काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको फाइनल खेल शनिबार हुँदै छ । फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्दै छन् । सुदूरपश्चिम र जनकपुरले शनिबार दिउँसो १२ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएर दोस्रो क्वालिफायर खेलेको जनकपुरले कर्णाली याक्सलाई २ विकेटले हराउँदै पुनः सुदूरपश्चिमसँगको फाइनल भेट पक्का गरेको हो । दोस्रो क्वालिफायरमा कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १८ दशमलव ५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो ।
एनपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ । दोस्रो हुने टोलीले ५१ लाख रुपैयाँ पुरस्कार पाउनेछ । त्यस्तै, तेस्रो पुरस्कार २५ लाख र चौथो पुरस्कार १५ लाख घोषणा भएको छ ।
प्रतियोगितामा ४० भन्दा बढी विदेशी खेलाडी सहभागी थिए । यी नै मध्येका बेलायतका रवि बोपरा, न्युजिल्यान्डका जिम्मी निसम तथा न्युजिल्यान्डका स्कट कुग्लेयन सबैभन्दा सफल खेलाडीको रूपमा देखिए ।
सुदूरपश्चिमका लागि खेल्ने कुग्लेयनले कुल १६ विकेट लिएका छन् । उनी र ललित राजबंशीले बराबर विकेट लिएका छन् ।
यसैगरी इंग्ल्यान्डका रबि वोपराले सबैभन्दा धेरै २८६ रन प्रहार गरेका छन् । यस सूचीमा तेस्रो स्थानमा निसम छन् । उनले २४३ रन प्रहार गरेका छन् । तथापि निसमको स्ट्राइक रेट २०० भन्दा बढी छ । वोपरा आवद्ध चितवन बाहिरिसकेको छ । निसमको टोली जनकपुरको १ खेल बाँकी रहेका कारण उनी सो सूचीमा पहिलो स्थानमा उक्लने सम्भावना पनि कायम छ ।
चौथो धेरै रन प्रहार गर्ने एन्द्रे गौसले पनि २२४ रन प्रहार गरेका छन् । उनी यस प्रतियोगितामा शतक प्रहार गर्नसमेत सफल भए । पोखराका स्टार उनले लुम्बीनीसँगको खेलमा अविजित १०४ रन प्रहार गरेका थिए । प्रतियोगितामा कर्णाली याक्स तेस्रो तथा चितवन राइनोज चौथो भए । यसैगरी, काठमाडौँ गुर्खाज पाँचाँै, विराटनगर किङ्स छैटौँ, पोखरा एभेन्चर्स सातौँ तथा लुम्बीनी लायन्स आठौँ स्थानमा रहे ।
शीर्ष १० ब्याट्सम्यान तथा बलर
१ खेल बाकी रहँदा सबैभन्दा धेरै विकेट लिने बलरको सूचीमा सुदूरपश्चिमका लागि खेल्ने कुग्लेयनले ८ खेलबाट १६ विकेट लिएर पहिलो स्थानमा छन् भने र जनकपुरका ललित राजवंशी ९ खेलबाट १६ विकेटसहित दोस्रो स्थानमा छन् । १४ विकेट लिएका सोहल तनबिर तेस्रो, १३ विकेट लिएका विपिन शर्मा चौथो, रिजन ढकाल पाँचाँै, १२ विकेट लिएका करण केसी छैटौँ, ११ विकेट लिएका इरामस सातौँ, समान विकेट लिएका जाइब आठौँ तथा हर्ष थाकर नवौँ र किशोर महतो १०आँै स्थानमा छन् ।
यसैगरी सबैभन्दा धेरै रन प्रहार गर्ने खेलाडीको सूचीमा बोपरा २८६ सहित पहिलो, लुम्बिनीका रोहित पौडेल २७९ रनसहित दोस्रो तथा निसम २४३ रनसहित तेस्रो स्थानमा छन् । ग्रौस २२४ रनसहित चौथो तथा चितवनका कुशल मल्ल २२३ रनसहित पाँचाँै स्थानमा छन् । सुदूरपश्चिमका दीपेन्द्र सिंह ऐरी २१८ रनसहित छेटौँ, जइब २०६ रनसहित सातौँ र समान रन बनाएका लाहिरु मिलन्था आठौँ स्थानमा छन् । त्यसैगरी विलियम बासिस्टोले १९४ रनसहित नवौँ तथा विनोद भण्डारी पनि १९४ रनसहित दशौँ स्थानमा छन् ।
प्रतिक्रिया