जनकपुर बोल्ट्सलाई सर्लाहीमा भव्य स्वागत

सर्लाही । नेपाल प्रीमियर लिग (एनपिएल) को प्रथम संस्करण विजेता जनकपुर बोल्ट्सलाई सर्लाहीको सदरमुकाम मलंगवामा शनिबार भव्य स्वागत गरिएको छ ।

मधेस प्रदेशको ८ जिल्लामा चार दिने ट्रफी परेडमा निस्किएका जनकपुर बोल्ट्सका खेलाडीहरु शनिबार बेलुकी मलंगवा आइपुगेका थिए ।

च्यामपियन ट्रफीसहित मलंगवा आइपुगेका जनकपुर बोल्ट्सका खेलाडीहरुलाई मलंगवाको विभिन्न चोकहरुमा स्थानीय तथा खेलप्रेमिहरुले भव्य स्वागत गरेका थिए । भने मलंगवाको कबर्ड हललाई मुख्य स्वागत स्थल बनाइएको थियो ।

नेपाल भेनियर उद्योगका संचालक तथा सर्लाही क्याम्पस मलंगवाका अध्यक्ष एवं खेलप्रेमि नागेश्वर रायले जनकपुर बोल्ट्सका खेलाडीहरुलाई आफ्नो निजि निवासमा भव्य स्वागत गरेका थिए ।

मधेस प्रदेशको राजधानी जनकपुरधाम बाट सुरु भएको ट्रफी परेड शनिबार बेलुकी सर्लाहीको सदरमुकाम मलंगवा हुदै रौतहट र तेस्रो दिन आइतबार बारा र पर्सामा र अन्तिम दिन अर्थात सोमबार सिरहा र सप्तरीमा ट्रफी परेड गरिने जानकारी प्राप्त भएको छ ।

पुस ६ गते शनिबार भएको नेपाल प्रीमियर लिग (एनपिएल) को प्रथम संस्करणको फाइनल खेलमा सुदुरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि जितेको थियो ।

प्रतिक्रिया