यथास्थितीकरण

यी कामहरू राजा महेन्द्रले उत्तरी छिमेकी देश चीनका शासक माओको सल्लाहबमोजिम गरिएको भन्ने छ । जे भए पनि राजा महेन्द्रले पृथ्वीनारायण शाहको उपदेश हुबहु लागू गरेको मान्न सकिन्छ । यिनका छोरा वीरेन्द्र पनि भद्र र जनताको हित अनुकूल शासन गर्नुपर्छ भन्ने राजा नै थिए । विश्वसामु नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् भन्ने प्रस्ताव राख्नु र असंलग्न परराष्ट्र नीतिलाई बलियोसँग अपनाउन कोसिस गर्नु राजा वीरेन्द्रको स्वाधीन राष्ट्रको रूपमा नेपाललाई उभ्याउने प्रयास थियो ।

कृष्ण बोहरा

संसार परिवर्तनशील छ । समाज परिवर्तनशील छ । हरेक बस्तु र घटनाहरू परिवर्तनशील छन् । निरन्तर परिवर्तन हुनु नै प्रकृतिको नियम हो । यसैले यथास्थितिवाद संसारका नियमहरूको बर्खिलाप छ । तर, यसो भन्दैमा खुरुखुरु परिवर्तन हुन मात्र दिने सजिलो अवस्था छैन । सबै कुरालाई पुरानै रूपमा राखिरहन खोज्ने शक्ति र प्रवृत्ति विद्यमान हुन्छन् भन्ने कुरालाई हामीले गौर गरेर बुझ्नुपर्छ । यो हाम्रो बिकासका नियमहरूमा लागू हुन्छन् । समाज विकासमा लागू हुन्छ । विज्ञान र प्रविधिको क्षेत्रमा लागू हुन्छन् । राजनीतिमा पनि लागू हँुदै आइरहेका छन् ।

यसैले यो भन्न सकिन्छ कि परिवर्तनका नियमहरू सर्वव्यापी छन् । यसैले जो यसको विरुद्ध जान्छ उसलाई यथास्थितिवादी भन्न सकिन्छ । राजनीतिमा यथास्थितिवादी र परिवर्तनकारी शक्ति भनी यसैले छुट्याउनु परेको हो । यथास्थितिवादी र परिवर्तनवादी शक्तिको बीचमा जहिले पनि द्वन्द्व भइरहन्छ । यही २ शक्तिको बीचमा द्वन्द्व भएरै अहिलेसम्म परिवर्तनका अवयवहरू शृंखलाबद्ध रूपमा अगाडि बढेर यहाँसम्म आइपुगेको हो । म हाम्रो देशको राजनीतिभित्र यही परिवर्तनकामी र यथास्थिति बीचको टकरावको शृंखलाहरूलाई यहाँ राख्न चाहन्छु ।

राजतन्त्र

राजतन्त्रभित्र पनि पृथ्वीनारायण शाह एउटा कुसल राजनीतिज्ञ र परिवर्तनकामी राजा थिए । उनले परम्परागत रूपमा भाइ अंश लगाई टुक्रिएर कमजोर भएका राज्यहरूलाई एकजुट बनाई एउटै राज्य बनाउने सोचले काम गरे । नेपाल मण्डल भित्रका यसैगरी टुक्रिएका अरू राज्यहरूलाई पनि एकीकरण गरी एउटा बलियो राज्य बनाउनु त्यस बेलाको समयको माग थियो । किनभने नजिकै भारतमा संसारभर साम्राज्य फैलाउँदै गइरहेको अंग्रेजको शासन थियो । उनीहरूबाट नेपाललाई बचाउनु पनि थियो । बलियो र एकीकृत राज्यबिना यो काम गर्न सकिँदैन थियो । उनले नेपालको एकीकरण गरी बलियो र ससक्त राज्य बनाएको देखिन्छ । अंग्रेजलाई नेपाल खानबाट बचाएको नै देखिन्छ । यस दृष्टिकोणवाट नियाल्दा पृथ्वीनारायण शाहलाई दक्षिण एसियाका साम्राज्यवाद विरोधी नेता थिए भन्न सकिन्छ । पृथ्वीनारायण शाहको नीति पनि देश र जनताको हित अनुकूल भएको देखिन्छ । म उनको दिव्य उपदेशलाई पनि यहाँ राख्न चाहन्छु ।

