अब गोपालमान कहिलेसम्म यसरी हेरेको हेरै भएर बस्लान् ? अब २–३ वर्षभित्र निर्णायक कदम चाल्न सकेनन् भने उनलाई समयले पर्खने अवस्था छैन । देउवापछि नेपाली कांग्रेसको सभापति बन्ने पालो सबै हिसाबले गोपालमानकै हो । उनले सधैँ देउवाको झोला बोकिरहे । अब देउवा सभापति पदमा उम्मेदवार बन्ने अवस्था छैन । यस्तो अवस्थामा देउवाले गोपालमानको नाम अघि सारे भने त ठिकै होला, यदि सारेनन् भने के होला ?
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आफ्नो समूहलाई के कसरी अघि बढाउलान् ? भन्ने प्रश्न घनिभूत बन्दै गएको छ । किनकी सभापति देउवाको नियमित कार्यकाल अब १ वर्ष पनि बाँकी छैन । फेरि सभापति पदमा उम्मेदवार बन्न विधानले दिँदैन । कांग्रेसमा नेतृत्व परिवर्तन अनिवार्य जस्तै छ । तर, सभापति देउवाले आफूपछि को ? भन्ने प्रश्नको उत्तरलाई रहस्यमै राखेका छन् ।
नेपाली कांग्रेस स्थापनाकालदेखि नै केही अपवादबाहेक कोइराला समूह र गैरकोइराला समूहबीच प्रतिस्पर्धा हुँदै आएको हो । २०४६ सालको परिवर्तनपछि कोइराला समूह गिरिजाप्रसादको नेतृत्वमा अघि बढेको थियो भने अर्को समूह कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अघि बढेको थियो । यद्यपि कोइराला र भट्टराई एउटै पदमा चुनाव लडेनन् । कोइराला सभापति पदमा उम्मेदवार बनेको बेला भट्टराईले पहिलोपटक चिरञ्जीवी वाग्लेलाई प्रतिस्पर्धामा उतारे भने दोस्रोपटक देउवालाई उतारे । त्यसपछि भट्टराई समूहको एक छत्र नेतृत्व देउवाले गर्दै आएका छन् । पार्टीको नेतृत्व लगातार २ कार्यकाल कोइराला परिवारबाट खोस्न देउवा सफल भएका छन् ।
अब हुने १५औँ महाधिवेशनमा कोइराला समूहको तर्फबाट डा.शेखर कोइरालाले सभापति पदमा दोस्रोपटक प्रतिस्पर्धा गर्ने लगभग निश्चित छ । तर, देउवा समूहबाट को अघि सर्ला ? भन्ने प्रश्नको उत्तर धेरै नै अनिश्चित बनेको छ । किनकी देउवा समूहका आकांक्षीहरूको संख्या निकै ठूलो छ । किनकी उपसभापति तथा महामन्त्री भइसकेकाहरूले सभापति पदमा आकांक्षा राख्नु स्वभाविकै हो ।
सभापति पदमा उम्मेदवार अघि सार्दा वरिष्ठतालाई मुख्य आधार बनाउने प्रचलन सबैजसो राजनीतिक दलमा हुन्छ । नेपाली कांग्रेसमा पनि सुरुदेखि नै यही प्रचलन छ । यदि १५औँ महाधिवेशनमा पनि यो प्रचलनले निरन्तरता पायो भने देउवा समूहबाट सभापति पदको उम्मेदवार बन्ने एक मात्रै हकदार गोपालमान श्रेष्ठ हुन् । नेपाली कांग्रेस पार्टीभित्र विद्यमान जीवित नेतामध्ये सबैभन्दा वरिष्ठ सभापति देउवा भइहाले । त्यसपछि क्रमशः गोपालमान श्रेष्ठ , रामचन्द्र पौडेल (हाल राष्ट्रपति), प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्णबहादुर खड्कालगायत हुन् । संयोगले यी सबै वरिष्ठहरू देउवा समूहमै छन् । देउवालाई उत्तराधिकारी छनोट गर्न सकस पर्नुको मुख्य कारण वरिष्ठहरूको भिड नै हो ।
कहाँ चुके गोपालमान ?
