आजको अभूतपूर्व संकट र सम्पूर्ण जनता एकजुट हुनुपर्ने अवस्था

विश्व नागरिकता, विश्व बन्धुत्व र विश्वका सम्पूर्ण शोषित पीडित जनता एक होऔँ भन्ने सोचको विकास भयो भने पछिल्लो समय प्रकृतिको जथाभावी निर्मम दोहनका कारणले उत्पन्न भए गरिएका गम्भीर पर्यावरणीय समस्याहरू सही किसिमले सुल्झाउन ठूलो मद्दत मिल्छ । यसमा जीवनका सबै रूपहरूको रक्षा र भावी पिढीको सुरक्षाको सोच पनि समावेश गरिनै पर्छ ।

लोकनारायण सुवेदी

हुन त विश्वमा विगतदेखि अहिलेसम्म विभिन्न स्तरमा समस्या समाधानका लागि अनेक सोच र समर्पणका कुराहरू प्रचलित नरहेका होइनन् । तर मूलतः सबैभन्दा बढी देश र जनताका लागि, अनि वर्गीय शोषण र सामाजिक उत्पीडनबाट मुक्तिका लागि या जाति र धर्म विशेषका लागि समर्पित हुने गरेका तस्बिरहरू नै विश्वभरी बढी देखिँदै आएका छन् । यसका अतिरिक्त विभिन्न ठाउँहरूमा विभिन्न किसिमका क्षेत्रीय, प्रान्तीय, नश्लीय पहिचानका लागि पनि यस्ता समर्पण र लगावका भाव देखापर्ने गरेका छन् ।

हिजोदेखि अहिलेसम्म पनि विश्वभरीकै सबै मानिसको विश्व बन्धुत्वको सबैभन्दा महत्वपूर्ण पहिचानको कुरा पनि हुने गर्दछ । अनि त्यस्तै ‘विश्वका सम्पूर्ण शोषित पीडित जन समुदाय एक होऔँ’ भन्ने नाराले पनि विश्वव्यापी रूप लिएर पछिल्लो दुई शताब्दी यताको समय विकसित विश्व नारा भएको पनि सर्वविदितै छ । तर त्यसलाई आज त्यत्तिको महत्व दिइने गरेको पाइँदैन । यद्यपि यो विश्व बन्धुत्व अर्थात विश्व नागरिकता र भाइचारा तथा एक वर्गीय परिवारको पहिचान दिलाउने मूल कुरा भइसकेको छ ।

हुन पनि सबै मानिसहरू एउटै विश्वका नागरिक हुन् भन्ने सोचले कुनै रंग, नश्ल, जाति, धर्म, क्षेत्रीयता, राष्ट्रियताजस्ता कुनै पनि आधारमा भेदभाव गरिँदैन भन्ने नै निष्कर्ष निस्कन्छ । कुनै भेदभावबिना सबै मानिसको भलाइलाई नैै यो सोचको आधार बनाइन्छ । त्यसैले यसमा सबै किसिमका संकीर्णताभन्दा माथि उठेर विश्वलाई नै आफ्नो मान्ने र ठान्ने व्यापक भावना रहेको हुन्छ । त्यसैले यस दृष्टिकोणले विश्वमा जुनसुकै ठाउँमा टकराव हुने कुनै गुञ्जायश रहन दिँदैन र दिइनु हुँदैन भन्ने सन्देश उत्पन्न हुन्छ ।

त्यस्तो समाजमा शान्तिपूर्ण उपायद्वारा समाधान निकाल्ने वातावरण बन्छ र त्यसरी समस्याहरू हल गर्ने अधिकतम प्रयत्न हुन्छ । त्यतिबेला कुनै पक्षको स्वार्थ साधना गर्ने कमै गुञ्जायश त्यहाँ रहन्छ । यस प्रकारको समानतामा आधारित मानवीय सद्भावको सोचको जति बढी प्रचारप्रसार हुन्छ कुनै युद्ध, गृहयुद्ध र अनेक किसिमका हिंसाको आशंका पनि स्वयं नै समाप्त हुँदै जाने वातावरण बन्दछ । तर, वर्तमान समय जतिबेला युद्ध र हतियार सर्वाधिक विनाशक भइसकेका छन् त्यसले गर्दा युद्ध र युद्धजन्य विनाशकारी गतिविधिहरूलाई कम गर्नुपर्ने आवश्यकता विश्वमा सबैभन्दा बढी आज बढेको छ ।