१. आर्थिक नीतिको सम्बन्धमा, खानी भएको ठाउँमा गाउँ छ भने पनि त्यसलाई सारेर खानी चलाउनु । कपडा बुन्न जान्नेलाई नमुना बनाई देखाइदिनु । आफ्नो देशको जडीबुटी देश लैजानु र नगद षैचनु । प्रजा मोटा भया दरबार बलियो रहन्छ । राजाका भण्डार भन्याका रैतानहरू हुन ।

२.आन्तरिक नीति, अन्याय मुलुकमा हुन नदिनु । निञा निसाप बिगान्य्रा भन्याको घुस लिन्या र घुस षान्या हुन् । ईन दुईको ता धन जीव गरी लियाको पनि पाप छैन, यी राजाका महासतुर हुन ।

३. विदेश नीति, यो राजे दुई ढुंगाको तरुल जस्तो रहेछ । चीन बादशाहसँग ठूलो घाहा राख्नु । दषिण समून्द्रको बादशाहसँग पनि घाहा त राख्नु । तर त्यो माहाचतुर छ । हिन्दुस्थाना दबाइराख्या छ । सरजिमीमा परिरहेछ । हिन्दुस्थान जाग्यो भनि कठिन पर्नेछ भनी किल्ला खोज्न आउन्या छ ।

माथिको भनाइबाट विचार गर्दा पृथ्वीनारायण शाह त्यस जमानाका परिवर्तनकारी राजा थिए । तर उनीपछि उनका सन्तानहरूले उनका उपदेशहरूलाई बेवास्ता गरी चलेको देखिन्छ । राजा महेन्द्रको समयमा पुनः पृथ्वी नीतिलाई अनुसरण गरेको भन्न सकिन्छ । राजा महेन्द्रको २०१७ सालपछिका १० वर्षहरूमा उद्योगधन्दाहरूको व्यापक रूपमा स्थापना भएको देखिन्छ । संसारका थुप्रै देशहरूसँग कुटनीतिक सम्बन्ध स्थापनाका कारण नेपाल एउटा अखण्ड र असंलग्न राष्ट्रको रूपमा संसारको सामु चिनाउन पनि सफल भएको कुरा कतै नछिपेको तथ्य हो । पूर्व–पश्चिम राजमार्गलगायत देशका महत्वपूर्ण राजमार्गहरू यसै बेला बनेका हुन् ।

शिक्षा क्षेत्रमा त्रिभुवन विश्वविद्यालयको स्थापना यसैबेला भएको हो । उत्तरी सिमानामा १७ ठाउँमा रहेको भारतीय सेनाका चेकपोस्टहरू यसैबेला हटाइएको थियो । किसानको हितमा मोहियानी हकको स्थापना र जमिन्दारहरूलाई जमिनको हदबन्दी तोकिएको थियो । वास्तवमा यी कामहरू राजा महेन्द्रले उत्तरी छिमेकी देश चीनका शासक माओको सल्लाहबमोजिम गरिएको भन्ने छ । जे भए पनि राजा महेन्द्रले पृथ्वीनारायण शाहको उपदेश हुबहु लागू गरेको मान्न सकिन्छ । यिनका छोरा वीरेन्द्र पनि भद्र र जनताको हित अनुकूल शासन गर्नुपर्छ भन्ने राजा नै थिए । विश्वसामु नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् भन्ने प्रस्ताव राख्नु र असंलग्न परराष्ट्र नीतिलाई बलियोसँग अपनाउन कोसिस गर्नु राजा वीरेन्द्रको स्वाधिन राष्ट्रको रूपमा नेपाललाई उभ्याउने प्रयास थियो ।

