केही समय यता उहाँको बारेमा बजारमा आएको हल्लालाई हेर्दा देश बनाउने ध्यानभन्दा माधव नेपाललाई सकाउनेमा बढी केन्द्रित हुनुहुन्छ । साथै अर्को हल्ला कांग्रेस माओवादी र रबिको गठजोड हुने डरले रविलाई कारबाहीमा लाग्नुभएको भन्ने आरोप पनि छ । यसकारण पनि उहाँले सबै कुरा चिर्न खरो उत्रेर काममा लाग्नुपर्छ । प्रधानमन्त्रीको जिम्मेवारी कुनै मेयर वडा अध्यक्ष या कर्मचारीप्रति कटाक्ष व्यंग्य गरेर समय बर्बाद गर्ने कदापि होइन ।
सगरमाथा चढ्न जाने पर्वतारोहीले पनि सुरुमा आफ्नो लक्ष्यको यात्रा पहिलो पाइलाबाट सुरु गर्ने हो, यसकारण सरकारले पनि राष्ट्र विकास निर्माणमा सकारात्मक सन्देश दिन दीर्घकालको ठोस योजना पक्कै बनाउनुपर्छ । मुलुक हाँक्नेहरू लक्ष्य नबोकी बहकाव, लहड, भावना उत्तेजनामा हिँडदा मुलुक असफल हुन्छ नै ।
वर्तमान सरकारको १०० दिन पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन आएको छ । आगामी चुनावी सरकार अगाडि २०८३ सम्म चल्ने भनेको गठबन्धन सरकारले कम्तीमा त्यो अवधिसम्मको कार्यक्रम तय भएअनुसार त्यसको मार्गचित्रमा यो १०० दिनमा के कति काम भए कति काममा चुनौती आए र सच्चाउने ठाउँ के छ सोच्नुपर्छ । अब कसैलाई दोष दिने छुट छैन । सरकारसँग चाहिने मात्रामा संसद्मा बहुमत छ । सरकारलाई राम्रो काम गर्न कसैले कहीँकतै रोक्ने स्थिति छैन । बरु सरकारलाई अप्ठेरो विषय त आ–आफ्ना पार्टीका नेताहरूको व्यवस्थापन समस्या हुनसक्छ । किनकी गठबन्धनमा सरकार सञ्चालन कठिन काम हो जसमा सबै दललाई खुसी पार्नुपर्नै हुन्छ । दललाई खुसी पार्ने क्रममा जनता दोस्रो प्राथमिकतामा पर्छन् ।
प्रधानमन्त्री ओलीको भनाइअनुसार दूध बेच्ने १५ लाख किसानको ६ अर्ब भुक्तानी भएको, विदेशमा रोजगारमा जाँदा निधन भएको परिबारलाई दिने क्षतिपूर्ति ७ लाखबाट १० लाख पुर्याइएको छ । ५५० सहकारी ठगलाई कार्यबाही भएको ६०० अझै थुनामा रहेको, हालैको बाढीबाट पीडितमध्ये रुपैयाँ २० हजारका दरले पीडित ३९१ परिवारले पाइसकेको र बाँकी ७१ स्थानीय तहमा लागि ४ करोड ३० लाख र २ हजार ५५५ परिवारलाई ४ करोड ५० लाख सहायता छुट्याइको छ । ७५ हजार उखुु किसानले ८ अर्ब अनुदान पाएका छन् । १६५ जनाले २ करोड ५० लाख उद्यमशीलता कर्जा पाएका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक अनुमोदन भएको छ । आर्थिक सल्लाहकार आयोग बनेको छ । शान्ति सुशासनमा सरकारले कदम अगाडि बढाएको छ ।
प्रधानमन्त्री ओलीले यो सरकार खरानीको डल्लो होइन भनिरहँदा र १०० दिने उपलव्धी पढ्दा यो गठबन्धन सरकार साच्चैकै ‘खरानीको डल्लो’ जस्तो नै लाग्छ । चाहे त्रिवि सञ्चालन होस् या अस्पतालको व्यवस्थापनमा सरकार आफ्नो कार्य क्षमता देखाउनसकेको छैन । यी माथि उल्लिखित उपलब्धिका लागि मात्र सरकार बनेको हो, या सरकारका प्राथमिकता के हुन्, के हुनुपर्दथ्यो यो विषय बुझ्न जरुरी छ । सरकारले यो वर्ष, अर्को वर्ष के गर्ने, ३ महिनाभित्र, ६ महिनाभित्र, १ वर्षभित्र, सरकारले गर्ने काम प्राथमिकता के के छन् ?
