विदेशी एजेन्डा र रहस्यमय मृत्युहरू

बंगलादेशको उदय र त्यसलाई मान्यता दिने विषयमा भएको २ देशको टकरावको कारण भएको तत्कालीन राजा महेन्द्रको मृत्यु जति रहस्यमय छ, त्यसको खोजी नहुनु अर्को रहस्य हो । त्यसैगरी एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दासढुंगा घटनाको उचित छानबिन नहुनु पनि रहस्यको विषय हो । त्यति मात्रै होइन तत्कालीन राजा वीरेन्द्रको वंशनास हुनेगरी भएको दरबार हत्याकाण्डसमेत त्यत्तिकै सेलाएर जानु कम रहस्यपूर्ण छैन । यति ठुल्ठुला रहस्यमय हत्याकाण्ड/मृत्युको कुनै खोजी नहुनु राष्ट्रको भविष्यको लागि चिन्ताको विषय हो ।

बोर्णबहादुर कार्की

२०२८ सालमा राजा महेन्द्र शाहको मृत्यु भयो । माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र चितवनतर्फ लागेका थिए । भ्रमण करिब १ महिनाको लागि तय गरिएको थियो । तर, उनले १ महिना पूरा गर्नै पाएनन् । माघ १६ गते राति ११ बजे अचानक हृदयघात भयो । भोलिपल्ट बिहान ३ः४५ बजे मात्र चिकित्सकले देहावसानको घोषणा गरे । यो मृत्यु रहस्यमय रह्यो । यो स्वभाविक मृत्यु थियो कि, कसैको कर्तब्यद्वारा थियो भन्ने प्रश्न अहिलेसम्म अनुत्तरित नै छ ।

आफ्नो देशको नागरिक बाचुन्जेल उसको जीवनको सुरक्षा दिनु र मृत्युपछि पनि यदि कसैको कर्तब्यबाट मारिएको छ, भने सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई सजाय दिने कर्तब्य तथा दायित्व राज्य र सरकारको हो । तर तत्कालीन राजा वीरेन्द्रको वंशनास हुने गरी भएको दरबार हत्याकाण्ड, नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगा जिप दुर्घटनामा भएको मृत्युको बारेमा अझैँसम्म पनि सरकारले न त वास्तविकता सार्वजनिक गरेको छ, न त कसैलाई अनुसन्धान गरेर दोषी किटान गरेर कारबाही गरेको छ ।


भारतको विशेष पहलमा पाकिस्तानलाई टुक्र्याएर बंगलादेश बनाएपछि नयाँ देशको मान्यता दिन राजा महेन्द्रलाई भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले पटकपटक दबाब दिएकी रहिछन् । यतिसम्मकी इन्दिरा गान्धीको दबाब छल्न र आराम गर्न राजा महेन्द्र भरतपुरको दियालो बंगलामा पुगेका थिए । त्यहीँ उनको अकस्मात मृत्यु भयो । कतिपयले यहि दबाब र धम्कीका कारण चिन्ताग्रस्त अवस्थामा उनको हृदयघात भएको र उपचार हुन नपाउँदै मृत्यु भएको भन्छन् । कतिपयले यसमा भारतको केही कैफियत छ, भनेर शंका गर्छन् । यी २ मध्ये कुन सत्य हो, अनुसन्धानबाट टुंगिने विषय हो । बिरामी भएपछि उपचारमा नलैजानुले पनि मृत्युलाई शंकास्पद बनाइदिएको छ ।

२०५० जेठ ३ गते दासढुंगा जिप दुर्घटनामा नेपालका उदीयमान नेता एवं नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो । दासढुंगा घटना प्रायोजित थियो भन्ने घटना प्रकृतिले दखिन्छ । गाडी चालक अमर लामा गाडीबाट उत्रिएका छन्, जिप नदीमा खसेको छ, यसबाट प्रष्ट हुन्छ यी दुई नेतालाई मार्नकै लागि पूर्वतयारीका साथ यो घटना घटाइएको थियो । यस्तो जघन्य अपराधमा को को संलग्न थिए भन्ने कुरा अहिलेसम्म पनि रहस्यको गर्भमा छ ।