२०५९ सालमा पार्टी विभाजन भई नेपाली कांग्रेस प्रजातान्त्रिक जन्म्यो । गोपालमान श्रेष्ठ २०६१ सालमा नेपाली कांग्रेस प्रजातान्त्रिकको कार्यबाहक सभापति बनेका थिए । ७ दल र माओवादीबीच भएको १२ बुँदे संझौताका हस्ताक्षरकर्तामध्ये गोपालमान पनि एक हुन् । २०६३ सालमा नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीच एकीकरण भयो । एकीकरणका क्रममा निर्धारण गरिएको वरिष्ठताको क्रमागत सूचीमा सभापति गिरिजाप्रसाद कोइरालाको नाम पहिलो, देउवाको नाम दोस्रो, कार्यबहाक सभापति सुशील कोइरालाको नाम तेस्रो नम्बरमा थियो । यसैगरी उपसभापतिद्वय गोपालमानको नाम चौथो, प्रकाशमानको नाम पाँचौँ, महामन्त्री त्रय रामचन्द्र पौडेलको नाम छैठौँ, विमलेन्द्र निधिको नाम सातौँ र केबी गुरुङको नाम आठौँ नम्बरमा थियो ।
पार्टी एकीकरणका क्रममा निर्धारण गरिएको मर्यादाक्रममा उल्लिखित ८ नाममध्ये पहिलो नम्बरमा रहेका गिरिजाप्रसाद र तेस्रो नम्बरमा रहेका सुशीलको निधन भइसकेको छ । त्यसैले चौथो नम्बरमा रहेका गोपालमानको वरिष्ठताक्रम स्वतः दोस्रो नम्बरमा सरेको छ । तर स्वयंसिद्ध वरिष्ठतालाई पार्टीका पछिल्ला अभिलेखमा कायम गराउन गोपालमानले सकिरहेका छैनन् । यसका लागि उनले आवाज नउठाएका होइनन् । तर आफ्नो आवाजलाई निर्णायक बनाउन सकेनन् ।
पार्टीको १३औँ महाधिवेशन सम्पन्न भए लगत्तै नवनिर्वाचित सभापति देउवाले विज्ञप्ति जारी गर्दै रामचन्द्र पौडेललाई वरिष्ठ नेता घोषणा गर्दै आफूपछिको मर्यादाक्रममा राखे । अर्थात उपसभापतिभन्दा माथिल्लो मर्यादाक्रममा राखे । तर, गोपालमानको मर्यादाक्रम भने सहमहामन्त्रीभन्दा पनि तल राखियो । त्यतिबेला गोपालमानलाई वरिष्ठ नेता नबनाएर पौडेललाई किन बनाइयो ? भन्ने प्रश्न नउठेको होइन । यो प्रश्नमा सभापति देउवाको उत्तर थियो, ‘सभापति पदको उपविजेताका रूपमा पौडेललाई सम्मान दिइएको हो ।’ त्यसपछि यो मुद्दा सेलायो । यस विषयमा गोपालमानले खासै टीकाटिप्पणी गरेनन् ।
१४औँ महाधिवेशनमा देउवा दोस्रो कार्यकालका लागि सभापति पदमा निर्वाचित भए । डा.शेखर कोइराला उपविजेता बने । यतिन्जेलसम्म उपविजेतालाई वरिष्ठ नेताका रूपमा पार्टीको मर्यादाक्रमको दोस्रो स्थान दिइएका २ वटा नजीर कायम भइसकेका थिए । किनकी १२औँ महाधिवेशनद्वारा निर्वाचित सभापति सुशील कोइरालाले पनि उपविजेता देउवालाई वरिष्ठ नेताको सम्मान दिएका थिए । यद्यपि यो सम्मान पार्टी एकीकरणकै बेला निर्धारण गरिएको थियो । उपविजेता वरिष्ठ नेता बन्ने नजीरलाई निरन्तरता दिन डा. कोइराला र उनको समूहले माग गर्न थाल्यो । तर सभापति देउवाले सुनेनन् । उनले भन्न थाले वरिष्ठ नेताको सम्मान उपविजेतालाई होइन, साच्चिकै वरिष्ठ नेतालाई दिइने सम्मान हो, डा.शेखर कोइराला धेरै नै जुनियर हुन् ।’ देउवाले वरिष्ठ नेताका रूपमा पौडेललाई नै निरन्तरता दिए ।
पौडेल राष्ट्रपति पदमा निर्वार्चित भइसकेपछि नेपाली कांग्रेसमा वरिष्ठ नेताको सम्मानित पद रिक्त छ । विधानले अनिर्वाय नगरे पनि चलन चल्तीको पद हो यो । यो पदका लागि गोपालमानले निरन्तर दावी गर्दै आएका छन् । डा.शेखर कोइरालाले पनि दावी छाडेका छैनन् । यदि सभापति पदको उपविजेतालाई वरिष्ठ नेताको सम्मान दिने हो भने त्यसको एक मात्रै हकदार डा.शेखर कोइराला हुन् । यदि पार्टी भित्रको वरिष्ठताका आधारमा सम्मान दिने हो भने त्यसका एक मात्रै हकदार गोपालमान हुन् । तर सभापति देउवाले कसैलाई पनि वरिष्ठ नेताको सम्मान दिन चाहिरहेका छैनन् ।
