उहाँ भन्नुहुन्थ्यो – राजा र दलबीच एकता र सहकार्य हुने र बन्ने स्थिति तयार गर्न नेपालको संविधान २०४७ लाई पुनस्र्थापित गर्नुपर्छ । विदेशीहरूको अत्यधिक चलखेल भएको नेपालले आन्तरिक द्वन्द्व धान्न सक्दैन । मुलुकको स्वतन्त्रता र सार्वभौमसत्ता नै खल्बलिन सक्छ ।
नेपालको न्यायक्षेत्रका मूर्धन्य व्यक्तित्व दमननाथ ढुंगानाले हामीलाई छोडेर जानुभयो । उहाँसँग मेरो लामो संगत र सहकार्य थियो । सर्वोच्च अदालतमा कानुनी अभ्यासका लागि म २०४० सालमा काठमाडौँ आएँ । जतिबेला म सर्वोच्च अदालतमा ‘कोर्ट अभ्यास’ गर्न थालँे, त्यतिबेला दमननाथ ढुंगाना कानुन व्यवसायीको रूपमा काम गर्नुहुन्थ्यो । पेसामा दायाँबायाँ नगर्ने हुँदा उहाँ कानुन व्यवसायी र न्यायधीशको बीचमा अनुकरणीय र सम्मानित हुनुहुन्थ्यो ।
उहाँको बहस गर्ने कला र तर्क प्रभावशाली थियो । त्यतिबेला उहाँको बहस सुनेर म आफ्नो बहस कलाको विकास गर्थें । मेरोलागि उहाँ आदर्श व्यक्ति हुनुहुन्थ्यो । राजनीतिक हिसाबले म कम्युनिस्ट राजनीतिमा थिएँ, उहाँ कांग्रेसको राजनीतिमा हुनुहुन्थ्यो । उहाँ कम्युुनिस्टको अति आलोचक हुनुभएको हुँदा कहिलेकाहीँ उहाँ र मेरो बीचमा वादविवाद पनि हुन्थ्यो, तर उहाँप्रति मेरो उच्च सम्मान थियो ।
ढुंगानासँग धेरै निकट हुने मौका भने जेल जीवनमा मिल्यो । २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह आन्दोलनको घोषणा गरेको थियो । प्रजातन्त्रका लागि जसले आन्दोलन गरे पनि सहयोग पुर्याउने हाम्रो पार्टीको नीतिअनुसार म पनि सहभागी भएँ । त्यतिबेला म विद्यार्थी संगठन नेपाल प्रगतिशील विद्यार्थी युनियनको अध्यक्ष भएकोले उपाध्यक्ष उपेन्द्र यादवसहितका साथीहरू लिएर आन्दोलनमा सहभागी भयौँ र गिरफ्तारी पनि दियौँ ।
हामीलाई पक्राउ गरेर हनुमानढोकामा राखियो । त्यसपछि केन्द्रीय कारागारमा पुर्याइयो । दमन दाईलाई पनि केन्द्रीय कारागारमै राखिएको रहेछ । त्यहाँ रहँदा बस्दा उहाँसँग मेरो अझ बढी निकट सम्बन्ध भयो । म उहाँसँग नेपालको राजनीतिबारे प्रश्न गर्थें, उहाँ खुलारूपमा जवाफ दिनुहुन्थ्यो । उहाँलाई नेपाली कांग्रेसले आह्वान गरेको सत्याग्रह आन्दोलनकै क्रममा जेलमा ल्याइएको रहेछ ।
तर उहाँ त्यो आन्दोलनको विपक्षमा विचार व्यक्त गर्नुहुन्थ्यो । सत्याग्रह बिपीले लिएको राष्ट्रिय मेलमिलापको नीति विपरीत रहेको उहाँको भनाइ थियो । राजासँग नेपाली कांग्रेसको मेलमिलाप हुन लागेको अथवा समन्वय हुन लागेको बेला भएको यो आन्दोलन ठिक भएन भन्नुहुन्थ्यो । उहाँमा सधैँ राजा र राजसंस्थाप्रति आस्था र विश्वास रहेको यो घटनाले पुष्टि गर्दथ्यो ।
