जीवनका एकपटक पुग्नै पर्ने गन्तव्य लाङटाङ

बाटो सम्झिँदा कष्टकर लागे पनि यात्राको क्रममा नयाँ कुरा देख्न भोग्न र सिक्न पाउने हुनाले यात्रा सकिने बित्तिकै मान्छेले आनन्दको अनुभूति गर्छ जीवनमा एकपटक यात्रा गर्ने पर्ने गन्तब्य हो लाङटाङ । बिजुली बत्ती छैन, सोलारको धिपिधिपी उज्यालोमा बस्न परेको छ । स्याफ्रुबाट यत्ति नजिक पनि सञ्चार सुविधा टेलिफोन सेवा छैन । टावरै देखाउँदैन, डाटा चल्दैन । मोबाइल चार्ज गर्न कठिन छ ।

विष्णु गिरी ‘निश्चल’

केही दिनको लामो बिदा भयो कि पदयात्रामा निस्किहाल्ने हाम्रो टिमको बानी थियो विश्व हेर्न नपाए पनि आफ्नो देश त घुम्नै पर्छ भन्ने सोच सानैदेखि थियो । हुन त विश्वका एक दर्जन बढी देशको भ्रमण गरेको छु तर सहरीक्षेत्रमा मात्रै । आफ्नै देशको मनाङ, मुस्ताङ घुमेपछि भने मलाई कम्तीमा वर्षको एकपटक आफ्नै देशको नयाँ ठाउँ घुम्ने हुटहुटी लाग्थ्यो त्यसैले लामो बिदा या चाडपर्वको समयममा कतै घुमौँ भन्ने योजना मनमनै बनाउँदै थिएँ ।

तिहारको टीका सकिएसँगै घरमा एक्लै बसिरहको थिए विवेक भान्जाको फोन आयो मामा लाङटाङ पदयात्रामा जाने । मैले नजाने केही तयारी छैन भनेँ, भान्जाले केही तयारी चाहिँदैन जुत्ता लुगा भए भइहाल्छ भने । मैले जुत्ता छैन भनेपछि अहिले पदयात्रालाई लक्षित गरेर गोल्डस्टार कम्पनीले नयाँ जुत्ता बजारमा ल्याएको छ, सस्तो पनि छ, त्यो भए हुन्छ भने । राती अबेर भइसकेको थियो । गोल्डस्टारको सोरुममा फोन गरियो खुल्ला रहेछ त्यसपछि २ हजार ३०० रुपैयाँमा जुत्ता किनेर इसेवामार्फत रसुवाको स्यापु्रmबेसी सम्मको बस टिकट काटियो । कात्तिक १९ गते बिहान लाङटाङ पदयात्रामा जाने कुरा भयो । घरमा कसैलाई भनेको थिइनँ घरबाट सजिलै अनुमति पाएपछि अरू के नै चाहियो र ।

विश्व पर्यटन बजारमा लाङटाङ क्षेत्रले बेग्लै पहिचान बनाएको छ । नेपालको पदयात्रा मार्गमा यो तेस्रो पदयात्रा गन्तव्यका रूपमा चिनिएको छ । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक ३ जिल्लामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज २०३२ सालमा स्थापना गरिएको हो । १ हजार ७१० वर्ग किमि क्षेत्रमा फैलिएको छ भने ४१० वर्ग किलोमिटर मध्यवर्ती क्षेत्रमा समेटिएको छ । ४६ प्रजातिका स्तनधारी, ३१५ प्रजातिका चरा, ११ प्रजातिका घस्रिने जनावर, ३० प्रजातिका माछा, १० प्रजातिका माकुरा र ५८ प्रजातिका पुतलीलगायत हजारभन्दा बढी प्रजातिका वनस्पति पाइन्छ । विश्वमै दुर्लभ रेडपाण्डा, हिमचितुवा, बँदेल, हिमालयन कालो भालु, घोरल, लंगुर, आसामी बाँदर, सेता बाँदर, झारल, घोरल, कस्तुरी मृगलगायत वन्यजन्तु पाइन्छन् । त्यसकारण पनि ती सबैको अवलोकलन वन्यजन्तु र वातावरणबारे जानकारी पाउने उद्देश्यले मन प्रफुल्लित भएको थियो ।

पैदल हिँड्नु भनेको आफैँले आफैँलाई चिन्नु पनि हो । आफ्नै देश, संस्कृति, रहनसहन र भूगोल हेर्न, बुझ्न विवेक भान्जासहित हामी ४ जनाको टोली गाडी धादिङको गल्छी भएर अगाडि बढ्यो । यात्राको क्रममा बाटो कतै ढलान, कतै कच्ची, कतै पक्की । तन मन सिरिङ हुने बाटो । काठमाडौँबाट हिँडेको करिब ६ घण्टामा धुन्चे (१ हजार ९६० मि) पुग्यौँ । धुन्चेबाट करिब सवा घन्टामा हामी स्याफ्रुबेसी (१ हजार ५०३ मि) पुग्यौँ । पानी परिरहेकोले प्लास्टिकको छाता ओडेर स्याफ्रुबेसीमा डुनट र चिया खाएर हिड्यौँ । बाटोमा २० मेगाबाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनाले बाटो बनाएको रहेछ । मोटरबाटो भए पनि मोटरचाहिँ नचल्ने । आयोजनाका गाडीहरू मात्र चल्ने रहेछन् । बास बस्न हामीलाई ‘ब्याम्वो’ पुग्नु थियो, त्यसैले स्याफ्रुबेसीमा कत्ति पनि अलमल गरेनौँ । भोटेकोसीमाथिको झोलुंगे पुल र लाङटाङ खोलाको पुल तरेर अगाडि बढ्यौँ ।

