शिक्षा र अनुसन्धानमा लगानी गर्न नसक्ने मुलुक सधैँ वैदेशिक ऋण र अनुदानमा निर्भर रही गरिबीको साङ्लोमा जकेडिन्छ । त्यसैले, नेपालले पनि स्टेम शिक्षा (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) मा लगानी बढाउनु आवश्यक छ
धन उत्पादन गर्नु अर्थतन्त्रका विविध आयामहरूमध्ये एक हो । अर्थतन्त्रले मुख्यतः उत्पादन, वितरण र उपभोगको सम्बन्धमा अपनाइएको विशिष्ट प्रणालीलाई जनाउँछ । धन उत्पादन गर्न ज्ञान चाहिन्छ । हामीले हाम्रा उत्पादन, वितरण र उपभोग प्रणालीलाई जति बढी ज्ञानमा आधारित बनाउन सक्छौँ, त्यति नै मात्रामा हामी धन उत्पादन गर्न सक्छौँ । मानव जातिले पहिलेदेखि नै कुनै न कुनै स्तरको ज्ञानको सहायताले अर्थोपार्जन गर्दै नआएका होइनन् । तर, ‘ज्ञान अर्थतन्त्र’ अर्थात् ज्ञानमा आधारित अर्थतन्त्र जेलाई भनिएको छ, त्यसले विशिष्ट अर्थ राख्छ ।
सन् २००६ मा विश्व बैंकले प्रकाशित गरेको ‘द नलेज इकोनोमी ः द केएयम मेथडोलजी एन्ड वल्र्ड ब्यांक अपरेसनस्’ शीर्षकको अध्ययनपत्रले ज्ञानको दिगो प्रयोग एवं सिर्जनालाई आर्थिक विकासको केन्द्रमा राख्ने अर्थतन्त्र नै ज्ञान अर्थतन्त्र हुने दलिल पेस गरेको छ । अर्थशास्त्री कार्ल जे. डाल्म्यान र ज्ञान अर्थतन्त्रका विज्ञ डेरेक एचसी चेनले तयार पारेको उक्त दस्तावेज अगाडि लेख्छ– ‘ज्ञानलाई आर्थिक वृद्धिका लागि मुख्य यन्त्रका रूपमा प्रयोगमा ल्याउने अर्थतन्त्र नै ज्ञान अर्थतन्त्र हो । यो यस्तो अर्थतन्त्र हो, जहाँ आर्थिक विकासलाई बढोत्तरी गर्न प्रभावकारी रूपले ज्ञानको प्राप्ति, सिर्जना, सम्प्रेषण र प्रयोग गरिन्छ ।’
विश्व बैंकले प्रस्तुत गरेको उक्त अध्ययनपत्रले ज्ञान अर्थतन्त्रका मुख्य ४ स्तम्भलाई महत्वका साथ अघि सारेको छ– आर्थिक प्रोत्साहन तथा संस्थागत व्यवस्था, शिक्षित एवं दक्ष जनशक्ति, प्रभावकारी नवप्रवर्तनसम्बन्धी प्रणाली, आधुनिक तथा पर्याप्त सूचना पूर्वाधार । वास्तवमा, यी ४ वटै ज्ञान अर्थतन्त्रका स्तम्भहरू उत्तिकै महत्वपूर्ण देखिन्छन् । साधनस्रोतको चुस्त परिचालन एवं वितरण गरी सिर्जनात्मकता र व्यापक रूपमा उत्पादनवद्र्धक सिर्जनालाई उत्प्रेरित गर्ने नीति तथा संस्थाहरूको उपलब्धता सुनिश्चित गरी ज्ञान अर्थतन्त्रको प्रवद्र्धन गर्न सकिन्छ ।
