वास्तवमा जनतालाई चाहिएको स्वतन्त्रता, रोजिरोटीको स्वतन्त्रता हो । त्यो त पूरा भएन, तर सर्बसाधारण सबैलाई यो कुरा सुरुमा थाहा थिएन । यदि यो कुरा थाहा हुन्थ्यो भने न राजतन्त्रको बिरुद्धमा यति बिघ्न मानिसहरु लाग्दथे । न माओवादी जनयुद्धमा बन्दुक बोक्ने मानिस नै भेटिन्थ्यो । यसै परिबेशमा पार्टी नेता तथा ठूला बडालाई हेर्ने दृष्टिकोण पनि बार बारको उनीहरुकै व्यबहारका कारण जवरजस्त परिवर्तन हुन्छन् र हुदै आएका छन् ।
हरेक बस्तु वा घटनालाई हामी जति नजिकबाट हेर्छौँ , त्यति त्यसमा प्रष्टता आउँदै जान्छ । प्रष्ट हुनलाई अझ नजिकबाट खोतल्नु आवश्यक छ । जति हामी नजिक जान्छौं र त्यसलाई खोतल्छौं उति उति प्रष्ट चित्र आउँछ । यसका राम्रा र नराम्रा कुराको बारेमा स्पष्ट चित्र देखिन थाल्छ ।
उदाहरणका लागि पोखरा शहर यस्तो होला भनि कल्पनामा पोखराको बारेमा धारणा बनाउनु र त्यहीँ पुगेर घुमेर बनेको धारणामा धेरै अन्तर हुन्छ । जति कुनै पनि बस्तु र घटनाको बारेमा प्रष्ट हुँदै जान्छ त्यति दृष्टिकोणहरु बदलिँदै जान्छन् । राजतन्त्र, गणतन्त्र र लोकतन्त्रकोसमेतको स्पष्ट चित्र आइसकेको छ ।
सुरुमा सर्बसाधारण सबैलाई लाग्थ्यो की राजा गएपछि त उलट पुलट हुनेछ । सर्बसाधारणको रोजिरोटीका समस्यादेखि सबै समस्या समाधान हुनेछ । जब राजा गएर गणतन्त्र आयो, तब देखियो सोचेको र कल्पना गरेको कुरामा सत्यताको अंश ज्यादै न्यून रहेछ । यति मात्र होइन, दिएको आश्वासन समेत वास्तविकतामा मेल नखाने रहेछ । लेख्न पाइने, बोल्न पाइने, कराउन पाइने, कति राम्रो व्यबस्था ! बोलेका कराएका कुरा राज्यले नसुन्ने भएपछि पागल हुन्छ मान्छे । हो यस्तै पागल हुन पाउने स्वतन्त्रता आजको लोकतान्त्रिक गणतन्त्रले सुरक्षित गरेको छ ।
वास्तवमा जनतालाई चाहिएको स्वतन्त्रता, रोजिरोटीको स्वतन्त्रता हो । त्यो त पूरा भएन, तर सर्बसाधारण सबैलाई यो कुरा सुरुमा थाहा थिएन । यदि यो कुरा थाहा हुन्थ्यो भने न राजतन्त्रको बिरुद्धमा यति बिघ्न मानिसहरु लाग्दथे । न माओवादी जनयुद्धमा बन्दुक बोक्ने मानिस नै भेटिन्थ्यो । यसै परिबेशमा पार्टी नेता तथा ठूला बडालाई हेर्ने दृष्टिकोण पनि बार बारको उनीहरुकै व्यबहारका कारण जवरजस्त परिवर्तन हुन्छन् र हुदै आएका छन् । पञ्चायत कालदेखि आजसम्म आउँदा अनगिन्ती दृष्टिकोणहरु परिवर्तन भएका छन् । यो दृष्टिकोण परिवर्तनका कुरा श्रृंखलाबद्ध छ । सकारात्मकबाट नकारात्मकतिर छ ।
पार्टीका इमान्दार कार्यकर्ता र जनतामा यो कुरा लागू भैरहेको छ । सुरुमा कांग्रेस र कम्युनिष्ट पार्टीका नेताहरुप्रति मानिसहरु सकारात्मक थिए । नेताहरु सबैका प्रिय नेताहरु थिए । उनीहरुले गरेका आह्वानमा मानिसहरु मर्न मार्न तयार हुन्थे । यसैकारण पहिलो र दोश्रो जनआन्दोलन सफल भएको थियो । जब यी दुबै पार्टीले पालैपालो सरकार बनाउन थाले सर्बसाधारणका सोचहरु उनीहरुप्रति बदलिन पनि थाले । यसमा एमालेको नौ महिने सरकार अपवाद हुन सक्छ । उदार पूँजीवाद, खुल्ला बजार नीतिले हाम्रो जस्तो बिकासोन्मूख देसलाई सखाप पारेर छाड्यो । राज्यको स्वामित्वमा भएका उद्योगहरु कौडीको दाममा बेचियो ।
