काठमाडौँ । २९ अक्टोबर, १९६९ को दिन । २ जना इन्जिनियर वैज्ञानिक चार्ली क्लाइन र ब्लिन डुभाल ३५० माइलको फरकमा अलगअलग कम्प्युटरमा बसिरहेका थिए । ती कम्प्युटरमा उनीहरूले केही टाइप गरेर एकअर्कालाई आदानप्रदान गर्ने तयारी गरेका थिए । तर, दुर्भाग्य ! उनीहरूको सञ्चार नै अवरुद्ध भयो । उनीहरूले तयार गरेको सिस्टम ‘क््र्रयास’ भएपछि उनीहरूको मिसन पूरा हुन पाएन ।
यो समय शीतयुद्ध माथिल्लो उचाइमा पुगेको अवस्था थियो । चार्ली क्लाइन र ब्लिन डुभाल २ जना सपना देख्ने आदत भएका इन्जिनियर थिए । २१ वर्षका चार्ली लस एन्जलसस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट ग्राजुएट थिए । २९ वर्षीय डुभाल स्ट्यान्डफोर्ड रिसर्च इन्स्टिच्युटमा सिस्टम प्रोग्रामर थिए । यी दुवै अमेरकी रक्षा मन्त्रालयअन्तर्गतको एड्भान्स रिसर्च प्रोजेक्ट एजेन्सी नेटवर्कअन्तर्गतको नयाँ सिस्टम एआर प्यानेटका लागि काम गर्दै थिए ।
टेलिफोनको प्रयोगबिना नै डेटा ट्रान्सफर गर्ने नीति त्यस समयमा लिइएको थियो । अहिले मानिसको जीवनको अपरिहार्य विषय बनेको इन्टरनेटको विकासक्रमको सुरुआती चरण त्यही समय अर्थात् आजभन्दा ५५ वर्षअघिको त्यो डेटा ट्रान्सफरसँग सम्बन्धित छ । चार्ली विश्वविद्यालयको बोयल्टर हल्टरुमको ३४२० मा बसेका थिए । क्यालिफोर्नियामा बसेर कम्प्युटरको काम गरिरहेका डुभालसँग उनले सम्पर्कको प्रयास गरिरहेका थिए । चार्लीले ‘एलओजिआइएन’ ५ वटा अक्षर पठाउने प्रयास गरेका थिए । संयोगवश ‘एलओ’भन्दा अन्य अक्षर अर्को कम्प्युटरमा पुगेनन् । त्यस दिनको असफलतालाई यी दुवै इन्जियिनर अहिले पनि भाग्यको विषय ठान्ने गर्छन् ।
एक घन्टाको फरकमा यिनीहरूले प्रयास जारी राखेका थिए । त्यो प्रयाससँग उनीहरूले त्यस दिन आँटेका काम त पूरा भयो । थप रहस्यको नजिक पनि उनीहरू पुगिसकेका थिए । उनीहरूले त्यस समयमा प्रयोग गरेको कम्प्युटरसमेत एउटा रेफ्रिजेरेटर जस्तै साइजको थियो । तथापि त्यस समयमा ती कम्प्युटर अन्यभन्दा साना मानिएका थिए । आवाज नआउने त होइन । तर, त्यस समयमा प्रचलित ‘सिग्मा ७’ कम्प्युटरको फ्यानको भन्दा एकदमै सानो आवाज त्यस कम्प्युटरबाट आउने गरेको थियो ।
त्यसको अगाडि एकातर्फ प्रकाशको व्यवस्था थियो । त्यहाँ इन्टरनल म्यासेज प्रोसेसर (आइएमपी) थियो । अहिलेको भन्दा ठुलो आवाज आए पनि त्यस समयको कम्प्युटरको शक्ति अहिले एप्पललगायत कम्पनीका साना डिभाइसको भन्दा केही कममात्र थियो ।
अहिलेको इन्टर सिस्टमभन्दा त्यस समयको एसआरआई सिस्टम फरक थियो । केही टाइप नगरी त्यसमा संयन्त्र नै देखिँदैनथ्यो । सुरुमा लगिन टाइप गर्नुपर्ने थियो । त्यसपछि युजर नेम र पासवर्ड राख्नुपर्ने थियो । चार्लीले सुरुआतमा एसडिएस सिग्मा कम्प्युटरका लागि टेलिटाइप मोडल ३३ का लागि पहिलो अक्षर टाइप गरेका थिए । प्र्रोग्रामले त्यसलाई ग्रहण गरेर आइएपपीमा पठाउनुपर्ने थियो । एसआरआईले यसलाई ग्रहण गरेपछि काम सुरु हुने व्यवस्था थियो । त्यसपछि केही इको आउनुको मतलब डुभालकहाँ त्यो सन्देश पुगेर उताबाट विश्वविद्यलायको कम्प्युटरका लागि पनि सन्देश आउने व्यवस्था मिलाइएको थियो ।
