बशर अल असद शासनको अवशान र सिरियाको भविष्य

गएको आइतबार अर्थात ८ डिसेम्बरका दिन दमिस्कमा त्यस्तै स्थिति देखियो । जस्तो यसअघि अफगानिस्तान, श्रीलंका, बंगलादेश आदिमा देखिएको थियो । विमानस्थलमा भागाभाग छ, मानिसहरू सुरक्षित बाहिर निस्कन चाहन्छन् त्यहीँ अर्कोतिर मानिसहरू स्वतन्त्रताको खुसियाली पनि मनाइरहेका छन् । उता अर्कोतिर राष्ट्रपति भवनमा लुटपाट मच्चाउने, तोडफोड गर्नेजस्ता सिलसिला पनि चलिरहेका छन् ।

लोकनारायण सुबेदी

यतिबेला पछिल्लो शासन सत्ता पल्टेका देशहरूमा सिरिया पनि सामेल भएको छ । त्यहाँका विद्रोहीहरूले ५० वर्ष अर्थात ५ दशक लामो असदको शासन सत्तालाई उखेलिदिएका छन् । त्यो शासन सत्ताको अन्त्य गर्नका लागि संकल्पबद्ध रहेको मानिने विद्रोही समूह हयात तहरीर अल साम(एचटिआई)ले २ सातादेखि असदको सत्ता पल्टाउने यो अभियानलाई निकै तीव्रता दिएको देखिन्थ्यो । त्यस क्रममा त्यो विद्रोही समूहले अलेप्पो, हमा, होम्स र दारा भनिने प्रमुख सिरियाली सहरहरूमा कब्जा जमाएपछि बशर अल असदको शासन सत्ता पल्टिने दिन गन्ती सुरु भएको अड्कल गरिँदै थियो ।

गएको आइतबार अर्थात ८ डिसेम्बरका दिन राजधानी दमिस्कमाथि कब्जा जमाएपछि अब असद बंशको शासन अन्त्य निश्चित प्रायः भएको अड्कल गरिँदै थियो । यो सत्ता पल्टाउँदा असद सिरियाबाट अज्ञात देशमा भागिसकेको बताइन्छ । तर यो आलेख तयार पार्दासम्म यकिनतः उनी कहाँ शरण लिन पुगे भन्ने कुरा केवल अनुमान मात्र गरिँदै थियो । भनिन्छ असद आफ्नो परिवारकासाथ विमानबाट कुनै अज्ञात मुलुकमा पुगेका छन् । उनी कुन देशमा पुगेका छन् कसैले किटान गरेर बताएको छैन । यस क्रममा उनी चढेको बिमान बेपत्ता भएको या दुर्घटनामा परेको समेत हल्ला फैलिएको छ । यता सत्ता कब्जा गरेका विद्रोहीहरूले भने अब सिरिया एउटा स्वतन्त्र देश भएको भनिरहेका छन् ।

असदका विरुद्ध रहेका विद्रोही सेनाका १ जना सैनिक अपरेसन कमान्डरले टेलिग्राममा एउटा पोस्ट लेखेका छन् कि ‘हामी तानाशाह बशर अल असदबाट दमिस्क सहर मुक्त भएको घोषणा गर्दछौँ । विश्वभर विस्थापित भएर रहेका सबै सिरियाली मानिसहरूको आगमनका लागि सिरियाले प्रतिक्षा गरिरहेको छ । सिरियाका प्रधानमन्त्री मोहम्मद गाजी अल–जलालीले पनि आइतबार बिहानै पहिले नै तयार गरिएको एउटा सन्देशमा भनेका थिए कि सरकार मानिसहरूबाट चुनिएको कुनै पनि नेतृत्वसँग सहयोग गर्नका लागि तयार छ । उनले सिरियाली मानिसहरूलाई सार्वजनिक सम्पत्तिहरूको नोक्सानी नगर्न अपिल गर्दै भनेका थिए कि यो सम्पत्ति सबै नागरिकको हो ।

