नेपालमा सामाजिक भ्रष्टीकरणको जरो

दलका नेताहरू सत्ताबाट बाहिरिएपछि भ्रष्टाचारको विरोध चर्को रूपले गरेको देखिन्छ । तिनै नेताहरू विरोध गरिसकेर सत्तामा पुग्दा पुनः भ्रष्टाचार गर्न थाल्छन् । भ्रष्टाचारको विरोध गरेकोमा ताली बजाउने पनि त्यतिकै भेटिन्छन् । किन ताली बजाउनु र ? जबकी आउने जाने र खाने पालोफेरो हो भन्ने बुझ्दा बुझ्दै ।

कृष्ण बोहरा

हामी भ्रष्टाचारको विरोध गर्दछौँ । नेताहरूको ठुलाठुला भ्रष्टाचारका काण्डहरू बाहिर आइरहेका छन् । यो थाहा पाएर हामी उनीहरूसँग आक्रोशित पनि हुन्छौँ । सबैतिर भष्टाचारको विरोध भइरहेको छ । सामाजिक सञ्जालको भित्तो यही भ्रष्टाचारका कुराले रंंगिएको पाउँछौँ । तैपनि भ्रष्टाचार एक रत्ति घटेको छैन । किन होला ?

तपाईं हामी ठुला आलिसान महलमा बस्ने र प्रशस्त धन सम्ंंपत्ति भएकालाई विशेष सम्मान गर्दछौँ । परिश्रम गर्ने तर झुपडीमा बस्नेलाई कसले गन्छ ? सबैले सम्पत्ति भएकालाई नै गन्ने हुन् । यसले गर्दा मानिसहरू जसरी हुन्छ धन कमाउन लालायित हुन्छन् । धन भएपछि मान पाइन्छ, सान पाइन्छ, इज्जत पाइन्छ, सुख सुविधा पाइन्छ भने त्यस्तो धन कमाउन मानिस किन पछि पर्दछ ? तर अवसर पाउनुपर्यो कुरो त्यति हो । जब मानिस सत्ता र शक्तिमा पुग्छ त्यो अवसर पनि त्यतिखेर जुर्छ ।

हामीले देखेका छौँ हिजोका गरिब नेताहरू पनि आजकल महलमा बस्न सक्ने भएका छन् । उनीहरूको हैसियत मात्र बढेन बरु सम्पत्ति पनि बढ्यो । राजनीतिमा गरिबको उन्नतिको नारा नदिई, देश हितको भाषण नगरी सत्ताको भर्याङ उक्लिन सक्किन्न भन्ने ती चतुर मानिसहरूलाई थाहा नहुने कुरा भएन । तिनकै कुराहरू सुनेर हामी माथि उक्लिने लिस्नु भएको तपाईं हामीलाई थाहा हुँदैन । हामी पनि कहाँ गतिलो छौँ त ? चुनावमा कुनै नेताको पछि लागिसकेपछि मासु भात, बियरका सिसी त कती लडाउँछौँ लडाउँछौँ । यस्तै मोटरसाइकलमा पेट्रोल भर्ने खर्च पनि नेताले नै भराउनुपर्छ । यसो गर्नु भनेको नै आगामी ५ वर्षका लागि तिमी जसरी कमाए पनि कमाउ भनी नेतालाई भ्रष्टाचार गर्न उत्साहित बनाउनु हो ।

हाम्रो अर्को स्वार्थ पनि छ । कुनै नेतालाई जिताइसकेपछि ठेक्का पाइएला, जागिर पाइएला वा यस्तै कुनै अर्थोपार्जनको अवसर मिल्ला भनेर नै सहयोग पुर्याएका हुन्छौँ । चाहे त्यो कमाउने स्रोत जायज नाजायज वा वैध अवैध जेसुकै होस् । आफूले कमाउने भएपछि त्यसको हामीले मतलब पनि गरेका हुँदैनौँ । यसैले नेतादेखि जनतासम्म सबैमा भ्रष्ट संंस्कार हाम्रो सामाजिक परम्पराका रूपमा स्थापित छ । यसबाट राजनीतिक क्षेत्रमा मात्र होइन कि, देशका सम्पूर्ण क्षेत्रमा व्यापक असर परेको छ । यसका केही दृष्टान्त यहाँ दिने कोशिस गरिएको छ ।

गलत सन्देश दिने शिक्षा

देशको शिक्षा नीति घोकन्ते खालको छ । पढेर कण्ठ पारी परीक्षामा आएको प्रश्नको जवाफ हुबहु गुरुले लेखाइदिको नोटमा मिल्ने गरी लेखेपछि पास भइन्छ । पढेका कुरा व्यवहारमा आओस् नआओस् यसको मतलव हँुदैन । प्रयोगात्मक शिक्षा वा व्यावसायिक शिक्षालाई महत्व दिइँदैन । यसले गर्दा विद्यार्थी र अभिभावकमा पढेपछि काम गर्नुहुँदैन भन्ने मानसिकताले घर गरेको छ । पढेनाैँ भने हलो जोत्न पर्छ भनि सानैदेखि केटाकेटीहरूलाई हलो नजोत्न उत्प्रेरित गरिन्छ ।