अनि युद्धबाहेक आज विश्वको दोस्रो अत्यधिक चर्को समस्या पर्यावरणीय विनास बनेको छ । विशेषतः विकसित शक्ति राष्ट्रहरूले बढ्दो गर्मी, जलवायु परिवर्तन, कार्बन उत्सर्जन आदिजस्ता गम्भीर विश्व समस्याकाप्रति आफ्ना संकीर्ण स्वार्थभन्दा माथि उठेर प्रस्तुत हुनुपर्ने अर्को आजको ज्वलन्त आवश्यकता बनेको छ । किनभने यो त हम्रो पृथ्वीको जीवनदायिनी क्षमतालाई बचाउने अत्यन्तै महत्वपूर्ण अपरिहार्यरूपमा समाधान गरिनै पर्ने समस्या हो । वास्तवमा यो धर्तीमा विभिन्न किसिमका विविधताले भरिपूर्ण जीवन हुर्किने स्थिति बनेको छ । त्यसैले विश्वस्तरमा सबै देशहरूको सहयोगको अति आवश्यकता छ ।

माथि भनिएजस्तै विश्व नागरिकता, विश्व बन्धुत्व र विश्वका सम्पूर्ण शोषित पीडित जनता एक होऔँ भन्ने सोचको विकास भयो भने पछिल्लो समय प्रकृतिको जथाभावी निर्मम दोहनका कारणले उत्पन्न भए गरिएका गम्भीर पर्यावरणीय समस्याहरू सही किसिमले सुल्झाउन ठूलो मद्दत मिल्छ । यसमा जीवनका सबै रूपहरूको रक्षा र भावी पिढीको सुरक्षाको सोच पनि समावेश गरिनै पर्छ । यसरी विश्वलाई जोगाउने हिसाबले विश्वबन्धुत्वको भावनाकासाथ सम्पूर्ण उत्पीडित जनसमुदायले एक भएर काम गर्ने हो भने निश्चय नै विभिन्न विश्व समस्या सुल्झाउन मद्दत मिल्छ नै । त्यसैले आज यस्तो स्थिति विकसित गर्न आवश्यक र अनुकूल कदम चाल्न एकदमै आवश्यक र अपरिहार्य भइसकेको छ ।

विश्वमा आज हुन त यी समस्या समाधानका लागि विभिन्न सार्थक आन्दोलनहरू पनि चलिरहेका छन् । तिनका अनुभवहरूबाट पनि अनेकाँै सकारात्मक कुराहरू सिक्न सकिन्छ र सिक्नै पर्छ । यस सम्बन्धमा विश्वका विभिन्न देशहरूमा चलिरहेका सार्थक र सक्रिय जनआन्दोलनहरूले एकअर्काका अनुभवहरूबाट धेरै कुरा सिक्न सक्छन् । यसरी परस्पर नजिक आउने र एकअर्कालाई अझ राम्रोसँग चिन्ने जान्ने कुरा पनि बढ्दै जान्छ । तर, आजको बिग्रदो विश्व परिस्थितिमा यो पारस्परिक क्रमलाई तीव्ररूपमा बढाउनुपर्ने आवश्यकता अझ बढ्न गएको छ । विश्वका लब्ध प्रतिष्ठित वैज्ञानिहरूले विश्वको यो समस्यालाई लिएर चेतावनी दिइरहेका छन् कि अब त धर्तीमा विविधता भरिएको जीवन हुर्कने र बढ्ने किसिमका स्थिति नै संकटमा पर्न गएको छ । यसो हुनमा विभिन्न किसिमको पर्यावरण बिग्रन जानु नै हो ।

भविष्यका युद्धहरूमा यदि महाविनाशका हातहतियाहरूको उपयोग भयो भने त्यसले पनि पृथ्वीको जीवनदायिनी शक्ति नै नाश गर्ने हो । त्यस्ता प्रकारका विनाशकारी हतियाहरूको विशाल भण्डार पहिले नै एकत्र भइसककेका छन् र त्यस्ता खतरनाक हातहतियारको होडबाजी विश्वमा जारी छ । यसका अतिरिक्त विद्यमान विश्व नेतृत्वबाट अहिलेसम्म यस्तो कुनै प्रभावकारी कदम चालेर विश्वको विनाशकारी स्थितिलाई रोक्न सकेको पनि छैन । वैज्ञानिक क्षेत्रबाट समस्याको गम्भीरताका बारेमा प्रष्ट गराउँदा गराउँदै पनि यी समस्यामा कुनै कमी आएको छैन । बरु बढेको छ । विभिन्न अति शक्तिशाली देशका नेतृत्वले यी समस्याहरूलाई अहिले पनि आफ्नो प्राथमिकतामा राखेको छैन । बरु त्यसबाट पछि हटेका छन् ।