लाङटाङ खोलासँगै बाटो हिँड्छ, बाटोसँगै खोला, हामी उसैलाई पछ्याउँदै, उसकै संगीत सुन्दै हिँड्छौँ । बुद्धमन्त्र लेखिएका लुङता फहराइरहेको पहिरो भन्ने ठाउँमा पुग्यौँ । पहिरोमा जाँदा–आउँदा पदयात्रीहरू तथा सहयोगीहरू सुस्ताउने र चिया खाजा खाना खाने ठाउँ रहेछ । हाइड्रोपावर कटेपछि होटलका आँगन हुँदै हामी चरक्क चर्केको घामसँगै सुनका धर्काधर्की र चाँदीले लेपन गरेका बाटाभरिका ढुंगामा आफ्ना पैताला राख्दै वनैवनको बाटो ब्याम्बो (१ हजार ९७० मि) पुग्यौँ । यो क्षेत्र रेड पाण्डाको बासस्थान पनि रहेछ । यहाँ ३ वटा होटल थिए शेर्पा, ब्याम्बो र टिबेटन । हामीले टिबेटन होटलमा खाना र बाँससहितको प्रतिव्यक्ति १ हजार ५०० तिरेर रात काट्याँै । बिजुली बत्ती छैन, सोलारको धिपिधिपी उज्यालोमा बस्न परेको छ ।

स्याफ्रुबाट यत्ति नजिक पनि सञ्चार सुविधा टेलिफोन सेवा छैन । टावरै देखाउँदैन, डाटा चल्दैन । मोबाइल चार्ज गर्न कठिन छ । तै होटलको साहुजीलाई अनुरोध गरेर वाइफाइचाहिँ चलाउने सुविधा एकछिन पाएर घरपरिवारसँग कुराकानी भयो । राम्चे (२ हजार २२३ मिटर) भिरको एउटा ढुंगामा टाँगिएको फोटो देखेर हाम्रा हिँडाइ टक्क रोकिए । फोटोले २०७२ सालको महाभूकम्पको त्रासदी सम्झायो । लाङटाङ पदयात्रामा निस्केका इजरायली युवाको भूकम्पसँगै ओइरिएको पहिरोमा ढुंगाले किचेर यहीँ मृत्यु भएको रहेछ । उनकै सम्झनामा सो फोटो राखिएको रहेछ ।

ठाउँठाउँमा भेट्टाइने पहेँलपुर ऐँसलुको स्वाद लिँदै अघि बढ्यौँ । दुइटा डाँडाका बीचमा अलिकति आफ्नो अनुहार देखाएर मुसुक्क हाँसेको ‘चदाङ पिक’ देख्दा रमायौँ । झण्डै ३ घण्टाको हिँडाइपछि हामी ब्याम्बोबाट लामा होटल (२ हजार ४१०मि) पुग्यौँ । यहाँ १०–१२ वटा होटल रहेछन् । पहिले लामा भन्ने व्यक्तिले यता चौँरी पालेर खर्क बनाएर होटल चलाएकाले यस ठाउँलाई उनकै सम्झनामा ‘लामा होटल’ भनिएको रहेछ । त्यसबाट पनि हामी अगाडि बढ्यौँ रिभर साइड (२ हजार ७६९ मि.) पुगेर खाना खायौँ ।

अघाएको पेट बोकेर हिँड्दै हामी घोडा तबेला भन्ने ठाउँमा पुगियो । त्यहाँ केही समय आराम गरेपछि हामी अगाडि बढ्यौँ । झोलामा दिदीले हालीदिएको भाइ मसला खाँदै हाम्रो यात्रा अगाडि बढ्यो । ठाडै उकालो आयो, गलेको जिउलाई झन् गलायो । उकाली ओराली गर्दै थाङसाप भिलेज (३ हजार २०० मि) पुग्यौँ । यहाँ २–३ वटा होटल रहेछन् । हामी तिब्बत होटलमा बास बस्यौँ । भोलिपल्टको ब्रेकफास्टपछि फेरि हाम्रो यात्रा निरन्तर अगाडि बढ्यो । चिसो सिरेटो चल्न सुरू गर्यो । लाङटाङ पुग्नुअघि म त बेस्सरी थाकेँ, हिँड्नै गाह्रो हुन थाल्यो । पदयात्रा छोडेर फर्कियौँ कि जस्तो पनि लाग्यो । मलाई चिसोले समातेको रहेछ । डाँडामा रहेको होटलवालाले टोपी लाउन, लुगा थप्न सल्लाह दिए । मैले चिसिएको जिउमा लुगा थपेँ, ज्याकेट लाएँ । त्यसपछि अलि आरामको महसुस भयो । त्यहीबेला ‘इनर्जी जुस पनि खाएँ । एक गिलास जुसको ३०० रुपैयाँ पर्दोरहेछ । लाङटाङ पुग्नु अघिको एउटा बस्ती ढुंगैढुंगाले पुरिएको रहेछ । २०७२ सालको भूकम्पको क्षति रहेछ । त्यो । भूकम्पसँगै आएको ठूलो हिउँ पहिरोले सिजनको बेला भएकाले धेरै जनधनको नोक्सानी भएको रहेछ । लामो यात्रापछि लाङटाङ भिलेज (३ हजार ४७५ मि) पुग्याँै ।

