तिमी पाँच पाँच पटक प्रधानमन्त्री बनेर यो देश र जनताको निम्ति के काम गर्यौ ? भनेर जसलाई प्रश्न गरिएको थियो ,जनताको पक्षमा गरेको एउटा मात्रै काम बताउनुस् भनेर चुनौतीपूर्ण भाषामा जोसँग प्रश्न सोधिएको थियो, अहिले उनैलाई सत्ता हस्तान्तरण गर्न महिना , दिन र घण्टा गन्दै हिडिरहेको कुराले सत्ताधारीहरुको असली मकशद थाहा हुन्छ । जनताको अवस्था प्रति कुनै चिन्ता छैन, कामगर्न नसकेको प्रति कुनै पश्चाताप छैन, लाज छैन, नैतिकता छैन । सबैका अजेण्डा साफ छन् ।
मैले कतै पढेको थिएँ पुरानो अखबारमा । लेनिनको सुत्ने समयको कुनै ठेगान हुँदैनथ्यो गरे । जतिसुकै बेला पनि सुत्ने बानी भएको भन्न खोजेको होइन । उहाँको सुत्ने तालिका भोलिपल्टको कामलाई हेरेर बन्ने गर्दोरहेछ । बिहान चाँडैबाट काम छ, धेरै काम गर्नुपर्ने छ भने अरु दिनभन्दा चाँडै सुत्ने । यदि त्यस्तो कुनै चाप छैन, फुर्सदै जस्तो छ भने अरुसरह सुत्ने वा केही ढिलोसम्म बस्ने गफ गर्दै । भोलिको कामलाई हेरेर त्यसअनुसार आज सुत्ने तरिका हामीकहाँ पाइन्न ।
हामी त कार्यकर्ता पनि हौं , जनता पनि हौं र श्रोता पनि हौं । यसका हामी भुक्तभोगी हौं । हामी कार्यकर्ता बनेर बिभिन्न समस्या बोकेर नेतृत्वलाई भेट्न कहिले घरमा , कहिले पार्टी कार्यलयमा त कहिले सरकारी कार्यालयहरुमा जान्छौं । यस्तैगरि हामी सार्वजनिक कार्यक्रमहरुमा, सभा र र्यालीहरुमा पनि सहभागी हुन्छौं । कहिले हातमा झण्डा पनि हुन्छ भने कहिलेकाहीँ चौरमा बदम खाँदै बसेका पनि हुन्छौं टुँडिखेलतिर कार्यक्रमहरु चलिरहँदा । घरमा भेट्न गयो उठ्नु भएको छैन अथवा नित्यकर्मामा हुनुहुन्छ भनेर पर्खनुपर्छ । पार्टी अफिस वा सरकारी कार्यालयमा गयो आइपुग्नु भएको छैन भनेर पर्खेर बस्नुपर्छ । सभा समारोहमा गयो उहाँहरु आइनसकेको कारणले बेमतलवका अरेलिकाँडैले जस्ता गीत सुनेर बस्नुपर्ने हुन्छ ।
हेर्दा यो सामान्यनै देखिन्छ तर साँस्कृतिक तहबाट हेर्ने हो भने यो डरलाग्दो कुरा हो । यस्तो चरित्रलाई समाजवादी चरित्र त भन्नै मिलेन, यो त सामन्तवादी चरित्र भन्न पो ठिक हुनेरहेछ । एकजना नेताले आफ्नो रुटिन बनाएर हिड्न, सुत्न उठ्न ,भेटघाटगर्न नसक्दा कतिले भौतिक रुपमै दुख बहोर्नुपर्ने हुन्छ र अरु कति धेरै गर्नुपर्ने काम गर्नबाट रोकिन्छ । यस्तो कुरामा कसैले असन्तुष्टि जनाएको देख्न पनि देखिन्न । आफुले दिएको समयमै भेटघाट गर्ने, दिएको समयमै उपस्थित भैदिएर समयमै कार्यक्रमको शुरु र अन्त्य गरिदिने गर्नुपर्ने होइन र ? आफ्नै कार्यालयका कर्मचारीलाई भने बायोमेट्रिक इन र आउट प्रणाली लगाउने, तर आफुभने भुँडी पल्टाउँदै मनलाग्दी समयमा आउजाउ गर्ने कुरा वास्तवमा लाजमर्दो हो । यो चरित्रले हाम्रो समग्र राजनीतिले काम प्रति, कामगर्ने मानिसहरु प्रति कस्तो दृष्टिकोण राख्दोरहेछ भनेर प्रष्ट पारिरहेको छ ।
