भारतको अग्निवीर योजना र रुसी सेनामा नेपाली युवाको भर्ती

केही वर्षअघि भारत सरकारले आफ्नो सेनामा नयाँ भर्ना नीति (अग्नीवीर) लागू गरेपछि नेपालले गोर्खा भर्तीमा आफ्ना युवालाई सहभागी हुन दिएको छैन । अग्निवीर अन्तरगतको भर्तीमा धेरै जसोलाई पेन्सनको सुविधा नहुने भएकोले नेपालले त्रिपक्षीय सन्धी विपरीत भन्दै आएको छ । अग्निवीरअन्तर्गत सामेल हुने युवालाई भारतीय सेनामा चार वर्षको जागिर हुनेछ । त्यसमध्ये केहीलाई पूरै सेवा अवधिसम्म काम गर्न दिइनेछ ।

श्रीमन नारायण

गरिबी, महँगी र बेरोजगारीले व्यक्तिलाई राम्रो र नराम्रो काम छुट्याउने विवेकलाईसमेत नष्ट गरिदिन्छ । नेपाली युवाहरू युरोपेली देशमा उच्च शिक्षा अध्ययन गर्नका लागि त्यहाँका होटेलमा भाँडा माझ्ने, खाना पकाउने र वेटरको कामसमेत गरिरहेका छन् । उपरोक्त काम गरेवापत आकर्षक पैसा कमाउँछन् र आफ्नो अध्ययनको खर्चसमेत निकालिरहेका छन् । केही रकम सञ्चय पनि गरिरहेका छन् । अत्यधिक गरिबीमा रहेका परिवारका युवाले कम समयमा बढी पैसा कमाउन जोखिमपूर्ण काम पनि गर्दै आएका छन्, गर्न तयार पनि छन् । खाडी देशहरू तथा मलेसियामा वैदेशिक रोजगारमा गएका युवाहरूमध्ये कतिपयले जोखिमपूर्ण काम गर्ने क्रममा ज्यान गुमाई बाकसभित्र शवको रूपमा स्वदेश फर्किरहेका हृदयविदारक र मार्मिक घटना दिनहुँ भइरहेका छन् ।

रोजगारीका लागि विदेश जानैपर्ने वाध्यता नेपालीका लागि नयाँ होइन । वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने समस्या पनि नयाँ होइन । हजारौँ वर्षदेखिको निरन्तरता हो यो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले मुनामदन कल्पनाका आधारमा मात्रै सिर्जना गरेका होइनन् । स्वदेशसँग सरोकार नै नभएको पहिलो र दोस्रो युद्धमा भाग लिन खटिएका लाखौँ नेपालीमध्ये अधिकांशको अस्तुसमेत घरपरिवारले नपाएको कहालीलाग्दो विगत हामीसँग छ । अरूको देशको सेनामा भर्ती भएर ज्यान गुमाउनुपर्ने वाध्यता नेपाली युवाका लागि नयाँ होइन ।

सयौँ वर्षअघि स्वदेश छाडेका लाखौँ नेपालीका सन्तान बर्मा, थाइल्यान्ड, मलेसिया, मरिसस, फिजी लगायतका देशमा अहिले पनि आफ्नो अस्तित्वका लागि संघर्ष गरेर बसिरहेको अवस्था छ । उनीहरू दोस्रो दर्जाको नागरिकका रूपमा बाँच्न बाध्य छन् । इतिहासको यो अभिसप्त निरन्तरताबाट हामी नेपालीले कहिले छुटकारा पाउने ? हिजोलाई दोष दिएर आजको गल्ती ढाकछोप गर्ने र भोलि पनि त्यही गल्तीलाई निरन्तरता दिने मानसिकतामा देशको नीति निर्माण तहमा रहनेहरू छन् ।

अब त रुस–युक्रेन युद्धमा भाडाको सैनिकमा सामेल भएका नेपाली युवाहरूको शव आउन थालेका छन् । रुसी सेनामा सामेल भई युद्ध भूमिमा १० जना नेपाली युवा मारिएका समाचार सार्वजनिक भएको छ । नेपाली युवाहरू भरसक रुस र युक्रेन दुवैतिरका भाडा सैनिकको रूपमा अवैध रूपमा सामेल भएका छन् । अदक्ष र अयोग्य नेपाली युवकलाई युद्ध मरुभूमिमा पहिलो पंक्तिमा उभ्याउने गरिन्छ र स्वभाविक रूपमा नै यिनीहरूले ज्यान गुमाउनुपर्ने अवस्था उत्पन्न हुन्छ ।

