वमा एमाले र अरु साना पार्टी मिलेर सरकार बन्यो ।

शपथ ग्रहण पछि पत्रकारहरुले सोधको प्रश्नमा देउवाजीले गोर्खाली राजाबाट न्याय पाएँ भन्ने प्रतिक्रिया दिनु भयो । एमालेले पनि प्रतिगमन आधा सच्चियो भन्ने बक्तव्य दियो । तर नेपाली कांग्रेसले भने प्रतिगमन झन् घनिभुत भएको भन्दै आन्दोलनलाई अझै चर्काउने निर्णय लियो । एकातिर देउवाजीलाई प्रधानमन्त्री बनाएको गिरिजाबाबुलाई झन् मन परेको थिएन, अर्कोतिर एमाले समेत सरकारमा सहभागी भए पछि गिरिजावावुको असन्तुष्टि थप बढेको थियो । त्यसैले मन्त्रिपरिषद निर्माण गर्दा कांग्रेसले जारी राखेको आन्दोलनको पाटो पनि देउवाजीले हेर्नु पर्ने थियो । यस विषयमा देउवाजीले सभामुख तारानाथ रानाभाटजीको पनि परामर्श लिनु भयो । आन्दोलनको केन्द्र काठमाडौं भएकोले त्यही अनुसारको रणनीति बनाउनु पर्छ, गणेशमानजीको छोरा समेत भएकोले प्रकाशमानजीलाई मन्त्री बनाइयो भने काठमाडौं केन्द्रित आन्दोलन सिथिल बनाउन सहयोग पुग्छ भन्ने सुझाव ताराजीले दिनु भयो ।

त्यस अघि प्रकाशमानजीले पनि ताराजीलाई भन्नु भएको रहेछ, तपाँइ प्रधानमन्त्री बन्ने हो भने म पनि मन्त्री बन्न तयार छु । आँफुलाई सहयोग गर्ने बचन प्रकाशमानजीबाट पाएकै कारण पनि ताराजीले देउवा मन्त्रिपरिषदमा प्रकाशमानजीलाई समावेश गराउन पहल गर्नु भएको रहेछ ।
२०६१ जेठ २८ गते देउवाले आँफू सँगै दुई जना मन्त्रीलाई शपथ ग्रहण गराउनु भयो । शिक्षा तथा खेलकुँद मन्त्रालय बिमलेन्द्र निधिलाई र भौतिक योजना तथा निर्माण मन्त्रालय प्रकाशमानजीलाई दिएर देउवाजीले तत्कालका लागि अन्य सबै मन्त्रालय आँफू माताहत राख्नु भयो ।

भोलि पल्ट जेठ २९ गते एमाले, सद्भावना, राप्रपा र राजाका प्रतिनिधिहरुलाई समेत सहभागी गरेर ३० सदस्यीय मन्त्रिपरिषद बनाउनु भयो । यो मन्त्रिपरिषदमा एमालेका भरतमोहन अधिकारी, उपप्रधान सहित अर्थमन्त्री बन्नु भयो । मन्त्रिपरिषदमा एमालेबाट १० जना, नेपाली कांग्रेस प्रजातान्त्रिकबाट १२ जना, राप्रपावाट ५ जना, सद्भावनाबाट १ जना र राजाका प्रतिनिधि २ जना थिए ।

यसरी देउवाको नेतृत्वमा सरकार अघि बढ्यो । नेपाली कांग्रेसले पनि चरणवद्ध रुपमा आन्दोलन अघि बढाउँदै गयो । केही महिना पछि इराकमा रोजगारीका लागि गएका १२ जना निहत्था नेपालीहरु मारिएको घटनाका विरुद्ध काठमाडौंमा ठूलो आन्दोलन उठ्यो । यो हत्याको भिडियो प्रशारण भए पछि ठूलै सनसनी मच्चिएको थियो । आन्दोलनले काठमाडौं अस्तव्यस्त भयो । सडमा जतासुकै टायर बले ।

