— कार्यालयको एउटैकोठामा बस्छन् ४ दाजुभाइ, १६ जना परिवारको एउटै भान्सा
विगत २५ वर्षदेखि अन्वेषणको क्षेत्रमा काम गरिरहेका जुम्ल्याहा दाजुभाइ रामप्रसाद रिमाल र लक्ष्मणप्रसाद रिमाललाई नचिन्ने सायदै होलान । उनीहरू देशभरी नै आविष्कारकको रूपमा परिचित छन् । २०३७ सालमा नुवाकोटको बेलकोटगढी–१२, मदानपुरमा जन्मिएका उनीहरू अहिले जुन स्थानमा छन्, यहाँसम्म पुग्ने यात्रा भने अनौठो र विशेष छ । डिजिटल हाजिरीदेखि भोटिङ मेसिन, जामर, ट्राफिक लाइटसम्मका ५० भन्दा बढी उत्पादनका अन्वेषक र उत्पादक बनेका मिजासिला यी २ दाजुभाइको यात्राबारे जान्न हामी फर्किनुपर्छ २०३७ साल तिरै ।
संघर्षपूर्ण यात्रा
काठमाडौँको मुटु लाजिम्पाटमा आफ्नै घरमा कार्यालय राखेर नयाँ नयाँ अन्वेषण गर्दै आएका राम–लक्ष्मणको सघर्षको यात्रा भने सामान्य छैन् । राम र लक्ष्मण जुम्ल्याहा दाजुभाइ नुवाकोटको मदानपुर गाविस (हाल बेलकोटगढी नगरपालिका) वाग्ले थोकमा जन्मिएका हुन् । उनीहरू आफ्नो मामाघरमा जन्मे हुर्किएका हुन् । उनीहरूको जन्मिएको ठाउँ काठमाडौँबाट ४० किलोमिटरको दुरीमा छ, यति नजिक भए पनि उनीहरू १० कक्षा (एसएलसी) पास गर्दासम्म जम्मा १ पल्ट मात्रै काठमाडौँ आउन पाएका थिए । उनीहरू दःुख गरेर खान पाउने परिवारमा हुर्किएको बताउँछन् ।
राम–लक्ष्मणका बुबा ईश्वरीप्रसाद रिमालको जन्मघर नुवाकोटकै खड्ग भञ्ज्याङ भए पनि उनी घरज्वाइँ बस्न वाग्लेथोक आएका हुन् । राम–लक्ष्मणकी आमा गंगादेवीका दाजुभाइ नभएकोले ईश्वरीप्रसाद रिमालको बसाईं ससुरालीमै भयो । ईश्वरीप्रसाद रिमाल जन्मिएको ठाउँ खड्ग भञ्ज्याङ अझैँ दुर्गम थियो । ईश्वरी सुरालीमा बस्न थालेपछि त्यतिखेर गाउँलेले हेप्न, होच्याउने र खिसीट्युरी गर्ने गर्दथे । यस्तो अवस्थामा पनि उनी दिनरात नभनी खेतीपातीको काम गर्ने, आफूले पढ्न नपाए पनि छोराहरूले पढ्न पाउन भनेर अनेकौँ हन्डर खेपेर छोराहरूलाई पढाए । तिनै मिहिनेती बुबाको कारण आज राम–लक्ष्मण प्रख्यात अन्वेषक बनेका छन् ।
५ वर्षदेखि नै काममा सघाउँथे
राम–लक्ष्मणलाई घरमा काम गरेर खान जग्गा भए पनि नगद आउने माध्यम भने केही थिएन् । उनीहरू २ दाजुभाइ ५ वर्षको उमेरदेखि नै खेतमा बुबासँग काम गर्न जान्थे । राम लक्ष्मण र उनका बुबा मिलेर ३ मुरी धान फल्ने खेत खनेको अहिले पनि उनीहरू झलझली सम्झन्छन् । ‘हामी २०३७ सालमा जन्मिएका हौँ, हामीलाई घरको विषय थाहा भएको ४२ सालतिरबाट हो ।’ राम–लक्ष्मणले पुराना दिन सम्झिए, ‘त्यतिबेला कोही एक ठाउँबाट अर्को ठाउँमा बसाइँसरेर जाँदा समाजमा टिक्न निकै संघर्ष गर्नुपर्ने अवस्था थियो । समाजले हेर्ने दृष्टिकोण पनि अलि फरक हुने गर्दथ्यो । जहाँ टिक्नको लागि हाम्रा बुबाले धेरै नै दुःख गर्नुभएको थियो ।’
