केहीबेर थकाइ मारेपछि उठेर हिँड्ने क्रममा गढीमाईको मूर्ति हलचल गराउनै सकिएन, जति गर्दा पनि उठाउन नसकेपछि गढीमाई माताले दिएको त्रिशूल र मूर्तिलाई त्यहीँ स्थापना गरिएको हो भन्ने भनाइ पनि रहेको छ । हालको मन्दिर रहेकोे वरिपरि कुनै सैन्य गढी (वा किल्ला दुर्गा) छैन, तर मन्दिरको नाम ‘गढी’ रहेकोेले यो मकवानपुरको गढी बाटै तराईमा लिएर गएको हो भन्ने कथा बढी यथार्थपरक देखिन्छ ।
नेपालको तराई र पहाडलाई धार्मिक तथा सांस्कृतिक रूपमा जोड्ने विश्वप्रसिद्ध गढीमाई शक्तिपीठमा हरेक ५ वर्षमा १ पटक मेला लाग्छ । यसपटकको मेला भरखरै समाप्त भएको छ । यो मेला दक्षिण एसियाकै ठूलो धार्मिक मेला मानिन्छ, जुन प्रत्येक ५ वर्षमा बाराको वरियारपुर–२ स्थित गढीमाई मन्दिरमा आयोजना हुन्छ ।
अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त यो मेलालाई नेपाली मूलधारका सञ्चारमाध्यमहरूले पर्याप्त प्राथमिकता नदिनु र दिनुपर्ने समाचारमा पनि नकारात्मक पाटो मात्र उठान गर्नु दुःखद् पक्ष हो । गढीमाई मन्दिरको स्थापना र यससँग जोडिएका किंवदन्तीहरू अत्यन्त रोचक छन् । यी किंवदन्तीहरूमध्ये प्रमुख लोककथा यसप्रकार छन् ।
पहिलो किंवदन्ती
आजको गढीमाई मन्दिर मकवानपुरको सेन राज्यअन्तर्गत पथ्र्याे । भगवान् चौधरी नामक १ जना व्यक्ति थिए, ऊनी आफ्नो गाउँघरमा गन्यमान्य भद्रभलाद्मी व्यक्ति थिए । एकदिनको कुरा हो, भगवान् चौधरी सदाझैँ साँझको खानपिन गरेर आफ्नो कोठामा सुतेको बेला मध्य रातमा खत्राक खुत्रुक्क आवाज आएछ । त्यो आवाजले उनको आँखा खुल्यो ।
जुरुक्क उठेर हेर्दा १ जना मान्छे सामानको कुम्लो बोकेर भागेको देखियो, त्यसपछि ऊनी चोर चोर भन्दै जोड जोड्ले कराउँदै चोरको पछि पछि दौडे । एकैछिनमा सबै गाउँले उठेर चोरको खोजी गर्न लागे, केही छिनमा गाउँलेले चोर फेला पारे । चोर भाग्ने क्रममा ढुंगामा टाउको ठोक्किएर लडेको रहेछ, ऊ रगतपच्छे भएर लडेको अवस्थामा गाउँलेले कुटपिट गर्दै भगवान् चौधरीको घरमा ल्याउने क्रममा उनको तत्कालै मृत्यु हुन्छ ।
गाउँलेले कुटपिट गर्दै मान्छेको मृत्यु भएको घटना मकवानपुरको सेन राज्यको दरबारमा पुग्यो । त्यहाँबाट प्रहरी गएर कुटपिट गर्ने गाउँलेलाई पक्राउ गरेर ल्याउन आदेश भयो । भगवान चौधरीलाई प्रहरी आएर यसलाई कुटपिट गर्नेहरू को को हुन् ? भनेर सोधपुछ गर्न थाले । चौधरीले सर्वसाधारण गाउँलेलाई प्रहरीबाट जोगाउन यो सबै म बाट भएको हो, मैले नै कुटपिट गरेको हो भनेर बयान दिए ।
