बढ्यो नेपाल घुम्ने पर्यटकको संख्या

‘डिजिटल मार्केटिङ’ प्रभावकारी बनाउन मन्त्रीको निर्देशन

काठमाडौँ । सरकारले विदेशी पर्यटकको संख्या वृद्धि गर्न अन्तर्राष्ट्रिय प्रवद्र्धन तथा ‘डिजिटल’ बजारीकरणलाई प्रभावकारी बनाउने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक आगमन बढाउन तथा नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्नेगरी सरकारले नीतिगत रूपान्तरणको काम गरिरहेको बताएका छन् ।

नेपाल पर्यटन बोर्डको २६औँ वार्षिकोत्सवमा अवसरमा यहाँ आयोजित कार्यक्रममा मन्त्री पाण्डेले पर्यटन विकासका लागि सरकारले नयाँ पर्यटन नीति तयार गरिरहेको र यसलाई चाँडै पूर्णता दिने बताए । उनले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पिपिपी) को अवधारणालाई आत्मसात् गर्दै अन्तर्राष्ट्रिय प्रवद्र्धनका कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दिए ।

पर्यटनमन्त्री पाण्डेले नेपालको मौलिक पर्यटन उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा व्यापक प्रवद्र्धन गर्न आवश्यक रहेकामा जोड दिए । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त देश भएको बताउँदै उनले यही विविधताका बीच एकता, सहिष्णुता र सद्भावलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकास र विस्तार गर्नु आजको आवश्यकता रहेको धारणा राखे ।

पर्यटनराज्यमन्त्री अरुणकुमार चौधरीले पर्यटन उद्योगको विकास र बिस्तारबाट नेपालको आर्थिक विकास गर्न सकिने बताउँदै यसका लागि सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको बताए । पर्यटन मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेयले बोर्डले पूर्वाधारको विकाससँगै प्रविधिको व्यापक प्रयोग, पर्यटनका लागि आवश्यक जनशक्ति विकासमा जोड दिनुपर्ने बताए ।

बोर्ड सञ्चालक समितिका सदस्य ऋषि भण्डारीले पर्यटन प्रवद्र्धनको मुख्य जिम्मेवारी बोकेको नेपाल पर्यटन बोर्ड सरोकारवाला सबैलाई साथमा लिएर गतिशील बनाउँदै लैजानुपर्ने खाँचो औँल्याए । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको पर्यटक आगमन बिस्तारै लयमा फर्किंदै गएको र नेपालको पर्यटनमा आगामी दिन थप सुनौलो हुने धारणा राखे ।

कार्यक्रममा बोर्ड कर्मचारी संगठनका अध्यक्ष कुन्दन मिश्रले संस्थाको आन्तरिक सुदृढीकरणका लागि आवश्यक नीतिगत सुधारका लागि पहल गरिदिन आग्रह गरे । नेपालमा पर्यटक आगमनसँगै होटल पूर्वाधार र पर्यटकीय संरचनासमेत बढ्दै गएका छन् । पर्यटकीय आगमनसँगै पर्यटन पूर्वाधारमा सकारात्मक सन्देश प्रवाह भइरहको बोर्डको दाबी छ ।

सन् २०२४ मा साढे ११ लाख पर्यटक नेपाल आए

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२४ मा ११ लाख ४७ हजार २४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । डिसेम्बरमा मात्रै ८९ हजार ७६५ पर्यटक आएका छन् । यो मंगलबार बिहानसम्मको तथ्यांक हो । थप १ दिनको जोडेर यो वर्ष ११ लाख ५० हजार हाराहारीमा विदेशी पर्यटकको संख्या पुग्ने बोर्डको विश्वास छ । यसअघि सन् २०१९ मा हालसम्मकै बढी ११ लाख ९७ हजार पर्यटक आएका थिए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले कोभिडपछि विश्व परिवेशमा ९७ प्रतिशत ‘रिकभरी’ देखिएको बताए । उनले सन् २०२४ मा नेपालमा ११ लाख ५० हजार हाराहारी पर्यटकले भ्रमण गरेकाले कोभिडपछि नेपालमा ९६ प्रतिशतसम्म रिकभरी देखिएको बताए ।

नेपालमा गत वर्ष २०२३ मा १० लाख १४ हजार ८८२ पर्यटक नेपाल आएका थिए । नेपाल आएका पर्यटक गत वर्षको तुलनामा यो वर्ष १ लाख ३५ हजारले बढेको छ । नेपालमा पर्यटक आगमन गत वर्षको तुलनामा सन् २०२४ मा करिब १३ प्रतिशतले पर्यटक आगमन बढेको हो ।

उनका अनुसार सन् २०२५ मा नेपालले १३ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । अहिलेकै आगमन दरको हिसाबले सन् २०२५ मा सहजै १३ लाख पर्यटक आउने अनुमान नेपाल पर्यटन बोर्डको छ । बोर्डका अनुसार अहिले साढे ११ लाख पर्यटक आउँदा गत वर्षको तुलनामा झण्डै ३० प्रतिशतले बढेको छ भने यो वर्षको तुलनामा आगामी वर्ष जम्मा १३ प्रतिशतको मात्रै वृद्धि लक्ष्य सामान्य हो ।

प्रतिक्रिया