उहाँ २०४८ सालमा संसद्मा निर्वाचित हुनुभयो, तर कांग्रेस सरकार बन्दा पनि उहाँले राम्रो ठाउँ पाउनुभएन । त्यतिबेला उहाँलाई कानुनमन्त्री बनाइदिएको भए न्यायपालिकामा सुधार गर्न महत्वपूर्ण भूमिका निभाउन सक्नुहुन्थ्यो । उहाँलाई सभामुख बनाइयो । सभामुखमा पनि उहाँको भूमिका अत्यन्त समन्वयकारी थियो । उहाँले एक आदर्श सभामुखको इतिहास बनाएर जानुभयो । उहाँले मानवअधिकार, नागरिक अधिकारको आन्दोलनमा महत्वपूर्ण भूमिका निभाउनुभएको थियो ।
उहाँ राजा र दल नमिली मुलुकले निकास पाउन सक्दैन भन्नुहुन्थ्यो । उहाँको यो भनाइ २०४६ सालपछि सत्य सावित भयो । राजा र दलहरू मिलेर त्यतिबेला आन्तरिक द्वन्द्वलाई निकास दिएका थिए । उहाँमा नेपाली राजतन्त्र र राजसंस्थाप्रति अगाध आस्था र विश्वास थियो । २०१७ सालको काण्ड घटाउने राजाहरूले कसरी जनतालाई अधिकार दिन्छन् ? भनेर म प्रश्न गरिरहन्थे । तर उहाँ २०१७ सालको घटना हुनुको पछाडि राजा मात्र दोषी छैनन्, कांग्रेसको पनि दोष छ भन्नुहुन्थ्यो ।
२०१५ सालमा सत्तामा गएदेखि नै कांग्रेसले सत्ताको चरम दुरुपयोग गर्न थाल्यो । यसबाट देशको राजनीतिप्रति जनताको असन्तुष्टि धेरै बढ्दै गएको थियो । जनताको भावना विपरीत कांग्रेसले सत्ता चलाउन खोज्यो । कांग्रेसको यस्तो गतिविधि र विचारबाट देशको स्वतन्त्रता र सार्वभौमसत्ता नै तलमाथि हुने अवस्था सिर्जना भएकोले राजाले २०१७ सालमा संसद् विघटन गरेर कांग्रेसलाई सत्ताबाट अपदस्थ गरेको उहाँको तर्क थियो । २०१७ सालको घटनामा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको पनि हात छ । बिपीले नेहरूका सबै निर्देशन मान्न स्वीकार नगरेपछि उनीहरूले राजालाई बिपीविरुद्ध उचालेका थिए । २०१७ सालको काण्डमा राजा मात्र होइन कांग्रेस र भारतीय सत्ता पनि जिम्मेवार छ, भन्ने उहाँको मूल्यांकन र विश्लेषण थियो ।
नेपालको राजतन्त्र र राजाप्रति म आलोचक थिएँ, उहाँ भने यो संस्थाप्रति सद्भाव राख्नुहुन्थ्यो । राणाको कैदमा रहेका राजा र शाहवंशीय राजतन्त्रलाई २००७ सालमा मुक्त गरे पनि त्यसपछि राजतन्त्रले नेपाली जनताको जनाधिकार खोस्यो । त्यस्तो राजा र राजतन्त्रमाथि कसरी विश्वास गर्नु ? भनेर म प्रश्न गर्थें । दलहरूका लागि राजा र राजतन्त्र आवश्यक छ कि छैन, यो अर्को बहसको विषय हो, तर राष्ट्र र देशको स्वतन्त्र र राजनीतिक स्थिरता, सार्वभौमसत्ता संरक्षणको लागि राजतन्त्र र राजाको आवश्यकता छ भन्नुहुन्थ्यो उहाँ । नेपालको राजतन्त्र अरू देशको