राजनीतिक बजारमा विद्या भण्डारीको चर्चा

सार्वजनिक खपतका लागि जेजस्ता दावी गरिए पनि एमाले माओवादी दुवै पार्टीको नेतृत्वको छवि आमजनताको बीचमा निकै बिग्रिएको छ । चुनावी राजनीतिमा नेतृत्वको छविले निकै महत्व राख्दछ । ओलीले पनि स्वीकार गरेको, छवि पनि नबिग्रिएको, आशा लाग्दो व्यक्तित्व पूर्वराष्ट्रपति भण्डारी एमालेको नेतृत्वको लागि ज्यादै उपयुक्त र प्रभावी हुने देखिन्छ । एमालेको नेतृत्व परिवर्तनका लागि भण्डारी किन पनि उपयुक्त पात्र हुन् भने उनी एमालेमा सर्वसम्मत हुने सम्भावना पनि उत्तिकै छ ।

बोर्णबहादुर कार्की

आगामी निर्वाचन २०८४ सालमा हुने र चुनावी सरकारको नेतृत्वमा नेपाली कांग्रेस हुने निश्चित जस्तै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वको सरकारले गराउने र त्यसका लागि आफू सत्ता सुम्पिन तयार रहेको अभिव्यक्ति पटकपटक दोहो¥याइरहेका छन् । यसले पनि आगामी निर्वाचन समयै होला भन्ने अनुमान गर्न सकिन्छ ।

साना दल निमिट्यान्न पार्ने भन्दै मुलुकको पहिलो र दोस्रो पार्टीको दुर्लभ समीकरण बनेर २ दलको सरकार बने पनि झट्ट हेर्दा आगामी निर्वाचनमा कुनै १ दलको बहुमत आउने संभावना देखिँदैन । कांग्रेस, एमाले, माओवादीले आगामी निर्वाचनमा एक्लाएक्लै लड्ने घोषणा गरिसकेको सन्दर्भमा यो परिणाम आँकलन गर्नु नौलो कुरो भएन । अन्य साना दलको पनि केही न केही सिट आउने भएकोले एकल बहुमतको संभावना अत्यन्तै क्षीण छ । राजतन्त्र र हिन्दू राज्यको पुनस्र्थापनाको माग राख्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीको लोकप्रियता ठूला दलभन्दा पनि माथि नै छ । त्यसै गरेर चुनावी विषयलाई अतिरञ्जित गर्नसक्ने रवि लामिछानेको पार्टी रास्वपा पनि केही सिट ल्याउने छ । त्यसैले बहुमतभन्दा पनि एमाले कांग्रेसमध्ये कुनचाहिँ ठूलो दल होला भन्ने मात्रै छुट्याउन गाह्रो हो ।

एक्लै लडे पनि वा चुनावी गठबन्धन गरे पनि कुनै १ दलको मात्रै बहुमत आउने सम्भावना क्षीण छ । आगामी निर्वाचनमा मुख्य प्रतिष्पर्धा कांग्रेस र एमालबीच हुनेछ, पहिलो र दोस्रो ठुला शक्ति पनि यिनै कायम हुनेछन् । यी २ दलमध्ये कसले बहुमत ल्याउन सक्छन् भन्ने मात्र मुख्य प्रश्न हो । पार्टी सदस्य, समर्थक र मतदाताको आधारमा हेर्ने हो भने नेपाली राजनीतिमा ३ वटा धार कांग्रेस, कम्युनिस्ट र राजावादी छन् । कांग्रेसको भोट बैंक बाँडिदैन, एकैठाउँमा जान्छ । कम्युनिस्टको भोट बैंक बाँडिनेछ, एमालेले कम्युनिस्ट भोट बैंकको ६० प्रतिशत प्राप्त गरे पनि ४० प्रतिशत माओवादीलगायत अन्य कम्युनिस्ट पार्टीले प्राप्त गर्नेछन् ।

आगामी निर्वाचनमा वाह्य शक्तिको पनि भूमिका हुनेछ । खास गरेर दक्षिणपन्थी र पश्चिमाहरूले एमालेलाई नभई कांग्रेसलाई सहयोग गर्ने सम्भावना छ । त्यस्तो स्थितिमा निर्वाचनमा कांग्रेसलाई बढी सफलता मात्रै हुने होइन बहुमत ल्याउने र एकल सरकार बनाउने सम्मको संभावना नकार्न सकिँदैन । हुन त वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको हुँकार एमालेले बुहमत ल्याउँछ भन्ने छ, तर पश्चिमाले यो हुँकारलाई सत्यसावित गरेनन् । किनकी पछिल्लो समय ओलीसँग उनीहरूको सम्बन्ध निकै बिग्रिएको छ । अन्तरपार्टी विवाद पनि चर्किंदै गएकोले पनि यहि कुराको संकेत गर्दछ । त्यसैले ओलीको दावी ‘मनको लड्डु घ्युसँग खाउ’ भन्नेजस्तो मात्र हुने सम्भावना छ ।