प्रोत्साहन र संस्थागत वातावरणमा उपयुक्त भूमिका खेल्न सक्ने शिक्षित तथा दक्ष जनशक्तिको पनि उत्तिकै आवश्यकता पर्छ । विश्वभरि नै ज्ञान अर्थतन्त्रमा शिक्षा र अनुसन्धानमा व्यापक लगानी गर्नुपर्नेमा जोड दिइने कारण स्पष्टै छ– सिर्जना र उत्पादनशीलता बढाउने ध्येय । जुन देशले शिक्षामा व्यापक लगानी गर्छ, त्यहाँ सिक्ने–सिकाउने, नवप्रवर्तनात्मक र निरन्तर सुधारोन्मुख कार्य गर्ने वातावरण निर्माण हुन्छ । यसबाट बल्ल आर्थिक वृद्धिदर जनस्तरको कमाइमा आधारित हुन्छ ।
शिक्षा र अनुसन्धानमा लगानी गर्न नसक्ने मुलुक सधैँ वैदेशिक ऋण र अनुदानमा निर्भर रही गरिबीको साङ्लोमा जकेडिन्छ । त्यसैले, नेपालले पनि स्टेम शिक्षा (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) मा लगानी बढाउनु आवश्यक छ । साथै, सूचना तथा सञ्चार प्रविधिको शिक्षालाई विद्यालय तहदेखि नै उच्च प्राथमिकता दिनुपर्छ । सञ्चारको पाटोअन्तर्गत मानविकीको शिक्षालाई पनि विद्यालय तहदेखि नै गहन ढंगले रोपण गर्ने शिक्षा नीति हुँदा नै वैज्ञानिक एवं प्राविधिक क्षमताका साथै मानवीय, नैतिक एवं सामाजिक जिम्मेवारीबोध गर्ने समालोचकीय चेतको विकास हुन सम्भव हुन्छ ।
त्यस्तै, ज्ञान अर्थतन्त्रको विकास गर्ने प्रभावकारी नवप्रवर्तन प्रणाली पनि अत्यावश्यक छ । ताकि उपलब्ध साधनस्रोत र प्रोत्साहनमूलक वातावरणको उपयोग गरी शिक्षित तथा दक्ष जनशक्तिले आविष्कारमूलक एवं उत्पादकत्व बढाउने नयाँ कार्य गर्न सकोस् । नेपालमा अबदेखि बौद्धिक सम्पति बढाउने व्यवसाय र वैज्ञानिक एवं प्राविधिक नवप्रवर्तनलाई प्रोत्साहित गर्ने ठोस नीति बन्नुपर्छ ।
ज्ञान अर्थतन्त्रको अर्को त्यत्तिकै महत्वपूर्ण स्तम्भका रूपमा रहेको आधुनिक तथा पर्याप्त सूचना पूर्वाधारको निर्माणमा हामी जति ढिलाइ र कमी गर्छौं, त्यति नै पछि पर्छौं । सूचना र ज्ञानको प्रभावकारी उत्पादन, वितरण र उपयोगमा उक्त पूर्वाधारको निर्णायक भूमिका रहन्छ । साथै, सूचनाको बाढीबाट गुज्रिरहेको वर्तमान विश्वमा विज्ञदेखि जनस्तरसम्मै सूचना प्रशोधनको क्षमता वृद्धि गर्न समेत यस पूर्वाधारले ठूलो भूमिका खेल्छ ।
यसप्रकार, सर्वपहुँचयोग्य एवं गुणस्तरीय शिक्षा, विज्ञान र अनुसन्धान, बौद्धिक सम्पत्तिका सम्बन्धमा अनुकूल अवस्थाहरूको सिर्जना, वित्तीय पहुँचको सहजीकरण, उपयुक्त नीतिगत एवं कानुनी सहजीकरण गर्दै नवप्रवर्तनात्मक वातावरणलाई उच्च प्राथमिकता दिएर मात्र ज्ञान अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउन सकिन्छ । साधनस्रोतको प्रचुरता भएर पनि ज्ञान अर्थतन्त्रको विकास हुन नसक्दा हिराखानीमा धनी भएर पनि कैयौँ अफ्रिकी मुलुक गरिबी र गृहयुद्धको चपेटामा परेको सत्य उदाहरणबाट हामीले किन नसिक्ने ?