उनले आफ्नो स्थिति प्रष्ट पार्दै भनेका छन्, ‘म यहाँ आफ्नै घरमा छु, कतै गएको छैन, न त देश छोड्ने इरादा नै छ । उनको यस बयानबाट स्पष्ट हुन्छ कि प्रधानमन्त्री विद्रोहीहरूको सर्त मान्न र उनीहरूलाई सत्ता सुम्पिन तयार छन् । अर्कोतिर विद्रोही समूह एचटिआईका नेता अबू मोहम्मद अल–जुलानीले पनि विद्रोही शक्तिसँग राज्यका संस्थानहरूलाई नोक्सान नगर्न आह्वान गरेका छन् । यद्यपि दमिस्कमा सडकहरूमा जस्तो प्रकारले ट्यांकहरू र बन्दुकसहित विद्रोही शक्ति देखिएको छ त्यसले अहिले भर्खरै स्थिति सामान्य भइहाल्ने परिस्थिति देखिँदैन भन्ने विश्लेषण पनि भइरहेको छ ।

सन् २०११ को ‘अरब वसन्त’मा धेरै देशहरूमा सत्ता पल्टाएको देखिएको थियो । ३–४ दशकदेखि सत्तामा राज गरिरहेका तथाकथित तानाशाहहरूलाई लोकतन्त्रको अभियानका नाममा उखेलेर फालियो पनि । होस्नी मुबारक, कर्नल कद्दाफी आदिजस्ता त्यतिबेला विश्वमा चर्चित शासकहरूको सत्ताको अन्त्य भयो । त्यस्तै खालको सफलता सिरियामा पनि प्राप्त गर्न कोशिस गरियो । तर बशर अल असदलाई शासन सत्ताबाट हटाउन बितेको १३ वर्षदेखि लामो प्रतिक्षा गर्नुपरको देखियो । ‘अरब वसन्त’को क्रममा सिरियामा विद्रोहरूलाई बशर अल–असदको शासनले कडा दमन गरेको थियो । हुन त उनले सत्ता सम्हालेको एक दशक मात्र भएको थियो तर उनको राजनीतिक दृष्टिकोण तानाशाहरूको भन्दा अलिक भिन्न थियो ।

सेप्टेम्बर ११, १९६५ मा जन्मेका बशर अल असदको पारिवारिक पृष्ठभूमि राजनीतिक थियो । उनका पिता हाफिज अल असद १९७१ मा सिरियाको राष्ट्रपति बने । अनि २००० सम्म त्यस पदमा कायम रहे । तर बशर अल असदले राजनीतिको साटो चिकित्सा क्षेत्रको बाटो पक्रे । उनी लन्डनमा आँखा उपचार चिकित्सा शिक्षा पढिरहेका थिए । जनवरी १९९४ मा उनका ठुल्दाजु बासेलको मृत्यु भयो । जसलाई स्वभाविकरूपमा सिरियाको अर्को राष्ट्रपति मानिँदै थियो । ठूलो दाइको मृत्यु भएपछि बशर अल असद राजनीतिमा आए । पिताको मृत्युपछि २००० मा उनले राष्ट्रपति पदको शपथ लिए ।

सत्ता सम्हाल्दै गर्दा उनले ‘पारदर्शिता, लोकतन्त्र, विकास र आधुनिकीकरणका कुरा गरेका थिए । छोटो समयका लागि भए पनि सिरियामा अभिव्यक्तिको स्वतन्त्रता, नागरिक स्वतन्त्रता जस्ता कुराहरूले स्थान पाए । त्यसलार्ई ‘दमिस्क स्प्रिङ’ पनि भन्ने गरिएको थियो । तर त्यो ‘वसन्त’ पनि चाँडै समाप्त भयो । अनि आफ्ना देश वरिपरिका छिमेकी देशहरूमा बनिरहेको विपरित परिस्थितिका कारण बशर अल असदले पनि दमनकै बाटो पक्रिए । इराकमाथि अमेरिकी हमला, लेबनानको माध्यमबाट सिरियालाई नियन्त्रणमा लिने अमेरिकी चाल, ‘अरब वसन्त’, इराकमा इस्लामिक स्टेटको उभार, गाजामाथि इजरायली हमला आदि बितेका डेड दशकका यी यावत घटनाक्रमहरूले बशर अल असदलाई उनको पहिलाको राजनीतिक सोचभन्दा भिन्न र विपरीत काम गर्न बाध्य पारेको समेत यतिबेला विश्लेषण गरिँदै छ ।