कांग्रेसको बहुमत आएर एकल सरकार बन्यो भने, पश्चिमाहरूले आफ्ना निहीत स्वार्थहरू पूरा गर्नेछन् । त्यो अवस्थामा राष्ट्रले निकै नोक्सानी बेहोर्नुपर्नेछ । त्यस्तैगरी एकल कांग्रेसी सरकार बने पश्चिमाहरूले नेपाललाई सामरिक अखडा बनाउनेछन् । यसले देशको भूराजनीति र छिमेकी २ मुलुकसँगको सम्बन्ध पनि सशंकित हुनेछ ।

निर्वाचनमा कसैको बहुमत नआए अथवा धेरै सिट जितेकाहरू मिलेर सरकार बन्ने स्थिति आउँदा संसदीय अभ्यास निकै विवादित हुने छ । सांसदहरू भेडा बाख्राजस्तो गरी बिक्री हुनेछन् । विगतजस्तो सुरासुन्दरी काण्डजस्तो घिनलाग्दा काण्डहरू राष्ट्रिय राजनीतिमा हुनेछ । कांग्रेसलाई एकल बहुमत ल्याउनबाट रोक्न कम्युनिस्ट बीचको एकता वा तालमेलमा अपरिहार्य छ । एमाले र माओवादी सहितका वामपन्थी मिलेर चुनाव लडे मात्रै आगामी निर्वाचन वामपन्थीहरूका लागि परिणाममुखी हुनेछ ।

तर, एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्बन्ध अहिले तिक्ततापूर्ण मात्र होइन शत्रुतापूर्ण पनि छ । यिनी २ एकअर्कालाई सिध्याएर आफ्नो अस्तित्व जोगाउने अभियानमा छन् । एमालेको मूल नेतृत्वमा ओली रहेसम्म वाम वा माओवादीसँग सहमतिको सम्भावना कमै छ । त्यसैले एमालेको नेतृत्व सर्वसम्मत रूपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सुम्पिन सकिने भन्ने बहस एमाले भित्रै चलेको बेला निर्वाचनअघि नै एमालेको पार्टी सत्ता विद्या भण्डारीलाई सुम्पेर भावी प्रधानमन्त्री विद्यालाई बनाउने घोषणासहित आगामी निर्वाचनमा एमाले र माओवादी एक भएर जाँदा बहुमत आउने सम्भावना रहन्छ ।

कांग्रेसले एकल सरकार बनाउनबाट कम्युनिस्टहरूले रोक्न सकेनन् भने त्यो स्थिति एमाले र माओवादीको लागि मात्र होइन सम्पूर्ण कम्युनिस्ट आन्दोलनका लागि दुभाग्यपूर्ण हुनेछ । कांग्रेसले विदेशीको इशारा र हस्तक्षेपमा नेपाली कम्युनिस्ट आन्दोलनको जरा नै उखेल्ने छ । कांग्रेसले इतिहासको कुनै कालखण्डमा कम्युनिस्टमाथि प्रतिबन्ध पनि लगाएकै हो भन्ने बिर्सन मिल्दैन ।

कम्युनिस्ट एकताका लागि पूर्वराष्ट्रिपति भण्डारीको आवश्यकता

आगामी निर्वाचनमा कम्युनिस्टहरू एक भई मिलेर दशको ठुलो क्षति झेल्नुपर्ने मूल्यांकन कम्युनिस्ट पार्टीको कार्यकर्ता, शुभचिन्तक र समर्थकको रहेकोे छ । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको सम्बन्ध निकै तिक्त मात्र होइन शत्रुतापूर्ण रहेकोले यी दुवै नेतालाई मान्य हुने नेता अघि सार्दा वामपन्थीहरू नजिक हुने र चुनावी एकता हुने सम्भावना रहन्छ ।

कम्युनिस्ट एकता नभए आगामी निर्वाचनमा कम्युनिस्टहरूलाई ठुलो धक्का भोग्नुपर्ने हुन्छ । वामपन्थी मत बाँडिदा कांग्रेसले बहुमत ल्याएर एकल सरकार बनाउन सक्ने सम्भावना पनि रहन्छ । वामपन्थीहरूले निर्वाचन जित्न ओली वा प्रचण्डलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर जनमतलाई आकर्षित गर्न कठिन छ । त्यसैले कम्युनिस्ट एकताका लागि पूर्वराष्ट्रपति भण्डारीलाई अघि सार्नुपर्ने आम कम्युनिस्ट नेता कार्यकर्ताको माग छ । विकसित यस्ता घटनाक्रम र कम्युनिस्ट जनमतबाट अब एमालेको नेतृत्व पूर्व राष्ट्रपति भण्डारीले लिने र निर्वाचनपछि प्रधानमन्त्री पनि बन्ने आँकलन गर्न थालिएको छ ।