घर नजिकै विद्यालय भएको कारण समयमै विद्यालय भर्ना भएका उनीहरूले विद्यालय पढ्दाको अनुभव यसरी सुनाए– ‘हामी विद्यालय जान थालेपछि कहिल्यै आनन्दले बस्न पाइएन । बिहान उठ्यो कि घाँस काट्यो, कि त अरू घरको काम गर्यो विद्यालयबाट फर्किएपछि बाख्रा चराउन जाने, पतकर (सोत्तर) सोहोर्न जानुपथ्र्यो ।’ सानो छँदा उनीहरूले नगरेको काम नै छैन । पतकर सोहोर्नेदेखि कुटो कोदालो गर्ने त उनीहरूको दैनिकी नै भइहाल्यो । उनीहरू सम्झन्छन्, ‘सानोमा घरमा आमा, बुबा र हजुरआमा हुनुहुन्थ्यो, हजुरआमाले निकै माया गुर्नुहुन्थ्यो । उहाँहरूले निकै दुःख गर्ने भएकोले हामीले पनि दुःख के हो देख्यौँ ।’
विद्यालय जाँदा कोदो फर्कदा पिठो
ब्राह्मण परिवारमा जन्मिएका राम–लक्ष्मणको ८ वर्षको उमेरमै व्रतबन्ध गरियो । उनीहरू कक्षा ८ मा पुगेपछि भने घरबाट टाढाको विद्यालय (हालको वेलकोटगढी नपा–१३) मा पर्ने शक्ति माध्यमिक विद्यालय पढ्न जानुपर्यो । त्यो विद्यालय पुग्न उकालो ओरालो १ घण्टा हिँड्नुपथ्र्यो । त्यतिबेलादेखि भने उनीहरूले भारी बोक्ने समय सुरु भएको बताउँछन् । उनका साथीहरू रमाइलो गर्दै विद्यालय जान्थे तर राम–लक्ष्मण भने भारी बोकेर जान्थे । ‘हामीले विद्यालय जाने बाटोमा एउटा मिल थियो । जहाँ २ पाथी कोदो बाकेर जान्थ्यौँ, मिलमा छाडेर विद्यालय गयो, फर्किंदा पिठो बोकेर घर लान्थ्यौँ ।’ उनीहरूले पुराना दिन सम्झँदै भने, ‘यस्तो गर्नुमा बुबाको आदर्शले पनि काम गरेको थियो । बुबाको कम बोल्ने तर निरन्तर काम गर्ने बानी थियो, हामीले पनि त्यसैलाई अनुशरण गरेका थियौँ ।’
एउटै किताबले काम चल्थ्यो
बुबाआमाले धेरै दुःख गरेको देखेर पनि उनीहरू अत्यन्त कम खर्चमा काम चलाउने गरेको सुनाउँछन् । उनीहरू विद्यालय पढ्दासम्म कहिल्यै पनि २ सेट किताब किन्नु परेन्, एउटै सेट किताबले काम चल्थ्यो । एउटाले पढ्दा अर्कोले सुन्ने गर्दै पालैपालो सँगै पढ्ने गरेको उनीहरूले सुनाए । अरुले ट्युसन कक्षा लिन्थे भने उनीहरू अरूको गृहकार्य गरिदिएर कापीका पन्ना जुटाउँथे । ‘एकदिनको एक जनाको गृहकार्य गरिदिँदा एक तावा (पेज) जोडी पन्ना वा सानो सानो कापी नै पाइन्थ्यो, यसकारण पनि कापी अभाव कहिल्यै भएन ।’ उनीहरूले पुराना दिन सम्झे, ‘एउटा मूल कापी किने पनि बाँकी रफ गर्ने कापीहरू किन्नु परेन ।’ उनीहरू पढ्ने त्यो विद्यालयमा ७० प्रतिशत विद्यार्थी होस्टलमा बसेर पढ्थे । यो प्रसंग सम्झँदै उनीहरू भन्छन्, ‘अरू विद्यार्थीको काम दिनभर पढ्ने हुन्थ्यो, तर हामी भने घरको कामसँगै पढ्नुपथ्र्यो त्यसकारण पनि चुरोटको पेटीको कागजमा फर्मुला लेखेर बाटोमा पढ्दै हिँड्थ्यौँ । त्यो कागजमा लेख्दा हत्तपत्त नभिज्ने भिजिहाले पनि चाँडै नबिग्रिने हुन्थ्यो ।’
गाउँमा हेपिएको परिवारमा हुर्किएका राम–लक्ष्मण भने रातो बाँदरसँग खुब डराउँथे । कतिसम्म भने बाँदर लाइदिने डर देखाएर अन्य विद्यार्थीले उनीहरूसँग गृहकार्य गराउँथे । उनीहरूले अरूको गृहकार्य गर्दा त्यतिबेला हेपिएको महसुस गरे पनि शिक्षाको हिसाबले भने फाइदा नै भएको ठान्छन् । यसरी अरूको गृहकार्य गरिदिँदा पढाइमा थप पुनरावृत्ति भएर उनीहरू खारिँदै गएका थिए । त्यो प्रसंग सम्झँदै उनीहरू भन्छन्, ‘अरूको गृहकार्य गरिदिएर फाइदा नै भएको रहेछ । हामी रटेर नपढे पनि फटाफट पास हुन्थ्यौँ ।’
बार्दलीको त्यो स्विच
राम–लक्ष्मणका बुबा निकै मिहिनेती भएको कारण छोराहरू पनि आफूजस्तै मिहिनेती बनुन् भन्ने चाहन्थे । राम–लक्ष्मण पुराना दिन सम्झन्छन्, ‘हामी बार्दलीमा रातीसम्म पढ्थ्यौँ र सुत्थ्यौँ, बत्ती निभाउने स्विच बाहिरपट्टी थियो । राती त्यहाँ जान डर लाग्थ्यो । हामीले बसेकै ठाउँबाट बत्ती निभाउन स्विचबाट डोरी तानेर ल्याएर सिरानीमा झुन्ड्याएका थियौँ । जुन डोरी तान्दा बत्ती निभ्थ्यो । त्यस्तो उटपट्याङ गर्ने भएकोले बुबाले हामीलाई बत्ती निभाउन जानको अल्छीले डोरी तानेको भन्दै गालीसमेत गर्नुहुन्थ्यो । बुबाले यस्तो अल्छी गर्छौ भनेर भन्नुहुन्थ्यो ।’ राम–लाक्ष्मणले लाजिम्पाटस्थित कम्पनीको आफ्नै कार्यालयको २ कुर्चीमा बसेर जुम्ल्याहा दाजुभाइले एकै स्वरमा भने, ‘हामीले त्यो तरिका बत्ती निभाउन मात्र अपनाएका थियौँ पछि त्यो बत्ती अटोमेटिक बनायौँ । पढ्दा पढ्दै सुत्यौँ भने त रातभरी बत्ती बलेको बल्यै हुने । त्यसो हुँदा बुबाले गाली गर्ने भएपछि हामीले त्यसको विकल्पमा स्विचबाट ल्याएको डोरीमा पिर्का झुण्ड्याएर राख्यौँ । हामी निदाउँदा त्यो पिर्का ढल्थ्यो बिजुलीको स्विच अफ हुन्थ्यो ।’
कोदो चाल्ने प्रविधि
