परीक्षार्थीहरूले प्रश्न बुझ्न हतार गरेर पनि उत्तर लेख्न गल्ती गर्दछन् । पहिले प्रश्न राम्ररी बुझ्नु उचित हुन्छ । प्रश्न नै राम्ररी नबुझ्ने हो भने उक्त प्रश्नको जति राम्रोसित उत्तर लेखे पनि पुग्दैन । यसकारण सबैभन्दा पहिले प्रश्नलाई राम्ररी ध्यान दिनुपर्छ, हरेक प्रश्नको उत्तर लेख्नुभन्दा पहिले राम्ररी बुझेर प्रश्न पढ्नुपर्छ । प्रश्नको भावअनुसार नै उत्तर लेख्नुपर्छ । प्रश्नको बुझाइमा हतार गर्दा प्रश्न एकातिर र उत्तर अर्कोतिर हुन जाने डर पनि हुन्छ ।
अब एसइई परीक्षा आउन केही महिना मात्रै बाँकी छ । विद्यार्थीहरूले घनिभूत तयारी गरिरहेका छन् । यसका बाबजुद एसइईमा परीक्षामा सधँैजसो आधा विद्यार्थी अनुत्तीर्ण हुने गर्छन् । यो निकै दुःखको कुरो हो । उदाहरणका लागि गत चैतमा सम्पन्न भएको एसइईकै आधाभन्दा बढी विद्यार्थी पूरक परीक्षमा सामेल भए । विगतमा २ विषयमा अनुत्तीर्ण हुनेहरूका लागि मात्रै मौका परीक्षाको व्यवस्था गरिएकोमा यस वर्षदेखि सबै अनुत्तीर्णलाई मौका दिन थालियो । देशको इतिहासमा सम्भवतः यो नै पहिलोपटक हुनुपर्छ कि पूरक परीक्षामा यत्ति धेरै संख्यामा परीक्षार्थी सहभागी भएका होऊन् ।
निःसन्देह, जहाँ परीक्षार्थीको तयारी राम्रो हुन्छ, त्यहाँ परीक्षा राम्रो हुनुपर्छ र नतिजा पनि राम्रो हुनुपर्छ विश्वास गर्न सकिन्छ । यसरी पनि देखिएको छ कि एसइई दिने (पूरक एसइईमा सहभागी हुने) कतिपय परीक्षार्थीले निकै परिश्रम गरेका हुन्छन् । कतिपय परीक्षार्थीले दिन र रात एक मान्दैनन् । आफूलाई सम्पूर्णतः तयारीमा नै होमिदिएका हुन्छन् । कम्तीमा २ आशा लिएर परीक्षार्थीहरू अहिले परीक्षामा सहभागी भएका हुन्छन् । पहिलो हो, उत्तीर्ण हुनु र दोस्रोचाहिँ राम्रो अंक ल्याएर उत्तीर्ण हुनु । राम्रो अंक ल्याउन पाउँदा अझै पनि परीक्षार्थीहरूमा राम्रो क्याम्पसमा भर्ना हुन पाउँछु भन्ने आशा हुन्छ ।
कक्षा ११ र १२ लाई अधिकांश विद्यार्थीले क्याम्पस नै भन्ने गरेका छन् । त्यसैले एसईई परीक्षालाई निकै ठुलो अवसरको रूपमा लिएका हुन्छन् । घनिभूत तयारीले परीक्षामा उत्तीर्ण हुने, राम्रोसित उत्तीर्ण हुने, राम्रो ठाउँमा पढ्न पाउने आशा राख्नु विद्यार्थीका लागि अति स्वभाविक हो । परीक्षार्थीहरूका यस्ता सकारात्मक मनोकामना पूरा हुनुपर्छ । मनमा कुनै किसिमको द्विविधा, आशंका र डर नमानी परीक्षार्थीहरूले परीक्षामा सहभागी हुनुपर्छ । विषय वा उत्तरसित सम्बन्धित पक्षबाहेक बाँकी सबै पक्षमा त्यहाँ सहयोग पाउन सकिन्छ । परीक्षार्थीहरूले तनावरहित भएर निर्धक्कसित आफूलाई आएको प्रश्नको उत्तर लेख्नुपर्छ ।