तर, यो बेलासम्म परिस्थिति निकै परिवर्तन भइरहेको थियो । संसारभर लोकतन्त्रको हावा चलिरहेको समय थियो । लोकतान्त्रिक आन्दोलनलाई राजा वीरेन्द्रले दबाउन चाहेका थिएनन् । भाइ ज्ञानेन्द्रले भने परिस्थितिलाई यथास्थानमा राख्न चाहेका थिए । यहिबेला राष्ट्रिय र अन्तर्राट्रिय यथास्थितिवादी शक्ति मिलेर राजा वीरेन्द्रको वंश नास गरेको अनुमान सबैले गरेका छन् ।

राजा ज्ञानेन्द्रको शासन र ७ दल

राजा ज्ञानेन्द्र जुन समय निकै शक्तिशाली थिए । वीरेन्द्रको वंशनासपछि श्रीपेच पहिरेका उनले भन्ने गरेका थिए, ‘म दाजुजस्तो टुलुटुलु हेरर बस्ने राजा होइन ।’ कडाइकासाथ निरंकुश शासन गर्ने उनको यो भनाइको आसय थियो । तत्कालीन ७ दलमा पनि निरासा र कुण्ठाबाहेक केही बाँकी थिएन । संवैधानिक राजतन्त्र कालमा जनताका अपेक्षा पूरा गर्नतिरभन्दा पजेरो संस्कृति र भ्रष्टाचारमा रमाइरहेका शासकहरूलाई ज्ञानेन्द्रले सबक सिकाइरहेका थिए ।

राजालाई दाम चढाउने र प्रधानमन्त्रीका लागि नारायणहिटीमा निवेदन हाल्ने तहमा नेताहरू ओर्लिएका थिए । यसबाट के भन्न सकिन्छ भने ज्ञानेन्द्र जति यथास्थितिको पक्षपाती थिए, त्यति ७ दल पनि थिए भन्न सकिन्छ । मदन भण्डारी र मनमोहन जीवित रहँदाको कार्यकाल छोडेर संवैधानिक राजतन्त्रको त्यो समयलाई नियाल्ने हो भने यस्तै देखिन्थ्यो । ७ दलका विरोध कार्यक्रमहरूमा मानिसहरू भेला हुनै छाडेका थिए । कारण जनतामा दलप्रति कुनै आशा भरोसा मरिसकेको अवस्था थियो ।

माओवादीसँग ७ दलको सहकार्य

ज्ञानेन्द्रले लात हान्न थालेपछि गिरिजाप्रसाद कोइरालाले माओवादीसँग सहकार्यको प्रस्ताव पठाए । माओवादी नेता प्रचण्डले गिरिजालाई, ‘तपाईं राजा नभन्नुस्, म बहुदललाई स्वीकार गर्छु’ भन्ने सन्देस पठाए । यसपछि भएको दोस्रो जनआन्दोलनले पुनः दलहरूको शासन आयो । बिस्तारै राजा फालिए, गणतन्त्र आयो । यस बेलाको परिवेशसम्म ७ दल पनि यथास्थितिबाट परिवर्तनकामीको रूपमा रूपान्तरित भएको भ्रम नेपाली जनतालाई परेको थियो ।

गणतन्त्र आएपश्चात भएको चुनावबाट माओबादी पार्टीले बहुमत ल्याएसम्म माओवादी पार्टी यथास्थितीकरणको विपक्षमा र परिवर्तनकामी शक्तिको रूपमा देखिन्थ्यो । तर राष्ट्रपतिको चुनावमा गिरिजाप्रसाद कोइरालालाई समर्थन नगर्ने बित्तिकै प्रचण्ड काम्रेडको नेपाली कांग्रेससँग दुरी बढ्यो । चुनाव सम्पन्न भएको ३ महिना बित्दासमेत गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री पद छोड्नै मानेनन् । आफ्नो सर्त मान्य हुने भए मात्र सत्ता छोड्न राजी भए । सर्वसम्मत निर्णय गर्ने परिपाटीलाई बदलेर बहुमतको निर्णय गर्ने परिपाटीलाई मान्नुपर्ने सर्त थियो । यसपछि भने माओवादी पार्टीलाई पनि संसदीय व्यवस्था फलामको चिउरा चपाए सरी भयो । पुराना दलहरू यथास्थितीकरण चाहन्थे माओवादीले अग्रगमन त भनेको थियो, तर यो कस्तो हो ? व्यवहारमा नदेखिकन माओवादी पार्टीमा पनि विखण्डन सुरु भयो । यसपछि भने माओवादी पार्टी पनि कमजोर भयो र यथास्थितीकरणमै रमाउन थालेको महसुस सबैले गरेका थिए ।