वैदेशिक रोजगारीका लागि पुगेका नेपाली कामदारहरूले विदेशी भूमिका अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आजपर्यन्त छ । केही वर्षअघि अफगानिस्तानको काबुलमा आतंकवादी समूहको आक्रमणमा परी १२ जना नेपालीले पनि ज्यान गुमाउनुको परेको थियो ।१६ भदौ २०६१ मा उग्रवादी संगठन इस्लाम अल सुन्ना समूहले १२ जना नेपालीलाई विभत्स रूपमा हत्या गरेको भिडियो सार्वजनिक भएपछि देशभर विरोध प्रदर्शन भयो । काठमाडौं उपत्यकामा कफ्र्यू जारी गर्नुपरेको थियो । रोजगारीको खोजीमा इराक पुगेका १२ नेपाली ४ भदौमा आतंककारीको अपहरणमा परे । बन्धक बनाएपछि एकजनाको घाँटी रेटेर र बाँकी ११ जनाको गोली प्रहार गरी हत्या गरेको थियो ।

इराकमा भएको विभत्स घटनाको भिडियो सार्वजनिक भएसँगै काठमाडौं उपत्यका बढेको हिंसात्मक घटनाले म्यानपावरका कार्यालय, मस्जिद, मुस्लिम समुदायका व्यापार व्यवसाय, सञ्चारगृह तोडफोड हुँदा करोडौं क्षति भएको थियो । मिडियाका कार्यलयहरु पनि तोडफोड गरिए । मुस्लिम समुदाय माथि आक्रमण भयो । मस्जिदहरु जलाइयो । आन्दोलन प्रहरीको नियन्त्रण भन्दा बाहिर गयो । त्यही बेला नेपाली कांग्रेस (प्रजातान्त्रिक) का उपसभापति चिरन्जीवि वाग्लेको घरमा पनि तोडफोड, आगजनी र लुटपाट भयो । आफ्नै पार्टीका उपसभापति चिरन्जीवि वाग्लेजीको सुरक्षा समेत गर्न नसक्ने गरी प्रधानमन्त्री देउवाजी निरिह देखिनु भयो । वाग्लेजीको घर सुरक्षाका लागि गृहमन्त्री पूर्ण बहादुर खड्काले आइजीपिलाई पटक पटक आग्रह गर्नु भएछ, तर आइजीपीले मेरो निर्देशन पनि सुनवाई भइरहेको छैन, घटनास्थलमा प्रहरी परिचालन हुनै सकेको छैन भनेछन् ।

इराक घटना सार्वजनिक भएकै दिन १६ भदौ २०६१ मा करिब तीन सय म्यानपावर कार्यालयमा आगजनी हुँदा २९ सयभन्दा बढी भिसा लागेका राहदानी र करिब ६ हजार भिसा नलागेका राहदानी जलेर नष्ट भएको थियो । म्यानपावर व्यवसायीहरूले १६ भदौलाई कालो दिनको रुपमा लिने गरेका छन् । तत्कालिन न्यायाधिश गौरी बहादुर कार्कीको संयोजकत्वमा छानबिन समिति गठन गरिएपनि उक्त समितिले दिएको प्रतिवेदन दराजमै थन्कियो ।

मन्त्रिपरिषदको नियन्त्रण र निर्देशनमा राज्य संयन्त्र चल्न सकिरहेको छैन भन्ने कुरा थप उजागर हुँदै गयो । तै पनि सरकारले आफ्नै ढंगले काम गर्दै गयो । उता माओवादीको गतिविधि पनि थप बढ्दै थियो । सरकारले केही गर्न सकेन भन्ने माहौल बनाउन दरवारले पनि भूमिका खेल्यो । किनकी देउवालाई फेरी अपधस्त गरेर आफ्नो हातमा सत्ता लिने गृहकार्यमा राजा जुटिरहेका छन् भन्ने संकेत देखिन थाल्यो । दरबारबाटै असहयोग भए पछि देउवाजीले पनि केही गर्न सक्ने संभावना रहेन । मौका पर्खेर बसेका राजाले २०६१ माघ १९ गते फेरी अर्को पटक ‘कू’ गरे ।

प्रतिक्रिया