पछिल्ला वर्षहरूमा नेपालको धरातलीय यर्थाथताले काँचुली फेरिसकेको छ । गणेश हिमालभन्दा पूर्वतर्फ पर्ने तिब्बतको दक्षिणी क्षेत्रका नेपाली सीमासम्म चीनले फराकिला सडकहरू निर्माण गरिरहेको छ । अब रेल मार्गबाटसमेत जोड्दै छ । चीनले आफ्नो मुख्य भूमिसँग सुविधा सम्पन्न सडक तथा रेल मार्गले धमाधम जोडिरहेको तिब्बतको यो क्षेत्रले धेरै ठूलो जनआवादीको संभावना बोकेको छ ।
नेपाली कांग्रेसले हरेक वर्ष पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ । यस दिवसका अवशरमा नेपाली कांग्रेसले देशव्यापी कार्यक्रमको आयोजना गर्ने गरेको छ । किनकी पुस १६ गते भनेको नेपाली कांग्रेसले आफ्नो पार्टीको नयाँ सिद्धान्त थपेको दिन हो । पुस १६ गते भनेको नेपाली कांग्रेसले नयाँ मोड लिएको दिन हो ।
२०१७ सालमा राजा महेन्द्र शाहले प्रजातन्त्र अपहरण गरेपछि नेपाली कांग्रेसले सशस्त्र अन्दोलनको बाटो रोजेको थियो । राजाविरुद्ध नेपाली कांग्रेस सिधै संघर्षमा उत्रिएको थियो । यस क्रममा राजा महेन्द्रमाथि कांग्रेसका कार्यकर्ताहरूले बमसमेत प्रहार गरेका थिए । राजाविरुद्ध हिंसात्मक आन्दोलन गरेका कारण तत्कालीन शासन व्यवस्थाले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाविरुद्ध कैयौँ मुद्दा लगाएको थियो । जसमा ७ वटा मुद्दा यस्ता थिए, यी मध्ये जुनसुकै मुद्दामा पनि बिपी कोइरालालाई फाँसीको सजाय हुने कानुनी व्यवस्था थियो ।
उता फाँसीको सजायबाट बच्न बिपी कोइराला तथा नेपाली कांग्रेसका हजारौँ नेता कार्यकर्ताहरू भारतमा निर्वासित जीवन बिताइरहेका थिए । स्वदेश आउनासाथ मृत्युदण्डको सजाय हुने अवस्था रहेकोले कांग्रेसका कार्यकर्ताहरू लुकीलुकी नेपाल आउँदै राजाका कार्यक्रम बिथोल्न बाध्य थिए । तर यो परिस्थितिलाई बिपी कोइरालाले लम्ब्याउन चाहेनन् । यो परिस्थिति जति लम्बिँदै जान्छ, नेपालको राष्ट्रियता उनी नै धरापमा पर्दै जाने विश्लेषण बिपी कोइरालाले गरे ।
राष्ट्रियता खतरामा पर्ने परिस्थिति लम्ब्याउनुभन्दा नेपाल फर्केर फाँसीको सजाय भोग्न उचित हुने निष्कर्ष निकाल्दै बिपी कोइराला आफ्ना सहकर्मी गणेशमान सिंहसहित नेपाल फर्के । दूरदर्शी राजनेता बिपी कोइरालाले २०३३ पुस १६ गते निर्वासनबाट स्वदेश फर्कने क्रममा दिएको वक्तव्य नै ‘राष्ट्रिय एकता तथा मेलमिलापको सिद्धान्त’ हो ।
आफूमाथि फासीको सजाय निश्चित हुँदाहुँदै पनि बिपी कोइराला किन स्वदेश फर्के ? स्वदेश फर्केपछि बिपी कोइरालाले राजा वीरेन्द्रलाई भेट्ने अवशर के कसरी प्राप्त गरे ? बिपी कोइरालाको भेटपछि तत्कालीन राजा वीरेन्द्र कसरी कन्भिन्स भए ? बिपीलाई फाँसी दिनको सट्टा सरकारी खर्चमा अमेरिकामा लगेर स्वास्थ्य उपचारको प्रबन्ध तत्कालीन राजा वीरेन्द्रले किन मिलाए ? मेलमिलाप नीति लिएको ३० वर्षपछि नेपाली कांग्रेसले गणतन्त्रमा जाने लाइन लियो । नेपाली कांग्रेस गणतन्त्रको लाइनमा जानु राष्ट्रिय एकता तथा मेलमिलापको सिद्धान्त विपरीत हो कि होइन ? लगायतका प्रश्नहरूले नेपाली राजनीतिको धेरै पाटो उजागर गर्छ ।
