उपनिर्वाचन परिणाम र मधेस

काठमाडौँ महानगरपालिका–१६ मा प्राप्त गरेको करिब ३ हजार भोटसहित रास्वपाले देशव्यापी रूपमा जम्मा ५ हजारको हाराहारीमा मत प्राप्त गरेको छ । करिब १ लाख ६० हजार मत खसेकोमा ५ हजारको हाराहारीमा मत प्राप्त गर्नु भनेको ३ प्रतिशत हो । जबकी गत आमनिर्वाचनमा रास्वपाले ११ प्रतिशत मत पाएको थियो ।

श्रीमन नारायण

स्थानीय तहको निर्वाचन परिणामले देशको राजनीतिलाई खासै उथलपुथल ल्याउँदैन, तर यसले देशको शासन सत्तामा रहेका र विपक्षमा रहेका राजनीतिक दलहरूको लोकप्रियताको मापन अवश्य पनि गरिदिन्छ । देशका कुल ७५३ वटा पालिका र तिनका वडाहरूमा २०७९ वैशाखमा निर्वाचन भएको थियो । एककिसिमले अहिले भएको उपनिर्वाचन मध्यावधिजस्तै पनि थियो ।

२०८३ को अन्त्य तथा २०८४ सालको सुरुतिर स्थानीय तहको अर्को निर्वाचन हुनेछ । २०७९ सालको निर्वाचनवाट निर्वाचित देशका ४४ स्थानमा विविध कारणले रिक्त रहेको पदहरूमा हालै भएको उपनिर्वाचनको परिणाम आइसकेको छ । यस उपनिर्वाचन परिणामको विश्लेषण सबै राजनीतिक दलहरूले आ–आफ्नो तरिकाले गरिरहेका छन् । नेपाली कांग्रेस र एमालेका भोट उल्लेख्य घटेको छ । माओवादीको भोट उल्लेख्य बढेको छ । पहिलोपटक स्थानीय चुनावमा भाग लिएको नवोदित शक्ति रास्वपाले गत आमनिर्वाचन जत्तिको जनमत प्राप्त गर्न सकेन ।

यसैगरी तराई मधेसमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले केही अतिरिक्त लाभ प्राप्त गरेको जस्तो लागिरहेको छ । नेपाली कांगे्रेसले कतिपय स्थानमा अन्य दलहरूको सिट खोसेको छ भने केही ठाउँमा गुमाएको पनि छ । नेकपा एमाले बढी प्रसन्न हुनुपर्ने कारण देखिएन । संक्षिप्तमा यो निर्वाचन परिणाम देशका राजनीतिक दलहरूलाई निद्राबाट जाग्न प्रेरित गरेको छ ।

उपनिर्वाचनमा मतदाताले पुरानै राजनीतिक दलहरूलाई मत दिएका छन् । यसपटक पनि नेपाली कांग्रेस पहिलो स्थानमा, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी येनकेन प्रकारेण एउटा वडाध्यक्ष पद जित्न सफल भएको छ । तर, अन्य स्थानमा भने ज्यादै नगन्य मत पाएको छ । २०७९ सालको स्थानीय निर्वाचनमा यो पार्टी सहभागी भएको थिएन, त्यसकारण उसको निम्ति यो उपलब्धि नै हो । त्यसमा पनि काठमाडांैको सिट र त्यो पनि कांग्रेसको हातवाट खोस्नु लाभ त हो नै, तर पार्टी अध्यक्ष रवि लामिछानेको गिरफ्तारीले सहानुभूतिको वातावरण बनाउने तथा यसबाट पार्टीले लाभ लिने उसको मनसाय माथि तुषारापात भएको छ । काठमाडौं महानगरपालिका–१६ मा प्राप्त गरेको करिब ३ हजार भोटसहित रास्वपाले देशव्यापी रूपमा जम्मा ५ हजारको हाराहारीमा मत प्राप्त गरेको छ । करिब १ लाख ६० हजार मत खसेकोमा ५ हजारको हाराहारीमा मत प्राप्त गर्नु भनेको ३ प्रतिशत हो । जबकी गत आमनिर्वाचनमा रास्वपाले ११ प्रतिशत मत पाएको थियो ।

