पाँचथर । जिल्लाको फिदिम नगरपालिका, नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड फिदिम माविले कब्जा गरेको छ । प्रतियोगितामा माविले ३८ स्वर्ण पदक, २६ रजत पदक र १९ कास्य पदक गरी कूल ८३ वटा पदक हात पार्दै फिदिम मावि प्रथम बनेको हो ।
प्रथम बनेको फिदिम माविले तीन वर्षे रनिङ शिल्डसहितका पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा सिद्धदेवी मा।वि फिदिम–१२ ले ७ स्वर्ण, ४ रजत र ८ कास्य पदक जित्दै द्वितीय स्थान तथा ७ स्वर्ण, २ रजत र ५ कास्य पदक जित्दै रानीटार मावि फिदिम–७ ले तृतीय स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा अन्य ९ वटा विद्यालयले स्वर्ण पदक प्राप्त गरेका छन् । १६ वटा सामुदायिक र ७ वटा संस्थागत गरी २३ वटा विद्यालयको प्रतियोगितामा सहभागिता रहेको प्रअ बिनोद ठाकुरले जानकारी दिए ।
सो प्रतियोगितामा एउटा सामुदायिक विद्यालयले कुनै पनि खेलकुद विधामा पदक प्राप्त गर्न सकेन । फिदिम–२ को कालिका माविले कुनै पनि पदक जित्न नसकेको हो । यस्तै चार वटा विद्यालयले एक एक वटा कास्य पदक मात्रै जितेका छन ।
प्रतियोगितामा विभिन्न विधाका ६६ वटा स्वर्ण पदक, ६३ वटा रजत पदक र ८३ वटा कास्य पदकका लागि विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको आज सम्पन्न समापन कार्यक्रमा फिदिम माविका व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्रकुमार, बिरेन्द्र नेम्वाङको अध्यक्षता तथा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
समापन कार्यक्रममा फिदिमका जनप्रतिनिधिहरु, राजनीतिक दलका नेताहरु, संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलगायतले विजेता विद्यालयहरु तथा विद्यार्थीहरुलाई पुरस्कार, मेडल र प्रमाणपत्र बितरण गरेका थिए ।जिल्लास्तरीय, तत्कालीन बिरेन्द्र शिल्ड प्रतियोगितामा पनि उक्त माविले लगातार तीन पटक जितेर शिल्ड पचाएको विद्यालयको अभिलेखमा रहेको जनाइएको छ ।
प्रतिक्रिया