टेलिफोनमा उनीहरूको वार्ता भइरहेको थियो । ‘एल’ अक्षर उता पुगेको चार्लीलाई थाहा भयो । ‘ओ’ पनि गएको थाहा भयो । ‘जी’ अक्षर पठाउने समयमा भने सिस्टमले धोका दिएपछि उनीहरू निराश बनेका थिए । दुइटा अक्षर आएर ३ वटा अक्षर नआएपछि यी दुवै इन्जिनियरले त्यसपछि यति धेरै मिहिनेत गरे कि यसअघि कहिल्यै पनि नदेखियो गति त्यो सिस्टममा देखियो । डुभालले १ घन्टाको मिहिनेतपछि त्यो असफलताको कारण पत्ता लगाएका थिए । त्यसपछि सिस्टम यति गतिशील भएको थियो कि सेकेन्डभरमै हजारौँ फाइल एक कम्प्युटरबाट अर्को कम्प्युटरमा जान थालेका थिए ।
त्यस समयमा एआर पानेटको अवधारणा अहिलेको जस्तो सामाजिक सञ्जालसहितको व्यापक संसारको थिएन । शीतयुद्धका लागि आफ्नो गोप्य सूचना सहजै एक कम्प्युटरबाट अर्कोमा प्रवेश गराउने उद्देश्य थियो । यसको दुरी फराकिलो होस् भन्ने चाहना थियो । जबकि अहिलेको जस्तो बृहत् स्वरुपको सम्भावनाको कुरा सन् १९६२ मा एसआरआई कम्प्युटर वैज्ञानिक डगलस इन्गेलबार्टले राखेका थिए । त्यसपछि नै समाजको आवश्कयताअनुसार एआर पानेटका सामग्रीहरूको विकास गर्दै लगिएको थियो ।
एआर पानेटको त्यही अवधारणाअनुसार बिस्तारै यसलाई व्यापक बनाउन सीमित कम्प्युटरमा नभई धेरै कम्प्युटरमा लैजान मिल्ने र इमेलको अवधारणा आएको चार्ली बताउँछन् । एआर पानेटको यही स्वरुपअनुसार बिस्तारै इन्टरनेटको विकास हुँदै गएको चार्लीको मत छ ।
५५ वर्षअघि सुरु भएको एआर पानेट नै अहिलेको इन्टरनेट विकासको विकसित स्वरुप हो । ५५ वर्षमा समय यति धेरै फेरिएको छ कि यसले मानिसको जीवनलाई सहज बनाएको छ । राज्यहरू विगतमा भूगोल, अर्थतन्त्र र सैन्य शक्तिका आधारमा अघि बढेका थिए भने अहिले संसारका ठुला शक्तिहरूको ध्यान इन्टरनेटमा छ । आज गुगल, एमेजन र मेटालाई संसारकै ठुलो शक्ति मानिएको छ ।
यसको सकारात्मक प्रभाव जति छ, नकारात्मक पाटा पनि त्यत्तिकै देखिए । गलत अफवाहका लागि इन्टरनेटको प्रयोग अहिलेको विश्वको सबैभन्दा ठुलो चिन्ता र चासोको विषय हो । राजनीतिक तिक्तता र निर्वाचनको समयमा हुँदै गएको इन्टरनेटको दुरुपयोग अहिले सबैभन्दा चासो र चिन्ताको विषय हो ।
५५ वर्षअघि त्यो एउटा अफलता थियो । यसले संसारमा एउटा विकासको आधार तयार भएको थियो । ५५ वर्षपछि डिजिटल युगमा अर्को असफलताको दिन आएको थियो । १९, जुलाई २०२४ को दिनलाई इतिहासकै सबैभन्दा डिजिटल क्रिटिकल समयका रूपमा हेरिएको छ । सोही दिन क्राउवेड सेक्युरिटीका कारण संसारका ५५ लाख कम्प्युटर असमर्थ भएका थिए । यसले माइक्रोसफ्टलाई नै एउटा चुनौती दिएको थियो ।
फ्लाइट अवेरका अनुसार एकै दिन ४६ हजार फ्लाइट रुद्ध भएका थिए । अस्पतालमा शल्यक्रिया अवरुद्ध भए । क्रेडिट कार्डबाट कारोबार रोकियो । संसारमा धेरै फिल्महरू बन्द भए । क्राउवेड र माइक्रोसफ्टले तत्काल समस्याको पहिचान त गरे । परन्तु त्यो केही समयको अवरोधको असर १ सातासम्म परेको थियो ।
