प्रधानमन्त्री ओलीको यो पहिलो चीन भ्रमणलाई सकेसम्म रोक्न सत्ता सहयात्री दल नेपाली कांग्रेस त खुलेरै आएको थियो । बिआरआईमा सकेसम्म भाँजो हाल्ने उसको प्रयत्न सतहमै देखियो । ऋण कि अनुदान भनेर अनुचित विवाद अघि सारेर सत्तारूढ नेपाली कांग्रेसले ओलीको भ्रमण असफल गराउन लागेको थियो । जति नै कोशिस गरे पनि यो अभियानमा कांग्रेस सफल हुन सकेन, आखिरमा भ्रमण भएरै छाड्यो । मुख्य विषय बिआरआईबारे स्पष्ट हुन नसकेकाले यो भ्रमण पूर्ण सफल मान्न नसकिए पनि यत्रो अवरोध पन्छाउँदै भएको यो भ्रमण आंशिक सफल भएको छ । शक्तिकेन्द्रहरूले नचाहँदा नचाहँदै भएको यो भ्रमणले तरंग नै ल्याइदिएको छ । तोकिएको समयमा भ्रमण हुनु नै सन्तोष मान्नुपर्ने अवस्था छ ।
अनेकौँ द्विविधाका बीच अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सम्पन्न भएको छ । तोकिएको समयमा ओलीको चीन भ्रमण हुन नदिन पर्दा पछाडि धेरै षड्यन्त्रहरू भएका थिए । यस्तो षड्यन्त्र गर्नेमा को थिए भन्नै पर्दैन, ती दक्षिणको छिमेकी र पश्चिमा शक्तिहरू नै थिए । अन्तिमसम्म पनि यो भ्रमणलाई भाँजो हाल्ने कसरत भएको थियो । यतिसम्म कि यो बीचमा भारत भ्रमणको निम्तो दिएर भए पनि भ्रमण तालिकालाई अवरोध गर्न खोजेको थियो । तर त्यो सफल भएन । ओलीको भ्रमण रोक्न र भ्रमण असफल बनाउन देशभित्रका पश्चिमा र दक्षिण परस्त तत्वहरू पनि हात धोएरै लागिपरेका थिए ।
प्रधानमन्त्रीको यो पहिलो चीन भ्रमणलाई सकेसम्म रोक्न सत्ता सहयात्री दल नेपाली कांग्रेस त खुलेरै आएको थियो । बिआरआईमा सकेसम्म भाँजो हाल्ने उसको प्रयत्न सतहमै देखियो । ऋण कि अनुदान भनेर अनुचित विवाद अघि सारेर सत्तारूढ नेपाली कांग्रेसले ओलीको भ्रमण असफल गराउन लागेको थियो । जति नै कोशिस गरे पनि यो अभियानमा कांग्रेस सफल हुन सकेन, आखिरमा भ्रमण भएरै छाड्यो ।
सत्ता सहभागी प्रमुख दल प्रयोग गर्दा पनि सम्भव नभएपछि सरकारकै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा मार्फतसमेत पश्चिमाहरूले भ्रमण असफल गराउन अन्तिम समयसम्म प्रयास गरेका थिए । भ्रमणलाई लिएर सत्तामा सहभागी दलबीचमै अन्तर्विरोध यति बढ्यो कि कांग्रेस विरोध पेचिलो बन्दै गएर यसैका कारण कतै प्रधानमन्त्री पद नै धराप पर्ने त होइन भनेर ओली आत्तिएका पनि थिए । कांग्रेस मात्रै होइन एमालेभित्रका पश्चिमा र दक्षिणबाट प्रभावितहरू पनि ओलीको यो चीन भ्रमणप्रति सकारात्मक थिएनन् । उनीहरूको गतिविधि त्यति सार्वजनिक त भएका थिएनन् तर गौँडागौँडामा उनीहरूको क्रियाशीलता जारी थियो । यी सबै अवरोधबीच ओलीको चीन भ्रमण भएको छ । मुख्य विषय बिआरआईबारे