बिदेशी स्वार्थका कारण उक्त उद्योगहरु पूराका पूरा बन्द नै भए । जसको फल हामीले अहिले भोग्दै छौं । यस्ता अनगिन्ती नकारात्मक कामहरु दृष्टिकोणहरु बदल्न सहायक सिद्ध भएका छन् । तस्करी र काला बजारी बढे । घुसखोरी र भ्रष्टाचार पञ्चायत कालमा भन्दा ज्यादा बढ्यो । यो त चरम चुलीमा नै पुग्यो । कांग्रेस र कम्यूनिष्टका उ बेलाका राम्रा नेताहरु नराम्रा मानिसमा बद्लिए । मानिस उनै हुन, तर उनीहरु पहिले राम्रा लाग्थ्यो अब राम्रा लाग्न छाड्यो । किनकी पहिले उनीहरुको कुरा र भाषणको आधारमा मन मष्तिष्कमा धारणा बनाइएको थियो । अहिले उनीहरुको व्यबहारका आधारमा मूल्यांकन भयो ।
नेताहरुका आलिसान महल राजधानीमा ठडिए । अथाह पूँजीका मालिक उनीहरु भए । यसका कुनै पनि श्रोत कुनै नेताले पनि खोलेनन् । जनता नांगा र भोका भए । अपबादका रुपमा मदन भण्डारी, मनमोहन अधिकारी, गणेशमान र कृष्णप्रसाद भट्टराईलाई अहिले पनि धेरैले राम्रो मानिसको लिष्टमा सुरक्षित गरेको छन् । किनकी उनीहरुका राम्रा कामको मूल्यांकन गरेका छन सबैले । केही मझौला र तल्ला तहका नेता अपबाद हुन सक्लान्, तर अधिकांश नेताप्रतिको दृष्टिकोण आज आएर बदलिइसकेको छ ।
जनता र कार्यकर्तामा मात्र होइन की, नेताले सामान्य जनता र कार्यकर्तालाई हेर्ने दृष्टिकोण पनि परिवर्तन भैरहेको छ । चाकडी लिने र दिने रुपमा यस्तो दृष्टिकोणहरु फेरबदल भैरहेको देखिन्छ । चाकडी पुर्याउनेहरु प्रति नेताहरु अनुग्रहित हुन्छन्। नपुर्याउनेहरुलाई बहिष्कृत गर्छन् । कार्यकर्ताका सामान्य गल्ती पनि नेताहरुका दृष्टिकोण बदल्न काफी छन् । नेताहरुका गल्तीहरु झांगिन मलजलको कमी छैन । चाकडीवाजको चाकडीले मलको काम गरिरहेको हुन्छ । जसले विकृती र बिसंगती चारैतिर फैलिँदै गैरहेको छ । भ्रष्टाचार कुशासन र अनेक विकृतिका कारक यही नै हो ।
यसको परिणाम के देखिन्छ भने पार्टीहरु र यसका नेताहरु जनताका नजरमा फिका भैरहेका छन् । बिध्यमान व्यबस्थाप्रति जनताको आकर्षण घट्दो क्रममा छ । अब त वाक्क वाक्कको परिस्थिति श्रृजना भइरहेको छ । तल्लो तहका जनता र सामान्य पार्टीका कार्यकर्तामा पार्टीगत इगो नहुने हो भने करिव करिव सबैको ठूला र शीर्ष नेताहरुप्रति हेर्ने दृष्टिकोणमा एकरुपता आइसक्ने थियो । तर यस्तो इगो बेला बेलामा आउने चुनाव त्यसबेला बाडिने पैसा र कार्यकर्तालाई दिइने महत्व र बेला बेलामा हुने प्रशिक्षणले श्रृजना गरिदिएको हो ।
अझ यसो भनु जनता फुटाई आफ्नो स्वार्थ सिद्ध गर्न नेताहरुले नै यस्तो इगो घुसाइदिएका हुन् । जब कि सिद्धान्त बिचार र ब्यबहारले सबै च्यूत भैसकेका छन् भने, बाँकी बिबाद र झगडा के का लागि ? आफ्नो स्वार्थ पूर्ति गर्न नेताहरु जुनसुकै बेला पनि मिल्ने र नीजि स्वार्थ बाजिएपछि फुट्ने गर्दछन् । मिल्दा उनीहरु एउटै टेबुलमा बसेर पाँच तारे होटलको रसोस्वादन पनि गरिरहेका हुन्छन् । यदि यसो हो भने सामान्य समर्थक र सामान्य कार्यकर्ताहरुले आपसी झगडा र द्वन्द्वमा भाग लिनुको तुक कहाँ नेर छ त ?
