सफल राजनेता तथा कुशल अर्थशास्त्री डा.सिंहको अवसान

विश्वप्रसिद्ध अक्सफोर्ड र क्याम्ब्रिज विश्व विद्यालयवाट दीक्षित अर्थशास्त्री डा. सिंह एक दशकसम्म भारतको सफल प्रधानमन्त्री मात्रै भएनन्, सफल अर्थशास्त्रीसमेत ठहरिए । भारतमा आर्थिक सुधारका त उनी जनक नै मानिन्छन् । नेपालमा पनि त्यसपछि मात्रै आर्थिक उदारीकरणको नीति लागू गरिएको हो । नेपालमा कांगे्रस सरकारको पालामा आर्थिक उदारवादको नीति लागू गरिएको थियो, जसलाई सबै सरकारहरूले निरन्तरता दिँदै आएका छन् । नेपालले आफना एक सच्चा मित्र गुमाएको छ ।

श्रीमन नारायण

दक्षिणी छिमेकी भारतका आर्थिक सुधारका प्रणेता र राजनीतिमा सादगी र सौम्यताका प्रतीक मानिएका डा.मनमोहन सिंहको आकस्मिक निधनले भारतसहित, दक्षिण एसिया र पुरै विश्वका लागि अपूरणीय क्षति भएको छ । डा.मनमोहन सिंह प्रधानमन्त्री भएको बेला नेपाल–भारत सम्बन्ध सधैँ झै सुमधुर–सौहार्दपूर्ण र हार्दिकता तथा आत्मियताले भरिएको थियो । उनको निधनबाट नेपालले पनि आफना एक सच्चा मित्र र शुभेच्छुकलाई गुमाएको छ ।


अर्थशास्त्री, नीति निर्माता र राजनेताको रूपमा डा.सिंहले ख्याति कमाएका थिए । भारत जस्तो विश्वकै सबैभन्दा ठुलो लोकतान्त्रिक देशमा सहयोगी राजनीतिक दलहरूको विश्वास र समर्थन प्राप्त गरेर एक दशकसम्म सरकारको नेतृत्व गर्नु सामान्य उपलब्धि थिएन । आर्थिक उदारवाद र निजीकरणका घोर विरोधी भारतका वामपन्थी र समाजवादी दलहरूको सहयोग प्राप्त गर्नु र तिनको विश्वास जितेर उदार अर्थ नीतिलाई कार्यान्वयन गराउनु सामान्य उपलब्धि थिएन । साह्रै कम बोल्न रुचाउने डा.सिंहको आदर र सम्मान उनका विपक्षीहरूले पनि गर्दथे । भारत र विश्वका अनेकौँ शासनाध्यक्ष र राष्ट्राध्यक्षहरूबाट प्राप्त संवेदना सन्देशले पनि उनको महानताको पुष्टि गर्दछ ।

डा. सिंहको एक दशक लामो कार्यकालमा नेपाल–भारत सम्बन्ध पनि निकै सुमधुर थियो । नेकपा माओवादी केन्द्रले एक दशक लामो सशस्त्र संघर्षलाई परित्याग गरी शान्तिपूर्ण राजनीतिमा पदार्पण गरेको त्यही अवधिमा थियो । नेपालमा स्थायी शान्तिको स्थापना पनि त्यसै अवधिमा भएको थियो । नेपाल, संघीय लोकतान्त्रिक गणतन्त्रको यात्राका लागि पाइला चालेको पनि त्यसै अवधिमा थियो । नेपालको संघीयता, लोकतन्त्र र गणतन्त्रको जरो बलियो भइसकेको छ ।

डा.सिंहको कार्यकालमा नेपालको आर्थिक विकासमा पनि भारतले महत्वपूर्ण सहयोग गरेको थियो । जनआन्दोलन–२ को सफलतापश्चात अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा उनलाई स्वागत गर्न भारतका तात्कालीन प्रधानमन्त्री डा. सिंह स्वयं विमानस्थलसम्म पुग्नु उनको महानताको संकेत थियो । नेपालप्रति उनले देखाएका उच्च सम्मानको प्रतीक थियो यो । प्रोटोकलको समेत ख्याल नगरी विदेशी पाहुनालाई स्वागत सत्कार गर्ने काम यदाकदा मात्रै हुने गर्दछ ।

