महँगी नियन्त्रण गर्न औद्योगिक कानुन, ऐन, नियम व्यवस्थित गरिनुपर्छ । र आमयुवाहरूलाई स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्छ । र उद्योग व्यवसाय र उत्पादनमा युवाहरूलाई जोड्नुपर्छ । देशमा उत्पादन कम हुँदै गएकोले महँगी बढ्दै गएको हो । खेतीपातीमा काम गर्ने युवाहरू बिदेसिएपछि उत्पादनमा कमी आउनु स्वभाविक हो । विदेशबाट सरसामान ल्याउन परेपछि महँगी बढ्दै जानु स्वभाविक नै हो ।
देशको राजनीतिक अवस्था अस्थिर र तरल रहेकाले जनताले अपेक्षा गरेअनुसार विकास सुशासन, भ्रष्टाचारमुक्त समाज हुन सकेको छैन । र देशमा राजनीतिक समझदारी कायम गरी विकास निर्माण गर्नुपर्नेमा आर्थिक सु्धार गुर्नपर्नेमा, विकसित मुलुकको निर्माण गर्ने लक्ष्य र योजना सरकार र राजनीतिक दलको हुनुपर्नेमा राजनीतिक दलहरू सरकार सञ्चालन र सरकारमा सहभागी हुनेमा मात्र लागिपरेको देखिएकाले जनताको अपेक्षाअनुसार सुशासन, विकास र समृद्धिको चाहना पूरा हुन सकेको छैन ।
नेपाली कांग्रेस देशकै ऐतिहासिक पार्टी भएको हुनाले देश र जनताका लागि यो पार्टी थप जिम्मेवार हुन जरुरी छ । कांग्रेसले राणाशासन, पञ्चायती व्यवस्थाको विरुद्धमा आन्दोलन गरी लोकतन्त्र स्थापना गर्नका लागि प्रमुख दलका हैसियतले नेतृत्व गरेको थियो । त्यस्तै २०४७ सालको संविधान निर्माण गर्न र २०६२/०६३ सालको जनआन्दोलनको नेतृत्व गरी नेपाली जनताको चाहाना अनुसारको व्यवस्था ल्याउन कांग्रेसले नै प्रमुख भूमिका खेलेको थियो । लोकतान्त्रिक संविधान ल्याउन पनि कांग्रेसकै भूमिका रहेको थियो । यतिबेला भएको नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता समीकरण पनि स्वागतयोग्य छ । अब देशका लागि आवश्यक संविधान र कानुन संशोधनका लागि यो गठबन्धन सक्रिय रहनु आवश्यक छ । चुनाव अघिदेखि कांग्रेसले सरकारको नेतृत्व लिने भएको छ । यसबाट हामी थप उत्साहित भएका छौँ ।
देशको अप्ठ्यारो तथा कठिन अवस्थाको नेतृत्व गरी संघ, प्रदेश र स्थानीय निकायको निर्वाचन गर्ने प्रमुख भूमिका पनि नेपाली कांग्रेसकै नेतृत्वमा संभव भएको हो । देशमा व्याप्त रहेको राजनीतिक द्वन्द्व र माओवादीको जनविद्रोहबाट देशमा ठूलो रूपमा अशान्ति सिर्जना भएको बेला पनि देशमा शान्ति स्थापना गर्न पनि कांग्रेसकै प्रमुख नेतृत्व रहेको थियो । आजसम्म आइपुग्दा देश र जनताले कांग्रेसकै नेतृत्व खोजिरहेको हुनाले देशको विकास र सुशासन, जनताको आर्थिक उन्नति गर्नका लागि र राजनीतिक स्थायित्वका लागि पनि नेपाली कांग्रेसले नेतृत्व गर्नुपर्ने अवस्था र आवश्यकता छ ।
देशमा विकास र समृद्धिको जनचाहाना पूरा हुन नसकेको प्रमुख कारण मध्ये भ्रष्टाचार भएको हुनाले २०४६ सालपछिको राजनीतिक नेतृत्व गरी सार्वजनिक पद धारण गरेका कर्मचारीदेखि राजनीतिज्ञको समेत सम्पत्ति छानबिन गरी स्रोत नखुलेको सम्पत्ति जफत गरी विकास निर्माणमा लगाउनुपर्छ । देशमा भएका भ्रष्टाचारकै कारणले गर्दा ठूला आयोजनाहरू, राष्ट्रिय स्तरका योजना र कुनै पनि विकास निर्माण समयमा सम्पन्न हुन नसक्नुको प्रमुख कारण हो । देशमा भ्रष्टाचार मौलाएकै कारणले आर्थिक, सामाजिक विकास, सुशासन कायम गर्न सकिएको छैन ।