राजतन्त्रजस्तो होइन, यसले नेपाल निर्माण गरेर आएको हो । शाहवंशीय राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरिदिएको भए यो देश कि त बृटिसको उपनिवेश बन्ने थियो, कि त स्वतन्त्र भए पनि यो देश भारतको एउटा प्रान्तसरह बनेको हुन्थ्यो । राजालाई शासन गर्नका लागि देश चाहिएको छ, भने हामीलाई देश बचाउन राजा र राजतन्त्र चाहिएको छ, भन्नुहुन्थ्यो उहाँ ।
२०६२/०६३ को जनआन्दोलनपछि गणतन्त्र घोषणा गरिएसँगै त्यसको उहाँ कठोर आलोचक हुन थाल्नुभयो । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डताको मूल खम्बाको भूमिका राजा र राजतन्त्रले निभाउँदै आएको थियो । अब देशमा भाँडभैलो भएर जान्छ । मियोबिनाको दाइँजस्तो हुन्छ । अब राजा र राजतन्त्रबिना नेपालको राजनीति अस्थिर भएर जान्छ । विदेशीको चलखेल बढेर जान्छ भन्ने उहाँको विश्लेषण र मूल्यांकन थियो । अहिले उहाँले भनेको कुराहरू संझदा घटनाहरू पनि उहाँले भने जस्तै जस्तै भइरहेका छन् ।
अब के गर्दा उपयुक्त हुन्छ भनेर म प्रश्न गर्थें । उहाँ भन्नुहुन्थ्यो – राजा र दलबीच एकता र सहकार्य हुने र बन्ने स्थिति तयार गर्न नेपालको संविधान २०४७ लाई पुनस्र्थापित गर्नुपर्छ । विदेशीहरूको अत्यधिक चलखेल भएको नेपालले आन्तरिक द्वन्द्व धान्न सक्दैन । मुलुकको स्वतन्त्रता र सार्वभौमसत्ता नै खल्बलिन सक्दछ ।
उहाँले न्यायपालिकालाई सही दिशा र गति दिन महत्वपूर्ण भूमिका निभाउनुभयो । सर्वज्ञरत्न तुलाधर अध्यक्ष हुँदा उहाँ नेपाल बार एसोसिएसनको महासचिव हुनुहुन्थ्यो । उहाँले न्यायपालिकामा बढ्दो विकृति र विसंगति हटाउन र न्यायपालिकाको स्वतन्त्रता बचाउनका लागि महत्व भूमिका निभाउनुभयो । उहाँको कार्यकाल नेपाल बार एसोसिएसनको गरिमा र महत्व बढाउन तथा स्थापित गराउन महत्वपूर्ण भूमिका रहेको छ । न्यायपालिकामा न्यायाधीश र कर्मचारी नियुक्ति गर्दा राजनीतिक भागबन्डा भएको छ, त्यसलाई अन्त्य गर्नु जरुरी छ । लोकसेवा आयोगजस्तै न्यायसेवा आयोग खडा गरेर सबै तहका न्यायाधीश र न्यायसेवाका कर्मचारीहरू त्यही न्यायसेवा आयोगको परीक्षा प्रणलीद्वारा नियुक्त गर्नुपर्दछ भन्ने उहाँको भनाइ थियो ।
विश्वनाथ उपाध्याय पछिका प्रायः सबैजसो प्रधानन्यायाधीशहरूले न्यायपालिकालाई कमाउने थलो बनाए । त्यो अबस्थाप्रति उहाँ दिग्दारी व्यक्त गर्नुहुन्थ्यो । उहाँ न्यायपालिकामा बढेको विसंगति र विकृतिलाई नियन्त्रण गर्न शक्तिशाली न्यायिक अनुसन्धान आयोग खडा गर्नुपर्छ, जसले न्यायिक अख्तियार दुरुपयोग गर्ने जिल्ला न्यायाधीशदेखि सर्वोच्च अदालतका न्यायाधीशसम्मलाई कारबाही गर्न सकोस् भन्ने चाहानुहुन्थ्यो । उहाँ यस्तो शक्तिशाली आयोग चाहिन्छ भन्नुहुन्थ्यो । नयाँ आयोग गठन गर्न नसके यो अधिकार अहिले भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थपिदिए पनि हुन्छ भन्ने उहाँको राय थियो ।
