मेलबर्न । अस्ट्रेलिया र भारतबीचको पाँचाँै तथा अन्तिम टेस्टमा परिणाम आउने सम्भावना प्रबल देखिएको छ । पहिलो दिन भारतले १८५ रनमा सम्पूर्ण विकेट गुमाएपछि ब्याटिङ गरेको अस्ट्रेलियाले पनि पहिलो दिन नै ९ रनमा पहिलो विकेट गुमाइसकेको छ । दिनको अन्तिम बलमा उसमान ख्वाजा २ रनमा आउट भएका हुन् । उनलाई भारतका कामचलाउ कप्तान जसप्रित बुमराहले आउट गरे ।
यसअघि भारतका लागि ऋषभ पन्तले सर्वाधिक ४० रनको योगदान गरे । उनलाई स्कट बोलान्डले आउट गरे । बोलान्डले ३१ रन खर्चेर ४ विकेट लिए । यसैगरी मिचेल स्टार्कले ४९ रन खर्चेर ३ विकेट लिए । प्याट कुमिनसले २ तथा नाथन लियोनले १ विकेट लिए । रविन्द्र जडेजाले २६ रन बनाए भने कप्तान बुमराहले २२ रन बनाए ।
भारतले अस्ट्रेलियासँगको पाँचौँ टेस्टमा रोहित शर्मालाई मैदान बाहिर राखेपछि टोलीको नेतृत्वको जिम्मेवारी बुमराहलाई सुम्पेको हो । शृंखलामा खराब फर्ममा रहेका कप्तान शर्मा पाँचौँ टेस्टमा प्लेइङ ११ मा नपरेका हुन् । भारतका प्रशिक्षक गौतम गाम्भीरले जसप्रित बुमराहलाई दिइएको कप्तानको जिम्मेवारीलाई उनले पनि पुष्टि गर्ने प्रयास गरेका छन् । बुमराहको नेतृत्वमा मैदानमा उत्रेको सुनिल गावस्कर ट्रफीको पाँचौँ खेलमा सुभमन गिललाई टोलीमा समावेश गरिएको छ । पहिलो दिन गिल पनि असफल भए । उनी २० रनमा आउट भए । लोकेश राहुल र यशस्वी जैसवालले पारीको सुरुआत गरे । खेलको सुरुआतमै राहुल र जैसवाल आउट भए । पहिलो विकेटका रूपमा राहुल ४ रन बनाएर आउट हुँदा जैसवालले १० रन बनाए । भारतले ७ दशमलव ४ ओभरमै १७ रन बनाउँदा सुरुका २ वटै विकेट गुमाएको थियो ।
रोहित बिदामा नै भएको समयमा पर्थमा भएको पहिलो टेस्टमा भारतले बुमराहकै नेतृत्वमा सफलता पाएको थियो । रोहित टोलीमा समावेश भएपछि भारतको हार सुरु भएको थियो । मेलबर्नमा भएको चौथो टेस्टमा उनले ३ र ९ रन रन प्रहार गरेका थिए ।
यस शृंखलापछि नै रोहितले सन्यासको बारे पनि सोच्न सक्ने बताइएको छ । यस शृंखलालाई कम्तीमा बराबरी गरेर १० वर्षमा पहिलोपटक बोर्डर गावस्कर ट्रफी लैजानबाट रोक्नका लागि भारतले जित्नै पर्नेछ ।
रोहित छोरो जन्मिएको उपलक्ष्यमा बिदामा रहेको समयमा पारीको सुरुआत गरेका राहुलले गरेको प्रदर्शनकै कारण भारतले १–० को अग्रता लिएको थियो । त्यसपछि मध्यक्रममा ब्याटिङ गरेका उनी मेलबर्नमा भएको टेस्टमा पारीको सुरुआत गरे पनि असफल भएका थिए ।
प्रतिक्रिया