मुख्य समस्या सोच र बोलाइको सन्तुलन हो । प्रायः मानिस यो पनि भन्छन् कि दिमागमा आएको नकारात्मक कुरा व्यक्त गर्दा हलुका हुन्छ । तर त्यस्ता कुराहरूलाई हामी दिमागमै फिल्टर गरेर फालिदिए हुँदैन ? बोलीको रूपमा किन व्यक्त गर्ने ? प्रश्न उठ्छ, कसरी सन्तुलन राख्ने ? के कुरा काट्नुपर्ने ? के मौन बस्नुपर्ने ? हाम्रो दिमागमा स्वभाविक रूपमा अनेकौँ कुरा खेल्छन् । यी विचारहरूलाई कसरी फिल्टर गर्ने भन्ने बुझ्न जरुरी छ ।
म थोरै बोल्छु । म बोल्नभन्दा सुन्न रुचि राख्छु । खासगरी, साथीभाइका जमघटहरूमा अरूका नराम्रा पक्षमाथि चर्चा हुँदा म चुपचाप बस्न रुचाउँछु । मलाई कुरा काट्न झट्ट मन लाग्दैन । अरूको बारेमा नराम्रा कुरा चलिरहेको बेला मलाई हतपत कुरा थप्न मनै लाग्दैन । यो स्वभावले कहिलेकाहीँ अरूलाई आफूसँग खुल्न अप्ठ्यारो बनाएको महसुस गरेकी छु । प्रायः ‘घुसघुसे’, ‘मनमा कुरा खेलाउने’, जस्ता ट्याग पाएकी छु ।
यसको विपरीत, ‘पेटमा पाप छैन, जे मनमा आयो त्यही बोल्छु’ भन्ने स्वभावका मानिसहरूलाई समाजले धेरै खुला ठान्छ । तर उनीहरूले आफ्ना शब्दले अरूको भावनामा पार्न सक्ने असरबारे कहिल्यै सोच्दैनन् । सोध्न मन लाग्छ, ‘के सोचेर, अड्किएर बोल्नु कमजोरी हो ? कि वास्तवमै यो एक सीप हो, जसले हाम्रो व्यक्तित्वलाई परिपक्व बनाउँछ ?
मानव स्वभाव २ प्रकारले देखिन्छ । एउटा, जे मनमा आयो, त्यही बोल्नेहरू । यी मानिसहरू भन्छन्, ‘मेरो मुखमा कुनै फिल्टर छैन, म जे सोच्छु, त्यही बोल्छु ।’ तर उनीहरूले आफ्नो शब्दले कसैको भावनामा चोट पु¥याउन सक्छ भन्ने कुरा कहिल्यै ध्यान दिँदैनन् । यस्तो ‘निसंकोच सत्यता’ मलाई कहिल्यै रुच्दैन । दोस्रो अड्कलेर बोल्नेहरू । यस्ता व्यक्तिलाई ‘घुसघुसे’ वा ‘मनमा कुरा खेलाउने’ जस्ता ट्याग दिनु सामान्य हो । तर, सोचेर बोल्नाले शब्दलाई अर्थपूर्ण बनाउँछ । घुसघुसे भन्ने कुरा त्यो मानिसले दिमागमा नकारात्मक कुराहरूलाई कति स्थान दिइरहेको छ भन्नेमा भरपर्छ ।
भनिन्छ, पशुले बोल्न नसकेर दुःख पाउँछ भने मनुष्यले बढी बोलेर । कवि कालिदास भन्छन्, ‘आत्मनो मुखदोषेण बध्यन्ते शुकसारिकाः बकास्तत्र न बध्यन्ते मौनं सर्वार्थ साधनम् ।’ अर्थात आफ्नै वाणीका कारण सुगा र सारिकाहरू बन्धनमा पर्छन् । तर, बकुल्लाहरू आफ्नो मौनकै कारण सुरक्षित रहन्छन् ।’ कहिलेकाहीँ तात्कालिक क्रोध, रिस वा निराशाको आवेगमा हामी नसोची बोल्ने गर्छौं । यस्ता शब्दहरूले हामीलाई क्षणिक राहत दिन सक्छन् । तर, तिनीले अरूको मनमा गहिरो घाउ पार्न सक्छन् । घोच्ने शब्दहरूले अरूको आत्मसम्मानमा गहिरो ठेस पु¥याउँछ र सम्बन्धहरूमा दरार ल्याउँछ । घोच्ने बोलीले नकारात्मकता फैलाउँछ र सामाजिक तथा व्यक्तिगत सम्बन्धहरूलाई समेत कमजोर बनाउँदै लैजान्छ ।
मुख्य समस्या सोच र बोलाइको सन्तुलन हो । प्रायः मानिस यो पनि भन्छन् कि दिमागमा आएको नकारात्मक कुरा व्यक्त गर्दा हलुका हुन्छ । तर त्यस्ता कुराहरूलाई हामी दिमाग मै फिल्टर गरेर फालिदिए हुँदैन ? बोलीको रूपमा किन व्यक्त गर्ने ? प्रश्न उठ्छ, कसरी सन्तुलन राख्ने ? के कुरा काट्नुपर्ने ? के मौन बस्नुपर्ने ? हाम्रो दिमागमा स्वाभाविक रूपमा अनेकौँ कुरा खेल्छन् । यी विचारहरूलाई कसरी फिल्टर गर्ने भन्ने बुझ्न जरुरी छ । तर यो भन्दै गर्दा, जीवनमा हामी धेरैजसो समय दुई स्थितिबीच अड्किन्छौँ ।