अवैध रूपमा सेनामा सामेल भएका कारण यिनीहरूले युद्ध भूमिमा ज्यान गुमाए पनि सहिद घोषित हुन सक्दैनन् । त्यहाँ मारिएको युवाको शवको सदगत् पनि हिन्दू अथवा बौद्ध धार्मिक मान्यताअनुसार भइरहेको हुँदैन । न त नाम न त दाम र न त सम्मान नै पाउने परिस्थितिबारे अवगत हुँदा पनि नेपाली युवाहरू त्यहाँ किन गइरहेका छन् ? नेपाली युवाहरूलाई रुस र युक्रेन जाने अनुमति किन प्रदान गरिन्छ ? रुस र युक्रेनमा जाने नेपाली युवाहरूको रेकर्ड नेपालको परराष्ट्र मन्त्रालय र ती देशहरूमा उपस्थित नेपालको राजदूतावासमा पक्कै पनि हुनुपर्ने हो ? यस्ता कारुणिक र दुःखद् समाचारको अन्त्य कहिले हुने हो ?

जुन परिवारका युवा रुस–युक्रेन युद्धको मोर्चामा खटिएका छन् तिनका परिवारको हरेक रात दुःस्वप्नमा बितिरहेको छ । युद्धमा मारिएका नेपालीको सूची सार्वजनिक हुँदा सिंगो देश नै झस्किने गर्दछ । यस्तो अवस्थामा राज्यको अतिरिक्त भूमिका अपेक्षित हुन जान्छ । युक्रेन युद्धमा ४९ जना नेपालीको मृत्यु भइसकेको छ भने ११८ जना युवा बेपत्ता रहेको भनेर तिनका परिवारले सरकारलाई निवेदन दिएका छन् । १० जनाको मृत्युको समाचारले, बेपत्ता रहेका सूचीबाट अझ कति जनाले कहिले ज्यान गुमाउने हुन् ? त्यस मितिको प्रतिक्षा गर्न तिनका परिवार बाध्य भएका छन् । युद्धभूमिमा हराएका नेपाली युवा सकुशल फर्किने सम्भावना कमै देखिन्छ ।

युद्धभूमिमा रहेका तथा युद्धबन्दी बनाइएकाहरूलाई फिर्ता ल्याउनु र मारिएकाहरूको परिवार तथा घाइतेहरूलाई क्षतिपूर्ति दिलाउनु सरकारको दायित्व हो । यसका लागि सरकारदेखि सरोकारवाला सबै संवेदनशील हुनुपर्छ । रुस अथवा युक्रेनको सेवामा नेपाली युवाको सहभागिताबारे विषयमा भरसक २ देशबीच विधिवत सम्झौता छैन । यस्तोमा युद्धभूमिमा मारिएका नेपाली युवाको परिवारलाई राहत सहयोग दिने कुराको वैधानिकतामाथि प्रश्नचिह्न उठ्न सक्दछ । यो रुसको स्वेच्छामा निर्भर हुन गएको छ ।

बेरोजगारी वा न्यून आयले सामूहिक रूपमै ग्रसित नेपाली समाजमा युद्धमा भाग लिने कुरा कसरी सामान्य भयो ? युद्ध भूमिमा जाँदा पाइने आर्थिक लाभ र त्यसले निर्माण गर्ने सुनौले जीवनको प्रलोभनले हाम्रो युवालाई यसरी भुलायो कि उनीहरूले त्यहाँ भयावह परिणामको आँकलन नै गर्न सकेनन् । नेपालीलाई रोजगारी र आम्दानी चाहिएको थियो भने रुसलाई ‘रेड जोन’ मा उभिने मानव चाहिएको थियो । त्यसैले युद्धसम्बन्धी पूरा तालिमसमेत नलिई नेपालीहरू खटाइए, स्वदेश र विदेशमा ठिकठाक आम्दानी गरिएकाहरू पनि रुसी सेनामा सामेल हुन उत्सुक भए र यसबारे आफ्नो परिवारका सदस्यलाई पनि जानकारी गराएनन् ।

केही साताको अन्तरालमा मानवीय क्षतिको विवरण अद्यावधिक भइरहेको छ । रुसी सेनामा नेपाली युवाको भर्ती गैरकानुनी हो, त्यसैले युद्ध मोर्चामा कति नेपाली छन् भन्ने अभिलेख नेपाल सरकारले जुटाउन सकेको छैन । अपुष्ट समाचार अनुसार १ हजार ५०० जति नेपाली युवा रुसी सेनामा भर्ना भएका छन्, नेपालबाट रुसी सेनामा भर्ना नहुन युवाहरूलाई प्रेरित गर्दै सरकारले जनचेतना फैलाउनु आवश्यक छ । युवा भएका वा घाइते भएकाले क्षतिपूर्ति पाउन रुसकै अदालतमा पुग्नुपर्ने अवस्था छ । नेपाल सरकार र रुस सरकारको सम्झौताबिना नै सेनामा भर्ना भएका युवाहरूले रुसले भोलि चिन्नसमेत मानेन भने के गर्ने ?