उनीहरू बस्ने ठाउँमा कोदो निकै फल्थ्यो । कोदो थन्क्याउन धेरै नै मिहिनेत गर्नुपथ्र्यो । ‘धेरैदिनसम्म कोदो चुट्ने काम हुन्थ्यो । चुटेपछि चाल्नुपर्ने हुन्थ्यो । त्यो चाल्ने काम हाम्रै भागमा पर्ने गथ्र्यो । हामी कक्षा ८ मा पढ्थ्यौँ । पुराना अनुभव सुनाउँदै उनीहरूले भने, ‘त्यतिखेर कोदो चाल्ने जस्ताको पातामा किलाले खोपेर ठुलो ठुलो साइजको चाल्नो बनाइएको हुन्थ्यो । हामी सानो भएकोले हातले नभ्याउने, साह्रै दुख्ने भएपछि त्यो चाल्नुलाई डोरीले दलिनमा झुण्ड्याएर, त्यसको तलबाट अर्को डोरी ल्याएर काठ राखेर खुट्टाले ट्याक ट्याक हान्ने बनायौँ । डोकोमा बसेर मजाले पढ्दै खुट्टा चलाएर कोदो चाल्न थालेको थियौँ ।’ उनीहरू दुबैजना सानैदखि समस्याको समाधान खोज्न माहिर थिए । उनीहरू कसरी सजिलो गर्ने भन्दै खोज्थे, जुन क्षमता अहिले आएर अन्वेषण गर्नमा काम लागेको छ ।
पहिलोपटक सिनेमा हेर्दा
केही नयाँ देख्यो कि त्यसको निर्माण कसरी भयो होला भनेर हेर्ने गर्थे राम–लक्ष्मण । उनीहरू पहिलोपटक बट्टारमा सिनेमा हेर्न हलमा बुबासँग गएका थिए । उनीहरू ९ कक्षा पढ्दा ‘सपना’ भन्ने सिनेमा हेरेको सम्झिन्छन् । उनीहरूलाई त्यो सिनेमाको हिरो भुवन केसी थिए भन्ने बाहेक केही याद छैन् । सिनेमा नहेरी कसरी चल्दो रहेछ भनेर खोज्न थालेपछि उनीहले चलचित्रतिर ध्यान नै दिन सकेनन् ।
उनीहरूका साथीहरू सिनेमाको खुब कुरा गर्थे, हिरो यसरी आउँछ, यस्तो उस्तो भनेर । राम–लक्ष्मणलाई लाग्थ्यो दिनदिनै हिरो हिरोइनहरू कसरी आउँछन् होला, दिनदिनै कसरी भ्याउँछन होला ? उनीहरू सिनेमा हेर्न मन भए पनि जान पाएका थिएनन् । कक्षा ९ मा पढ्दा एसएलसीको रजिस्ट्रेसन फाराम भर्न फोटो खिच्न घरबाट कोदो लिएर २ भाइ र बुबा गएका थिए । कोदो बेचेर फोटो खिचाएका उनीहरूले एकदमै सस्तो टिकटमा पहिलो लाइनमा बसेर सिनेमा हेरेको अहिले पनि सम्झन्छन् ।
उनीहरू जब सिनेमा हेर्न पुगे तब उनीहरूले यो कसरी चल्दो रहेछ, भन्दै सिनेमातिरभन्दा पनि पछाडीपट्टि हेर्न थालेको बताउँछन् । त्यो सिनेमा सकिँदासम्म सेतो पर्दामा लाइटबाट सिनेमा चलाइँदो रहेछ । साँच्चिकै हिरो हिरोइन आउने रहेनछन् भन्ने पत्ता लगाउन भ्याए ।
जब टाइपराइटर मेसिन देखे
फोटो खिच्न गएको त्यही दिन बुबासँग मालपोत कार्यालय गएका उनीहरूले पहिलोपटक टाइपराइटर देखे । त्यो दिन उनीहरूले पहिलोपटक देखेको टाइपराइटर आधा घण्टाजति समय लगाएर हेरेको उनीहरू बताउँछन् । त्यहाँका कर्मचारीदेखि अरू मानिसले बच्चोले के हेरेको होला भनेर अचम्म मानेका थिए । कोहीले हप्काए पनि कोही कोहीले जुम्ल्याहा भाइ रहेछन् भन्दै माया पनि गरेको उनीहरू सम्झन्छन् ।