तराई मधेसमा सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले मधेस प्रदेसका ७ वटा पालिका तथा वडा मध्ये कुनै एउटा सिट पनि जित्न नपाउनु यसको घट्दो लोकप्रियता र अस्वीकार्यताको प्रमाण हो । केबल शाब्दिक शृंगारले जनतालाई बढी लामो समयसम्म भ्रममा राख्न सकिँदैन । रास्वपा र जनमतलाई नेपाली जनताले एउटै डालोमा राखेका छन्, र पत्यार गर्न छोडेका छन् । तराई मधेसमा महन्त ठाकुरको पार्टी त चर्चामा पनि देखिएन ।

वैकल्पिक राजनीति गर्न आएका रवि लामिछानेलाई एउटा कुख्यात अपराधीजस्तो कहिले कास्कीबाट भैरहवा त कास्कीबाट काठमाडाँै त कहिले चितवन र पर्सा जिल्ला अदालतको पक्राउ पुर्जी आएपछि यहाँ पनि आउनुप¥यो । सार्वजनिक जीवन (राजनीतिक जीवन) यापन गर्नुहरूले लोकलाजको ख्याल गर्नुपर्दछ । आज पूरै विश्वले गान्धी, माक्र्स, लेनिन, मार्टिन, लुथर किंग, लोहिया, डा.नेल्सन मण्डेला र अब्राहम लिंकनजस्ता नेताहरूको मार्गमा हिँड्नु अथवा हिँड्न खोज्नुको मूल कारण ती महापुरुषहरूले आफ्नो जीवनकर्मलाई पारदर्शी राख्नु हो । नेता भनेको त जसको भनाइ र गराइमा भिन्नता नहोस् । रावणजस्तो १० मुख राख्ने अनुहारको खाँचो नेपाललाई छैन । रास्वपा अध्यक्ष रवि लामिछाने गृहमन्त्री बन्न अत्यधिक ब्यग्र रहनुको कारण देशलाई बल्ल थाहा भएको छ । वैकल्पिक राजनीति गर्ने रास्वपाको सपना अब चकनाचुर भएको छ ।

हिन्दूत्वको नारालाई अघि सारेर राजनीतिमा पुनःस्थापित हुन खोज्ने कमल थापालाई पनि ठुलो झडका लागेको छ । त्यसैगरी संवैधानिक राजतन्त्र र हिन्दूत्वलाई एजेन्डा बनाउने उद्घोषण गरेका राप्रपा अध्यक्ष राजेन्द्र लिंग्देनको निम्ति २०८४ सालको निर्वाचन सहज नहुने संकेत पनि यस निर्वाचन परिणामले दिएको छ । तराईमा मधेस सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले ४ ठाउँमा उम्मेदवारी नै दिएन २ ठाउँमा त दोहोरो अंकमा पनि उसको उम्मेदवारले मत पाउन सकेन ।