बेलायती सेनामा नेपाली युवाको भर्ती राणाकालदेखि नै हुँदै आएको हो । राणा प्रधानमन्त्री जंगबहादुरको कुशल नीतिका कारण नेपालले सन् १८५७ को सिपाही विद्रोहलाई दबाउन गोरखा सैनिक पठाई तत्कालीन ब्रिटिस इन्डियाका शासकलाई नेपालले सहयोग गरेबापत नै नेपालले सुगौली सन्धीमा गुमेको बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको भूभाग बक्सिसको रूपमा प्राप्त गरेको हो । त्यतिबेलादेखि नै बेलायती सेनामा गोर्खा भर्तीले निरन्तरता पाउँदै आएको हो । बेलायत उपनिवेशबाट मुक्त भएपछि स्वतन्त्र भारतको सेनामा गोर्खा भर्तीले निरन्तरता पायो । यसका लागि निश्चित प्रावधान राखेर नेपाल, भारत र बेलायतबीच गोर्खा भर्तीको त्रिपक्षीय संझौता भयो ।

यसरी भारतीय सेनामा नेपाली गोर्खाको भर्ती चीन र पाकिस्तानलाई मन परेको थिएन । नेपालका वामपन्थी राजनीतिक दलहरूले यसलाई पनि राष्ट्रियतासँग गाँसेर हेर्ने काम गरे । गोर्खा भर्तीलाई राष्ट्रिय शर्मको विषय बताए । केही वर्षअघि भारत सरकारले आफ्नो सेनामा नयाँ भर्ना नीति (अग्निवीर) लागू गरेपछि नेपालले गोर्खा भर्तीमा आफ्ना युवालाई सहभागी हुन दिएको छैन । अग्निवीर अन्तरगतको भर्तीमा धेरै जसोलाई पेन्सनको सुविधा नहुने भएकोले नेपालले त्रिपक्षीय सन्धी विपरीत भन्दै आएको छ । अग्निवीरअन्तर्गत सामेल हुने युवालाई भारतीय सेनामा ४ वर्षको जागिर हुनेछ । त्यसमध्ये केहीलाई पूरै सेवा अवधिसम्म काम गर्न दिइनेछ (विगतकै जस्तो पेन्सन हुने गरी लामो अवधिका लागि) भने केहीलाई प्रादेशिक सुरक्षाकर्मीको रूपमा र केहीलाई अर्धसैनिक संरचनामा भर्ना गरिने प्रावधान छ । उपरोक्त सेवाहरूमा अटाउन नसक्ने मध्येका केहीलाई ११ लाख भारतीय रुपैयाँ प्रदान गरी बिदा दिइनेछ । यो ११ लाख भारतीय रुपैयाँ नेपालको निम्ति मात्रै १८ लाख हुन आउँछ ।

एउटा व्यक्ति अथवा परिवारको हकमा १८ लाख रुपैयाँ कम हुँदैन । दलाल र वैदेशिक रोजगार कम्पनीलाई ३–४ लाख रुपैयाँ घुस दिएर वैदेशिक रोजगारमा गएकाहरूले ४ वर्षपछि स्वदेश फर्किंदा मुस्किलले ४–५ लाख रुपैयाँ लिएर आउँछन् । गोर्खा भर्तीमा गएकाहरूले पाउने मासिक तलब नेपाली रुपैयाँ ६०–७० हजारभन्दा कम हुँदैन । भारतीय सेनामा हरेक वर्ष १ हजार ५०० नेपाली युवालाई गोरखा भर्ती गरिन्थ्यो । गएको ४ वर्षमा ६ हजार नेपाली युवा भारतीय सेनामा भर्ती भइसकेका हुने थिए ।

अहिले १ हजार ५०० युवा विनासैन्य तालिम रुसी सेनामा भाडाका सैनिकको रूपमा रेड जोनमा खटिन बाध्य भएका छन् । यदि अग्निवीरमा सामेल हुन दिइएको भए कम्तिमा सैन्य तालिम त पाउँथे । सैन्य तालिम पाएकाहरू युद्धमा अहिलेको जस्तो मारिने संभावना कम हुन्थ्यो । नेपालका राजनीतिकहरूले राष्ट्रवादको ओभरडोज लिएका कारण त्यसको साइड इफेक्ट रुसमा देखिएको छ । नेकपा माओवादीले एक दशकसम्म हतियार बोक्न लगायो त्यसपछि आफ्नै लडाकुलाई राज्यकोषबाट आर्थिक सहायता दिन लगाए पनि तिनको भविष्य सुरक्षित भएको छैन । भारतीय सेनामा सामेल भएकाहरू अवकाश ग्रहणपश्चात् मर्यादित एवं सम्मानपूर्वक जीवन बिताइरहेका छन् । रुसी सेनामा नेपाली युवाहरूको अनाहक मृत्यु रोकिनुपर्छ ।

प्रतिक्रिया