आजको सूचना तथा सञ्चार प्रविधि–जडित विश्वमा ज्ञानको प्राप्ति, सिर्जना, सम्प्रेषण र प्रयोग स्वभावतः विश्वव्यापी नै हुन्छ । ज्ञानलाई धन उत्पादन तथा आर्थिक प्रगतिको प्रमुख साधनका रूपमा प्रयोग गने नीति ज्ञान अर्थतन्त्रको नीति हो । नेपालजस्तो भूपरिवेष्ठित र एउटा छिमेकी राष्ट्रमा ज्यादै असन्तुलित रूपले निर्भर रहेको अर्थतन्त्रले ज्ञान अर्थतन्त्रको नीति अपनाउनु अत्यन्त सार्थक हुन्छ । किनभने यसले नेपालको आर्थिक पहुँचलाई विश्वव्यापी रूपमा विस्तार गर्नेछ । जस्तैः आइटी तथा सफ्टवेयर निर्माणलाई बढावा दिएर डलर भित्र्याउन नेपाल समुद्री मार्गसँग जोडिएको हुनुपर्छ भन्ने बाध्यता कहाँ पर्छ ?
पृथ्वीमा साधनस्रोतविहीन कुनै मुलुक हुँदैन । नेपालमा पनि जनजीवन सुसम्पन्न बनाउन पुग्दो साधनस्रोत छन् । अपर्याप्तता भन्ने चिज हाम्रो मानसिकताको उपज हो । हाम्रो आफ्नै अन्तर्दृष्टिको कमीले गर्दा अन्तर्निहित क्षमता र प्रकृतिमा छरपष्ट रूपमा रहेका साधनस्रोतको पहिचान र परिचालन गर्न नसकेका हौँ । जे–जति बुझेका वा उच्चारण गरेका छौँ, त्यसमा बढी सतहीपन छ भन्दा असुन्तलित नहोला । नैतिक रूपले अत्यन्त जिम्मेवार तथा राजनीतिक रूपले अत्यन्त चिन्तनशील (भावुक होइन), नवप्रवर्तनात्मक र प्रतिवद्ध नेतृत्वपंक्ति जति खट्किए पनि आशावादी मनोबलका साथ प्रयत्नशील रहनु आजको आवश्यकता हो । किनकि नेपालीसँग पनि ध्यान, ज्ञान र विज्ञानको प्रकृतिप्रदत्त क्षमता निहित छ । त्यसैले, हामी पनि ज्ञान राजनीति, ज्ञान अर्थतन्त्र र ज्ञान संस्कृति जस्ता प्रणाली निर्माण गरी उन्नत वंश बन्न सक्छौँ ।
समाज समग्रतामा उन्नत हुन नैतिक रूपले अत्यन्त जिम्मेवार राजनीतिक नेतृत्व पंक्तिको भूमिका अपरिहार्य हुन्छ । हाम्रो सन्दर्भमा राजनीतिक रूपले चिन्तनशील नेतृत्वको अर्थ हुन्छ– नेपाली समाजको मौलिक विश्लेषण गर्ने हामी स्वयं सरोकारवालाको मानसिक कसरत । चिन्तनको मामलामा पनि हामी कतै परनिर्भर छौँ कि ! भन्ने प्रश्न नमिठो लागे पनि हामीले भोगिरहेको दीर्घकालीन राजनीतिक, आर्थिक र सामाजिक संकटका दृष्टिकोणबाट अस्वाभाविक र अर्थहीन भने छैन । त्यस्तै, नवप्रवर्तनात्मक र प्रतिबद्ध राजनीतिक नेतृत्वको अर्थ हुन्छ– विभिन्न तहमा क्रियाशील राजनीतिक नेतृत्वपंक्तिको सिर्जनात्मकता तथा प्रयोगात्मक लगनशीलता र वचन पूरा गर्ने मानसिक तत्परतासहितको