वास्तवमा पञ्चायती जेल बसाईंबाट निस्किएर बिपी कोइराला भारत जाँदा र आउँदाको भूराजनीतिक नक्सा बिल्कुल फरक थियो । बिपी भारत जाँदा स्वतन्त्र देश रहेको सिक्किम बिपी नेपाल आउने अघिल्लो वर्ष भारतको २२औँ राज्य भएको थियो । २०३२ जेठ २ (सन १९७५ मे १६)मा सिक्किम भारतमा गाभियो । विदेशी पत्रकार तथा पर्यवेक्षकहरूलाई निषेध गरेर सिक्किमका राजा चोग्याललाई सुरक्षा दिने भन्दै भारतीय सैन्य बलले घेराउ गरेको थियो ।
२०३२ वैशाख १ (सन् १९७५ अप्रिल १४)मा भएको जनमत संग्रहपछि स्वतन्त्र हिमाली राज्य सिक्किम भारतमा विलय भएको थियो । सन् १९७५ को अप्रिल १६ मा प्रकाशित दि न्युयोर्क टाइम्स पत्रिकाले न्युयोर्कमा निर्वासित अमेरिकी नागरिकसमेत रहेकी तत्कालीन सिक्किमकी रानी होप कुकलाई उदृत गर्दै जनमत संग्रह ‘अवैधानिक र असंवैधानिक’ भएको उल्लेख गरेको थियो । मतदानमा ५९ हजार ६३७ जनाले भारतमा गाभिने तथा १ हजार ४९६ जनाले स्वतन्त्र मुलुक हुनुपर्ने पक्षमा मतदान गरेको भारतीय पक्षले सार्वजनिक गरेको दि न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।
यसरी सिक्किमको विवादास्पद जनमतसंग्रह र भारतमा गाभिएको डेढ वर्षपछि बिपी नेपाल आएका थिए । सिक्किम प्रकरणभन्दा ४ वर्ष अगाडि २०२७ चैत १३ (सन् १९७१ मार्च २६) मा बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भएको थियो । पूर्वी पाकिस्तानको रूपमा परिचित बंगलादेश स्वतन्त्र बनेको थियो । यिनै रोचक भूराजनितिक पृष्ठभूमिमा बिपी निर्वासित जीवन त्यागेर नेपाल आएका थिए । विश्लेषकहरू भन्छन्, ‘बिपी कोइरालाले त्यतिबेला त्यो सुझबुझ नपुर्याएको भए वीरेन्द्रको बंश विनास त्यतिबेला नै हुन पनि सक्थ्यो । अथवा सिक्किममा जस्तै राजनीतिकदललाई उचालेर आन्दोलन गराउने र राजालाई सुरक्षा दिने भन्दै भारतीय सेना प्रवेश गरेर जनमत संग्रह गराउने अवस्था पनि बन्न सक्थ्यो ।
तर, बिपी र राजा वीरेन्द्रको भेटघाटपछि नेपाल ठूलो संकटबाट बच्यो । नेपालको राजनीतिक वातावरण पनि बिस्तारै खुकुलो भयो । जनमत संग्रहमार्फत प्रजातन्त्र बहाली गर्ने राजा वीरेन्द्रको प्रयास सफल हुन दरबारकै एउटा लबीले दिएन, तर पञ्चायतमै पनि मतदानको माध्यमबाट राष्ट्रिय पञ्चायत, जिल्ला पञ्चायत तथा गाउँ पञ्चायतका प्रतिनिधि चुन्ने व्यवस्था भयो । यो व्यवस्था भनेको प्रजातन्त्र पुनवर्हालीको जग थियो । २०४६ सालको परिवर्तन यसैको उपज थियो । त्यसैले पुस १६ गते भनेको नेपालको राष्ट्रियता जोगिएको र प्रजातन्त्र बहालीका लागि बाटो खुलेको दिन हो ।
बिपी कोइराला राजासँग मेलमिलाप गर्ने भन्दै स्वदेश फर्कनुको रहस्य निकै गहन छ । भारतीय बिस्तारबादी नीतिको गहिरो अध्ययन भएकाहरूले मात्रै बिपी कोइरालाले राजासँग किन घाँटी जोडे ? भन्ने रहस्य बुझ्न सक्छन् । त्यतिबेलासम्म भारतले पाकिस्तान विभाजित गरिसकेको थियो । भुटानको रक्षा र परराष्ट्र मन्त्रालय आफ्नो नियन्त्रणमा लिइसकेको थियो । सिक्किमलाई आफूमा विलय गरिसकेको थियो । भारतको अबको टार्गेट नेपाल हो भन्ने सूचना तथा विश्लेषण बिपी कोइरालाले आफ्ना भारतीय अनुयायीद्वारा पाउन थाले ।