नेपालले जलविद्युत्, पर्यटन र कृषिमा के कति काम गर्न सक्छ ? त्यसका लागि के के कुरा प्राथमिकतामा राख्नुपर्छ ? हाल विद्यमान समस्याहरू महँगी, सुशासन, भष्ट्राचार नियन्त्रण, सुकुम्बासी र वैदेशिक रोजगारजस्ता विषयमा सरकारको संवोधनमा परेन कि ? १०० दिनमा यो गर्नुपर्ने नै थिएन या सरकारले यसलाई कुनै महत्व दिएन ? अध्ययन मनन्को हिसाबले ओलिजी निकै मिहिनेती हुनुहुन्छ र पनि उहाँको कार्यशैलीमा किन सरकारको खासै देखिने उपलव्धी रहेन त ?
यसमा ओलीज्यु आफैँले आफैँमाथि नै निर्मम समीक्षा गर्नुपर्छ । किनकी उहाँ अरूको विरोध, विश्लेषण, समीक्षा र टीकाटिप्पणीमा असहिष्णु हुुनुहुन्छ । यसकारण कि त उहाँका हितचिन्तकले सुझाउनुपर्छ, या आफैँ चेत्नुपर्छ । हुन त उहाँको समिपमा उहाँको सहधर्मिणीबाहेक अन्य निःस्वार्थी तथा बुज्रुक छैनन्, केबल ‘एस म्यान’को झुन्ड छ । जब कि उहाँको छवि, कद व्यक्तित्वअनुसार १०० दिनमा बिल्कुल काम भएन । उहाँ क्याप्टेन भएकाले जहाजमा अन्य सहायक को को थिए ? भन्ने अर्थ राख्दैन । संयुक्त सरकार मानेर उहाँले असफल हुने छुट पाउनुहुन्न उहाँकै भाषामा भन्नुपर्दा ।
केही समय यता उहाँको बारेमा बजारमा आएको हल्लालाई हेर्दा देश बनाउने ध्यानभन्दा माधव नेपाललाई सकाउनेमा बढी केन्द्रित हुनुहुन्छ । साथै अर्को हल्ला कांगे्रस माओवादी र रबिको गठजोड हुने डरले रविलाई कारबाहीमा लाग्नुभएको भन्ने आरोप पनि छ । यसकारण पनि उहाँले सबै कुरा चिर्न खरो उत्रेर काममा लाग्नुपर्छ । प्रधानमन्त्रीको जिम्मेवारी कुनै मेयर वडा अध्यक्ष या कर्मचारीप्रति कटाक्ष व्यंग्य गरेर समय बर्बाद गर्ने कदापि होइन । भलै यसमा उहाँको भोट बैंकको काराण होला, तर सायद उहाँको यो प्रधानमन्त्री हुने अवसर यो अन्तिम पनि त हुन सक्छ । यसकारण समय बुझेर अघि बढनुपर्छ । हुन त उहाँलाई हामी जस्ताका कुराले छुँदैन । तर, एक नेपाली नागरिकको नाताले लेख्दै छु । २ ठुला दल हुँदा पनि काम नभए व्यवस्थाको विकल्प खोज्न बाध्य हुने परिस्थिति आउन सक्छ । यसकारण सबैजसो समय मन्त्री तथा दलले निःस्वार्थ रही देश विकास निर्माणमा लगाउन आवश्यक छ ।
अब के त ?