एमाले र माओवादीको नेतृत्व परिवर्तनको चर्चा, भ्रम र यथार्थ

झट्ट हेर्दा एमाले र माअ‍ेवादीको नेतृत्व परिवर्तनको चर्चा वौद्धिक विषय मात्र जस्तो देखिन्छ । किनकी एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड पार्टी र सत्ताको लागि यति लिप्त भएका छन् कि उनीहरू सत्ताबिना बस्नै नसक्ने अवस्थामा पुगिसकेका छन् । तर दुवै पार्टीमा अब पार्टीको नेतृत्व परिवर्तन नगरी पार्टी चल्नै नसक्ने सोचाइ निकै प्रभावी बन्दै गएको छ ।

यो वास्तविकताको दुवै नेताले महसुस पनि गर्दै गएका छन् । अब प्रश्न उठ्छ ओलीलाई पालो दिने उपयुक्त व्यक्ति को होला ? ओलीले पार्टी नेतृत्व परिपक्व व्यक्तिलाई सुम्पने विचार राखे एमाले निर्माण गर्न महत्वपूर्ण भूमिका निभाएका पुराना पुस्ताका मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, सिपी मैनाली, झलनाथ खनाल, माधव नेपाललाई जिम्मा लगाउँदा पनि हुन्छ । त्यसो गर्न ओली तयार हुने सम्भावना छैन ।

ओलीले नयाँ पुस्ताका व्यक्तिलाई नेतृत्व सुम्पने सोच बनाए ईश्वर पोखरेल र भीम रावलजस्ता व्यक्तिहरू पनि छन् । यो पनि सम्भावना छैन । प्रचण्डले नेतृत्व सुम्पिने व्यक्ति पहिचान भएको छैन । हुन त प्रचण्डपछि म छु भन्दै नारायणकाजी श्रेष्ठ मुख मिठ्याएको स्थिति छ । तर उनको माओवादी पार्टी निर्माण गर्न भूमिका नभएको र जनयुद्ध पनि नलडेकोले उनी पनि माओवादीको पहिलो नेतृत्वमा आउने सम्भावना छैनभन्दा हुन्छ । माओवादी पार्टी निर्माण गर्न र जनयुद्ध पनि लडेका अर्का बढी सम्भावना भएका कृष्णबहादुर महरा हुन् । उनी रोशनी काण्डको चोटबाट थला परेका दिन प्रचण्डको लागि अन्तिम विकल्प पार्टीलाई नयाँ जोश र स्पिडमा चलाउन नेत्रबिक्रम चन्दसँग पार्टी एकता गरी चन्दलाई पार्टी सत्ता सुम्पिन्छन् कि के गर्छन् ? त्यसको लागि भने केही दिन पर्खिनुपर्नेछ । यी दुवै पार्टीले नेतृत्व परिवर्तन गरी अघि बढ्न सकेनन् भने निकै नोक्सानी बेहोर्नुपर्नेछ ।

सार्वजनिक खपतका लागि जेजस्ता दावी गरिए पनि दुवै पार्टीको नेतृत्वको छवि आमजनताको बीचमा निकै बिग्रिएको छ । चुनावी राजनीतिमा नेतृत्वको छविले निकै महत्व राख्दछ । ओलीले पनि स्वीकार गरेको छवि पनि नबिग्रिएको, आशालाग्दो व्यक्तित्व पूर्वराष्ट्रपति भण्डारी एमालेको लागि ज्यादै उपयुक्त र प्रभावी हुने देखिन्छ । हामीलाई सहयोग गर्दै आएका मित्रराष्ट्रसँगको सम्बन्ध पनि विश्वसनीय भएकोले अन्तर्राष्ट्रिय सम्बन्ध पनि सन्तुलित गर्न मद्दत पुग्छ । एमालेको नेतृत्व परिवर्तनका लागि भण्डारी किन पनि उपयुक्त पात्र हुन् भने उनी एमालेमा सर्वसम्मत हुने सम्भावना पनि उत्तिकै छ । एमाले भित्रको यो परिवर्तनले आगामी निर्वाचनमा सबै वामपन्थीहरूलाई एउटा धुरीमा ल्याउने संभावना बढ्नेछ र निर्वाचन परिणाम पनि वामपन्थीहरूकै पक्षमा हुने आँकलन गर्न सकिन्छ ।

प्रतिक्रिया