डा.शशांकको त्यो प्रस्ताव
रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भइसकेपछि पहिलोपटक नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्ने तरखर हुँदै थियो । सभापति देउवाको कार्यकक्षमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरू अनौपचारिक छलफल गर्दै थिए ।
छलफलकै क्रममा पूर्वमहामन्त्री डा.शशांक कोइरालाले सभापति देउवातिर फर्केर भने, ‘सभापतिज्यू, रामचन्द्र दाई राष्ट्रपति निर्वाचित भएपछि पार्टीमा वरिष्ठ नेता पद रिक्त भएको छ, त्यो स्थानमा गोपालमान दाई एक मात्रै हकदार हुनुहुन्छ, उहाँलाई आजै वरिष्ठ नेता घोषणा गरौँ ।’ डा.कोइरालाले यति भन्न पाउँदा नपाउँदै महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘पूर्व महामन्त्रीले राख्नुभएको यो प्रस्तावलाई वर्तमान महामन्त्री विश्वप्रकाश शर्माको समर्थन छ ।’ त्यसपछि सबै मुखामुख गर्न थाले । पूर्व महामन्त्री कोइरालाको प्रस्ताव र वर्तमान महामन्त्री शर्माको समर्थन रहेको यो एजेन्डामा उपसभापतिहरूको धारणा के छ ? भन्दै जिपछिरिङ शेपाले पूर्णबहादुर खड्का र धनराज गुरुङलाई सोधे । तर उपसभापतिद्वय खड्का र गुरुङ मौन रहे । ‘मौनं सम्यति लक्षणं’ भन्दै शेर्पाले यो प्रस्ताव लगभग पारित भएको बताए । तर यत्रो छलफलमा पनि सभापति देउवा केही बोलेनन् ।
केही बेरमा केन्द्रीय समितिको बैठक सुरु भयो । बैठकमा बोल्दै जिपछिरिङ शेर्पाले यसअघि अनौपचारिक बैठकमा भएको सबै छलफल सुनाउँदै गोपालमानलाई वरिष्ठ नेता घोषणा गर्नुपर्ने धारण राखे । यो धारणको विपक्षमा कोही पनि देखिएनन् । त्यसैले गोपालमान ढुक्क भए । तर, पौडेल राष्ट्रपति निर्वाचित भएको पनि डेढ वर्ष बितिसकेको छ । गोपालमानका दिन आशै आशामा बितेका छन् ।
गोपालमानले देउवालाई न रिझाउन सकेका छन्, न चुनौती दिन सकेका छन् । जसका कारण योग्यता पुग्दासमेत उनी वाञ्छित अवसरबाट वञ्चित हुने गरेका छन् । उदाहरणका लागि २०५१ सालको अपवादबाहेक सधँै चुनाव जित्दै आएका गोपालमानले २०७९ सालको आमनिर्वाचनमा टिकट नै पाएनन् । सभापति देउवाले उनलाई समानुपातिक सांसद बनाउने वचन दिए । समानुपातिकको सूचीमा गोपालमानको नाम पहिलो नम्बरमा राखियो । चुनावपछि कांग्रेसले समानुपातिकतर्फ २८ वटा सिट प्राप्त गर्यो, तर सूचीको पहिलो नम्बरमा नाम रहेका गोपालमानलाई सांसद बनाइएन ।
समानुपातिक कोटाबाट सांसद बनाउन संभव नभएको भन्दै सभापति देउवाले सके राष्ट्रिपति, नसके राष्ट्रिय सभाको सांसद बनाउने वचन दिँदै भने, ‘अब हाम्रो पार्टीको अवशर आयो भने राष्ट्रपति बन्ने तपाईं नै हो, राष्ट्रपति बनाउन सकिनँ भने तपाईंलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउँछु, अध्यक्ष पनि बनाउन नसके राष्ट्रिय सभाको संसदीयदलको नेता बनाउँछु ।’ गोपालमानले विश्वास गरे । उनले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिए । तर, देउवाले नेपाली कांग्रेसको पालो आउनासाथ राष्ट्रपतिका लागि पौडेललाई अघि सारे । केही महिनापछि राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने भयो । तर सभापति देउवाले कृष्णप्रसाद सिटौलालाई अघि सारिदिए । गोपालमान हेरेको हेरै भए ।