संसद्मा बहुमत हुँदाहुँदै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गर्नुभयो । यो संसद् विघटनको कटुआलोचक हुनुहुन्थ्यो उहाँ । यस विषयमा सर्वोच्चमा रिट पर्दा प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले संसद् विघटनलाई सदर गरिदिनुभयो । पछि प्रधानमन्त्री मनमोहन अधिकारीको विरुद्ध संसद्मा अविश्वासको प्रस्ताव आएपछि उहाँले पनि संसद् विघटन गर्नुभयो । यो संसद् विघटनविरुद्ध पनि रिट पर्यो तर अदालतले यो संसद् विघटनलाई जायज ठहर्याएन । प्रधान्यायाधीश विश्वनाथ उपाध्यायले संसद् पुनःस्थापना गरिदिनुभयो ।
यो एउटा निर्णयले २०४६ सालको राजनीतिक परिवर्तनका उपलब्धिहरूलाई संस्थागत गर्ने प्रक्रियामा ठुलो क्षति पुग्यो । त्यसपछि शेरबहादुर देउवा प्रधामन्त्री बन्नुभयो । गिरिजाप्रसाद कोइरालाले गरेको संसद् विघटनलाई सदर गर्ने, तर मनमोहन अधिकारीले गरेको विघटनलाई बदर गर्ने न्यायपालिकाको निर्णयप्रति प्रश्न गर्दा दमन दाईले खुलेर भन्नुहुन्थ्यो, ‘विश्वनाथ उपाध्यायको राजनीतिक पृष्ठभूमि कांग्रेस नै हो ।’ विश्वनाथजी आवश्यकताभन्दा बढी कांग्रेस हुन खोजेर यस्तो भएको हो भनी आलोचना गर्नुहुन्थ्यो ।
सेन्टर जेलमा रहँदा उहाँसँग जोडिएका रोचक प्रसंगहरू छन् । २०४२ सालको एकरात १२ बजे दमननाथ ढुंगाना भनेर जेलभित्र माइकिङ गरियो । जेलभित्र धेरै राजबन्दीहरू राखिएकोले उनीहरूलाई भेट्न आउने मानिस आउँदा माइकिङ गरेर बोलाइन्थ्यो । त्यसरी उहाँलाई मध्यरातमा बोलाएपछि हामीलाई चिन्ता लाग्यो । हामी सबै उहाँको कोठामा गयौँ । हामी चिन्तित हुनुको कारण थियो ।
पञ्चायती कालमा जेल सरुवा गर्ने नाममा व्यवस्था विरोधीलाई मध्यरातमा जेलबाट निकालेर बाहिर कतै लगी गोली ठोेकेर मारिन्थ्यो । तपाईंलाई यति बेला किन बोलाइएको ? टुंगो नलागी हामी तपाईंलाई जेल बाहिर जान दिँदैनौँ भन्यौँ । उहाँले बडो धैर्यसाथ भन्नुभयो – त्यस्तो केही होइन कांग्रेसका नेता र राजाबीच वार्ताका लागि बोलाइएको होला । दमन दाईको व्यक्तित्व पहिल्यैदेखि समन्वयकारी थियो भन्ने यो घटनाले पनि देखाउँछ । दमन दाइसँगका यस्ता धरै स्मरणहरू छन् । न्याय क्षेत्रले सधैँ सम्झिरहने आदरणीय स्वर्गीय दमन दाइप्रति हार्दिक श्रद्धाञ्जली ।
प्रतिक्रिया