फाल्गुनन्द गोल्डकपको उपाधि काठमाडौ चर्च ब्वाइज युनाइटेडलाई

पाँचथर । फिदिममा आयोजित एघारौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ।

पाँचथरको फिदिमस्थित फिदिम माविको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा चिर प्रतिद्वन्द्वी मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजीत गर्दै उपाधि जितेको हो ।

निर्धारित खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा चर्च ब्वाइजका एकराज बुढाथोकी, रोहन कार्की, विदेशी खेलाडी अबयोमी ओलुवासेन, छिरिङ लामा र सुजन डंगोलले गोल गरे ।

मछिन्द्रका लागि देवेन्द्र तामाङ, शनिस श्रेष्ठ, सौरभ सुब्बा र समिराज थोकरले गोल गर्दा दयानन्द इलाङबाङको प्रहार चर्च ब्वाइजका कृशल मोक्तानले रोकेका थिए । कृशलको त्यही बचाउ चर्च ब्वाइजलाई उपाधि दिलाउन पर्याप्त बन्यो ।

यसअघि मछिन्द्रले निर्धारित समयको अन्तिम दुई मिनेटमा अग्रता जोगाउन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलको ४५औँ मिनेटमा मछिन्द्रका बिजु भुजेलले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । ७८औँ मिनेटमा छिरिङ लामाले गोल गर्दै चर्च ब्वाइजलाई बराबरीमा ल्यायो ।

पुनः ८८औँ मिनेटमा शनिष श्रेष्ठले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएको थियो । तर अतिरिक्त पाँच मिनेटको समयमा चर्च ब्वाइजका लागि समिर तामाङले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । दुई मिनेट आफ्नो अग्रता जोगाउन नसक्दा मछिन्द्र समग्र प्रतियोगितामै उपविजेतामा सिमित बन्न पुगेको हो ।

उपाधिसँगै चर्च ब्वाइजले रु १० लाख ५५५ पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको मछिन्द्रले रु पाँच लाख ५५५ पुरस्कार प्राप्त गरेको छ ।

प्रतिक्रिया