जनमत पार्टीलाई मधेसको वैकल्पिक राजनीतिक दलको रूपमा जनताले हेर्न चाहेका थिए । यस पार्टीका अध्यक्ष सिके राउत पिएचडी भएका कारण उनले नेपालको राष्ट्रिय राजनीति र मधेसको राजनीतिमा केही नयाँ काम गरेर देखाउने अपेक्षा गरिएको थियो । उनको पार्टीमा तराई–मधेसका युवा इन्जिनियर, केही डाक्टर र म्यानेजमेन्टका छात्रहरू पनि उत्साहपूर्वक सहभागिता जनाएका थिए, तर बिस्तार–बिस्तारै तिनको मोह भंग भइरहेको छ । डा.सिके राउतले जसरी आफ्नो दाईलाई राष्ट्रिय योजनाको सदस्य बनाए र प्रदेशसभाको समानुपातिक सिटमा आफ्नो पारिवारिक सदस्यलाई मनोनयन गरे त्यसले उनीभित्र पनि परिवारवाद रहेको पुष्टि भइसकेको छ । क्रमिक रूपमा सिके राउतको घोषणा र व्यवहारमा ठुलो परिवर्तन आउने गरेको छ ।
सम्भवतः उपरोक्त कारणले पनि जनता उनको पार्टीमाथि विश्वास गर्न चाहिरहेका छैनन् । उपनिर्वाचनमा तराई–मधेसका ७ सिट मध्ये एउटा सिटमा पनि यस पार्टीको विजय नहुनुको कारण यही हुनुपर्दछ । पार्टीका सांसद गोमा देवकोटाले आफू पार्टीको सांसद बन्न ३२ लाख रुपैयाँ बुझाएको आरोप गम्भीर प्रवृत्ति हो । अख्तियारले यसको छानबिन गर्नुपर्छ ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले ५५ हजार ६७९ मत प्राप्त गरेकोमा उपनिर्वाचनमा यसले ४४ हजार ८०६ मत प्राप्त गरेको छ । यसरी ११ हजार मत कम आएको छ । सिट संख्यामा पनि भारी कमी आएको छ । मोरङको ग्रामधान गाउँपालिका यसले गुमाउनुप¥यो । कीर्तिपुर नगरपालिका पहिले पनि नेपाली कांग्रेसकै अधिन थियो । उपचुनाव पनि यसले नै जितेको छ । यहाँ पनि नेपाली कांग्रेस र नेकपा एमालेको मतमा ह्रास आएको छ । जबकी २०७९ सालको स्थानीय निर्वाचनमा दोस्रो स्थानमा रहेको नेकपा एमाले यस उपनिर्वाचनमा तेस्रो स्थानमा पुगेको छ । नेकपा माओवादी भने तेस्रो स्थानबाट दोस्रो स्थानमा आएको छ । दैलेखको महाबु गाउँपालिका २०८१ सालको उपनिर्वाचनमा नेकपा एमालेले विजय प्राप्त गरेको छ जबकी साढे २ वर्षअघि यो नेपाली कांग्रेसले जितेको थियो ।

मधेस प्रदेशका ७ वटा वडाका लागि भएको उपनिर्वाचनमा महोत्तरीको रामगोपालपुर गाउँपालिका–२ मा पहिला पनि एमालेले नै जितेको थियो, यसपालि पनि एमालेले नै जितेको छ । नेकपा माओवादी केन्द्र पहिला पनि यहाँ दोस्रो स्थानमा थियो, अहिले पनि दोस्रो स्थानमा नै छ । धनुषाको धनुषाधाम नगरपालिका–१ पहिला नेपाली कांग्रेसले जितेको थियो । यसपालि नेकपा माओवादीले जितेको छ ।

सप्तरीको २ वटा सिट जसपा नेपालले नेपाली कांग्रेसबाट खोसेको छ भने नेकपा एकीकृत समाजवादीले रौतहटको गढीमाई नगरपालिका–६ को सिट, जसपा नेपालबाट खोसेको छ । नेपाली कांगे्रसले रौतहटको ईशनाथ नगरपालिका–७ नेकपा एमालेबाट खोसेको छ भने यसले राजपुर–६ को सिट पुनः आफ्नो पोल्टामा राख्न सफल भएको छ । पहिला यहाँ एमाले दोस्रो स्थानमा थियो यसपालि तेस्रो स्थानमा पुगेको छ । उपनिर्वाचनको परिणाम ठुला दललाई राहत दिएको भए पनि यो सफलता कहलिन सक्दैन ।

प्रतिक्रिया