जसरी विद्यार्थीहरूले बुझेका छन् कि पढाइ आफ्नो हो, तयारी आफ्नो हो र त्यसै गरी यो पनि बुझ्नै पर्छ कि लेखाइ पनि आफ्नै हो । जतिसुकै राम्रोसित तयारी गरिएको भए पनि लेख्ने बेलामा हतार गर्ने वा डराउने हो भने आउने उत्तर पनि उत्तरपुस्तिकामा लेख्न अप्ठ्यारो हुन जान्छ । यसकारण परीक्षाको तयारी गरिएको आधारमा, समयको ख्याल गरी, उत्तर लेख्दा परीक्षार्थीहरूले उत्तरको प्रकृति, प्रश्नले अपेक्षा गरेको भाव आदिमा सतर्कतापूर्वक लेख्नुपर्छ ।
परीक्षार्थीहरूले प्रश्न बुझ्न हतार गरेर पनि उत्तर लेख्न गल्ती गर्दछन् । पहिले प्रश्न राम्ररी बुझ्नु उचित हुन्छ । प्रश्न नै राम्ररी नबुझ्ने हो भने उक्त प्रश्नको जति राम्रोसित उत्तर लेखे पनि पुग्दैन । यसकारण सबैभन्दा पहिले प्रश्नलाई राम्ररी ध्यान दिनुपर्छ, हरेक प्रश्नको उत्तर लेख्नुभन्दा पहिले राम्ररी बुझेर प्रश्न पढ्नुपर्छ । प्रश्नको भावअनुसार नै उत्तर लेख्नुपर्छ । प्रश्नको बुझाइमा हतार गर्दा प्रश्न एकातिर र उत्तर अर्कोतिर हुन जाने डर पनि हुन्छ । यसको अर्थ यो पनि होइन कि मैले प्रश्न नै बुझिनँ भन्ने भावना मनमा आइरहोस् । प्रश्नहरू बुझ्ने र बुझिने नै हुन्छन् । प्रश्न पढ्दा वा बुझ्दा हतार गर्नुहुँदैन भन्ने मात्र हो ।
समाजको सबैभन्दा बढी चासो यसै परीक्षामा हुन्छ । समाजको चासो हुने भएकोले फेरि यस परीक्षाको नतिजा प्रकाशन हुँदा एकपटक हलचल हुन्छ । हलचल हुनु पनि पर्छ किनभने समाजको लागि धेरै महत्वपूर्ण परीक्षा हो यो र परीक्षार्थीहरू पनि समाजकै अंग हुन्, सदस्य हुन् । यस परीक्षामा उत्रीर्ण भएपछि हुने उच्च अध्ययनमा धेरै परीक्षार्थीको अध्ययनको बाटो मोडिन्छ । अब सामान्य अध्ययनको ठाउँमा थोरै भए पनि विशिष्ट अध्ययनतिर केन्द्रित हुनुपर्ने हुन्छ । उक्त विशिष्ट अध्ययनले जीवनमा के बन्ने भन्ने पनि संकेत गर्ने गर्दछ । यसैले समाजले यस परीक्षा र यसको नतिजालाई निकै ध्यानपूर्वक हेरेको हुन्छ, विचार गरेको हुन्छ । जतिसुकै सामान्य परीक्षा भए पनि समाजको लागि यो एक किसिमले विशिष्ठ परीक्षा हुन्छ ।
सबै किसिमको परीक्षामा भन्दा यस परीक्षामा सहभागी हुने परीक्षार्थी समाजको दृष्टिमा विशिष्ठ परीक्षार्थी हुन्छन् । यस परीक्षाको मर्यादा, सम्मान तथा प्रतिष्ठा सामाजिकस्तरमा पनि उच्च रहेकोले अधिकांश परीक्षार्थीहरू पनि यस भावलाई बुझेर नतिजाको प्रतीक्षा गरिरहेका हुन्छन् । सम्भव भएसम्म परीक्षा केन्द्रसम्म पुग्नको लागि मौसमको विचार गरेर नै तयारी गर्नुपर्छ । परीक्षा केन्द्रसम्म समयमै पुग्न कुनै किसिमको समस्या नहोओस् र परीक्षा हलमा प्रवेश गरी आफ्नो ठाउँमा बस्न पनि समय पर्याप्त होओस्, जिउ भिजेको नहोओस् जस्ता सामान्य कुरामा पनि परीक्षार्थीले ध्यान दिनु राम्रो हुन्छ ।