पहिलो हो, नकारात्मक सोचमा अड्किनु । जब हामी कुनै मानिसलाई देख्छौँ, ‘यो व्यक्ति खराब छ’ भन्ने सोच तुरुन्त आउँछ । यस्तो सोच्नाले हाम्रो समय र ऊर्जा बर्बाद हुन्छ । त्यसैले सोचको प्राथमिकता र दिशा परिवर्तन गर्नु पर्छ । दोस्रो हो, अरूलाई सुधार्न खोज्नु । जब हामी अरूको व्यवहार ठिक गर्न खोज्छौँ, त्यो स्वभावको जड नबुझिकन टिप्पणी गर्नु समयको खेर मात्र हो । यसले कहिलेकाहीँ झन् नकारात्मक प्रभाव पार्छ । यस्तो प्रयासलाई संयम र बुझाइले सन्तुलित गर्नुपर्छ ।
सोचेर बोल्नु भनेको हरेक शब्दलाई विचारपूर्वक छनोट गर्नु हो । सोचेर बोलेका शब्दहरूले अरूलाई प्रोत्साहित गर्न, प्रेरित गर्न र उत्साहित गर्न सक्छन् । सोचविचार गरेर बोल्दा, हामी अरूको मन र भावनाहरूको कदर गर्छौं र तिनीहरूको दृष्टिकोणलाई सम्झने प्रयास गर्छौं । यसले हाम्रो बोलीलाई सकारात्मक र रचनात्मक बनाउँछ । जब हामी सोचेर बोल्र्छौं, हामीले अरूको भावना र स्थितिलाई ध्यानमा राखेर शब्दहरू प्रयोग गर्छौं । जसले गर्दा तिनीहरूलाई सम्मान दिन्छौँ ।
सोचेर बोल्ने कला सजिलो छैन । यसका लागि आत्मसंयम, धैर्य र समझदारी आवश्यक पर्छ । हरेकपटक बोल्नुअघि हामीले ती शब्दहरूको प्रभावबारे सोच्नुपर्छ । के ती शब्दहरूले अरूलाई चोट पु¥याउँछन् ? के तिनीहरूले सम्बन्ध सुधार्छन् वा बिगार्छन् ? यस्ता प्रश्नहरूलाई मनमा राखेर बोल्दा हामीले सोचविचार गरेर बोल्न सक्छौँ । हामीले अरूको दृष्टिकोण र भावना बुझ्न प्रयास गर्नुपर्छ र हाम्रो बोलीलाई सन्तुलित बनाउनुपर्छ ।
संस्कार र परिवेशको भूमिका
के हामीले कहिल्यै सोच्यौँ कि हाम्रो सोच, बोली, र व्यवहारलाई केले प्रभावित पारिरहेको हुन्छ ? हाम्रो व्यवहार हाम्रो परिवारले दिएको संस्कार, शिक्षा, र जीवन अनुभवको परिणाम हो । त्यस्तै, अरूका आचरण पनि उनीहरूको परिवेशको उपज हुन् । मानव स्वभावलाई धर्म, संस्कृति, चालचलनले प्रभाव पार्दै गएर एक किसिमले व्यक्तिभित्र ‘सेट’ नै भइसकेको हुन्छ । किशोरावस्थादेखि नै मानिस ‘गसिप, ¥युमर’तिर पनि आकर्षित भइरहेका हुन्छन् । यो बानी कालान्तरसम्म पनि रहिरहन्छ । यदि कसैको व्यवहार हाम्रोभन्दा फरक छ भने, तुरुन्त प्रतिक्रिया दिनुभन्दा पहिले उनीहरूको पृष्ठभूमि बुझ्नुपर्छ । यो कुरा प्रायः हाम्रो आफ्नै परिवारमा पनि लागू हुन्छ ।
उदाहरणका लागि, परिवारमा नयाँ सदस्य जोडिँदा, हामीले बुझ्नुपर्ने हुन्छ, उनीहरू कुन वातावरणबाट आएका हुन् ? के हाम्रो सम्बन्ध यति बलियो छ कि हामी उनीहरूलाई आफ्नो अनुकूलता अनुरूप व्यवहारमा ढाल्ने प्रयास गर्न सक्छौँ ? कहिलेकाहीँ परिवेश नबुझी सुधार्ने प्रयासले झन् खराब परिणाम दिन सक्छ ।
मानव स्वभावलाई बुझ्न र त्यसमा सन्तुलन राख्न केही उपायहरू यसप्रकार छन् । थोरै र सोचेर बोल्ने । कम बोल्नु, तर जब बोल्ने हो, सही शब्दको छनोट गर्नु महत्वपूर्ण छ । रचनात्मक आलोचना गर्ने । सिधा नकारात्मक टिप्पणी गर्नुको सट्टा, समस्यालाई समाधान दिने तरिकाले प्रस्तुत गर्नु । सहनशील बन्ने । कहिलेकाहीँ अरूका व्यवहारलाई बेवास्ता गरेर शान्ति र खुसीसँग बाँच्नु नै उत्तम हो ।
मानव स्वभाव जटिल छ । हामीले यसलाई बुझ्न धैर्य र समझदारीको आवश्यकता पर्छ । कुनै कुरा बोल्नुभन्दा पहिला सोच्नु, र बोल्दा अरूको भावना ख्याल गर्नु, यही मानवताको सही बाटो हो । जीवनमा, अर्थपूर्ण बोल्ने मानिसले सधैँ आफूलाई र अरूलाई खुसी राख्न सक्छ ।
प्रतिक्रिया