स्पष्ट हुन नसकेकाले यो भ्रमण पूर्ण सफल मान्न नसकिए पनि यत्रो अवरोध पन्छाउँदै भएको यो भ्रमण आंशिक सफल भएको छ । शक्तिकेन्द्रहरूले नचाहँदा नचाहँदै भएको यो भ्रमणले तरंग नै ल्याइदिएको छ । तोकिएको समयमा भ्रमण हुनु नै सन्तोष मान्नुपर्ने अवस्था छ । यदि यो भ्रमण असफल भएको एउटा विश्वासिलो छिमेकी मित्रराष्ट्रसँगको सम्बन्धमा खलल आउने थियो । यो स्थिति पनि राष्ट्रको लागि धेरै नोक्सानदायी हुने थियो । त्यो अवस्था आउनुबाट नेपाल जोगिएको छ । यस हिसाबले पनि भ्रमणलाई फलदायी नै मान्नुपर्छ ।
नेपाल चीन सम्बन्धको कुरा गर्दा नेपाल भारत सम्बन्धको विषय पनि जोडिएर आउँछ । तर नेपाल–चीन सम्बन्धमा भारतको जस्तो विवाद भने आउँदैन । नेपाल–भारत सम्बन्ध विवादमा आइरहनुमा धेरै कारण छन् । विशेषगरी भारतीय सत्ता र त्यहाँका मिडियाले नेपालले भारतसितको सम्बन्धलाई प्राथमिकता दिनुपर्नेमा नेपाल चीनतिर ढल्केको आरोप लगाउने गरेका छन् । त्यति मात्रै होइन नेपालमा भारतविरोधी भावना बढी भड्किएको भन्ने आरोप नि लगाउँछन् । वास्तविकता के हो ? विश्लेषण गर्नुपर्ने गम्भीर विषय छ ।
स्वभाविक रूपमा इतिहास धर्मसंस्कृति आदिका कारण पनि चीनभन्दा भारत नेपालको निकट छ र निकट सम्बन्ध हुनुपर्ने हो । अझ त्यसमा भौगोलिक विकटता र भाषागत जटिलताले पनि चाहेर पनि चीनसँग सोचेजस्तो निकटता सम्भव छैन । तर भारतले नेपालप्रति अवलम्बन गरेको नेपाल विरोधी नीतिका कारणले नेपाल र भारतको सम्बन्ध सोचेजस्तो सुमधुर र आत्मीय हुन नसकेको हो । भारत सन १९४७ मा अंग्रेजको उपनिवेशबाट स्वतन्त्र भयो, तर उसले आफू स्वतन्त्र भएपछि छिमेकी मुलुकप्रति समानतामा आधारित स्वतन्त्र विदेश नीति अबलम्बन गरेन । स्वतन्त्र भारतले पनि अंग्रेजहरूकै जस्तो औपनिवेशिक विदेश नीतिलाई निरन्तरता दियो । छिमेकी मुलुक नेपाल, भुटान, माल्दिभ्स, श्रीलंकाजस्ता छिमेकी मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताकाप्रति संवेदनशील हुनै सकेन । त्यति मात्रै होइन छिमेकी मुलुकलाई आफ्नो अधिनस्थ राज्यको जस्तो हेपाहा व्यवहार गर्ने, छिमेकी मुलुकहरूप्रति हदैसम्म अनुदार हुनु नै अहिलेको समस्या हो ।
भारतले नेपालप्रति भुटानको जस्तै नीति अवलम्बन गर्ने अभ्यास गर्दै आएको छ । नेपालको स्वतन्त्रता र सार्वभौमसत्तालाई कुण्ठित गरी नेपालललाई आफ्नो कठपुतली देश बनाउने भारतको नीति परिवर्तन गरी नेपालप्रति मैत्रीपूर्ण नीति अबलम्बन नगरेसम्म नेपाल–भारत सम्बन्ध विवादित भइरहन्छ । यो कुरा बुझेर नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताको सम्मान गर्ने नीति अवलम्बन गरेको अवस्थामा नेपाल–भारत सम्बन्ध विवादित हुँदैन । नेपालमा भारतविरोधी भावना पनि मडारिँदैन । यो कुरा भारतले बुझ्न र भारतलाई स्पष्ट बुझाउनु आवश्यक छ । भारतीय सत्ताले जहिलेदेखि नेपालको यो भावनाको कदर गर्छ त्यहिलेदेखि नै नेपाल–भारत सम्बन्धका असजिला आयामहरू स्वतः निष्क्रिय हँुदै जान्छन् ।