यसलाई सम्बोधन गर्न नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्माण गरी आमनेपाली जनतालाई महसुस हुने गरी कानुन नीति निर्माण गरी आमयुवा तथा जनतामा भरोसा हुने गरी कार्य गर्नुपर्दछ । अख्तियार, सम्पत्ति शुद्धीकरणजस्ता निकायलाई सफल सक्षम बनाउनुपर्दछ । हरेक निकायमा सेटिङको प्रक्रियाबाट हुने भएको हुनाले भ्रष्टाचार हुने क्रियाकलाप पहिला बन्द गर्नुपर्दछ । लोकसेवामा प्रवेश गरी मालपोतको अधिकृत हुने, भन्सारको अधिकृत हुने र राजस्वमा समेत संलग्न भई भ्रष्टाचारमा संलग्न रहेको व्यक्ति पनि पछि अख्तियार र सम्पत्ति शुद्धीकरणमा आउन मिल्ने नियम कानुनको कारण भ्रष्टाचार नियन्त्रण हुन सकेको छैन । त्यसैले नेपाली कांग्रेसले नै यस्ता बाध्यकारी कानुन संशोधन गर्न प्रमुख भूमिका निर्वाह गर्न जरुरी छ ।
यसै गरी देशभरि फैलिरहेको महँगी नियन्त्रण गर्न औद्योगिक कानुन, ऐन, नियम व्यवस्थित गरिनुपर्छ । र आमयुवाहरूलाई स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्छ । र उद्योग व्यवसाय र उत्पादनमा युवाहरूलाई जोड्नुपर्छ । देशमा उत्पादन कम हुँदै गएकोले महँगी बढ्दै गएको हो । खेतीपातीमा काम गर्ने युवाहरू बिदेसिएपछि उत्पादनमा कमी आउनु स्वभाविक हो । विदेशबाट सरसामान ल्याउन परेपछि महँगी बढ्दै जानु स्वभाविक नै हो ।
यसै मेसोमा भन्नुपर्दा नेपाली कांग्रेस संसदीय व्यवस्था र लोकतन्त्रको पहिलो पहरेदार हो । अहिले पनि देशको प्रमुख पार्टी पनि कांग्रेस नै रहेको छ । र सोही बमोजिम देशको आर्थिक अवस्था सुधार गर्न र भ्रष्टाचार नियन्त्रण गर्न, जनताले चाहेको सुशासन, आर्थिक उन्नतिमा कांग्रेसले नै विश्वासयोग्य वातावरण सिर्जना गर्नुपर्छ । र आगामी निर्वाचनमा राजनीतिक स्थायित्व कायम गर्न नेपाली कांग्रेसलाई बहुमतका साथ जनताले जिताउने नै छन् भन्ने हामीले विश्वास लिएका छौँ ।
त्यसका लागि कांग्रेसले पूर्व तयारी गर्नु आवश्यक छ । पार्टीका भातृ संगठनहरूलाई नियमित रूपमा सक्रिय गरी आमनागरिक र समाजमा कांग्रेसप्रतिको विश्वास र भरोसा कायम गर्ने वातावरण निर्माण गर्नुपर्छ । यो पृष्ठभूमिमा र कांग्रेसले गरेको जनपक्षीय कार्यले आगामी निर्वाचनमा कांग्रेसको सानदार रूपमा बहुमत आउने अवस्था छ । यस पटकको उपनिर्वाचनमा कुनै दलसँग गठबन्धन नगरी कीर्तिपुर नगरपालिकामा २ वडासहित मेयरसमेत निर्वाचित गराउन सफल भएकोले जनतामा कांग्रेसप्रतिको विश्वास र भरोसा कायम रहेको प्रमाणित हुन्छ । अन्य ठाउँमा पनि हाम्रो दलको राम्रै जित भयो, कांग्रेस पहिलो पार्टी नै रह्यो । निर्वाचन परिणामले हामी उत्साहित छौँ । र आगामी दिनमा जनताले महसुस हुने गरी कांग्रेसको नेतृत्वमा विकास, समृद्धि, सुशासन, रोजगारीको सिर्जना हुने गरी कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले काम गर्नुपर्ने अवस्था छ । राम्रो काम गरेरै कांग्रेसको मत बढ्दै जाने छ ।
नेपाली कांग्रेसमा प्रजातान्त्रिक र विधि अनुसार वडा समितिदेखि केन्द्रीय स्तरसम्म नेतृत्व र्ने परम्परा रही आएको छ । र केन्द्रदेखि तल्लो तहका निकयासम्म कार्यकारिणी पद २ पटकको मात्र हुने व्यवस्थाले युवाहरूसमेत नेतृत्वदायी भूमिकामा पुग्ने अवस्थाको सिर्जना भएको छ । देशमा आर्थिक, सामाजिक विकासका लागि सरकारको नेतृत्व युवाहरूबाट समेत हुने अवस्थाको सिर्जना गर्न राजनीतिक पदहरू राष्ट्रपति एक व्यक्ति एकपटक मात्र हुनुपर्ने, प्रधानमन्त्री पनि एक व्यक्ति एकपटक मात्र हुने र पुरै कार्यकाल प्रधानमन्त्री पद सञ्चालन गरेको व्यक्तिले मात्र पुनः एकपटक प्रधानमन्त्री बन्न पाउने कानुन निर्माण हुनुपर्छ ।