अब गोपालमान कहिलेसम्म यसरी हेरेको हेरै भएर बस्लान् ? अब २–३ वर्षभित्र निर्णायक कदम चाल्न सकेनन् भने उनलाई समयले पर्खने अवस्था छैन । देउवापछि नेपाली कांग्रेसको सभापति बन्ने पालो सबै हिसाबले गोपालमानकै हो । उनले सधँै देउवाको झोला बोकिरहे । अब देउवा सभापति पदमा उम्मेदवार बन्ने अवस्था छैन । यस्तो अवस्थामा देउवाले गोपालमानको नाम अघि सारे भने त ठिकै होला, यदि सारेनन् भने के होला ? सभापति पदमा उम्मेदवार बन्ने आँट गोपालमानले गर्लान् त ? भन्ने प्रश्न नेपाली कांग्रेसबारे चासो राख्ने धेरैको मुखमा झुन्डिएको देखिन्छ ।
देउवा समूह विघटनको संभावना
त्यसो त श्रीमती आरजु राणा सभापति बन्ने संभावना रहेको अवस्थामाबाहेक देउवालाई अब पार्टीभित्र अलग समूह सञ्चालन गर्नुपर्ने आवश्यकता छैन । किनकी अहिले देउवाले जुन समूहको नेतृत्व गरेका छन्, त्यो समूह भनेको २०५१ सालमा उदय भएको ३६ से समूह हो । त्यो बेला नेपाली कांग्रेसका ११० जना सांसदमध्ये गोपालमानलगायत ३६ जना कृष्णप्रसाद भट्टराईको पक्षमा उभिएका थिए भने देउवालगायत ७४ जना गिरिजाप्रसाद कोइरालाको समूहमा उभिएका थिए । तर ६ वर्ष बित्दानबित्दै देउवालाई ३६ से समूहले गिरिजाप्रसाद कोइरालाविरुद्ध पार्टी सभापति पदमा अघि सार्यो । त्यस बेलादेखि देउवा ३६ से समूहमा जोडिएका हुन् ।
त्यतिबेला गिरिजाप्रसाद कोइरालाविरुद्ध चुनाव लड्न आफ्नो समूहमा बलिया उम्मेदवार नपाएकै कारण भट्टराईले ‘आइरन कट आइरन’ को थ्यौरीअनुसार देउवालाई अघि सारेका थिए । कालान्तरमा कोइराला परिवारको हातबाट नेतृत्व खोस्न देउवा सफल पनि भए । लगातार २ कार्यकाल सभापति भए । अब देउवाको अवकाशपछि ३६से समूहको नेतृत्वका लागि पहिलो हकदार गोपालमान हुन् । तर डा.शेखर कोइरालालाई गोपालमानले परास्त गर्न सक्छन् भन्ने विश्वास देउवालाई लाग्नु जरुरी हुन्छ ।
यो समूहका अरू नेताको साथ गोपालमानले पाए भने देउवाले विश्वास गर्न सक्छन् । होइन भने देउवाले पनि विगतमा कृष्णप्रसाद भट्टराईले अपनाएको ‘आइरन कट आइरन’ को थ्यौरीअनुसार इतर पक्षकै कुनै प्रभावशाली नेतालाई आफ्नो समूहमा तानेर सभापति पदमा उम्मेदवार बनाउन सक्छन् । यसका लागि गगन थापादेखि कृष्णप्रसाद सिटौलासम्मका पात्र तयार छन् । उस्तै परे डा.शशांक कोइराला पनि तयार हुन सक्छन् । त्यसो त देउवाले डा.शेखर कोइरालालाई नै समर्थन गरी अब कांग्रेसमा गुटगत राजनीतिको अन्त्य भएको घोषणा पनि गर्न सक्छन् ।
विमलेन्द्र निधिलाई अघि सारेर नेपाली कांग्रेसमा पहिलोपटक मधेसी नेतृत्व स्थापित गरेको इतिहास रच्ने अवशरको पनि देउवाले उपयोग गर्न सक्छन् । देउवाले प्रकाशमानलाई अघि सार्ने संभावना पनि त्यतिकै छ । यति हुँदाहुँदै पनि देउवा एउटा कुरामा भने सचेत देखिन्छन् । त्यो हो, ‘नेपाली कांग्रेसको आन्तरिक लोकतान्त्रिक अभ्यासका क्रममा देशी तथा विदेशी पावर तथा पैसा हावी हुने सिलसिला अन्त्य हुनुपर्छ ।’ यो महारोगको सबैभन्दा बढी भुक्तभोगी देउवा नै हुन् ।
प्रतिक्रिया