प्रहरीले भगवान चौधरीलाई पक्राउ गरेर मकवानपुर गढीमा ल्याएर अँध्यारो कालकोठरीमा नेल लगाएर थुनेर राख्यो । एक दिनको कुरा हो, भगवान चौधरीले अबेर रात निदाएको बेला सपना देखे । सपनामा गढीमाई माता (तुलजा भवानी) आएर चौधरीलाई सोधिन्, ‘तिमी यहाँ किन आएको ?’ चौधरीले आश्चायचकित हुँदै सोध्छन्, ‘हे माता तपाईं को हुनुहुन्छ ? यहाँ यस्तो कालकोठरीमा तपाईं कसरी आइपुग्नुभयो ?’ तर माताले केही जवाफ नदिई फेरि उही प्रश्न गरिन्, ‘तिमी यहाँ किन आएको ?’ भगवान चौधरीले विन्तीभाव मुद्रामा भने, ‘हे माता, म निर्दोष छु, तर गाउँघरको सर्वसाधारणको रक्षाका लागि उनीहरूबाट भएगरेको गल्तीको भागिदार भएर सजाय भोगिरहेको छु ।
फेरि माताले त्यही प्रश्न गरिन्, ‘तिमी यहाँ किन बसिरहेका छौँ ?’ उनले भने, ‘हे माता म के गरुँ त ?’ गढीमाई माता केही नबोली हिँडिन्, चौधरी पनि माताको पछिपछि लागेर हिँडे । हिँड्दा हिँड्दा माता बीच बाटैमा अलप भइन् । ऊनले माता अलप भएको स्थानमा खोजी गर्दै गए, त्यहाँ पुगेपछि यी रहस्यमय माता को हुन् ? को थिइन् ? भन्दै आश्चर्यचकित हुँदै सोच्दै त्यहीँ बस्दाबस्दै निदाएर सुतेछन् ।
चौधरी झल्यास्स बिउँझिदा ऊनी त कालकोठरीबाट बाहिर आइसकेका रहेछन्, उनको खुट्टामा बाँधेर राखेको नेल पनि छैन, एउटा सुनसान जंगलमा सुतिरहेको अवस्थामा आफू रहेकोे पाए । ऊनी बिउँझेपछि ती माता अलप भएको स्थानमा गएर निहुरिएर ढोगे । त्यहाँको एक चिम्टी माटो उठाएर निधारमा टीका लगाएर आफ्नो गाउँ बरियापुरतर्फ लागे ।
जब चौधरी गाउँमा पुगे, गाउँलेहरूले खुसियाली मनाए, गाउँलेहरूले कसरी जेल मुक्त भएर आयौ त ? भनेर सोधपुछ गर्न थालेपछि सबै बेलिबिस्तार लगाएर सुनाउन थाले । गाउँका एक जना पण्डितले पनि उनको कुरा सुनिरहेका थिए, पण्डितले चौधरीलाई ती माता (माई) कुन स्थानमा अलप भइन् कुनै जानकारी छ ? भनेर सोधे । चौधरीले त्यस्तो त केही चिन्ह गाडेर आएको छैन, मैले त्यहाँको माटो उठाएर टीका लगाएर आएको थिएँ, त्यो पनि मुख धुँदा पखाली सकेको छ भनेर जवाफ दिए ।
फेरि पण्डितले तिमीले लगाएको टोपी छ ? भनेर सोधे, चौधरीले टोपी खोलेर दिँदा त्यहाँ अलिकति माटोको धुलो भेटियो । पण्डितले त्यो माटोको धुलोमा आफ्नो शरीरको ५ ठाउँबाट थोरै रगत निकालेर त्यो धुलोमा मिसाए, यसरी मिसाउनासाथ अलौकिक ज्योति प्रकट भयो । यस्तो देखेर चौधरीले छक्क पर्दै यो के भएको ? भनेर सोधे । पण्डितले भगवान चौधरीलाई भने, ‘तपाईंले मकवानपुरको गढीमाई माताको दर्शन पाउनुभएको रहेछ, यो तपाईंले गरेको पूण्यको फल प्राप्त गर्नुभएको हो । मैले पनि तपाईंको कारणले ज्योति रूपमा गढीमाई माताको दर्शन पाएँ, अब मातालाई यहीँ विराजमान गर्नुपर्छ ।’
