जोहन्सबर्ग । दक्षिण अफ्रिकाले पाकिस्तानसँगको पहिलो टेस्टमा सफलता पाएको छ । सफलतासँगै दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा छनोट भएको छ । १४८ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले ९९ रन बनाउँदा आठौँ विकेट गुमाएको थियो । कासिगो रबाडा र मार्को जेन्सनले टोलीलाई जित दिलाए । ३ वर्षपछि टेस्ट टोलीमा फर्किएका मोहम्मद अब्बसले ५४ रन खर्चिएर ६ विकेट लिए पनि उनले टोलीको हार टार्न सकेनन् । पाकिस्तानले सन् २००७ यता दक्षिणी अफ्रिकी भूमिमा ८ टेस्टमा पराजयको सामना गरिसकेको छ ।
दक्षिण अफ्रिकाले ३७ रनमा ५ विकेट गुमाएपछि पाकिस्तान जितको नजिक देखिएको थियो । पाकिस्तानी बलरले १२ बलको अन्तरमा ४ विकेटको सफलता पाएका थिए । जेन्सनले १६ तथा रबाडाले ३१ रन जोडे । रबाडाले १२ रन अवस्थामा जीवनदान पाएका थिए । सो समयमा दक्षिण अफ्रिकालाई जितका लागि ३२ रन आवश्यक थियो ।
पहिलो पारीमा पाकिस्तानले २११ तथा दक्षिण अफ्रिकाले ३०१ रन जोडेका थिए । दोस्रो पारीमा पाकिस्तानले २३७ बनाएको हो । पहिलो पारीमा ८९ रन जोडेका दक्षिण अफ्रिकी कप्तान आइडन म्याक्रम खेलको म्यान अफ द म्याच घोषित भए ।
भारतमाथि अस्ट्रेलियाको जित
मेलबर्न टेस्टमा अस्ट्रेलियाले भारतलाई १८४ रनले हराएको छ । यसका साथै अस्ट्रेलियाले बोर्डर–गावस्कर ट्रफीमा २–१ ले अग्रता बनाएको छ । अस्ट्रेलियाले जितका लागि भारतलाई ३४० रनको लक्ष्य दिएको थियो । तर भारतीय टोली १५५ रनमै समेटियो ।
भारतको तर्फबाट दोस्रो पारीमा सबैभन्दा धेरै रन यशस्वी जयसवालले बनाए । उनले ८४ रनको पारी खेले । उनका अलावा ऋषभ पन्तले ३० रनको पारी खेले । दुवै ब्याटरका अलावा अरू कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
अस्ट्रेलियाको तर्फबाट सर्वाधिक विकेट कप्तान प्याट कमिन्स र स्कट बोल्यान्डले लिएका छन् । दुवै बलरले आफ्नो नाममा ३–३ विकेट झार्न सफल भए । यिनका अलावा नाथन लायनले २ र मिचेल स्टार्क तथा ट्र्याविस हेडले १–१ विकेट लिए । चौथो दिनको खेल सकिँदा अस्ट्रेलियाले ९ विकेट गुमाउँदै २८८ रन बनाएको थियो ।
पाँचौँ दिनको सुरुआतमा अस्ट्रेलियन टिम केलब ६ रन मात्रै जोडेर २३४ को स्कोरमा अलआउट भयो । यससँगै अस्ट्रेलियाले भारतलाई ३४० रनको चुनौती दिएको थियो । यस खेलमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको थियो । अस्ट्रेलियाले पहिलो पारीमा ४७४ नरको ठूलो स्कोर बनायो । जसको जवाफमा भारतले पहिलो पारीमा ३६९ रन बनायो ।
पहिलो पारीमा अस्ट्रेलियाका स्टिभ स्मिथले शतकीय पारी खेले । भारतको तर्फबाट नीतिशकुमार रेड्डीले आफ्नो करिअरको पहिलो शतक लगाए ।
प्रतिक्रिया