मदन भण्डारीको एक्कासि उदय २०४६ सालपछिको प्रजातान्त्रिक व्यवस्थाको बहाली भएपछि भएको हो । २०४६ सालको आन्दोलन गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको नेतृत्वमा भएको थियो । यो आन्दोलनले राजतन्त्रलाई झुक्न बाध्य पारेको थियो । यो परिवर्तनले राजाको आडमा हालीमुहाली चलाइरहेका दरबारियाहरूको स्वार्थमा ठुलो चोट पुर्याएको थियो । दरबारिया तत्व भट्टराई र गणेशमानसँग बदला लिन कुनै एउटा नयाँ व्यक्तित्व खडा गर्ने, जसलाई प्रयोग गरेर भट्टराई र गणेशमानको कद घटाउनुको साथै, आफूले २०४६ सालको आन्दोलनपछि गुमाएको दरबारको अधिकार पुनः फिर्ता गर्ने दाउमा थियो ।

यो अभियानमा उनीहरूले मदन भण्डारीलाई उपयोग गर्न खोजेका पनि थिए । कांग्रेस विरोधी युवा नेता मदन भण्डारीलाई दरबारले यस्तै व्यक्तित्वको रूपमा हेरेको थियो । उनीहरूले मदनको व्यक्तित्व भट्टराई र गणेशमानभन्दा माथि बनाउन निकै कसरत पनि गरेका थिए । २०४७ सालको आमनिर्वाचनमा भट्टराईको विरुद्ध मदन भण्डारीलाई उम्मेदवार बनाउनेदेखि भट्टराईलाई पराजित गर्नेसम्मका अभियानले यो कुराको पुष्टि हुन्थ्यो ।
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका विरुद्ध सशक्त कर्मचारी आन्दोलन भयो । त्यसको पछाडि एमाले नेताहरू रहेका थिए । यहि बाहानालाई चर्काएर देशमा प्रजातान्त्रिक व्यवस्था कायम हुन नसक्ने भनेर २०४६ सालमा दिएको अधिकार फिर्ता लिने षड्यन्त्रमा थियो दरबार । त्यस कर्मचारी आन्दोलनलाई अझ चर्काउन र भड्काउनको लागि मदन भण्डारीलाई प्रयोग गर्न चाहन्थ्यो दरबार । तर मदन भण्डारीले कर्मचारी आन्दोलनलाई थप अराजक बनाउन साथ नदिएपछि दरबारियाहरू पनि मदन भण्डारीसँग रुष्ट थिए ।

भारतले आफ्नो निहीत स्वार्थ पूरा गर्न कांग्रेसलाई प्रयोग गर्दै आएकोमा एमालेलाई पनि कांग्रेसझैँ प्रयोग गर्न चाहन्थ्यो । त्यसमा एमालेका कतिपय नेताहरूलाई आफ्नो बसमा पारिसकेको पनि थियो । महाकाली सन्धिका लागि त्यसबेला एमालेका कतिपय नेताहरू खुलेर लबिङमा लाग्नुले यसको पुष्टि पनि हुन्छ । तर मदन भण्डारी राष्ट्रवादी र देशभक्त भएकाले उनी भारतीयहरूको यस्तो योजनाप्रति असहमत थिए । भारतीयहरू पनि मदन भण्डारी रहेसम्म आफ्नो स्वार्थ पूरा गर्न नसकिने निष्कर्षमा पुगेका थिए । एमाले भित्रका केही महत्वाकांक्षी नेताहरू पनि मदन भण्डारी रहेसम्म आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न सत्ता र राज्यसत्ता हात नलाग्ने सोचबाट चिन्तित थिए । यस्तो बेलामा मदन भण्डारीको हत्या भएको थियो र त्यो अहिलेसम्म रहस्यमय नै छ ।

