एक जना तिब्बतीको पश्चात्ताप

तिब्बतको कतिपय डाँडामा गहत, कोदो फल्दैन थियो । हामी भोकभोकै हुन्थ्याैँ । रुद्राक्षका माला जपेर भात खान पाइन्छ ? भनेर श्रममा विश्वास गर भन्दै चिनियाँहरूले हामीलाई आधुनिक खेती गर्न सिकाए ।’ आज तिब्बतमा सुन फल्दैछ भनेर हामीलाई सम्झाउने गर्दथे । बाबु बितेको तेश्रो वर्ष म उरेन्ठेउला केटाको फन्दामा परेर भागेँ । आज पछुतो भएको छ । आफ्नो प्राणभन्दा प्यारो देश छाड्नु गलत हुँदोरहेछ यति भनेर ऊ मौन भयो ।

राममणि पोखरेल

काठमाडाैँआएको तीन दिन भएको थियो । चाबहिलमा एक जना साथीलाई भेट्न गएँ । भेटघाटमा सामान्य बातचित भए । ऊसँग बिदा भएर सडक पार गर्यौँ भन्दा एक जना पुराना मित्र सोलुखुम्बुको सल्लेरी निवासी, शेर्पा साथीसँग भेट भयो । उनलाई मैले कुनै समयमा सानो गुण लगाएको थिएँ ।

नेपालमा अञ्चलको संरचना हुँदा, सगरमाथा अञ्चल समन्वय समितिको सदस्य भएर, सोलु जिल्लाको तेस्रो जिल्ला अधिवेशन नेकपा एमालेको गराउन गएको थिएँ । झण्डै तीन दिन बसाँइ भयो । ती साथी कुनै बेला गाविसका निर्वाचित अध्यक्ष थिए । निर्वाचनको अवधि समाप्त भएपछि पार्टी सम्पर्कमा थिए । उनको चाहना थियो एकपल्ट जिल्ला कमिटी, नेकपा एमालेको सदस्य बनाैँ । चाजोपाँजो मिलेको थिएन । साथीहरू उनीप्रति नकारात्मक रहेछन् । त्यो वास्तविकता ती साथीबाट बुझ्ने मौका पाएँ । उनीप्रति मेरो सहानुभूति भयो । उनलाई जिल्ला कमिटीमा ल्याउने प्रयासमा लागेँ । थोरै मिहिनेत र सल्लाहले सफलता पनि प्राप्त भयो । ती साथीलाई सोलु जिल्लाको नेकपा एमाले जिल्ला कमिटीमा ल्याउन सफल भएँ ।

धेरै समयपछि भेट भएकोले, हामीबीच अन्तरंग कुरा भए । उनले मलाई उनको घरै लाने प्रयास गरे । म घर जान मानेको थिइनँ । तैपनि बौद्ध गुम्बा थानसम्म जाउँ भनेर हामी बाटो नाप्न थाल्यौँ । सडकको पेटीबाट पूर्व लाग्यौँ, बौद्धगुम्बा देब्रेतिर पर्दथ्यो । परै पुगेपछि सडक पार गरौँला भनेर बाटो नाप्दै गर्याैँ । सडकमा गाडी बाक्लै दौडेका थिए । पेटीमा हिँड्ने यात्रीको संख्या पनि बाक्लै थियो । त्यै बाक्लै भिडमा हामी पनि थियौँ ।

छोरा छोरी, बुहारी र जुवाइ अमेरिका बस्छन् हामी बुढाबुढी मात्र छौँ । सोलुखुम्बु छाडियो । घरमा ढोका लगाएको छ । दुवै दम्पत्ति यही काठमाडाैँको नयाँ वस्तीमा छौँ । तपाईंलाई घर देखाउँछु बुढाले भने । आकाशमा सूर्य देवता चम्केका थिए । दिन घमाइलो थियो । फागुनको महिना थियो । न जाडो न गर्मी, तैपनि हामीजस्ता तराईबासीलाई त उपत्यका जाडो नै मान्नु पर्दछ । सामान्य पोसाकमा थिएँ । पेन्ट सर्टमा जुवारी मात्र भिरेको कोट थिएन ।