पढेपछि काम नगर्ने जनशक्ति हाम्रो देशको शिक्षाले नै उत्पादन गरिरहेको छ । यसबाट देशको उन्नति प्रगति कसरी होस् ? व्यक्तिको भविष्य पनि कसरी बनोस् त ? हामीले काम गर्न होइन भ्रष्टाचार गर्न, उत्प्रेरित गरेर पठाएका नेता भ्रष्टाचार गरी धन बटुल्न व्यस्त छन् । हाम्रो देशको शिक्षा नीतिमा सुधार ल्याउन, शिक्षा नीति बदल्न कसरी नेताको ध्यान पुगोस् । यसकारण परम्परागत रूपमा चलिआएको चलन जस्तो छ त्यस्तै रूपमा हाम्रो शिक्षा पनि गुज्रिरहेको छ ।

कृषिमा लपरबाही

हाम्रो देश कृिषप्रधान देश हो भनिन्छ । कृषि परम्परागत पाराको छ । मल बिउ र कृषि औजारमा कुनै सुधार छैन । कृषक आफैँले आजकल विदेशबाट आएका धान, मकैका बिउ लगाउन थालेका छन् । जसबाट पुराना स्थानीय जातका बिउहरू मासिइएको छ । विदेशबाट आएका यस्ता बिउहरू पनि राम्रोसँग फलेको देखिँदैन । किसानलाई खेती गर्न सिकाउने जेटिएहरू कतातिर सुतेर बसेका छन्, नाक मुख देखिँदैन ।

किनकी उनीहरूलाई पनि पढेपछि काम गर्नुहुँदैन भन्ने प्रशिक्षण भएकाले नै होला बसेरै तलब पकाउन उनीहरू पनि खप्पिस छन् । यसमा सम्बन्धित निकायको ध्यान कहिल्यै पुग्ने छैन भन्ने कुरा पक्का छ । खेतीको समयमा मल पाइँदैन । मलमा हुने कमिसनको चक्करले समय गुज्रेपछि मल आउने गरेको धेरैपटक सार्वजनिक भइसकेको तथ्य हो । पशुपालनको अवस्था पनि उस्तै देखिन्छ ।

मालपोत

मालपोत कार्यालयहरूमा जनताको काम कसरी छिटो छरितो गरौँ भन्ने मनोभाव छैन । कसरी ढिलाढाला गर्ने र घुस रकम झार्ने मनस्थितिमा कर्मचारीहरू रहेको बुझिन्छ । सेवा भाव, होइन कमाउ भाव उनीहरूमा देखिन्छ । प्रायःजसो सर्वसाधारण घुस दिएर नै आफ्नो काम सल्टाएर जान्छन् । यथेष्ट पैसा नहुनेहरूले पाउनु दुःख पाउँछन् । गाउँगाउँमा ४ पुस्ता अघिदेखिको आफ्नो पुर्खाको नाममा भएको जग्गाको लालपुर्जा नामसारी नभएका उदाहरणहरू पनि छन् ।

यही मालपोतमा हुने झन्झट र गरिबी नै यसको मूख्य कारण हो । यस्तै गणतन्त्र आएपछि जनताका गाउँगाउँमा भएका पाखो बारीको पनि जग्गाको कर बढेर तिर्न नसक्ने हालतमा पुगेको छ । उत्पादन केही नहुने यस्ता जग्गाहरू बिक्री गर्दा पनि जग्गाको कर तिर्न नपुग्ने अवस्था बनेको छ । यस्ता जनताका समसयाहरूमा कसले ध्यान दिने ? किनकी हामीले चुनेका नेताहरू पनि कमाउनका लागि नै सत्तामा पठाएका हौँ । उनीहरू उतै व्यस्त छन् ।

भूसंंरक्षण विभाग

नेपालमा भूसंंंरक्षण विभाग पनि छ । तर बर्सेनि हाम्रो देशको माटो बगेर बंंगालको खाडीमा ठुलाठुला टापुहरू बनिरहेको छ । हाम्रा खेतबारीको मलिलो माटो कसरी जोगाउने ? यसका लागि कुनै छलफल गोष्ठी र कार्यक्रमहरू हुँदैन । भए पनि बिरलै हुन्छ । नांगो जमिनमा वर्षामा पर्ने पानीको कारण बाढी पहिरोजस्तो बिपत्ती आइलाग्छन् । यसैले नांगो जमिन कतै नदेख्ने गरी बिरुवा लगाउनुपर्छ भन्ने जानकारी जनमानसमा छैन । यस्तो प्रशिक्षणको अभावमा हाम्रा स्थानीय जनप्रतिनिधिहरूले पनि यसमा ध्यान पुर्याउँदैनन् । यसैले वर्षा लागेपछि डोजर लगाई जथाभावी मोटर बाटो खनेर बाढी र पहिरोको कारण आफैँ बन्ने गरेका छन् । सडक कुन समयमा खन्दा उपयुक्त हुन्छ भन्ने कुरा हाम्रा जनप्रतिनिधिहरूलाई जानकारी छैन ।