अहिले नेपाली भूमि चीनको विरुद्ध प्रयोग गरेर चीनलाई घेराबन्दी गर्ने पश्चिमाहरूको योजना अनुरूप संघीयताको बोझ नेपाललाई बोकाइएको छ । त्यसैगरेर जातीय राज्य बनाउने र तिनीहरूलाई प्रयोग गरेर चीनलाई घेराबन्दी गर्ने र तिब्बतलाई चीनबाट अलग गर्ने निहीत उद्देश्यले पश्चिमाहरूले यो एजेन्डा प्रवेश गराएका हुन् । संघीयता नेपालले धान्न नसक्ने प्रष्ट भइसकेको छ । संघीयता केही वर्ष यतादेखि निकै विवादित बनेको छ । संघीयताका कारण बढेको राज्यकोषको खर्च देशको अर्थतन्त्रले धान्नसक्ने स्थिति छैन । संघीयता कायम रहे केही वर्षमा मुलुक आर्थिकरूपमा टाटपल्टिई असफल राष्ट्र बन्ने प्रवल सम्भावना छ । यो अवस्थामा नयाँ जनमत लिई निष्कर्षमा पुग्नुपर्ने अवस्था छ । संघीयता चाहिने कि नचाहिने भन्नेमा अहिलेसम्म जनताको मत प्रकट भएकै छैन ।

संघीयताको एजेन्डा कसले नेपालको राजनीतिमा घुसायो भन्ने कुरा अहिलेसम्म रहस्यको गर्भमै छ । २०४७ सालको संविधान बनाउँदा कतैबाट पनि संघीयताको व्यवस्था हुनुपर्छ भन्ने माग उठेको थिएन् । २०६२–६३ को जनआन्दोलन र संविधानसभाको निर्वाचनको क्रममा पनि यस्तो माग उठेको थिएन । मधेस आन्दोलनका नेता उपेन्द्र यादवले मधेस आन्दोलन स्थगित गर्नका लागि अहिलेका राष्ट्रपति (त्यतिबेलाका गृहमन्त्री) रामचन्द्र पौडेलसमक्ष संघीयताको प्रस्ताव राखेका थिए ।

यो प्रस्तावमा विचार विमर्श गर्ने आश्वासनसम्म दिइएको थियो । सुरुमा संघीयता मधेस आन्दोलनको पनि माग थिएन तर पछि यसलाई योजनाबद्ध रूपमै उठाइयो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको भू–भागलाई एउटै मधेस प्रदेश बनाउने र आखिरमा यो प्रदेशलाई भारतमा मिसाउने योजनासहित भारतले यो एजेन्डा घुसाएको थियो । त्यो मात्रै लागू भएको भए २ प्रदेश मात्रै हुनसक्थ्यो । तर पश्चिमाहरूले चीन घेर्ने उपायको रूपमा संघीयतालाई हेर्दै जातीय प्रदेश बनाउन खोजेपछि नेपालमा संघीयताको अर्कोरूप देखा पर्यो । विदेशी स्वार्थको मिलनविन्दु ७ प्रदेशमा गएर टुंगियो ।

बंगलादेशको उदय र त्यसलाई मान्यता दिने विषयमा भएको २ देशको टकरावको कारण भएको तत्कालीन राजा महेन्द्रको मृत्यु जति रहस्यमय छ, त्यसको खोजी नहुनु अर्को रहस्य हो । त्यसैगरी एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दासढुंगा घटनाको उचित छानबिन नहुनु पनि रहस्यको विषय हो । त्यति मात्रै होइन तत्कालीन राजा वीरेन्द्रको वंशनास हुनेगरी भएको दरबार हत्याकाण्डसमेत त्यत्तिकै सेलाएर जानु कम रहस्यपूर्ण छैन ।

यति ठुल्ठुला रहस्यमय हत्याकाण्ड÷मृत्युको कुनै खोजी नहुनु राष्ट्रको भविष्यको लागि चिन्ताको विषय हो । यी र यस्ता हत्याकाण्डको पछाडि कसै न कसैका एजेन्डा बोक्न अस्वीकार गर्नु नै मुख्य कारण देखिन्छ । विगतका घटनाको खोजी नहुनुले अब कसैले संघीयता वा यस्तै अन्तर्राष्ट्रिय शक्तिकेन्द्रका एजेन्डा बोक्न अस्वीकार गरे भने तिनीहरूको जीवनको ग्यारेन्टी के ? भन्ने प्रश्न पनि उब्जिरहनेछ । यस्तो खोजबिनमा अहिलेसम्मका सरकारले आफ्नो कर्तब्य पूरा नगरे पनि भावी दिनमा कुनै जिम्मेवार सरकारले आफ्नो दायित्व पूरा गर्ला कि भन्ने आशा गरौँ । हामीसँग पर्खिनुबाहेक अर्को विकल्प पनि छैन ।

प्रतिक्रिया