सिक्किममा जस्तै नेपालमा पनि राजा र जनताबीच द्वन्द्व सिर्जना गराउने र आफू प्रवेश गर्ने दाउमा भारतकी तत्कालीन प्रधानमन्त्री रहेको सूचना पाएपछि बिपी कोइरालाको धैर्यताको बाँध टुटेको थियो । यो सूचना र विश्लेषण कुनै पनि हालतमा राजा वीरेन्द्रसम्म पुर्याउने सूत्रको खोजीमा बिपी कोइराला जुटे । किनकी कत्ति पनि ढिलाइ गर्न नहुने अवस्था थियो ।
नेपालका तत्कालीन प्रधानसेनापति अर्जुननरसिंह राणा भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीसँग निरन्तर सम्पर्कमा रहेको सूचना राजा वीरेन्द्रसम्म पुर्याउन कत्ति पनि ढिलाइ गर्न नहुने अवस्थामा बिपी थिए । तर राजा वीरेन्द्रसँग भेटेर बिस्तारपूर्वक यो रहस्य बुझाउन सक्ने सूत्र बिपीसँग थिएन । त्यसैले बिपी कोइराला जोखिम मोलेरै स्वदेश फर्के । स्वदेश फर्कने क्रममा बिपी कोइरालाले शैलजा आचार्यसँग भनेका थिए, ‘नेपालको नियती पनि सिक्किमको जस्तै बन्न लेखेको रहेछ भने मलाई तत्कालै फाँसी हुन्छ, यदि नेपालको भाग्य राम्रो छ भने मेरो राजासँग भेट हुन्छ, तर राजा र म बीच भेट गराउनै नदिने षड्यन्त्रमा इन्दिरा गन्धी लागिसकेकी छन् ।’
नभन्दै बिपी कोइराला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने बित्तिकै पक्राउ गरेर फेरि सुन्दरीजल जेलमा राखियो । भारतीय लवीका पञ्चहरू बिपी कोइरालालाई फाँसी दिनुपर्छ भन्दै अभियान सुरु गरे । तर, बिपी कोइरालाले राजाका निजी चिकित्सक मृगेन्द्रराज पाण्डेमार्फत राजा वीरेन्द्रसँग गोप्य भेटघाट गरी भएभरको सूचना दिए । यो सूचना पाएलगत्तै राजा वीरेन्द्रले मध्यरातमा राष्ट्र बैंकबाट डलर निकाल्दै तत्काल अमेरिका गएर स्वास्थ्य उपचार गर्न आग्रह गरे । राजा वीरेन्द्रले बिपीलाई भने, ‘तिम्रो स्वास्थ्य अवस्था अत्यन्तै नाजुक छ । अहिलेको मुख्य आवश्यकता भनेको तिमी कुनै हालतमा पनि बाँचेर फर्कनुपर्छ ।’
त्यसपछि बिपी कोइराले भने, ‘सरकार, मेरो स्वास्थ्यभन्दा देशको स्वास्थ्य महत्वपूर्ण हो, ख्याल गरिबक्सेला ।’ यता फाँसीको सजाय दिनुपर्ने मान्छेलाई राज्यको ढुकुटी खर्च गरी अमेरिका उपचार गर्न पठाएको भन्दै दरबारभित्रै राजा वीरेन्द्रको विरोध भयो । खास गरी आमा र भाइहरूबाटै चर्को विरोध भएपछि राजा वीरेन्द्रले प्रधानसेनापति परिवर्तन गरी देशलाई ठूलो संकटबाट जोगाए ।
कांग्रेसले गणतन्त्रको लाइन लिएपछि बिपी कोइरालाद्वारा प्रतिपादित मेलमिलाप नीतिको मृत्यु भइसकेको छ वा जीवितै छ ? भन्ने प्रश्नहरू पनि कांग्रेस वृत्तबाटै उठ्ने गरेका छन् । बिपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले उल्लंघन गरेका हुन् कि ? नेपाली कांग्रेसले ? भन्ने विषयमा पनि बेलाबेलामा कुरा उठ्ने गरेको छ ।