खानेपानी संंस्थान

‘सित्तैमा ल्याएको पानी बेच्छ तैपनि खानेपानी संंंस्थान घाटामा छ भन्छ ।’ यो भनाई मेरो होइन काठमाडौँ माहानगरपालिकाको मेयर बालेन शाहको हो । खानेपानीजस्तो मानव जीवनको जिउने सवालमा जोडिएको संंंस्थामा पनि भ्रष्टाचार हुुन्छ भन्नुपर्दा दुःख लाग्ने कुरा स्वभाविक हो । तर यहाँ पनि सेवा भावले काम भएको देखिँदैन । मेलम्चीजस्ता ठुलाठुला आयोजनामा सरकारका मन्त्री प्रधानमन्त्री जोडिनु सामान्य कुरा हो ।

जिल्ला खानेपानी संंस्थाहरूले सञ्चालन गरेको खानेपानी आयोजनाहरूमा समेत खानेपानीका डिई र अरू प्राविधिकहरू तथा उपभोक्ता समितिसमेत मिलाई औकातअनुसार रकम बाँडीचँुडी गरी खाने गरेको देखिन्छ । यो उनीहरूको नियमित गरिने धन्दा र परम्परागत हो । आयोजनाको ५० देखि ७५ प्रतिशतसम्म रकम भ्रष्टाचारमै सकिन्छ ।

माथिका उदाहरणहरू थोरै मात्र यहाँ प्रस्तुत गरिएका हुन् । सिंंगो देशको हालत यस्तै छ । अझ नेपालका भन्सार निकायहरू नियाल्ने हो भने भ्रष्टाचारका अनेक रूप देख्न सकिन्छ । नेपाल वायुसेवा निगम यसैकारण टाट पल्टेको हो । हाम्रा मन्त्रीहरू सकेसम्म मालदार मन्त्रालय नै रोज्ने गर्छन् । कर्मचारीहरू भन्सारतिर सरुवा हुन खोज्छन् । यसमा उनीहरूको भष्टाचार गर्ने सोच प्रष्ट देखिन्छ । जो पद र पावरमा छन्, अवसरको रसस्वादन उनीहरूले नै गर्न सक्छन् । जो तल्लो धरातलमा रहेका छन् उनीहरूसँग कुनै अवसर हुँदैन तापनि उनीहरूको सोचमा पनि भ्रष्टाचार छ ।

यसबाट के देखिन्छ भने पाए कोही पनि बाँकी राख्नेवाला छैन । किनकि हाम्रो सामाजिक वातावरण नै यस्तो छ । हाम्रो सोच र संंस्कारमा गम्भीर त्रुटी छ । यसैले त गरिबको पक्षमा र देश हितको पक्षमा बोल्ने हिजोका नेताहरू आज भ्रष्टाचारको आहालमा पौडी खेलिरहेका भेटिन्छन् । देशमा परिवर्तन गर्न भनी क्रान्ति छेडेर आएका नेताहरू पनि चोखो त देखिएनन् नि ? यसैबाट प्रष्टिन्छ कि हाम्रो सामाजिक वातावरणमा संंस्कारगत त्रुटी अवश्य छ ।


दलका नेताहरू सत्ताबाट बाहिरिएपछि भ्रष्टाचारको विरोध चर्को रूपले गरेको देखिन्छ । तिनै नेताहरू विरोध गरिसकेर सत्तामा पुग्दा पुनः भ्रष्टाचार गर्न थाल्छन् । भ्रष्टाचारको विरोध गरेकोमा ताली बजाउने पनि त्यतिकै भेटिन्छन् । किन ताली बजाउनु र ? जबकी आउने जाने र खाने पालोफेरो हो भन्ने बुझ्दा बुझ्दै ।

के यस्तो सामाजिक संंंस्कारलाई सच्याउन सकिँदैन अब ? अवश्य सकिन्छ । यसका लागि भ्रष्टाचारको मुहान पत्ता लगाउनुपर्छ । यसमा पनि पानीको नियम लागू हुन्छ । सधैँ पानीको मुहान माथितिर हुन्छ र पानीको सप्लाई तलतलसम्म हुन्छ । यस्तै भ्रष्टाचारको मुहान पनि तल होइन माथितिर हुन्छ । मुहानलाई बन्द गर्न कारबाहीको निसाना माथि बनाइनुपर्छ ।

माथिबाट कारबाही गर्न सुरु गर्ने हो भने तलतिरका तह लाग्दै जानेछन् । नभए अरू सम्पन्न देशको सिको गरेर निकै कडा र निर्मम बन्नुपर्नेछ । यसो भयो भने केही मिहिनेतपछि यस्ता समस्याहरूको पनि सामाधान पक्कै हुने नै छ । तर यसका लागि कोही न कोही त निस्कनु नै पर्यो ।

प्रतिक्रिया