पहिले पूरक भनेर चिनिने एसइई परीक्षा जम्मा २ विषयसम्म केन्द्रित हुन्थ्यो । एक परीक्षार्थीका लागि । त्यस्ता परीक्षार्थी जो अनुत्तीर्ण हुन्थे, तिनका लागि माका परीक्षा सञ्चालन गरिन्थ्यो । अहिले यस वर्ष पहिलोचोटि जतिसुकै ओटा विषयमा अनुत्तीर्ण भएको भए पनि परीक्षा दिन पाउने गरी परीक्षा सुरु भएको छ । सबै विषयमा अनुत्तीर्ण भएकाले पनि यस पूरक परीक्षामा सहभागी जनाउन पाउँछन् । यसैले यसलाई पुनः परीक्षा पनि भन्न सकिन्छ अनुत्तीर्ण हुनेहरूका निम्ति । यो निकै राम्रो अभ्यासको थालनी भएको छ । यसले अनुत्तीर्ण विद्यार्थीमा हुने निराशालाई कम गरी आशा जगाउने काम पनि गर्न सक्छ । साथै एसइईको नतिजा प्रकाशन भएपछि हुने गरेको आलोचना वा नकारात्मक टिप्पणीमा पनि केही सुधार ल्याउन सहयोग गर्न सक्छ ।
अधिकांश परीक्षार्थी मुख्य गरी अंग्रेजी, गणित र विज्ञान विषयमा कमजोर हुन्छन् । यिनै ३ अनिवार्य विषयमा अनुत्तीर्ण हुनेको संख्या धेरै हुन्छ । सरकारले शिक्षा मन्त्रालयमार्फत यी ३ विषयका लागि केही सहयोग प्रदान गर्ने गरेको छ । रेडियो, टेलिभिजन र अनलाइनमार्फत पठनपाठनको व्यवस्था पनि गर्ने गरेको छ । साथै, धेरै ठाउँमा स्थानीय सरकारले पनि कोचिङ र अन्य व्यवस्था गरेको हुन्छ यी विषयका निम्ति । तर पनि, हरेक वर्ष यी विषयमा नै सबैभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण हुने गरेका छन् । पहिले २ विषयसम्म पूरक परीक्षा दिन पाउने प्रावधान थियो, त्यसमा सहभागी हुने अधिकांश परीक्षार्थी यिनै विषयका हुने गर्दथे र अहिले पनि सम्भवतः यिनै विषयका परीक्षार्थी बढी छन् । हरेक विद्यालयमा पनि विचार गर्ने हो भने यी ३ विषयको ट्युसन पनि पढाइ हुन्छ । विद्यार्थीहरू यिनै विषयको ट्युसन पनि पढ्दछन् । तर पनि, यी विषयमा विद्यार्थी कमजोर हुन्छन् भन्ने कुरो हरेक वर्षको नतिजाले देखाउने गरेको छ ।
अभिभावक वा विद्यार्थी सबै पक्षको सामान्य धारणा यो रहेको छ कि यी ३ विषयमा बढी अंक ल्याउने विद्यार्थी राम्रो हुन्छ । यी ३ विषयमा राम्रो भएपछि माथिल्लो पढाइको लागि जुनसुकै विषय वा क्षेत्रमा पनि विद्यार्थीले राम्रो गर्न सक्ने हुन्छ । अनि, अन्य विषयमा जतिसुकै राम्रो भए पनि र यी ३ विषयमा तुलनात्मक कमजोर छ भने अभिभावक, शिक्षक र स्वयं विद्यार्थीहरूकै नजरमा पनि त्यत्ति सम्मान भएको पाइन्न । विषयको पनि सम्मान हुने रहेछ भन्ने कुरो विद्यार्थीहरूले बिस्तारै बुझ्ने गरेका छन् । यसरी विद्यार्थीहरूकै नजरमा हरेक विषय समान होइन, समाजले पनि हरेक विषयलाई समान मानेको छैन । जीवनको व्यवहारमा आफ्नो ठाउँमा हरेक विषयको मूल्य छ र सम्झना हुनेले हरेक विषयको अध्ययनलाई जीवनमा मान्यता दिएको हुन्छ, लागू गरेको हुन्छ । परिवेश र रुचि फरक हुन सक्लान्, यसैले हरेक विषयको महत्व छ । जीवनमा राम्रो गर्नेले जुनसुकै विषयमा पनि अति राम्रो गर्न सक्छन् र अरूका दृष्टिमा उच्च सम्मान हासिल गर्ने व्यक्तित्व बन्न सक्छन् ।
प्रतिक्रिया