पश्चिमा शक्तिहरूको सामना गर्नका लागि हिज्बुल्लाहको सहयोग र साथ सिरियालाई मिल्दै रह्यो । तर, पेलेस्टिनीहरूलाई सर्वनाश तुल्याउनको सँगसँगै इजरायलले हिज्जबुल्लाहका पनि शीर्षस्थ नेताहरूलाई मारिदियो । फलतः यसपटक सिरियालाई साथ सहयोग दिने शक्ति हिज्जबुल्लाह पनि रहेन । इरानको पनि त्यस्तै हविगत हुन पुग्यो । अर्कोतिर रुस पनि युक्रेन युद्धमा फँसेको स्थिति रह्यो । त्यसले गर्दा पछिल्लोपटक सिरियालाई रुसको मद्दत मिल्न सकेन । बशर अल असदले अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मद्दत मागेका थिए तर उनलाई त्यसमा पनि निराशा नै हात लाग्यो । ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामाका नीतिहरूलाई जिम्मेवार ठह¥याए । साथै उनले यसको पछाडि रुसलाई पनि जिम्मेवार बताए । उनले भने, ‘यो हाम्रो लडाइँ होइन, अमेरिकाले यस लडाइँमा सामेल हुनु हुँदैन, सिरिया अमेरिकाको मित्र होइन ।’

हुन पनि यतिबेला अमेरिकाका प्राथमिकताहरू के देखिन्छ भने जहाँ उसलाई आर्थिक तथा सामरिक फाइदा हुन्छ त्यहाँ कसैले नबोल्दा पनि ऊ जबर्जस्ती पुगिहाल्छ र कथित लोकतन्त्रको हवाला दिएर हस्तक्षेप गर्दछ । तर उसलाई लाभ नमिल्ने ठाउँहरूप्रति आँखा बन्द गरेजस्तो गरी बस्छ । त्यसैले यतिबेला अमेरिकाले सिरियालाई कुनै सहयोग नगरी उसको स्थितिमा छोडिदियो । विश्लेषकहरू भन्दछन्, गएको आइतबार अर्थात ८ डिसेम्बरका दिन दमिस्कमा त्यस्तै स्थिति देखियो । जस्तो यसअघि अफगानिस्तान, श्रीलंका, बंगलादेश आदिमा देखिएको थियो । विमानस्थलमा भागभाग छ, मानिसहरू सुरक्षित बाहिर निस्कन चाहन्छन् त्यही अर्कोतिर मानिसहरू स्वतन्त्रताको खुसियाली पनि मनाइरहेका छन् । उता अर्कोतिर राष्ट्रपति भवनमा लुटपाट मच्चाउने, तोडफोड गर्नेजस्ता सिलसिला पनि चलिरहेका छन् ।

यसरी असद परिवारको शासनको दुःखद् अन्त्य सिरियामा भएको छ । तर अब के त्यहाँ शान्ति र सुखमय भविष्य छाउला र नागरिकले सुरक्षित महसुस गर्लान् प्रश्न खडा छ । अब जुन सत्ता स्थापित होला त्यसको स्वरूप कस्तो हुने हो, महाशक्तिहरूको भूमिका र दबाबमा नआइकन कुनै सरकारको गठन होला यी गम्भीर महत्वपूर्ण प्रश्नहरूको सही उत्तर आउला कि नआउला अहिले प्रतिक्षाको विषय छ । त्यहाँ जनताले आफ्नो देशका आवश्यकता र स्थिति अनुकूलको जन–लोकतन्त्र अपनाउन सके र त्यसका लागि शतत जागरूप भए मात्र तिनको भविष्य सुरक्षित हुने अहिलेसम्मको अनुभवले दर्शाउँछ ।

प्रतिक्रिया