नेपाल–चीन सम्बन्ध रणनीतिक महत्वको छ । दुवै देशको स्वतन्त्रता, सार्वभौमसत्ता र सुरक्षा एक अर्कासँग जोडिएको छ । ऐतिहासिक कालदेखि नै नेपालले चीनको स्वतन्त्रता, भौगोलिक अखण्डता र सुरक्षाको सम्बन्धमा विशेष भूमिका निभाउँदै आएको छ । अंग्रेजहरूले भारतलाई उपनिवेश बनाउने र त्यसपछि तिब्बत हुँदै चीनसम्मलाई उपनिवेश बनाउने योजनाका साथ अघि बढेका थिए । तर भीमसेन थापाको प्रधानमन्त्रीत्व कालमा नेपालले सम्राज्यवादी विरोधी नीति अवलम्बन गरेर अंग्रेजलाई सफल हुन दिएन । त्यसको लागि अंग्रेजले नेपालमाथि आक्रमण पनि गर्यो, जसका कारण अन्यायपूर्ण सुगौली सन्धी गर्नुपर्यो । नेपालले यो सन्धीबाट आफ्ना धेरै भूभाग गुमाउनु पनि पर्यो ।
अर्कोतिर एकपटक अमेरिकाले खम्पा विद्रोहलाई उचालेर तिब्बतमा अस्थिरता ल्याउने र चीनको सार्वभौमिक अखण्डता र सुरक्षामा ठुलो समस्या खडा गर्न खोजेको थियो । तर यो मामिलामा नेपाल एक चीन नीतिमा दह्रोसँग उभिएकोले त्यो षड्यन्त्र पनि असफल भयो । त्यसैगरी चीनले पनि नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र अखण्डताका लागि महत्वपूर्ण भूमिका निभाउँदै आएको छ । चीन–नेपाल दुवैले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र सुरक्षासँग जोडिएको संवेदनशीलतालाई प्राथमिकतामा राखेका छन् । त्यसैले चीनसँगको सम्बन्धमा नेपालले राष्ट्रहितका लागि पनि उच्च प्राथमिकतामा राख्नुपर्दछ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणले पनि चीनसँगको महत्वपूर्ण सम्बन्धलाई थप पुष्टि गरेको छ । चीनले पनि बुझेको छ, कि नेपालमा अस्थिरता भयो भने वा नेपाल तलमाथि भयो भने तिब्बत रहँदैन र चीनको सुरक्षामा खतरा आउँछ भन्ने चीनले बुझेको छ । त्यस्तै गरेर तिब्बत तलमाथि भयो भने, नेपालको सुरक्षामा ठुलो चुनौती आउँछ र देशको स्वतन्त्रता र सार्वभौमसत्तामा नै ठुलो चुनौती आउँछ भन्ने हामी नेपालीले पनि बुझ्नु परेको छ । जे होस् प्रधानमन्त्री ओलीको यो चीन भ्रमणले नेपाल–चीन सम्बन्धमा खलल ल्याउन पश्चिमा र दक्षिणी शक्तिले जे षड्यन्त्र गरेका थिए, त्यो असफल भयो । प्रधानमन्त्रीको यो भ्रमणले नेपाल–चीन सम्बन्धमा दरार ल्याएर आफ्नो दुनो सोझ्याउन खोज्नेहरूलाई गतिलो जवाफ दिएको छ ।
प्रतिक्रिया