यस सन्र्भमा सबैभन्दा पेचिलो प्रश्न हो, ‘कांग्रेसले गणतन्त्रको लाइन लिनु भनेको बिपी कोइरालाद्वारा प्रतिपादित राष्ट्रिय एकता तथा मेलमिलाप नीतिविरुद्ध हो कि होइन ?’ राजा नरहे देश रहँदैन, राजाको घाँटी र मेरो घाँटी एउटै हो भन्ने कुरा बिपी कोइरालाले कुन परिस्थिति र कुन परिवेशमा भनेका होलान् ? हुन त नेपाली कांग्रेसको इतिहास लेख्ने सन्दर्भमा शैलजा आचार्यको उपस्थितिमा बिपी कोइरालाले गणेशराज शर्मासँग भनेका थिए, ‘म मरेपछि नेपाली कांग्रेसमा मेरो भूमिकाका बारेमा व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुने छ भन्ने मलाई पक्का छ ।’ बिपीले भनेको यो कुरा जेल जर्नल किताबको पृष्ठ (छ, ज) मा उल्लेख छ ।
बिपी कोइरालाको निधन भएको ४२ वर्ष नाघिसकेको छ । बिपी कोइरालाको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नेहरू अब नेपाली कांग्रेसमा खासै धेरै छैनन्, भए पनि उनीहरूका भूमिका शून्य छ । त्यसैले यति बेला बिपी कोइरालाको विचारलाई अपव्याख्या गरिनु वा आफ्नो स्वार्थअनुसार परिभाषित गरिनु ठूलो कुरा होइन ।
राजा, राष्ट्रियता र राजनीति पुस्तकको पृष्ठ २२ मा बिपी कोइरालाले भनेका छन्, ‘२०१७ पुस १ गतेको राजाको गलत कदमले प्रजातन्त्रलाई त कमजोर पार्यो नै त्यो भन्दा बढी राष्ट्रियता कमजोर बनायो । अहिले राष्ट्रियता सर्वाधिक कमजोर अवस्थामा छ । तसर्थ राष्ट्रिय एकता र मेलमिलापको खाँचो छ । राष्ट्रियता र प्रजातन्त्रलाई जोड्न सक्ने जुन नीति छ राष्ट्रिय एकताको ।’
राजा वीरेन्द्रको बंश विनाशपछि नेपालको राष्ट्रियता फेरि संकटतर्फ धकेलिएको पक्का हो । अपुतालीका रूपमा आएका नयाँ राजा ज्ञानेन्द्र शाह र जनताबीच द्वन्द्व सिर्जना गराइएकै हो । यही द्वन्द्वमा टेकेर १२ बुँदे दिल्ली संझौता गराइएकै हो । तर नेपाली सेनाले धेरै ठूलो सुझबुझ पुर्याउँदै राजा ज्ञानेन्द्रलाई घुँडा टेक्न सुझाव दियो । जनताको नासो फिर्ता गरी ज्ञानेन्द्र शाह किनारा लागे । फेरि मधेस आन्दोलनका नाममा अर्को उधुम सुरु भयो । मधेसी समस्या पनि करिब करिब निप्ट्यारा लाग्यो । तै पनि विभिन्न जाति तथा सम्प्रदायलाई उचाल्ने क्रम जारी छ ।
तर पछिल्ला वर्षहरूमा नेपालको धरातलीय यर्थाथताले काँचुली फेरिसकेको छ । गणेश हिमालभन्दा पूर्वतर्फ पर्ने तिब्बतको दक्षिणी क्षेत्रका नेपाली सीमासम्म चीनले फराकिला सडकहरू निर्माण गरिरहेको छ । अब रेल मार्गबाटसमेत जोड्दै छ । चीनले आफ्नो मुख्य भूमिसँग सुविधा सम्पन्न सडक तथा रेल मार्गले धमाधम जोडिरहेको तिब्बतको यो क्षेत्रले धेरै ठूलो जनआवादीको संभावना बोकेको छ । समन्द्रको सतहबाट १४ सय ५६ मिटरदेखि ३ हजार मिटरसम्मको उचाइको यो भूभागको क्षेत्रफल नेपालको मधेस प्रदेशको क्षेत्रफलभन्दा २ गुणा ठूलो छ । यो क्षेत्रमा चीनले निकट भविष्यमै कृषि क्रान्ति र औद्योगिक क्रान्ति गर्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया