सनातन धर्मको नजिकको सम्बन्ध राख्ने नेपालको इतिहाससँग जोडिएको कग्युग्पा सम्प्रदायलाई सिध्याउन चिनियाँ सरकार मात्रै होइन स्वयं दलाई लामाले पनि चीनलाई साथ सहयोग गरेका छन् । आफूलाई पर्दा (पञ्चेन लामाको हकमा) तिब्बती परम्परागत विधिपूर्वक हुनुपर्छ भनेर अड्को थाप्ने अनि कग्युग्पा सम्प्रदायको हकमा चाहिँ त्यही चिनियाँ सरकारले गरेको कदमलाई ठिक भन्ने ? यो त दोहोरो मापदण्ड भएन र महाशय ?
एउटा उखान छ, ‘खाउँ भने दिनभरीको सिकार, नखाउँ भने कान्छा बा को अनुहार ।’ सोही पाराको भइरहेको छ आजभोलि हिमाली बौद्ध समुदायको अवस्था । नेपालको हिमाली बौद्ध समुदाय भनेको तिब्बती बुद्धिज्मका अनुयायी हुन् । त्यसैले तिब्बती बौद्ध धर्ममा हुने उतारचढावको सिधा प्रभाव हाम्रो बौद्ध धर्ममा पुग्न जान्छ ।
एकातिर हाम्रो परम्परागत आस्था विश्वास र संस्कृति छ, अर्कोतिर भूराजनीतिक चपेटामा परेर राजनीतिक सौदावाजी छ । अहिले लुम्बिनीमा आउन लागेका र पुनः रोकेका ११औँ पञ्चेन लामाको घटनाले यी समस्याहरूलाई सतहमा ल्याइदिएको छ । तिब्बती दलाई लामा परम्परा अवतारवादमा चल्ने गर्छ, जब दलाई लामाको मृत्यु हुन्छ त्यसको ५–७ वर्षपछि उनको पुनर्जन्मको खोजी गरिन्छ । तिब्बती सरकार (गादेन फोड्राङ) ले राष्ट्रिय धर्म गुरुहरू अवतारी (टुल्कु) रेम्पुर्छे लामाहरू सम्मिलित एउटा उच्चस्तरीय खोजी कार्यदल बनाउँछ ।
उनको पुनर्जन्म भएको स्थान र चिन्हहरूको पहिचान गर्न तिब्बतको ल्हामो ल्हात्सो पवित्र कुण्डमा बसेर बौद्ध गुरूहरूले हप्तौँ दिनसम्म विभिन्न धार्मिक अनुष्ठान सुरु गर्छन् । यो कुण्डमा पूजापाठ ध्यान जप गर्नाले पुनर्जन्मको स्थान र संकेत देखिने विश्वास गरिन्छ ।
यहाँ जप तप ध्यानस्थ अवस्थामा प्राप्त दिव्य दृष्टिद्वारा भएको संकेतअनुसार यो दिशामा यो क्षेत्रमा दलाई लामाले पुनर्जन्म लिएका छन् भन्ने थाहा हुन्छ । त्यसपछि सरकारी कार्यदल उक्त क्षेत्रमा गएर बालकको खोजीमा जुट्छ । यसरी खोजी गर्ने क्रममा पुरानो दलाई लामाको पोसाक उनले प्रयोग गर्ने सामग्री देखाएर बालकलाई छुट्याउन लगाउँछ । मृतक दलाई लामाको लत्ताकपडा छुट्याएर चिन्न सक्ने बालक फेला पारेपछि उक्त बालकलाई दलाई लामाको अवतारी हुन् भनेर पञ्चेन लामाकोमा पेस गरिन्छ । पञ्चेन लामाले उक्त बालकलाई अनुमोदन गरेपछि दलाई लामाको रूपमा नियुक्ति हुन्छ र त्यसपछि चिनियाँ सम्राटकोमा अनुमोदन गराउन कागजात लिएर गइन्छ । चिनियाँ सम्राटले पनि लालमोहर लगाएर अनुमोदन गरेपछि थुप्रै उपहारहरू दिएर पठाउँछ ।
यसरी दलाई लामाको चयन गरिने परम्परागत तरिका यस्तो हुन्थ्यो । पञ्चेन लामाको देहावसान भएपछि फेरि दलाई लामाले पनि पञ्चेन लामाको यसैगरी नियुक्त गर्ने परम्परा रहिआएको छ÷थियो । १०औँ पञ्चेन लामाको निधनपछि, चड्रेल रेम्पुर्छेको नेतृत्वमा घेदुन छ्योकी नीमा भन्ने बालकलाई ११औँ पञ्चेन लामा हुन् भनेर चयन गरियो त्यसलाई निर्वासित १४औँ दलाई लामाले ठिक हो भनेर अनुमोदन गरे । नियुक्त गरिए लगत्तै उक्त बालकलाई चिनियाँ सरकारले परिवारसहित अपहरण ग¥यो, अपहरण गरेको सन् १९९५ देखि अहिलेसम्म लापत्ता छ । चयन गर्ने रेम्पुर्छेलाई कारागार चलान गरियो र उनको मृत्यु त्यहीँ भयो । चीन सरकारले तत्कालै अर्को बालक ग्याल्त्सेन नोर्बुलाई ११औँ पञ्चेन लामा भनेर घोषणा ग¥यो । जुन अहिले नेपाल भ्रमणमा आउने हल्लाले बजार मात्रै पिट्यो ।
चीन सरकारको दाबी छ कि, ११औँ पञ्चेन लामा विधिपूर्वक स्वर्ण कलशबाट नै चयन गरिएको हो । (त्यसमा एउटा अध्यात्मिक प्रक्रिया हुन्छ लेख लामो हुन जाने हुँदा लेखिन) त्यो स्वर्ण कलशबाट नामको पर्चा निकाल्नुअगाडि नै दलाई लामाले ११औँ पञ्चेन लामा तोकिदिए । जुन परम्परा विपरीत हो भन्ने भनाइ चिनियाँ पक्षको छ र हालको पञ्चेन लामा आधिकारिक हुन् भन्ने दावी छ । जेसुकै भए तापनि अब हिमाली बौद्ध परम्परामा साँढे गोरुको जुधाइ बाछाको मिचाइमा पर्न गइसकेको छ ।
धर्मकर्म नै नमान्ने चिनियाँ कम्युनिस्ट सरकारले लामाको जन्म पुनर्जन्मको अवतारी चुन्ने गर्छ, उसले चुनेकोलाई हामीले राष्ट्रिय हितमा हेरेर मानिदिनुपर्ने हुन्छ । अनि नमानौँ भने फेरि नेपालका वामपन्थी र अन्धोराष्ट्रवादीहरू छँदैछन् । घोक्रो सुक्ने गरेर सिआइएको दलाल रहेछ भन्नेहरू सडकभरी छँदैछन् ।
अबको फसादचाहिँ कस्तो हुन्छ भने, हिमाली बौद्ध परम्परा अनुसारको परम्परागत अध्यात्मिक विधि प्रक्रिया अनुसारको खोजौँ भने अमेरिकी दलाल हुन्छ । नखोजौँ भने फेरि संस्कृतिको नाश । दलाई लामा र चीनको विवादपछि अब अर्को लामाको विवाद बारेमा चर्चा गरौँ । कसरी चिनियाँ कम्युनिस्ट सरकार र दलाई लामा मिलेर कग्युग्पा सम्प्रदायको सर्वोच्च गुरु कर्मापालाई विवादमा पारेर यो सम्प्रदायलाई माथि उठ्न दिइरहेको छैन भनेर बुझ्ने चेष्टा गरौँ ।
नेपालमा प्राचीनकालदेखि चल्दै आइरहेका मुख्यत सम्प्रदाय हुन् कग्युग्पा र न्यिङ्ममापा । गेलुक्पा र साक्यपा तिब्बती भूमिमा प्रचलित सम्प्रदाय हुन् । अहिले नेपालमा नेपालीहरू पनि यो सम्प्रदायमा देखिन्छ त्योचाहिँ दलाई लामाको भारत पलायन भएपछि फैलिएको हो । नभए त्यसअगाडि नेपालमा गेलुक्पा सम्प्रदाय थिएन । यहाँको मौलिक सम्प्रदाय भनेको न्यिङमापा र कग्युग्पा मात्रै हुन् ।
पञ्चेन लामा र दलाई लामा तिब्बती बौद्ध धर्ममा गेलुक्पा सम्प्रदायअन्तर्गत पर्दछन् । त्यसैले यो सम्प्रदायलाई तिब्बती बौद्ध जनमानसमा सत्ताधारी धनीमानी सम्प्रदाय भन्ने गरिन्छ । जनमानसमा यस्तो भनाइ आउनुको कारण अन्तर्राष्ट्रिय प्रतिनिधित्व गर्ने दलाई लामा यसको प्रमुख हुनाले स्वभाविक रूपमा देशीविदेशीबाट आउने आर्थिक लाभबाट यही सम्प्रदाय लाभान्वित हुने हुँदा अन्य सम्प्रदायभन्दा धनीमानी सम्प्रदायको रूपमा चिनिन्छन् । अझ भित्रभित्रै एकापसमा खिसिट्युरी गर्दा डलरे लामा भनेर पनि भन्ने गर्छन् । गेलुक्पा सम्प्रदायकाहरूले चाहिँ न्यिङ्ममा कग्युग्पा सम्प्रदायलाई जादू टुनामुना गर्ने लामा भनेर गिज्याउने गर्छन् ।
कग्युग्पा सम्प्रदायभित्र थुप्रै उप–सम्प्रदायहरू छन्, जसमध्ये मुख्यतः कर्मा कग्यु सम्प्रदाय प्रमुख हो । यो कर्मा कग्यु सम्प्रदाय शैव परम्पराको गुरु गोरखनाथ परम्परासँग नजिकको सम्बन्ध राख्ने सम्प्रदाय हो । नाथ परम्पराले चौरासीनाथ गुरुहरूको अनुसरण गर्छ, भने कग्युग्पा सम्प्रदायले पनि चौरासी सिद्ध गुरुहरूको परम्परालाई अनुसरण गर्दछ । यी दुबै परम्पराका सिद्ध गुरुहरू—गुरु गोरखनाथदेखि अन्य थुप्रै गुरुहरू दुबैको साझा हुने गरेको हुन्छ । नाथ परम्परा र कग्युग्पा सम्प्रदाय दुवै परम्पराले तान्त्रिक हठयोग र साधनामाथि आधारित अभ्यासहरूमा केन्द्रित हुन्छन् ।
नाथ परम्परामा पतञ्जलीको अष्टांग योगका आठ अंगहरू ( यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, र समाधि) लाई हठयोग, राजयोग, कुण्डलिनी योग, तन्त्र योग, लययोग, शिवयोग, आदि विधाहरू हुन्छन् । यी विधाहरूले शारीरिक अनुशासन, प्राणायाम (श्वास नियन्त्रण), आसन (शारीरिक मुद्रा), र ध्यानमार्फत कुण्डलिनी ऊर्जा जागृत गर्ने लक्ष्य राख्छन् । कुण्डलिनी शक्तिलाई सुषुम्ना नाडीमार्फत माथि उठाएर सहस्रार चक्रमा पु¥याउने उद्देश्य यस अभ्यासको मुख्य सार हो भने कग्युग्पा सम्प्रदाय पनि विशेषतः पशुपतिनाथ मन्दिर परिसरको सूर्यघाट गुफामा ध्यानद्वारा सिद्धि प्राप्त गरेका गुरु नारोपाको ‘६ योग’ लाई प्रमुख साधनाका रूपमा अभ्यास गर्छन् ।
गेलुक्पा सम्प्रदायमा दलाई लामा र पञ्चेन लामा भएको जस्तै कग्युग्पा सम्प्रदायमा पनि २ सर्वोच्च गुरु हुन्छन् , कर्मापा र शमार्पा । अझ भन्नुपर्दा तिब्बतमा अवतार परम्पराको सुरुआत गर्ने नै कग्युग्पा हो । गेलुक्पा सम्प्रदायले त कग्युग्पाको सिको गरेको हो । जसरी गेलुक्पा सम्प्रदायमा दलाई लामाको मृत्युवरण गरेपछि उनको अवतार खोजेर प्रमाणित गर्ने अधिकार पञ्चेन लामालाई र पञ्चेन लामाको मृत्युपश्चात् उनको उत्तराधिकारी अवतार खोजेर प्रमाणित गर्ने दलाई लामा हुन्छ, ठिक त्यस्तै यो कग्युग्पा सम्प्रदायमा पनि कर्मापाको देहावसान पश्चात् शामर्पाले उनको अवतार खोजेर प्रमाणीकरण गर्ने र शमार्पाको देहावसान पश्चात् कर्मापाले गर्ने प्रचलन ११आँै शताब्दीदेखि निरन्तर अटुट परम्पराको रूपमा चलिरहेको थियो ।
परम्परामाथि राजनीतिक अतिक्रमण
१६औँ कर्मापा (राङजुङ रिग्पे दोर्जे)को देहावसान २०३८ कात्तिक १९ मा भयो । परम्परागत रूपमा १७औँ कर्मापा चुन्ने अधिकार शामर्पा लामाको हो । १७औँ शताब्दीदेखि शामर्पा र दलाई लामाको इतिहासमा लामो द्वन्द्वको इतिहास छ, शताब्दीऔँ बितिसक्दा पनि मेलमिलाप अहिलेसम्म हुन सकेको छैन र उहाँहरू एक ठाउँमा उपस्थित भएको रेकर्ड पनि छैन । दलाई लामाले कग्युग्पा सम्प्रदायको लामालाई गेलुक्पा बनाइदिने उनीहरूको गुम्बा नै किनेर गेलुक्पा गुम्बामा परिणत गरिदिने गरेका छन् । उदाहरणका रूपमा स्वयम्भूको चक्रपथ ठिक अगाडिको गुम्बा पहिला कग्युग्पाको गुम्बा थियो पछि आएर त्यो गुम्बा गेलुक्पाको भयो अर्थात सबैलाई गेलुक्पाकरण गरिदियो । शक्तिको दुरुपयोगको यो एउटा सानु उदाहरण मात्रै हो । मैले धेरैअगाडि दलाई लामा र कग्युग्पाको सर्वोच्च गुरुको द्वन्द्व बारेमा विस्तारमा लेखिसकेको छु ।
पेट बोलीमा यति बुझी सकेपछि अब अर्को कुरा बुझ्नुहोस् । १७औँ कर्मापाको अवतार चुन्ने परम्परागत अधिकार शामर्पाको हुँदाहुँदै चीन सरकारले सन् १९९२ मा १७आँै कर्मापा उर्गेन त्रिन्ले दोर्जे हुन् भनेर बाहिर ल्यायो । चीन सरकारले बाहिर ल्याएको उर्गेन त्रिन्ले दोर्जे नै १७औँ कर्मापा हुन् भनेर दलाई लामाले पनि त्यसैलाई लालमोहर लगाइदिए । शत्रुको शत्रु मित्रु हुन्छ भनेको जस्तै कग्युग्पा सँगको द्वन्द्वमा दलाई लामाले चीनले निकालेको कर्मापालाई लालमोहर लगाइदिएपछि शमार्पासँगको दलाई लामाको दुरी झन् बढ्यो ।
यता शमर्पा लामाले पनि आफ्नो परम्परागत अधिकार प्रयोग गरेर १७औँ कर्मापा कुनझिग शेनफेन थाये दोर्जे बालकलाई नियुक्त गरे । चीन सरकारले १७औँ कर्मापा भनेर नियुक्त गरेको उर्गेन त्रिन्ले दोर्जे सन् १९९९ मा तिब्बतबाट भारत भागेर दलाई लामाको धर्मशालामा आएर बसोबास गर्न थाले । अहिले चीन सरकार र दलाई लामा मिलेर नियुक्त गरेको बालक र शामर्पा लामाले नियुक्त गरेको बालक २ जना १७औँ कर्मापाको दावेदार भएकोले १६औँ कर्मापाको भौतिक श्रीसम्पती कसको हुने भनेर भारतको सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा भएकोले दुबैलाई १६औँ कर्मापाको गुम्बामा प्रवेश दिइएको छैन ।
यसरी चीन सरकार र दलाई लामाले शक्तिको दुरुपयोग गर्दै कग्युग्पा सम्प्रदायमाथि हस्तक्षेप गरेर अहिले यो सम्प्रदाय आफ्नो अस्तित्वको रक्षाका लागि लडिरहेको अवस्थामा छ । नाथ परम्परासँग जोडिएको कग्युग्पा सम्प्रदायको भावनात्मक सम्बन्ध नेपालसँग पनि जोडिएको छ । कर्मापा चुन्ने अधिकार बोक्ने कग्युग्पा सम्प्रदायको शामर्पा लामाको एउटा अवतार १६औँ शताब्दीतिर रसुवामा जन्म लिनुभएको थियो भने १०औँ शमर्पालाई बहादुर शाहले नेपाली नागरिकता प्रदान गर्नुभएको थियो । हालसालै देहावसान हुनुभएको १४औँ शमर्पा लामालाई राजा वीरेन्द्रले पनि नागरिकता प्रदान गर्नुभएको थियो ।
सनातन धर्मको नजिकको सम्बन्ध राख्ने नेपालको इतिहाससँग जोडिएको कग्युग्पा सम्प्रदायलाई सिध्याउन चिनियाँ सरकार मात्रै होइन स्वयं दलाई लामाले पनि चीनलाई साथ सहयोग गरेका छन् । आफूलाई पर्दा (पञ्चेन लामाको हकमा) तिब्बती परम्परागत विधिपुर्वक हुनुपर्छ भनेर अड्को थाप्ने अनि कग्युग्पा सम्प्रदायको हकमाचाहिँ त्यही चिनियाँ सरकारले गरेको कदमलाई ठिक भन्ने ? यो त दोहोरो मापदण्ड भएन र महाशय ?
प्रतिक्रिया