हर्क, बालेन र गोपी हमालको उदय

नेपालको राजनीतिमा हर्क, बालेन र गोपी हमालको उदय भयो । २०७९ सालको स्थानीय तह चुनावमा पूवर्, मध्य र पश्चिम नेपालमा समेत सबैतिर प्रभाव पर्नेगरी नयाँ सोच र नयाँ विचारको उदय भएको थियो । हर्क, बालेन र गोपी हमाल देखिँदा व्यक्ति देखिए तापनि यिनीहरूको आगमन जनआक्रोशको बिस्फोटन थियो । निश्चित बिचार र सिद्धान्तले परिपक्व नभएपनि यो राजनीति र समाजलाई यथास्थितीकरण गरिराख्ने शक्तिको विरुद्ध थियो । आजको मितिसम्म यिनीहरू यथास्थितिको विरुद्ध उभिएको नै देखिन्छ । यथास्थितिमा रमाउने शक्तिहरू अहिले पनि उनीहरूलाई यथास्थितिमा कसरी ल्याउने भन्ने कसरत गरिरहेको देख्न सकिन्छ । यसैले उनीहरू यी ३ व्यक्तिहरूको खुब बिरोध गर्छन् र रिस गर्दछन् । मिल्ने भए थुन्ने र कारबाही गर्ने सम्मको हर्कतमा यथास्थितिवादी शक्तिहरू देखिएका छन् ।

संसद्मा रबीको आगमन

रबी लानमिछानेको रास्वापा पार्टी, बालेन, हर्क र गोपी हमालको विजयबाट उत्साहित भएर देखापरेको अर्को शक्ति हो । यो पार्टीसँग पनि विचार र सिद्धान्त केही पनि छैन । उत्साह उमंग र नयाँ केही गरौँ भन्ने जोस जाँगरचाहिँ श्रृजना भएरै आएको हो । रबीका व्यक्तिगत कमजोरीलाई बिर्सने हो भने यसले पनि राजनीतिमा भएको यथास्थितिकरणलाई रोक्न ताकत राख्ने मनसाय यसमा भएको देखिन्छ । स्वयम काम्रेड प्रचण्ड र नारायणकाजीजस्ता नेताहरूलाई संसदीय व्यवस्थाभित्र बसेर केही गर्न सकिँदैन होला भन्ने मरिसकेको जाँगर पुनः श्रृजना गरेर रक्त सञ्चार गरेको अनुभूति हुन्छ । नेता नारायणकाजीले आफू गृहमन्त्री हुँदा ठूला ठूला भ्रष्टाचारका फायल खोल्नु र यसमा कारबाहीका लागि प्रयास गर्नु यसैको प्रतिफल हो भन्न सकिन्छ ।

अन्तमा कुनै पनि वाद र व्यवस्था आउनु नै सफलताको कसी होइन । बरु सफलता यसको कार्यान्वयन पक्ष कस्तो छ ? त्यसमा भर पर्छ । ढिलासुस्ती, अनियमितता र भ्रष्टाचार माथि निर्मम नहुने हो भने चीनले कसरी प्रगति गर्न सक्थयो र ? सिंगापुर कसरी समृद्ध सिंगापुर हुनसक्थ्यो ? उदाहरण यही नै काफी छ । यथास्थितीकरणलाई रोक्न सक्ने क्षमता नयाँ पिडीमा जति विकास हुनसक्छ, नेपालको भविष्य त्यसमै निर्भर बन्नेछ । यसैले परिवर्तनको पक्षमा घरघरबाट उठ्नुपर्छ, हरेक पार्टीबाट जाग्नुपर्छ, बस्ती बस्तीबाट उठ्नुपर्छ । परिवर्तनको विगुल देशैभर फुकिनुपर्छ ।

प्रतिक्रिया