अबका दिनमा यो १०० दिन जस्तो अगामी दिनहरू बेकारमा खर्चिन नदिनका लागि १, २, ३ गरी तपसिलका कामहरू गरेमा केही परिणाम अवश्य आउँछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सक्रिय बनाउने तथा दल प्रभाव मुक्त पार्ने । संवैधानिक नियुक्तिमा यथासम्भव योग्यता, क्षमता, इमानदारी हेर्ने । महँगी नियन्त्रण तथा स्थानीय उत्पादन प्रवद्र्धनमा जोड दिने । ठुला राष्ट्रिय गौरवका आयोजनामा गम्भीर निगरानी गर्ने, असक्षम नेतृत्व हटाउने तत्काल प्रभावकारी देखिनेगरी काम गर्न लगाउने ।
यसैगरी सहकारीमा आफ्नै पार्टीका मानिस भए पनि कारबाहीको थालनी गर्ने । सार्वजनिक संस्थानको कार्यक्षमता बढाउनेतर्फ काम गर्ने, यसका लागि संस्थानको वास्तविक आय–व्यय सबै सार्वजनिक गर्ने र बहस अघि बढाउने । जनतालाई सरकार छ, हाम्रा लागि केही गर्छ भन्ने अनुभूति गराउन तत्काल बजार मूल्य अनुगमन, नियन्त्रण, गुणस्तर नापजाँचमा कडाइ गर्ने । अयोग्य नेतृत्व मन्त्रीसमेत हेरफेर गर्ने । भ्रमण, बैठक, उद्घाटन, शिलान्यास, अन्तर्वार्ता, कटाक्षमा नलागी पूरा समय विकास निर्माण र सुशासनमा दिनुपर्ने ।
ओलीको भनाई नै सापट लिएर बोल्दा ‘आगे पिछे’ कोही नभएको, कसैका लागि सम्पति थुपार्नु पर्ने नभएकोले व्यापारीसँगको गठजोड कम गरी सरकारको प्रमुखको हैसियतमा दुरी कायम गरी जनतालाई सुशासन दिन कठोर निर्मम बन्नुपर्छ । व्यापारी व्यवसायी चन्दादाताको चंगुलमा नफसी ठेक्का सिफारिस, लगानी साझेदार, लिज आदिका कारोबारमा नलाग्ने । साच्चै नै आर्थिक रूपमा पारदर्शी बन्ने । सरकारी संरचना संवैधानिक निकायले अदालतले काम गरिराखेको अवस्थामका हस्तक्षेप टिप्पणी नगर्ने ।
प्रधानमन्त्री व्यवसायी उद्योगी व्यापारी कसैको पनि निजी स्वार्थको सर्मथक नबन्ने । उनीहरू पैसाका लागि मात्र काम गर्ने यथार्थ भएकाले यो बुझी मनन गरी जनताको फाइदामा ध्यान केन्द्रित गर्ने । यसैगरी जनताको जीवनमा तत्काल फाइदा हुने देखिने काममा लाग्ने ।
दीर्घकालीन योजना लक्ष्य तथा मार्गचित्रको लागि सहयात्री कांग्रेससँग छलफल गरी काम थाल्ने । एकैपटक धेरै कुराको आश्वासन नदिने । जनताले अब ओली बोल्न छाडनुभयो किनकी बोल्ने कुरा नै सकियो भन्ने महसुस गर्न पाउन् । उहाँले पहिला पनि धेरै बोली सक्नुभयो । अब काम गर्नुपर्यो, देखाउने बेला हो । जनतालाई उहाँको कुरा गफ, उखान सुन्न फुर्सद छैन । उहाँले साच्चै नै काम गर्न दैनिक, साप्ताहिक, पाक्षिक, मासिक, त्रैमासिक कार्यक्रम योजना बनाउने ।
कांग्रेस र एमालेलाई अन्तिम मौका तथा गणतन्त्र फेल पास हुने अन्तिम समय भएको यो सरकारले एमालेको नारा ‘जनताको गाँस, बास, कपास’ र कांग्रेसको नारा ‘समाजवाद’लाई टेकेर आत्मसाथ गरेर काम गरेमा कुनै काम अप्ठेरो छैन । दीर्घ इच्छाशक्ति तथा निःस्वार्थ तथा इमानदारीको खाँचो छ । शिक्षा स्वास्थ्यमा सुधार गर्न सरकारमा सामेल दल नै इमानदार हुनुपर्छ तब मात्र स्कुल, अस्पताल इमानदार बन्छन् । अन्त्यमा, यो सरकारलाई शुभकामना । अर्को १०० दिन, यो १०० दिनजस्तो निरर्थक नबनाउन् सद्बुद्धि आओस् ।
प्रतिक्रिया