जब उनीहरूले टाइपराइटर देखे त्यसपछि उनीहरूले अरू केही सोचेनन् मात्र यो कसरी बनाइएको रहेछ ? यस्तो कसरी लेख्छ भन्दै १ महिनासम्म सोचेको रामले बताए । उनले भने, ‘हामी घर आयौँ, तर त्यो कसरी बनाएको रहेछ ? भन्दै धेरै नै सोच्यौँ ।’ निकै सोचेपछि उनीहरूले अक्षरले कार्बन पेपरमा हानेपछि लेखिएकोसम्म पत्ता लगाए र अब उनीहरू टाइपराइटर बनाउने भनेर गाउँकै आरनमा पुगे । आरनको काम गर्नेलाई पनि उनीहरूले मामा भन्ने गर्थे । डेढ महिना लगाएर फलामको अक्षरहरू क, ख, ग, घ बनाउन लगाए । त्यसपछि छाताको ढाँठलाई काटेर आरनमै त्यसका टुप्पोमा त्यो लेखिएको अक्षरहरू जोड्न लगाएर उनीहरूले थिच्दा लेखिने खालको टाइपराइटर बनाएको अहिले पनि सम्झिन्छन् । खोज अनुसन्धानको सुरुआत नै उनीहरूको कोदो छान्ने चाल्नु बनाएपछि सुरु भएको मान्न सकिन्छ । त्यति बेला अल्छी भनेका बुबाले अहिले पनि अल्छी भन्न छाडेका छैनन् ।
एसएलसीमा पहिलो श्रेणी नआएपछि …
पढाइमा राम्रै दाजुभाइ राम र लक्ष्मणको पहिलो श्रेणीमा पास हुने आशा थियो । तर नतिजामा भने दोश्रो श्रेणी आयो । उनीहरूको ५६ प्रतिशत नतिजा आयो । २ दाजुभाइको नतिजामा दाइको ४ नम्बर बढी आयो भने भाइको कम आयो । उनीहरूले २०५४ सालमा एसएलसी पास गरेका हुन् । उनीहरू जन्मिएको वाग्लेथोक गाउँबाट एसएलसी उत्तीर्ण गर्ने राम–लक्ष्मण नै पहिलो हुन् । उनीहरूले एसएलसी पास गर्दा ८० जनामा २५ जना मात्रै पास भएका थिए । त्यतिवेला पहिलो श्रेणीले विज्ञान विषय, दोश्रोले व्यवस्थापन र तेस्रो आउनेले शिक्षा तथा मानविकी पढ्ने भन्ने हुन्थ्यो ।
एसएसलसी पास गरेपछि पढ्न काठमाडौँ आउँदा उनीहरू बुबासँगै आएको सम्झन्छन् । उनीहरूको काठमाडौँमा नजिकको आफन्त भन्ने कोही पनि थिएनन् । खर्च धेरै हुने भएकाले नजाउ भन्नेहरू पनि थिए । तर उनीहरूले काठमाडौँ आएर पढ्ने सँगै काम गरेर गाउँमा अलिकति भए पनि खर्च पठाउने योजना बनाएका थिए । ‘हामी काठमाडौँ आउँदा ठुली आमाको छोरा १ जना यतै सोह्रखुट्टेमा बस्नुहुन्थ्यो । शिक्षा विषय पढेर जिल्ला शिक्षा अधिकारी बन्नुपर्छ भनेर उहाँले हामीलाई ताहाचलमा भर्ना हुन पठाउनुभयो । त्यहाँ गएर इन्ट्रान्स परीक्षामा एकैलटमा हामी पास पनि भयौँ ।’ काठमाडौँ आउँदाको प्रसंग सम्झदै उनीहरूले भने, ‘त्यसको भोलिपल्ट भर्ना गर्न जादैगर्दा यतै पकनाजोलतिर बस्ने बुबाले चिनेका १ जना काका पर्नेलाई भेटौँ भनेर गयौँ । उहाँसँग भेटभएपछि व्यवस्थापन पढ्नुपर्छ भनेर भन्नुभयो । सरस्वती क्याम्पसमा भर्ना गर्न लगाउनुभयो । त्यहाँ स्ववियु सभापति नुवाकोटकै रहेछन् । उहाँलाई भनेर हाम्रो भर्ना भएका थियौँ । हामीले बेलुकाको सिफ्टमा पढ्ने भयौँ ।’
