देसाईको अवधि सकिँदै

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई बिदा गर्ने तयारी गरेको छ । २ वर्षको सम्झौता सकिएपश्चात् उनलाई निरन्तरता नदिने निष्कर्षमा क्यान पुगेको हो ।

देसाई फेब्रुअरी २०२३ मा मासिक १५ हजार डलर पारिश्रमिक र अन्य सुविधा पाउने गरी प्रमुख प्रशिक्षक नियुक्त भएका थिए । उनी प्रशिक्षक बनेसँगै नेपालले लिग २ का अन्तिम १२ मध्ये ११ खेल जितेर एकदिवसीय मान्यता जोगाएको थियो । पछिल्लो अवधिमा राष्ट्रिय टिमको प्रदर्शन सन्तोषजनक रहेको छैन ।

नेपालले टी–२० विश्वकपमा भाग लिएपछि नै देसाईलाई हटाउनेबारे क्यानमा छलफल भएको थियो । लिग २ को पछिल्लो शृंखलामा खराब प्रदर्शन र विश्वकपमा पनि जितविहीन भएपछि प्रमुख प्रशिक्षक परिवर्तन गर्नुपर्नेमा क्यानका पदाधिकारीहरू सहमत भएका थिए । सम्झौता अवधि नसकिँदै हटाउँदा राम्रो सन्देश नजाने र ‘भारत चिढिने’ ठानेर क्यानले निर्णय लिन नसकेको स्रोतको भनाइ छ ।

‘मोन्टी देसाईंलाई हटाउने विषयमा विश्वकपपछि नै आन्तरिक समझदारी भएको हो । तर, निर्णय लिन सकिएन । समयमा निर्णय नहुँदा ३–४ महिना यत्तिकै पाल्नुपरेको छ’, स्रोतले भन्यो । विश्वकपपछि नेपालले अमेरिका र क्यानडामा लिग २ का म्याचहरू खेलेको थियो । ती म्याचमा पनि नेपालको प्रदर्शन सुखद् रहेन । नेपालले लिग २ को पछिल्लो शृंखलामा १२ म्याच खेल्दा ८ वटामा पराजय बेहोरेको छ । नेपाल लिग २ को अंक तालिकामा पुछारबाट दोस्रो छ । देसाईसँगको सम्झौता डिसेम्बरमै सकिँदै छ । उनलाई सम्झौता नवीकरण नहुने विषयमा अनौपचारिक जानकारी गराइसकिएको स्रोतले बतायो ।

प्रतिक्रिया