भारतको अर्थ व्यवस्थालाई जोगाउनमा र त्यसलाई बलियो बनाउनमा डा.सिंहको योगदान महत्वपूर्ण थियो । सन् १९९० मा खाडी युद्धका कारण कच्चा तेलको मूल्यमा तीन गुणाले वृद्धि भएको थियो । कुवेतमाथि इराकको आक्रमणले भारतलाई त्यहाँबाट आफ्ना हजारौँ मजदुरहरूलाई स्वदेश फिर्ता ल्याउनुपरेको थियो । यसले गर्दा रेमिट्यान्समा कमी आएको थियो । इराकमा सद्दाम हुसैनविरुद्ध अमेरिकी कारबाहीसँगै कच्चा तेलको मूल्यमा भएको अप्रत्याशित वृद्धिले पुरै विश्वमा महँगी बढाएको थियो । भारतले कुल इन्धनको ८० प्रतिशत कच्चा तेल आयात गरेर प्रशोधन गर्दछ, त्यो अझै जारी छ । हिन्दू ग्रोथरेट भनिने भारतको अर्थतन्त्र बढीजसो आयातमा आधारित थियो र त्यो पनि लाइसेन्स प्रणाली अनुरूप, उद्यम, आयात र व्यापारमा कडा सरकारी नियन्त्रण थियो ।

विदेशी मुद्रा सञ्चित घटेर जम्मा १५ दिनको आयातलाइ धान्ने अवस्था मात्रै थियो । खाडी युद्धका कारण अधिकांश युवा घर फर्किएपछि विदेशी मुद्राको स्रोत सुक्दै गएको थियो । आयातित इन्धनको मूल्यका कारण हरेक बस्तुको भाउ बढेको थियो । भारतीय मुद्रा अमेरिकी डलरको तुलनामा १८ प्रतिशतभन्दा बढीले अवमूल्यन भएको थियो । यस्तो अर्थतन्त्रलाई बलियो बनाउनु निकै चुनौतीपूर्ण कार्य थियो ।

सन् १९९१ मा भारतको अन्तर्राष्ट्रिय व्यापार सन्तुलन ठुलो घाटामा थियो । विदेशी पुँजी लगानीमाथि सरकारको नियन्त्रण थियो । आयातका लागि जटिल लाइसेन्सिङ सिस्टम थियो । चीन र पाकिस्तानसँगको युद्ध तथा तनावपूर्ण सम्बन्ध, सेयर बजारमा अनियमितता, उत्पादनको क्षेत्रमा घरेलु नियन्त्रण आदिले अर्थव्यवस्थाको प्रगतिलाई रोकेको थियो ।

भारतमा जारी राजनीतिक अस्थिरता तथा सामाजिक अवस्थाले समेत अर्थतन्त्रलाई कमजोर बनाएको थियो । त्यस्तो विषम परिस्थितिमा भारतीय राजनीतिका चाणक्य मानिएका पिभी नरसिंह राव प्रधानमन्त्री बनेका थिए । बहुभाषी, कुटिल, विद्वान एवं कुशल राजनीतिज्ञ प्रधानमन्त्री रावले डा.सिंहको विज्ञता, अनुभव र ज्ञानको सदुपयोग राष्ट्रहितमा गर्न खोजे । उनलाई देशको वित्त मन्त्री बनाए ।

भारतका वित्तमन्त्रीको रूपमा पहिलोपटक आमबजेट प्रस्तुत गर्दै डा.सिंहले भनेका थिए, ‘समयलाई खेर फाल्ने अब कुनै अवसर बाँकी छैन, न त अब सरकार, न त देशको अर्थव्यवस्थाले नै वर्षौंपिच्छे आफ्नो क्षमता अनुसार खर्च गर्न सक्ने अवस्थामा छ । ऋण लिएर अगाडि बढ्ने अवस्था पनि अब रहेन, तसर्थ हामीले बजारको ताकतको सञ्चालनका लागि यसको दायरा र क्षेत्रलाई बिस्तार गर्नु आवश्यक भएको छ ।’ उनले भारतीय अर्थव्यवस्थामा सुधारको निम्ति एउटा शृंखलाको थालनी गरे । जसलाई ‘मानवीय अनुहारसँग सुधार’ को संज्ञा दिइयो । उनले तीन स्तरमा ठुलो परिवर्तन गरे, उदारीकरण, वैश्वीकरण र निजीकरण । (लिबरलाइजेसन, ग्लोबलाइजेसन र प्राइभेटाइजेसन), जसले गर्दा विदेश व्यापार, लगानी, वित्त एवं करसित जोडिएका क्षेत्रमा ठुलो सुधार गरियो ।

दुईपटक भारतीय मुद्रामा अवमूल्यन गरेर डा.सिंहले निर्यातलाई सस्तो बनाए, यसबाट व्यापार असन्तुलनलाइ कम गर्नमा पनि मद्दत मिल्यो । फेरि औद्योगिक नीतिको थालनीसँगै लाइसेन्स राजलाई पनि समाप्त गरियो । भारतीय बजारलाई विदेशी कम्पनीहरूको निम्ति पनि खुल्ला गरियो । उनले भारतको आयात र निर्यात नीतिलाई पनि सरल बनाए । उपरोक्त सुधारहरूले गर्दा भारत तीव्र आर्थिक विकासको पथमा उभियो र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको निम्ति पनि भारत आकर्षक गन्तव्य बन्न पुग्यो । विदेशी पुँजीको प्रवाहले देशको आर्थिक अवस्थालाई बलियो बनाउने काम ग¥यो । देशमा औद्योगिकीकरणको गतिले तीव्रता प्राप्त ग¥यो र जागिरको अवसर पनि बढ्दै गयो ।