जहाँसम्म संसदीय व्यबस्थाको कुरा छ, यसमा बिपक्षी पार्टीको आवश्यकता रचनात्मक सुझाव र बिरोधकोलागि हो । निजी स्वार्थ पूर्तिकालागि बिरोध हैन । यहाँ त मन्त्री यति सिट पाए पक्षमा बस्ने नत्र बिपक्षमा बस्ने भन्ने हुन्छ । मन्त्री बनेपछि पनि जनताका समस्या सामाधान गर्ने भन्दा नीजि स्वार्थ सिद्ध गर्ने गरिन्छ । सर्बसाधारणले कुरा बुझिसकेका छन् । बिस्तारै बिध्यमान अवस्थामा परिवर्तन भैरहेको छ । मात्रै केही पाएकाहरु र केही आशा राख्नेहरुले पार्टीहरु टिकिरहेको छ ।
बिकल्प नभएर अलमलिएका छन् जनताहरु । बिकल्प पाउनासाथ त्यतै पल्ला भारी हुनेछ । स्वतन्त्र व्यक्तिहरुले पनि चुनाव जित्नु यसका प्रमाणित आधारहरु हुन् ।
बिश्वास र आस्थाले मानिसलाई आशा जगाउने काम गर्दछ । आसै आशाको बीच गरिने कर्मले सन्तुष्टि पनि प्राप्त गर्दछ । आस्थावान मानिसले आफ्नो आस्थाकोलागि दुःख कष्ट र संघर्ष झेल्न पनि तयार हुन्छ । अरु कसैसँग बैमनस्य राख्न पनि ऊ तयार हुन्छ । यसका उदाहरण कम्यूनिष्ट आन्दोलनमा लागेका कार्यकर्ता र समर्थक जनतासमेत हुन् । दुःख र संघर्षका कथाका प्रत्येकसँग एउटा लामो इतिहास छ । कतिले घरवार गुमाए, कतिले छोरा गुमाए, कतिले त आमा बुवा नै गुमाए । अहिले आएर सहिद कस्तो मानिसलाइ भनिन्छ ? परिभाषा नै बदलिने गरी सहिद घोषणा गर्न थालिएको छ ।
आस्था आस्था बिच टक्कर खानुपर्छ, व्यक्तिगत रुपमा आफैंलाई सहयोग गर्ने बिरुद्धमा पनि जान ऊ तयार हुन्छ । अफसोच यस्ता आस्थाहरु जीवनको कुनै कालखण्डमा भत्कन पनि सक्छ । आस्थाका धरोहरको निष्पक्षता स्वच्छतामा जव प्रश्न चिन्ह उपस्थित हुन्छ, तब त्यो दिन आउन पनि सक्छ । जव तपाईंको पारिवारिक जीवन तहस नहस हुन्छ , त्यतिखेर कोही त भगवानलाई पनि गाली गर्न थाल्छन् । जव समाज र देसको मुहार हसाउने उच्च लक्ष्यकासाथ कुनै आस्था हुर्केको हुन्छ, आस्थाको धरोहर टुट्ने बित्तिकै त्यस्तो धरहराको टुप्पोमा उभिनेप्रती घृणा जन्मिन थाल्छ ।
यसैले यस्ता धरोहर नबिग्रिउन भन्नकालागि आस्थावानहरु पनि बढ्ता सचेत र सजग हुन आवश्यक छ । यदि सचेत हुनुभएन भने सबैभन्दा बढ्ता घाटा तपाईंलाई नै हुन्छ जो आस्थावान छ । समाज अत्याधुनिक बिज्ञान र प्रबिधिले सुसज्जित हुँदैछ । संसार हिजो भन्दा आज झन प्रबिधि सम्पन्न भैरहेको छ । यसैले मानव जीवनको सूदुर भविष्यको पनि निश्चित गर्नेछ । आजसम्म मानवले गरेको संघर्ष जीवन जीउनकालागि हो । अझ भनु जीवनका आयामहरुलाई स्तरीय बनाउनकालागि हो । यसैले अवको आस्था पनि जीवनसंग मेल खानेगरी अघि बढ्नु आवश्यक छ ।
आस्थाहरु भत्कनु र दृष्टिकोणहरु अदल बदल हुनु आजका राजनीतिक प्रणाली र यसमा सहभागी नेताहरुको व्यवहारगत कृयाकलापहरु जिम्वेवार छन् । राजनीतिक प्रणालीमा सुधार गरेर यसलाई सच्याउन सकिन्छ । नीति नियम र सिद्धान्तमा चल्ने नेता कार्यकर्ता भएमा यसको सुधार पनि सम्भव छ । त्यसपछि मात्र जनतालाई पनि कानुन नीति नियमहरुको ज्ञान र यसमा अभ्यस्त पार्न सके दृष्टिकोणहरुमा सकारात्मक सुधार गर्न सकिन्छ । अपसोच आजकल पावरफूल नेताहरुले कम्मल ओडेर घिउ खाने दिन सुरु भैरहेको छ । कार्यकर्ताहरु थाहा पनि नपाए जसरी मौन बस्नु परिरहेको छ । तन्नम दिमागहरु ताली पिटिरहेछ्न् ।जनता उकुसमुकुस भई त्यतै हेरिरहेका छन् ।
प्रतिक्रिया