काठमाडौँमा कोठा खोज्नतर्फ लागेका उनीहरूले २ हजार रुपैयाँ भाडा तिर्ने गरी एउटा कोठा भेटे । तर घरबाट भाडा पठाउने अवस्था थिएन् । घरभाडा कसरी जुटाउने ? के काम गरेर हुन्छ भनेर काम खोज्नतर्फ लागेको अहिले पनि सम्झन्छन् । कुराकानीकै क्रममा लक्ष्मणले भने, ‘ठमेलमा पनि निकै काम खोज्यौँ हामीलाई समय मिल्ने खालको काम नै भेटिएन । सेक्युरिटी गार्डमासमेत जागिर खाने भनेर गयौँ तर उचाइ नपुगेर लिन मानेन ।’
जीवनकै महत्वपूर्ण मोड
सामान्य मार्केटिङको काम गर्दैगर्दा उनीहरूले घरको काम गरिदिनुपर्ने सर्तमा कोठा र खाना निःशुल्क पाउने पाए । त्यो परिवारको तरकारी ल्याइदिने, पानी चलाइदिने, घरमा गेट खोलिदिने लगायतका काम गर्ने, साँझ कलेज जान पाउने गरी बस्न थाले । त्यो घर बद्रीनाथ भट्टराईको रहेको उनीहरू सम्झिन्छन् ।
‘१ जना चिनेको व्यक्तिमार्फत त्यहाँ बस्न पाउने भएपछि हामी निकै खुसी भयौँ । त्यो घरमा खाना पकाउनेदेखि लिएर जानेको सबै काम गथ्र्याैं । काठमाडौँको खास समस्या हामीले त्यही घरमा बस्न थालेपछि थाहा पायौँ ।’ कुराकानीकै क्रममा उनीहरूले भने, ‘हामीले पानीको मोटर बन्द गर्ने, खोल्ने, गेट खोल्ने लगायतका काम हाम्रा प्रमुख थिए । सो क्रममा मोटर चलाइदेउ, अनि बन्द गर्दा बिर्सिंदा पानी खेर गयो भनेर घरभेटीले कराउँथे, गाली निकै खाइन्थ्यो ।’ उनीहरू पुराना दिन सम्झन्छन्, ‘हामी भर्याङमुनिको सानो कोठामा बस्थ्यौँ । हाम्रो ढोकाअगाडि नै पानी चलाउने स्विच थियो । त्यस्तै, गेट अलि टाढा थियो गेट खोल्न जानुपर्ने । बिहान बेलुका राती जतिबेला पनि उठिहाल्नुपर्ने भएपछि गेट खोल्न जाँदा ढिला हुँदा कराउने गाली खाने हुन्थ्यो । त्यसपछि ८ र ९ कक्षामा पढेको साइन्सको मद्दतले ढोका भित्रैबाट खोल्ने बनायौँ ।’
त्यति महँगो गेटमा अटोमेटिक खुल्ने ढोका बनाउन राम–लक्ष्मणलाई सजिलो थिएन । अटोमेटिकरूपमा कोठाबाटै ढोका खोल्ने बनाउनका लागि उनीहरू सबैभन्दा पहिला कवाडी संकलन गर्ने ठाउँमा पुगेर तार ल्याएको बताउँछन् । बिजुलीबारे पहिल्यै थाहा भइसकेका उनीहरूले घरभेटीको अनुमति लिएर कोठामै बसेर तारमार्फत ढोका खोल्ने बनाए । तर ढोकामा जो आए पनि कोठाबाट नहेरी खोल्दा एकदिन जोगीहरूको हुल आएपछि उनीहरूले गाली खाए । त्यो गालीसँगै उनीहरूले गेटबाट ओमेटिक सिस्टम हटाइदिए ।