विशेष खालको फलामे चिम्नी चुल्होमा दाउरा हालेर आगो सल्काएपछि कोठा रनक्क तात्यो । त्यसकै वरिपरि बसेर तातो भात खायौँ । तरकारी भने जुन होटलमा पनि आलुकै पाइने, वन साग अलिअलि मिसाएको र स्कुसको तरकारी मात्रै पाइने । सबै होटलमा याक–चौँरीको सुकेको मासु (सुकुटी) बाहेक अन्य मासु नपाइने रहेछ ।

यात्रामा भेटिएका सबै स्थानीयले बोन पो धर्म मान्ने रहेछन् । आफ्नो डाइनिङ हलको एउटा छेउमा बुद्धधर्म अनुसारको मन्दिर स्थापना गरेका हुँदा रहेछन् । सबै ठाउँमा दलाई लामाको फोटो पनि देखिन्थे । क्यानजिन गुम्बा (३ हजार ८५० मि.) तिर निरन्तर अगाडि बढ्यौँ । खुटा दुःखेर हिँड्न नसक्ने अवस्था थियो, तथापि बिस्तारै यात्रालाई निरन्तरता दिइरह्याँै । बाटामा पानीबाट चलाइएको माने, छोर्तेन, लुङदार र साना गुम्बा देख्दा मनै आनन्दित भयो । ढुंगैढुंगाको अजंगका भिराला पहाड, ढुंगाकै लामा लामा छोर्तेनहरू, ढुंगै छापेका बाटाहरू, ढुंगैले ठडिएका घर र गुम्बाहरू र बाटाभरि फुलेका फूलहरूले हाम्रोमन प्रफुल्लित थियो ।

लाङटाङ र क्यानजिनको बीचमा पर्ने २ वटा मुन्दुम (३ हजार २१३ मि) र सिन्दुम (३ हजार ५५५ मि) लुङ्ता फहराइरहेका भ्याली काटेर सानो उकालो चढ्ने बित्तिकै क्यानजिनका होटलहरू र छेउका चौँरी खर्क छयांग देखिए । क्यानजिन रि (४ हजार ३५०) चढ्न तयारी थियो, तर मलाई सन्चो नभएर मैलेचाहिँ चढिनँ । लाङटाङको यात्रा सफलतापूर्वक पूरा गरी क्यानजिनबाट हामी एकैदिनमा स्याफ्रुबेसी फर्कन सक्दैनथ्यौँ । बीचमा कहीँ न कहीँ बास बस्नै पर्ने थियो । हिजो अस्ति हिँडेका बाटाहरूसँग फेरि पिरति गास्दै लामा होटलमै बास बसियो । लामा होटलबाट हिँडेर बाटा, जंगल र लाङटाङ खोलासँग अन्तरंग गर्दै स्याफ्रुबेसी आइपुग्यौँ । स्याफ्रु बजार घुम्यौँ ।

अविस्मरणीय लाङटाङ, क्यानजिन भ्याली र क्यानजिन रिको सम्झना बोकेर आठौँ दिनको दिन काठमाडौँ आइपुग्याँै । लाङटाङ पदयात्रामा बाटाभरी कहिले इजरायली, कहिले क्यानेडियन, न्युजिल्यान्डवासी, जापानी, भारतीय र इन्डोनेसियन, अझ बढी त इटालियन, कोरियन, कोही एकल, कोही जोडी, कोही गाइड र सहयोगी हिँडिरहेका भेटिन्थे । म सबैजसोलाई २ हात जोडेर नमस्ते भन्थेँ । मुसुक्क हाँसेर उनीहरू पनि नमस्ते भन्थे । दुःख त भयो, गाह्रो त भयो तर घरै बसेको भए यो भूस्वर्ग, यो हिमाली जनजीवन, यहाँको संस्कृति, यहाँको भू–बनोट, कहाँ देखिनु र ? कहाँ भोग्न पाउनु ? बाटो सम्झिँदा कष्टकर लागे पनि यात्राको क्रममा नयाँ कुरा देख्न भोग्न र सिक्न पाउने हुनाले यात्रा सकिने बित्तिकै मान्छेले आनन्दको अनुभूति गर्छ जीवनमा एकपटक यात्रा गर्नै पर्ने गन्तब्य हो लाङटाङ ।

प्रतिक्रिया