सन् २००४ देखि २०१४ सम्म जतिबेला डा.सिंह प्रधानमन्त्री थिए, भारतको आर्थिक विकासको गतिले झन् तीव्रता प्राप्त ग¥यो । त्यस दशकमा भारतको जिडिपी ८ दशमलव १ प्रतिशतसम्म थियो । सन् २००७ मा त यो ९ प्रतिशतसम्म पुगेको थियो । उनकै पालामा सुरु भएको आर्थिक वृद्धिको गति प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा पनि कायमै छ र भारत अहिले विश्वको पाँचौँ अर्थव्यवस्था बन्न सफल भएको छ । अब चाँडै नै यो चौथो र तेस्रो अर्थव्यवस्था बन्ने प्रक्षेपण पनि गरिँदै छ ।

डा.सिंहकै कार्यकालमा सबैभन्दा ठुलो सामाजिक कल्याण कार्यक्रम महात्मा गान्धी ग्रामीण रोजगार ग्यारेन्टी अधिनियम सञ्चालन गरियो । जुन विश्वकै सबैभन्दा ठुलो रोजगार गारेन्टी योजनाको रूपले मान्यता प्राप्त छ । उनकै कार्यकालमा भारत–अमेरिका असैन्य परमाणु ऊर्जा संझौता भएको थियो । उनकै कार्यकालमा सूचनाको अधिकार अधिनियम (आरिटिआई) लागू गरियो । उनको कार्यकालमा लोक कल्याणका धेरै कार्यक्रमहरू लागू गरिए जसलाई मोदी सरकारले पनि निरन्तरता दिएको छ ।

डा.सिंहको जन्म पाकिस्तानको पन्जाब प्रान्तमा २६ सेप्टेम्बर १९३२ मा भएको थियो । देशको विभाजनपछि सिंहको परिवार भारत आयो । पन्जाब विश्वविद्यालयबाट उनले स्नातक तथा स्नातकोत्तर स्तरको पढाइ पूरा गरे । त्यसपछि उनी क्याम्ब्रिज विश्वविद्यालय गए । जहाँबाट उनले पिएचडी गरे । तत्पश्चात् उनले अक्सफोर्ड विश्वविद्यालयबाट डिफिल पनि गरे । डा.सिंहले अर्थशास्त्रको प्राध्यापकका रूपमा ठूलो ख्याति अर्जित गरे । उनी पन्जाब विश्वविद्यालय र त्यसपछि प्रतिष्ठित दिल्ली स्कुल अफ इकोनोमिक्समा प्राध्यापक रहे ।

त्यहीबीच उनी संयुक्त राष्ट्र संघीय आर्थिक सचिवालयमा सलाहकार पनि रहे । १९८७ तथा १९९० मा जेनेभामा साउथ कमिसनमा सचिव पनि रहे । १९७१ मा डा.सिंह भारतको वाणिज्य मन्त्रालयमा आर्थिक सल्लाहकारको रूपमा नियुक्त गरिएका थिए । १९७२ मा उनलाई वित्त मन्त्रालयमा मुख्य आर्थिक सल्लाहकार बनाइयो । यसपछिको वर्षमा उनी योजना आयोगको उपाध्यक्ष, रिजर्ब बैंकको गभर्नर, प्रधानमन्त्रीको सल्लाहकार र विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष रहे । भारतको आर्थिक इतिहासमा हालको वर्षमा सबैभन्दा महत्वपूर्ण मोड तब आयो जब डा.सिंह १९९१ देखि १९९६ सम्म भारतको वित्त मन्त्री रहे ।

विश्वप्रसिद्ध अक्सफोर्ड र क्याम्ब्रिज विश्व विद्यालयवाट दीक्षित अर्थशास्त्री डा.सिंह एक दशकसम्म भारतको सफल प्रधानमन्त्री मात्रै भएनन्, सफल अर्थशास्त्रीसमेत ठहरिए । भारतमा आर्थिक सुधारका त उनी जनक नै मानिन्छन् । नेपालमा पनि त्यसपछि मात्रै आर्थिक उदारीकरणको नीति लागू गरिएको हो । नेपालमा कांग्रेस सरकारको पालामा आर्थिक उदारवादको नीति लागू गरिएको थियो, जसलाई सबै सरकारहरूले निरन्तरता दिँदै आएका छन् । नेपालले आफ्ना एक सच्चा मित्र गुमाएको छ ।

प्रतिक्रिया