यस्तै स्थानीय निकायको प्रमुख प्रदेशसभा प्रमुखदेखि प्रतिनिधिसभामा समेत एक व्यक्ति २ पटकभन्दा बढी एउटै पदमा बस्न नपाउने व्यवस्था हुनुपर्छ । यतिबेला नेपालमा देखिएको सहकारी समस्या समाधान गर्नु सरकारको प्रमुख दायित्वभित्र रहनुपर्छ । लाखाँै जनताहरूको बचत सुरक्षा हुनुपर्छ । जुन सहकारी समस्या देखिएका छन्, ती सहकारीहरूको बचतकर्ता, ऋणि, सञ्चालक समिति, विभिन्न उपसमितिहरूसमेत सहकारीकै सदस्य रहने हुनाले सहकारीलाई समस्याबाट मुक्त गर्न नसकिएको देखिन्छ ।
त्यसैले उपयुक्त नियम कानुन परिपालन गराई सहकारीका विकृति विसंगति हटाई देशको आर्थिक अवस्था सुधार गर्नका लागि ३ खम्बे अर्थनीति अभिलम्बन गरी किसान, श्रमिक र उद्योगीको हितका लागि सहकारीको पुँजी परिचालन गरी देशको आर्थिक व्यवस्था सुधार्नसमेत सहकारीमार्फत गर्न सकिन्छ । कुनै पनि देशमा चर्को व्याज लिने दिने क्रियाकलापले आर्थिक उन्नति र उत्पादन बढ्न सक्दैन ।
युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि कृषि, उत्पादन उद्योग, पर्यटन, जलस्रोतको विकास गर्नु जरुरी छ । त्यसको लागि बैंक तथा वित्तीय संस्थाले ऋण दिने प्रविधि उत्पादनमुखी बनाउन सकिएको छैन । ऋण शोषणमुखी हुनु हुँदैन । ऋण क्षमता वृद्धि र सहयोगी सुविधाको हुनुपर्छ । तर नेपालमा व्याज महँगो, छोटो समयको लागि मात्र ऋण पाउने र सामा व्याज तिर्नै नसक्ने खालको भएकाले नेपालमै लगानी गरी उद्योग व्यवसाय गर्ने अवस्था नदेखिएकोले लाखौँ ऋण लिएरसमेत युवाहरू विदेश जान बाध्य भएको अवस्था छ । यो अवस्थालाई सरकारी नीति तथा कानुनहरूमा परिमार्जन गरी रोजगारमुखी र लगानी मैत्री बनाउन आवश्यक छ ।
बचतमा व्याज अधिकतम ३ प्रतिशतभन्दा बढी दिन नहुने, कृषि तथा उद्योगमा ५ प्रतिशत व्याजमा लगानी अनि २५ वर्षसम्म ऋण तिर्ने अवधिको व्यवस्था गर्नुपर्छ । अनि स्थानीय निकायतह समन्वय गर्दै आधुनिक कृषि प्रणालीको विकास गरी उत्पादन गर्ने वातावरण सिर्जना गरेमा स्वेदशमै लाखौँ युवाहरूलाई रोजगारीको सिर्जना हुने तथा आर्थिक विकास हुने अवस्था आउने र उत्पादनसमेत वृद्धि भई देश आत्मनिर्भरसमेत हुनेछ ।
देशमा भइरहेको अस्थीर राजनीतिका कारणले जनताको विकास, समृद्धि, सुशासनको चाहाना पूरा गर्न नसक्दा हालको व्यवस्था, राजनीतिक दल, नेताप्रति जनआकर्षण घट्दै गइरहेको छ । आमजनतामा राजनीतिप्रति निराशा पैदा भएको हुनाले सरकार र प्रमुख राजनीतिक दलहरू पद र पावरका लागि मात्र हाबी भइरहेको अवस्थाले आमनेपाली जनता आजित छन् । यस्तो अवस्थामा सबै पार्टीहरू मिलेर आर्थिक र विकास निर्माण गर्नुपर्दछ । राजनीतिक द्वन्द्व न्यूनीकरण गर्न पनि प्रमुख दलहरू नै संगठित हुनुपर्ने अवस्था छ । मुलुकको यो अवस्थामा राजनीतिक निकास दिने प्रमुख शक्ति भनेको नेपाली कांग्रेस मात्र भएकोले यो पार्टीमा एकताबद्ध र संगठित हुन आमजनतालाई अपिल गर्दछु ।
(लेखक श्रेष्ठ नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं. १० ‘ख’ को सभापति हुनुहुन्छ ।)
प्रतिक्रिया