जबाफदेही नेतृत्व । यस्तो नेतृत्व विकास गर्न ज्ञानमा अगाध आस्था चाहिन्छ, जुनबिना विकास र शान्ति असम्भव हुन्छ । मानवको भौतिक जीवन आवश्यकता, श्रम र धन उत्पादनको अनवरत शृंखलाद्वारा सञ्चालित हुन्छ । बाँच्न र कर्म गर्न धन चाहिन्छ । धन ठिक तरिकाले उत्पादन, वितरण र उपयोग गर्न उचित ज्ञान चाहिन्छ ।
तर, मानवको महत्वाकांक्षी स्वभाव र दिग्भ्रमित आस्था वा अज्ञानका कारण धन संकेन्द्रित गर्नुको साथै निजी शक्ति प्रवद्र्धन गर्ने अस्वस्थ मार्ग अबलम्बन गरिनाका कारण समाजमा विकृति र विसंगतिको शृंखला चल्छ । यदि मानसिक र शारीरिक श्रमलाई यथाशक्य स्वस्थ ढंगले परिचालन गरी धन उत्पादन गर्न अन्तस्करणको चेतना, नीति र रणनीतिमा टेकेर कर्म गर्ने हो भने सुशासनको अनुभूति पट्यारलाग्दो मन्त्रोचारणमा सीमित हुनेछैन । धन भनेको श्रमको प्रतिफल हो । श्रमको उचित व्यवस्थापन र परिचालनबाट बढी धनको उत्पादन हुन्छ । श्रमलाई बहुसंख्यक श्रमजीवी जनसमुदायको समृद्धिसँग गाँसेर कति उचित व्यवस्थापन र परिचालन गरिएको छ भन्ने तथ्यले राजनीतिक प्रणालीको चरित्रसमेत निर्धारण गर्छ । त्यसैले, श्रम र मानव विकासबीच रहेको अन्योन्याश्रित सम्बन्धलाई बुझेर वैज्ञानिक ज्ञान र मानवीय अन्तर्दृष्टिमा आधारित भएर अपनाइने अर्थतन्त्र वास्तवमै ज्ञान अर्थतन्त्र हो भन्नु तर्कसंगत देखिन्छ ।
नेपाल आर्थिक समृद्धिको यात्रामा महत्वपूर्ण मोडमा छ । राष्ट्रले विभिन्न चुनौतीहरू पार गर्न र आफ्ना असीमित सम्भावनाको उपयोग गर्न खोजिरहेको अवस्थामा ज्ञान अर्थतन्त्रको रणनीतिलाई अँगाल्नु हाम्रो एक अवश्यम्भावी कदम पनि हुनेछ । किनभने नागरिक जीवन समृद्ध पार्दै दिगो विकास सुनिश्चित गर्न ज्ञान अर्थतन्त्रले गहकिलो भूमिका खेल्न सक्छ । ज्ञान अर्थतन्त्रले नेपाली समाजको आर्थिक मात्रै होइन, राजनीतिक, सामाजिक र सामाजिक रूपान्तरणको कुञ्जीका रूपमा समेत भूमिका खेल्न सक्छ । यसबाट नेपाली समाजको जीवनस्तर मात्रै होइन, नैतिक र मानसिक रूपान्तरणमा समेत विशेष टेवा पुग्नेछ ।
निष्कर्षमा, असीमित सम्भाव्यतायुक्त नेपालको सक्रिय र सुतेको मानव पुँजीको प्रगतिप्रतिको तीव्र आकांक्षासँग ठ्याकै मेल खाने ज्ञान अर्थतन्त्रलाई दृढतापूर्वक अंगाल्न आवश्यक सबै कामकारबाही अगाडि बढाउनु नेपालको समग्र समृद्धिको दृष्टिले बुद्धिमानी ठहर्नेछ ।
प्रतिक्रिया