कम्प्युटर सुरक्षाका विज्ञ ऋितिश कोटाक एक पटक समस्या समाधान भए पनि बारम्बार यसरी भाग्यले साथ नदिन पनि सक्ने बताउछन् । न्युयोर्क टाइम्सका अनुसार एकपटक डटकम र डटनेटका धेरै डेटा क््रयास भएका थिए । एकै पटक १० लाख साइट बन्द भए । धेरैले मेल पाउन सकेनन् । तत्कालीन समयमा यसले पनि धेरैलाई चिन्तामा पारेको थियो । ग्राहकसँग केही समय सम्पर्कविच्छेद भएका कारण धेरैको व्यवसायमा समेत एकै पटक असर गरेको थियो ।
यस्ता घटना अन्यत्र पनि नभएका होइनन् । कुनै क्षेत्रमा इन्टरनेट अवरुद्ध हुनु समान्य हो । परन्तु केही समयका लागि हुने अवरुद्ध नै अहिलेको समयमा विकराल समस्या बन्न थालेको छ । इन्टरनेट अवरुद्ध हुनुका धेरै कारण छन् । सबैभन्दा आश्चर्यजनक रूपले सन् २०११ मा अर्मेनियामा इन्टरनेट अवरुद्ध भएको थियो । अर्मेनियाको इन्टरनेट सेवा जर्जियाबाट ल्याइएका सिंगल फाब्राइस अप्टिकलबाट सञ्चालित थियो । जर्जियाकी एक ७५ वर्षीया महिलाका कारण २९ लाख अर्मेनियाली एकै पटक इन्टरनेट सेवाबाट टाढा थिए । उनलाई गिरफ्तार गरिए पनि बुढ्यौलीका कारण रिहा गरिएको थियो । उनले तारबाट तामा निकाल्न भन्दै लाइन काटिदिएकी थिइन् । पछि उनले आफूलाई इन्टरनेटका बारेमा कुने विषय थाहा नभएका कारण सो घटना भएको बताएकी थिइन् ।
यस्तै, सन्् २०१७ मा जिम्बावेमा पूरै इन्टरनेट अवरुद्ध भएको थियो । अवरुद्ध हुनुको कारण दक्षिण अफ्रिकाबाट ल्याइएको केबल काटेर हो । समुद्रबाट ल्याइएको सो केबल माछाले काटेपछि इन्टरनेट अवरुद्ध भएको थियो ।
क्यानडाको एक ठुलो टेलिकम प्रदायक रोजस कम्न्युकसेनमा आएको प्राविधिक समस्याका कारण सन् २०२२ मा क्यानडामा एक चौथाइ इन्टरनेट तथा टेलिफोन सेवा अवरुद्ध भएको थियो । यसैकारण त्यस समयमा निर्धारण गरिएका धेरै कन्सर्टसमेत बन्द भएका थिए । धेरै परीक्षासमेत स्थगित गरिएको थियो ।
अन्य यावत् विषयमा जस्तै इन्टरनेटप्रतिको संवेदनशीलतामा पनि विकसित देश र तेस्रो विश्वमा व्यापक फरक छ । विकसित देशमा एक दिन इन्टरनेट अवरुद्ध हुनु अकल्पनीय मानिएको छ । तेस्रो विश्वमा भने राजनीतिक विद्रोह रोक्नकै लागि पनि इन्टरनेट सेवा रोक्ने चलन नभएको होइन । गत जुलाई महिनामा संसारभर नै इन्टरनेट अवरुद्ध हुनु केहीअघि नै बंगलादेशमा भने सरकारले नै इन्टरनेट काटेको थियो । सरकारको विरुद्धमा सडकमा अन्दोलन जारी भएका कारण आन्दोलनकारीको बीचमा सम्पर्क नहोस् भन्ने ध्येयले इन्टरनेट काटिएको हो ।
विकसित देशकै हकमा सिस्टम फेल भएर समस्या आएको दिन ३१, डिसेम्बर १९९९ हो । संसार नयाँ शताब्दीमा प्रवेश गरिरहेको समयमा इन्टरनेट फेलको घटना भएको थियो । त्यस समयमा नेपालमा भने इन्टरनेट व्यापक भएकै थिएन । नेपाल मात्र होइन, तेस्रो विश्वमै पनि हालको जस्तो जीवनको एउटा हिस्सा बनिसकेको थिएन ।
फेरि ५५ वर्षअघि फर्किने हो भने त्यस दिनको एआर प्यानेटको सिस्टम अवरुद्धले संसारलाई आज एउटा विकसित रूपमा प्रवेश गराएको छ । तर, सायद आज अवरुद्ध भए यसले विकासको होइन, विनाशको बाटो हिँडेर संसारमा धेरै क्षति पुर्याउन सक्ने देखिन्छ ।
(विभिन्न एजेन्सीको सहयोगमा)
प्रतिक्रिया