पानीको मोटर चलाउने र बन्द गर्ने तथा राती धारामा पानी आएमा उठेर भाँडामा पानी भरेर राख्नुपर्ने जिम्मा पनि उनीहरूको थियो । राती नै नुहाएर पूजासमेत गर्नुपर्ने काम पनि उनीहरूकै थियो । त्यो घरमा बस्दा उनीहरूले कवाडीबाटै विभिन्न सामानहरू ल्याएर मोटरबाट पानी तान्दा ट्यांकी भरिएपछि आफैँ बन्द हुने, राती पानी आउँदा आफैँ ट्यांकीमा भरिने लगायतका स्वचालित सिस्टम बनाइदिएका थिए ।
कलेज जाँदा र फर्किंदा उनीहरू सधैँ कवाडीमा छिर्ने गर्थे । उनीहरू केही पुराना सामान खोज्न तथा टाइपराइटर खोज्न कवाडीमा जान्थे । सबै कवाडीमा उनीहरूको राम्रो परिचय थियो । उनीहरूले कवाडीबाट धेरै प्रकारका सामानहरू ल्याउने गर्थे । ट्यांकीबाट पानी खेर नजाओस् भनेर बाथरुमको फल्समा राख्ने डल्लो कवाडीबाट २० रुपैयाँमा किनेर ट्यांकीमा राखिदिएका थिए । त्यसपछि माथिबाट पानी भरिएर जाने समस्या समाधान भएको उनीहरू सुनाउँछन् ।
आइकम पढ्दै गर्दा उनीहरूले २०५६ सालमा पानीको मोटर चल्ने स्विच अटोमेटिक (वाटर मोटर अपरेटर) बनाउने प्रयास गरे । लामो संघर्षपछि उनीहरूले पानी सकिँदा आफैँ स्विच अन हुने र भरिएपछि अफ हुने प्रविधिको विकास गरे । यसका लागि उनीहरूले कवाडी सामानको प्रयोगबाट सफल भएको बताउँछन् ।
यति गर्दा–गर्दै उनीहरूका आविष्कारले चर्चा पाउन थाले । उनीहरू बस्ने घरधनीले पनि आफन्तहरूलाई वाटर मोटर अपरेटर राख्न सिफारिस गर्थे, जसका कारण राम– लक्ष्मणको त्यो प्रविधिले निकै चर्चा पाउँदै गएको थियो । त्यसको मार्केटिङ पनि हुँदै गएको थियो ।
आइकम छुटेपछि उनीहरू पहिले बस्ने घरभेटीकै अर्को घर नक्सालमा बस्न थाले । त्यहाँ बस्दा उनीहरूले ट्युसन पढाएर खर्चको जोहो गर्थे । त्यससँगै उनीहरू आफूले बनाएको त्यो वाटरमोटर अपरेटर उत्पादनलाई बेच्नको लागि लागिपरे । जसजसको घरमा उनीहरूले त्यो जोडिदिए उनीहरू खुसी भएपछि राम–लक्ष्मणमा त्यो प्रविधिलाई व्यावसायिक बनाउने सोच पलायो । त्यसपछि उनीहरूले जस्तापाताको बक्सहरू बनाएर आफूले बनाएको वाटर मोटर मेसिनको कभर बनाउन लागे । पहिलोपटक २० वटा वट्टा बनाएर उनीहरूले काम सुरु गरे ।