बौद्ध गुम्बा नजिकै पुगेपछि सडक पार गर्यौँ । मलाई सहरमा सडक पार गर्न डर लाग्दछ । बाक्लै गाडी कुदेको सडकमा पार गर्न डर मान्नु, सतर्क हुनु पनि स्वभाविक नै हो । आफ्नो सुरक्षा आफँै गर्न सक्नुपर्छ । सडकमा कुदाइएका मोटरसाइकलको तीव्र वेग देख्दा मुटु काम्थ्यो ।


बौद्ध गेटबाट भित्र प्रवेश गर्यौँ, हामीले एकअर्काको हात समातेका थियाैँ । ती साथी म भन्दा उमेरका पाका र मोटा थिए । मभन्दा थोरै होचा । गेटबाट भित्र पसेर वरिपरि घुम्दै गर्दा गुम्बाभित्र बालेका अगरबत्ती र अन्य धूपको वास्ना खातिरलाग्दो र सुगन्धित थियो । थानमा घुम्दै गर्दा, संयोग भनौँ, एक जना युवा ४० नजिकको व्यक्तिसँग शरीर ठोक्कियो । त्यो साथीले आँखा राता पारेर मलाई हेर्यो र ‘सरी’ भन्यो अत्तालिएजस्तो गरेर । मैले उनलाई सहज उद्देश्यले भने, ‘बजारको भिडमा यो शरीरको स्पर्शलाई सामान्य मान्नुपर्दछ भाइ, सरी भन्नु पर्दैन भनेर हाँसे ।’ उसले मेरो शरीर नियालेर मसँग हिँडेका सोलुका शेर्पा साथीतर्फ मोडियो । सायद उनीहरूको पुर्खाैली मिल्थ्यो कि ?

मेरो साथी आङदामीले सोधे, ‘भाइको घर कुन जिल्ला हो या यही काठमाडाैँ ?’ एक ठाउँ बसेर बातचित गर्यौँ । शरीर छोइएकोमा सरी भनेर तर्कने होइन । तिमी हामी त एउटै लिंगी हौँ । आइमाइसँग बजारमा शरीर ठोकियो भने त तर्सनु पर्दैन । बजार भनेकै भिड हो । यो त हाम्रो एक तीर्थस्थल हो । हामी बौद्ध धर्माबलम्बी र संस्कृतिका वाहक हौँ भनेर उभिएर वात मार्न थाल्यौँ । त्यो साथी गम्भीर भयो । डे वाङ्दी नाम बतायो । सडकबाट हामी थोरै पर भयौँ । भिडले हामीलाई पन्छायो या भिडबाट हामी पन्छियौँ । जे अर्थ लगाए पनि नजिकको एउटा चिया पसलमा प्रवेश गर्यौँ । एक जना शेर्पाको पसल रहेछ । मोटी थसुल्ली महिला चियाका गिलास पखाल्दै थिइन् । हामी बेञ्चमा गएर थचक्क बस्यौँ । एकजना सानी, ती शेर्पेनी बहिनीलाई सघाउने छोरी मान्छे रहिछन् । हामी बस्ने बित्तिकै ती नानीले सोधिन् के खाने मःमः, थुक्पा, चिया या अन्य नास्ता ?

पप र चिया पिउने सोलुका मेरा मित्रले प्रस्ताव गरे । हाम्रो कुरा सुनेपछि ती शेर्पिनी बहिनीले चियामा चिनी दिनु कि नदिनु भनिन् । चिनी नहालेको चिया त मुख ढाटेको भइहाल्यौ नि, चिनी हालेर बनाउने र पप दिने एक–एक वटा भन्याैँ । उता चियाको आदेश गरेपछि हामीबीच वार्ता प्रारम्भ भयो । त्यो युवा गोरो खाइलाग्दो, त्यस्तै ४० नजिकको जस्तो लाग्दथ्यो । सामान्य उचाइको जाडो भगाउने चल्तीको लुकुनी भिरेको थियो । सामान्य पेन्ट सर्ट उसका शरीरमा थिए । सानो क्याप, टाउकामा थियो । तर, बस्दा उसले टाउकाबाट झिकेर हातमा लिएको थियो । उसको बोलीमा नरमपना र मिठास थियो ।