यति भनेपछि चौधरीले पवित्र स्थानको पहिचान गरेर गढीमाई माताको मन्दिर स्थापना गरे र उनै पुजारी भएर बसे, त्यसबेलादेखि उनको वंशज नै पुजारी रहँदै आइरहेका छन् । अहिले तिनै थारूका सन्तानको १०औँ पुस्ताका मंगल चौधरी हाल मन्दिरका मूल पुजारी रहेको छन् । यसरी सेन राज्यको मकवानपुर गढीको माई भएको हुनाले गढीमाई माताको नामकरण हुन पुगेको हो भन्ने किंवदन्ती रहिआएको छ ।
दोस्रो किंवदन्ती
अर्को किंवदन्ती रहेकोे छ, गढीमाई भारत कलकत्ताकी कालीमाताको एक स्वरूप हुन् । सिम्रौनगढको रसुल गुरु नामका धामी अत्यन्त सिद्ध तान्त्रिक थिए । उनले कलकत्ताकी देवी कालिको कृपा पाएका थिए । उनले कुस आदि विभिन्न तत्वबाट बाघ बनाएर गोरू जसरी खेतमा जोत्ने गर्थे । यस्तो अलौकिक शक्ति देखेर तत्कालीन सिम्रौनगढका राजा सुरज सिंहदेवले ती धामीलाई बोलाए । उनले सोधे, ‘तिमीमा यस्तो अलौकिक शक्ति कसरी प्राप्त भयो ?’ धामीले भने, ‘सरकार ! मलाई यो शक्ति कालीमाताको कृपाले भएको हो ।’
त्यसपछि राजाले भने, ‘मलाई पनि ती शक्तिशाली देवीको दर्शन गर्ने मन छ ।’ धामीले राजालाई भने, ‘सरकार ! उहाँकै इच्छा बेगर दर्शन गर्न असम्भव हुन्छ, तर म माईसँग विन्ती गरेर माईको एउटा अंश भने पक्का ल्याउनेछु ।’ यति भनेर कलकत्ताकी माई देवीको एक अंश ल्याएर बरियापुरमा स्थापना गरे । त्यहीँ राजाले पहिलोपटक दर्शन गरे ।
पुरक किंवदन्ती
त्यस्तै पहिलो किंवदन्तीकै अर्को थप किंवदन्ती के छ भने चौधरी जेलमा नै छँदा मकवानपुरकी गढीमाईले म अन्यत्र सर्न चाहेको भन्ने कुरा गरेपछि चौधरीले जेलबाट छुटेपछि मकवानपुरबाट गढीमाईलाई बोकेर ल्याउँदै गर्दा जंगलको बीचमा एकैछिन थकाइ मार्न बसे । केहीबेर थकाइ मारेपछि उठेर हिँड्ने क्रममा गढीमाईको मूर्ति हलचल गराउनै सकिएन, जति गर्दा पनि उठाउन नसकेपछि गढीमाई माताले दिएको त्रिशूल र मूर्तिलाई त्यहीँ स्थापना गरिएको हो भन्ने भनाइ पनि रहेको छ । हालको मन्दिर रहेकोे वरिपरि कुनै सैन्य गढी (वा किल्ला दुर्गा) छैन, तर मन्दिरको नाम ‘गढी’ रहेकोेले यो मकवानपुरको गढीबाटै तराईमा लिएर गएको हो भन्ने कथा बढी यथार्थपरक देखिन्छ ।
प्रतिक्रिया