उनीहरूले बनाएको त्यो प्रविधिको (मेसिन) को सुरुआतमा ५५५ रुपैयाँ मूल्य राखेका थिए । त्यसको मार्केटिङ गर्न उनीहरूले अनेक जुक्ति निकालेका थिए । त्यतिबेला सम्पर्क गर्न कि टेलिफोन हुनुपथ्र्यो, कि घर घर चाहार्नुपथ्र्यो । टेलिफोन लिन काठमाडौँमा घर हुनुपथ्र्यो त्यो पनि लिन पाएनन् । उनीहरूले त्यतिखेर आएको एउटा सम्पर्क गर्ने नयाँ माध्यम पेजर लिए । त्यो सँगै उनीहरू काठमाडौँमा पानी र बिजुलीको बिल तिर्ने विभिन्न ठाउँमा मार्केटिङको लागि जाने गर्न थालेका थिए ।
१६ जनाको एउटै भान्छा
प्रायः दाजुभाइहरू अलगअलग भएर बस्ने चलन हाम्रो समाजमा नौलो होइन । सम्पत्तिको लागि घरपरिवारमा झगडा हुने, मनमुटाव हुने गर्दछ । तर राम–लक्ष्मणको घरमा भने १६ जनाको परिवार अझैँ पनि एउटै भान्सामा, एउटै टेबुलमा खाना खाने गर्छन् ।
अझ अचम्मको कुरो के छ भने, रामलक्ष्मण ग्रुप हाँकिरहेका ४ दाजुभाइले काम गर्ने कार्यालय कोठा पनि एउटै छ । एउटै कोठामा बसेर छलफल गर्दै काम गर्दा सबैकुरामा सहज उनीहरूले बताउँछन् । अहिलेसम्म कुनै पनि मनमुटाव नरहेको उनीहरूको भनाइ छ ।
‘कसैलाई कुनै लोभ छैन्, कुनै किसिमको घरायसी दबाब पनि छैन् ।’ कुराकानीको क्रममा लक्ष्मणले भने, ‘त्यसकारण हामीहरूबीच मनमुटाव भएको छैन । हामी तार्किक बहस गर्ने गर्छौं, समाधान निकाल्छौँ ।’
उनीहरूबीच कामको विषयमा छुट्टैखालको बहस हुने गर्दछ । ४ वटै दाजुभाइ बीचको सम्बध सुमधुर भइरहनुमा उनीहरूको आफ्आफ्नै विज्ञता पनि एक हो । कोही कसैको काममा अनावश्यक हस्तक्षेप नगर्ने, समस्या आइपरे मिलेर समाधान गर्ने बानीले गर्दा यो एकता कायम भएको बताउँछन् राम–लक्ष्मण ।
४ दाजुभाइमा उनीहरू सबैको विवाह भइसकेको छ । उनीहरू १५ वर्षदेखि राम–लक्ष्मण ग्रुपमा सँगै काम गरिरहेका छन् । सबैको मासिक तलब आउँछ, बाँकी आम्दानी कम्पनीको नाफामा गणना हुन्छ र बोनसको रूपमा लिने गर्छन् । कम्पनीमा ४ जनाकै बराबर सेयर रहेको छ । उनीहरूका श्रीमतीहरू ३ जना सरकारी सेवामा छन्, भने १ जना भने निजी क्षेत्रको कार्यालयमा काम गर्छिन् । जेठा दाई रामको बुझाइमा भने सबै बराबर सेयर लिएर काममा लागेका कारण मनमुटाव भएको छैन ।
जुल्याहा मध्येका जेठा रामप्रसाद रिमालले अन्वेषणको काम हेरिरहेका छन्, त्यो भन्दा कान्छा लक्ष्मणप्रसाद रिमालले मार्केटिङ र प्रशासनिक काम हेर्छन् । त्यस्तै अर्का माइला भाइ भरतप्रसाद रिमालले कार्यालय व्यवस्थापनको काम हेर्छन् । बुबाआमालाई गर्ने व्यवहार ४ जनाकै राम्रो भएको र बुबाआमाले पहिलेदेखि दिएको संस्कारको कारण उनीहरू मिलेर बस्न सकेकोसमेत उनीहरूको बुझाइ छ ।
प्रतिक्रिया