यस स्थितिमा आज विश्वका जनआन्दोलनहरूको जिम्मेवारी बढ्न जान्छ कि यी सबैभन्दा गम्भीरतम समस्यालाई बुझेर तिनको समाधानका लागि बढ्दो भूमिकलाई स्वीकार गरुन् तथा यस अनुकूल मिहिनेत तथा तयारी गरुन् । यसका लागि उनीहरूले ब्यापक एकता निर्माण गर्नुपर्नेछ स्वयं आफ्नो देशमा र त्यस बाहिर पनि । धेरै सानो स्तरमा कार्य गर्दै उनीहरूले यत्रो बिस्तृत मुद्दालाई प्रभावित पार्न सक्तैनन् । उनीहरूले मुद्दा मिल्ने सबैसँग गठबन्धन र एकताको खोजी गर्नै पर्दछ । उनीहरूले विश्वका विख्यात वैज्ञानिकहरू, विशेषज्ञहरू र प्रतिष्ठित नागरिहरूलाई पनि साथमा जोड्नुपर्दछ । विशेषगरी ती प्रतिष्ठित व्यक्तिहरू जो पहिलादेखि नै यी विश्वका सबैभन्दा महत्वपूर्ण समस्याहरूलाई उच्च प्राथमिकताको आधारमा सुल्झाउनका लागि प्रयास गर्दै आएका छन् ।

यस नयाँ जिम्मेवारीहरूलाई सम्हाल्नका लागि विभिन्न जनसंगठन तथा आन्दोलनहरू अघि बढे भने तिनलाई पहिलो कदममा आफ्नै सरकारहरूबाट विभिन्न किसिमका रोकटोक हुनसक्छन् र तिनको सामना गर्नुपर्ने हुन्छ । तर यदि विश्वस्तरमा यो अभियान व्यापक बन्यो भने त ती समस्याहरूलाई सुझाउन पनि सकिन्छ । जनआन्दोलनको मूख्य भूमिका के हो भने जीवनको अस्तित्वलाई नै खतरामा धकेल्ने किमिसका गम्भीर समस्याहरूलाई जनसाधारणका बीच लैजानुपर्छ । जसले गर्दा आम भुइँमानिसहरूको तर्फबाट ती समस्याहरूलाई उच्च प्राथमिकता दिनका लागि ठूलो दबाब बनोस् ।

यी समस्याहरूको महत्वको समय छँदै ब्यापक समझ बन्यो भने सरकारहरूमाथि पनि समयमै तिनलाई सुल्झाउनका लागि प्रभावकारी दबाब बन्न सक्छ । के पनि मूर्तरूपमा आवश्यक छ भने समस्याहरूको जुन कुनै पनि समाधान खोजिन्छ ती न्याय, समानता र जन–लोकतन्त्रको परिधिभित्र नै खोजिनुपर्छ । यसप्रकारको सही बाटो खोजी गर्न र ब्यापक सहमति बनाउनमा जनआन्दोलन तथा जनसंगठनहरूको महत्वपूर्ण भूमिका हुन सक्दछ । निःसन्देह, यो भूमिका सफलतापूर्वक निर्वहन गर्नका लागि तिनले मिहिनेतपूर्वक तयारी गर्नै पर्छ ।

हालैका समयमा जस्तो स्थिति विश्व स्तरमा तीव्र किसिमले उत्पन्न भइरहेको छ तिनका कारणले विश्वभरी नै जनआन्दोलनहरूको निकटता र मित्रतालाई तीव्रतापूर्वक बढाउने आवश्यकता पनि अहिले पहिला पहिलाभन्दा धेरै नै बढेको छ । विश्वका विभिन्न वैज्ञानिकहरूले चेतावनी दिइरहेका छन् कि अब त पृथ्वीमा विविधताले भरिएको जीवन जन्मिने र हुर्किने स्थिति नै अत्यन्तै संकटग्रस्त भइसकेको छ । यस्तो स्थिति विभिन्न किसिमका पर्यावरण विनाशका कारण उत्पन्न भएको हो ।

प्रतिक्रिया