अहिले जाडोको मौसम हो । जाडोले पिरोल्ने , समस्यामा पार्ने भनेको गरिबहरुलाईनै हो । गरिब बुढाबुढीहरुलाई , गरिब बालबच्चाहरुलाई नै हो जाडोको मारपर्ने । जनताका छोराछोरी , मजदुर तथा गरिब किसानका छोराछोरीहरु यो जाडोमा स्कुलजान सकिरहेका छैनन् । किनभने तिनको शरिरमा न्यानो लुगा छैन । तिनले पढ्ने स्कुलका कक्षाकोठाहरु, झ्यालहरु खुल्ला छन्, ढोका लागेका छैनन् । गरिबका घरहरुमा पनि बुढाबुढीहरु कठ्यांग्रीएर बसिरहेका छन् । तिनका घरका ढोका र झ्यालहरु ह्वाङ् ह्वाङ्तै छन् । बोराले झ्यालमा टाँगेर चिसो रोकेका छन् । यिनको शरिरमा पनि न्यानो लुगा छैन । आफु वातानुकुल घरमा बस्ने, वातानुकुल गाडीमा शयरगर्ने तर जनताका छोराछोरीलाई चिसो सिरेटोमा एकसरो कमिजमा पढ्न पठाउने कुराजस्तो अमानवीय काम अरु केही हुनसक्दैन । जनताले पाउनुपर्ने अधिकार पनि नदिएर , उनीहरुलाई नारकिय जीवन बाँच्न बाध्य पारिनु उनीहरुको मानवअधिकार खोसेको हो । जनतालाई केवल भोट खसाल्ने भोटिङ मेसिनसरह ठान्ने गलती भइरहेको छ ।
म एकदुई जनाको मात्रै कुरा गरिरहेको छैन । कम्युनिस्ट पार्टीका शिर्ष नेताहरुको, अध्यक्षहरुको ,प्रधानमन्त्री र मन्त्रीहरुको भाषण सुनौं, उनीहरुको बीचमा हुने बातचितहरु सुनौं । उहाँहरुको बडी ल्याङ्ग्वेज पनि हेरौं र अध्ययन गरौं । कहिँकतैबाट पनि उहाँहरु गरिब मजदुर किसानहरुको हितैषी हो भन्ने देखिन्न । उहाँहरुको सबै गतिविधिहरुले के देखाउँछ भने उहाँहरु केवल सत्ताको सुखभोग गर्नमात्रै यहाँ हुनुहुन्छ । उहाँहरुको मकशद बेग्लैछ भन्ने बुझिन्छ ।
तिमी पाँच पाँच पटक प्रधानमन्त्री बनेर यो देश र जनताको निम्ति के काम गर्यौ ? भनेर जसलाई प्रश्न गरिएको थियो ,जनताको पक्षमा गरेको एउटा मात्रै काम बताउनुस् भनेर चुनौतीपूर्ण भाषामा जोसंग प्रश्न सोधिएको थियो, अहिले उनैलाई सत्ता हस्तान्तरण गर्न महिना , दिन र घण्टा गन्दै हिडिरहेको कुराले सत्ताधारीहरुको असली मकशद थाहा हुन्छ । जनताको अवस्था प्रति कुनै चिन्ता छैन, कामगर्न नसकेको प्रति कुनै पश्चाताप छैन, लाज छैन, नैतिकता छैन । सबैका अजेण्डा साफ छन् । र त्यो अजेण्डा भनेको केवल सत्ता हो र मुख्य चिन्ता भनेको पनि सत्ता छोड्न नपरोस् वा सत्तामा कसरी पुग्ने भन्नेनै हो ।
अङ्ग्रेजहरुले भारतमा डिभाइड एण्ड रुल थ्योरी अपनाएर शासन चलाएका थिए । हामीकहाँ अहिले डाइभर्ट एण्ड रुलको थ्योरी प्रयोग गर्न खोजिएको छ । अम्बेडकरले कन्स्टिच्युशनल डिवेटमा भनेका रहेछन्, भारतको संविधान बनाउने बेलामा चलेको डिवेटमा कि, संविधान जतिसुकै राम्रोसँग लेखिए पनि यदि त्यो लागुगर्ने जिम्मेवारी खराब मान्छेको हातमा पर्नगयो भने त्यो संविधानले काम गर्दैन । नराम्रोनै लेखिएको संविधान पनि यदि राम्रो मनशाय राख्नेको हातमा पर्यो भने त्यो संविधान राम्रोसँग लागु हुन्छ र त्यसले राम्रोसँग काम गर्छ । नेपालको अहिलेको संविधान धेरै मेहनत गरेर तयार भएको संविधान हो । यसको प्रयोग के कसरी हुनुपर्छ , भइरहेको छ वा हुनेछ भन्ने कुरा पनि प्रयोगकर्ताकै हात र नियतमा निर्भर छ ।