उसले आफ्नो परिचय दिन प्रारम्भ गर्दा ती मेरा सोलुको मित्रलाई र मलाई एकैचोटी नमस्कार गर्यो । लामो सास तान्यो, एकपल्ट आँखा झिम्क्यायो । बौद्ध गुम्बा नजिकै हातमा मुगा माला लिएर घुम्दै गरेको तातीतिर आँखा फर्कायो । पुलुक्क पुलुक्क मेरा मुखमा हेरेर आफ्नो वयान यसरी गर्न थाल्यो । मूलतः म तिब्बतीयन हुँ । पुर्खाैली घरमा आमा छिन्, मेरो नाम तपाईंलाई बताए डे बाङदी हो । हाम्रो १५ जनाको समूह छ । आजभन्दा ३ वर्षअघि हामी बहकाउमा लागेर तिब्बत छाडेर भाग्यौँ चोर बाटो । दलाई लामा धर्म गुरुलाई भेट्न जाउँ दिल्ली भनेर भागेका हौँ । दलाई लामाले तिब्बत छाड्दा म आमाको काखमा थिएँ । पछि ज्ञान जान्ने भएपछि नाम सुनेँ । तिब्बतका केही धर्म भीरु मान्छेहरू दलाई लामाको प्रशंसा गर्दथे । मेरी आमा पनि घरमा साँझ बिहान दलाई लामाको कुरा गर्दथिन् । बाबु दलाई लामाको नाम सुन्न चाहँदैन थिए । त्यो देशद्रोही हो भनेर घृणा गर्दथे । आमा मौन हुन्थिन् । मेरा दाजुहरू पनि दलाई लामाको नाम सुन्न चाहँदैन थिए । घृणा गर्दथे । म पढ्ने विद्यालयमा उनको बारेमा यदा कदा कुरा हुन्थ्यो । मलाई उसलाई (दलाई लामा) भेट्न जाने उत्सुकता जाग्यो । तर बाटो प्रष्ट थिएन । तैपनि धेरै मान्छेका मुखबाट कुरा सुनेकाले उत्सुकता जागेको थियो । यति भनेर ऊ मौन भयो ।

मेरो सोलुको मित्रले उसलाई प्रश्न गरे । तिमी कसरी भागेर नेपाल पस्यौ त ? डे वाङदी गम्भीर भयो, केही क्षण घोरियो । त्यसबेला हाम्रासामु चिया पनि आएको थियो । हामीले चियाका कप समात्यौँ । सुर्पाे लगाएर मैले डे वाङदीको अनुहार नियालेँ । पश्चात्तापको पीडाले जेलिएको जस्तो लाग्थ्यो । उसले चियाको कप समात्नुभन्दा पहिला थुक निल्यो । घुटुक्क, र एक सुर्पाे चिया पिउँदै भन्यो, ‘हाम्रो तिब्बतमा युरोपियन मुलुकका र अमेरिकाले पठाएका दूतहरू जाने गर्दछन् । हामी तिब्बतका सोझा मान्छेलाई भड्काएर भन्ने गर्दछन् । तिमीहरूको तिब्बत त एक जमानामा अलग स्वतन्त्र देश थियो । चीनले आफ्नो भू–भागमा पछि गाभेको हो ।’ खानपान र अन्य विषयमा खर्च दिन्छन् र हामीलाई भड्काउँछन् । भुलले हामी पनि भड्कियौँ । १५ जना मध्ये ९ जना त आफ्नै देश फर्किसके । म पनि फर्कने कोशिसमा छु । आफ्नो देश छाडेर भाग्नु मुख्र्याइँ र गलत कार्य हो ।