संसदको विघटन दुई दुई पटक त भएकै हो । संविधान खराब भएर संसदको विघटन भएको त थिएन ।अहिलेको संविधानले गरिब जनताको हितको निम्ति कुनै कामगर्न अथवा भनौं गरिबहरुलाई जाडोको मारबाट बचाउन , राहत पुग्ने कामगर्न संविधानले कहिँकतै रोकेको छ र ? छैन । अस्ति भरखर होइन र यही संविधान अन्तरगतनै सुखी नेपाली , समृद्ध नेपाल बनाउनु भनेको ? पानी जहाज र रेल कुदाउँने भनेको पनि यही संविधानबाटै हो नि ? ग्यासका पाइपलाइन घरघरमा पुर्याउने भनेको पनि यसै संविधानकै सहारामा हो नि । रेल र पानी जहाजका कार्यालयहरु खोलेर करोडौं रुपैयाँ खर्च गरेर घाटामा सञ्चालन गरिरहँदा पनि यो संविधानले रोकेको छैन । त्यसकारण कुरा संविधानको नभएर आफ्नो नाकामीहरुलाई लुकाउन यो कुरालाई अगाडि ल्याइएको छ । देशमा रोजगारी सृजना गर्न नसक्ने,गरिबहरु माथि भइरहेको ठगीलाई रोक्न नसक्ने, भ्रष्टाचारलाई रोक्न नसक्ने, बाटो , नहर , पुल बनाउन नसक्ने अनि दोष संविधानलाई दिने कुरा विशुद्ध जनताको ध्यान भड्काउने कुरामात्रै हो ।
अहिलेनै यो उत्तम भनिएको लोकतन्त्रमा त आरोप लागेका मान्छेहरु अड्डासारको सिकार भइरहेका छन् । यो अड्डासारलाई जायज ठहर्याउन अनेक तर्कहरु पेश गरिन सक्छन् । तर हामीले कुरा कसरी बुझ्नुपर्ने हुन्छ भने सत्ताको बिरोधमा कालो झण्डा प्रदर्शन गर्दा प्रदर्शनकारीहरुले पुलिसको डण्डा खाईरहेकै छन् । नारा जुलुस र प्रदर्शनगर्दा पुलिसको खोरमा पुगिरहेककै छन् । एकअर्काको बैशाखीमा टिकेको सरकारको बिरोध गर्दा त यो हालत छ भने भोलि यिनको हातमा, एकैठाउँमा सम्पुर्ण शक्ति केन्द्रीकृत हुनपुग्यो भने बिरोधिहरुको हालत के होला ? के कस्ता कानुनहरु ल्याइएलान् दमनगर्न ? हाम्रो स्वतन्त्रताको हालत कस्तो होला भनेर सहजै अनुमानगर्न सकिन्छ।संविधानको पुर्णप्रयोग हुन नपाउँदै छोडिएको यो संशोधनको यो सुगुफा राम्रो प्याकेजिङ्ग गरिएको बिषको पुडिया हो भन्ने बारेमा हामी सचेत रहनुपर्छ ।
हाम्रो निम्ति अहिलेको समस्या भनेको महंगी र बेरोजगारी हो । अरु त अरु पालिकाहरुमा समेत महंगी लादिएको छ । सामान्य सिफारिस चाहिए पनि हजारभन्दा तल शुल्क छैन । लाग्छ स्थानीय तह पैसा असुलीगर्ने अड्डाहरु हुन् । डनहरुले ब्यापारी तथा सर्बसाधारणहरुलाई धम्काएर पैसा असुली गरेजस्तै सरकारी निकाय तथा स्थानीय तहले पनि सिफारिस रोकेर , फाइल लुकाएर , सुचना नदिएर पैसा असुली गरिरहेका छन्, अर्थात एक्स्टोर्शन युनिट बनेका छन् ।
बजार कस्तो छ भन्नेकुरा त दैनिक साग, गोलभेंडा र धनिया किन्न जाने गृहिणीलाई सोधे पुग्छ । ग्यासको मुल्य कहाँ पुग्यो , खाने तेलको मुल्य कहाँ पुग्यो , चामलको मुल्य कहाँ पुग्यो, नुनमा कति ट्याक्स छ र सुनमा कति छ भन्नेकुरा पन्ध्र हजार तलब बुझेर चारजनाको परिवार पालिरहेको मजदुरलाई थाहा छ । जीवन चलाउन कति कठिनाइ छ । जनतालाई बेरोजगार राख्नु, महंगी लाद्नु, सामाजिक सुरक्षाबाट गरिबहरुलाई बञ्चित राख्नु ठुलो राजनीतिक अपराध हो । यस्तो अपराधमा आफुलाई कम्युनिस्ट बताउने दल, नेता, कार्यकर्ताहरु सामेल भएका छन् ।
न्याय, समानता र स्वाधीनताको निम्ति जस्तोसुकै संघर्षगर्न पनि मान्छे पछि पर्दैन भन्नेकुरा प्यालेस्टाइनी जनताले अहिले चलाइरहेको संघर्षलाई हेर्दा थाहा हुन्छ । अहिले तलदेखि माथिसम्म जो जो सत्तामा रहेका छन् र जसजसले जनतामाथि शोषण र अन्याय थोपर्ने काम गरिरहेका छन् तिनीहरुको बिरुद्धमा पनि संघर्ष हुनेनै छ र जनताले तिनीहरुको अन्यायपूर्ण शासनबाट मुक्ति पाउनेनै छन् । एकयुगमा आउने एकदिनको प्रतिक्षामा गरिब जनताहरु बसेका छन् र त्यो दिन खुशी सबैजना सडकमा हुनेछन् , केही केही बाहेक ।
प्रतिक्रिया