हामीले थाहा पाउँदा, तिब्बतका र चीनका नेताले शासन चलाएका थिए । हामी उनीहरूप्रति आकर्षित र प्रभावित थियाँै । मेरा बाबु भन्ने गर्थे, ‘यो तिब्बतको कतिपय डाँडामा गहत, कोदो फल्दैन थियो । हामी भोकभोकै हुन्थ्यौ । रुद्राक्षका माला जपेर भात खान पाइन्छ ? भनेर श्रममा विश्वास गर भन्दै चिनियाँहरूले हामीलाई आधुनिक खेती गर्न सिकाए ।’ आज तिब्बतमा सुन फल्दै छ भनेर हामीलाई सम्झाउने गर्दथे । बाबु बितेको तेस्रो वर्ष म उरेन्ठेउला केटाको फन्दामा परेर भागेँ । आज पछुतो भएको छ । आफ्नो प्राणभन्दा प्यारो देश छाड्नु गलत हुँदोरहेछ यति भनेर ऊ मौन भयो ।

मेरो सोलुको मित्रले भने एकपल्ट कसैको भड्काउँमा लागेर आफ्नो जन्मभूमि छाडेर भागेछौ । अब आफ्नै ठाउँ फर्क । हामीले के सहयोग गर्नुपर्दछ गरिदिन्छौ भन्ने सल्लाह दिए । त्यो सल्लाहपछि उसको अनुहार रातो देखियो । ऊ घोरियो । सायद तिब्बतमा उसले पढेको विद्यालय जन्मेको ठाउँ, हुर्केको गाउँ, गाइबाख्रा हेरेको जंगल, नुहाएको पानी पिएको पँधेरा सम्झेर भावुक भएको होला भन्ने सम्झेँ मैले ।

मेरा मित्रले सोधे, मैले पनि थपे के तिमीलाई नेपाल सरकारले आप्रवासी भनेर प्रमाण पत्र या परिचय पत्र दिएको छ ? उसले डराएजस्तो गरेर जवाफ फर्कायो । यहाँ बसेको ३ वर्ष भयो, परिचय पत्र दिएको छैन । हामीलाई आफ्नै देश पठाउने कुरा भएको छ । मेरा मित्रले गम्भीर हुँदै जवाफ दिए, ‘हेर भाइ डे वाङदी तिमी ज्ञानी र भाग्यमानी छौ भने त्यो आप्रवासी प्रमाण पत्र खोज्न तर्फ नलाग । भरिसके छिट्टै आफ्नो घर गाउँ । देश फर्क र ती स्वाभिमानी बुढी आमाको सेवा गर । दाजु दिदीलाई भेट गर । ती चीनका दुस्मन र नाफाको जिन्दगी बाँच्ने दुष्टहरूका कुरा नसुन, पैसाको लोभ नगर चीन हाम्रो मित्र राष्ट्र हो । तिमी हाम्रा मित्र हौ । मित्रलाई माया गर्नुपर्दछ । हामी तिमीलाई माया गर्दछौँ । मायाको अर्थ गलत नलगाउँ । परिचय पत्र बनाउन सहयोग गर्न, तिमीलाई माया गरेको ठहर्दैन । तिमीलाई आफ्नो प्यारो मातृभूमि फर्काउने गरिने प्रयत्नचाहिँ माया गरेको ठहर्छ । सबै तिमीहरूका तिब्बती मान्छे जो भुलबस कसैको भड्काउमा लागेर देश छाडेर बिदेसिएका छन्, ती सबैलाई आफ्नै भूमि फर्काउन प्रयास गर । ‘जननी जन्मभूश्चि, स्वर्गादपि गरिएसी ।’ यो नेपालीहरूले भन्ने गरेको अर्तीमूलक श्लोक याद गर ।’

हामीले यति कुरा उसलाई सुनाएपछि उसले बसेको ठाउँबाट उठेर, चियाको पैसा तिर्न खोज्यो । मेरा सोलुका मित्रले उसलाई पैसा तिर्न दिएनन् । आफूले तिरे । बिदा हुने समयमा उसले हामीसँग पालैपालो हात मिलायो । मलाई तपाईंहरूले ठूलो अर्ती र सल्लाह दिनु भो १५ दिनभित्र र मेरा अन्य ५०आँै मित्रलाई लिएर म आफ्नै जन्म थलो संसारको शीर तिब्बत फर्कनेछु भनेर वाचा गर्यो । हामी ऊसँग बिदा भएर बाटो लाग्याैँ ।

प्रतिक्रिया