ओली सिकन्दर हुन्, जितेपछि मनलाग्दी गर्छन्

नैतिकता, सच्चरित्रता, इमानजमानजस्ता कुरालाई बकवास जस्तो, मजाकजस्तो बनाइएको छ भन्दा फरक पर्दैन । स्याटेलाइटबाट बिजुली बेच्ने कुरा गरे पनि, बेनीमा चुच्चे रेलको स्टेसन बनाउने कुरा गरे पनि अथवा ७० करोड हान्देकै हो भनेर छाती ठोकेर भन्दा पनि तालीठोक्नेहरू भएपछि बकवास नबनेर के बन्छ त ? बकवास नभनेर के भन्ने त ?

दिनेश रायमाझी

इतिहासमा यसको कसरी विवेचना होला त्यो आफ्नो ठाउँमा छँदै छ । एकजना विवादास्पद ब्यापारीबाट जो वर्गीय दृष्टिमा पनि विपरीत बर्गपक्षधर हुन् तिनीबाट नामकै भए पनि एउटा कम्युनिस्ट पार्टीले आफ्नो मुख्य कार्यालय निर्माण गर्न जिम्मा लगाउने जुन काम अध्यक्षले गरे त्यो कुरा कम्युनिस्ट पार्टीको सिद्धान्त, विचारधाराको बर्खिलापमा छ । यति भनेपछि नैतिकता, स्वच्छता, इमानदारीको कुरै गर्न परेन ।

एमालेका अध्यक्ष ओली कम्युनिस्ट पार्टीको अध्यक्ष नभएर सिकन्दर हुन्, जितेपछि मनलाग्दी गर्छन् भन्ने स्पष्ट भएको छ । प्रचण्ड वा माधवको पनि कुरा यस्तै हो । यहाँनिर गजबको कुरा के छ भने, यस्तो गंभीर विचलन देखापर्दा समेत सिंगो एमाले पार्टीपंक्ति मौन छ, मानौँ धेरै राम्रो गरे अध्यक्षले पार्टीको निम्ति, ओतलाग्ने छानो हालिदिने मान्छे ल्याए भनेर । यसरी सबचिज पचाएर मौन धारण गरेको देख्दा सबै नै अन्धभक्त हुन् कि क्या हो भन्ने लाग्ने रहेछ ।

हामीले शुद्धीकरण वामपन्थी/कम्युनिस्ट पार्टीहरूमा यो संभावना छ त ? भन्दा छैन । यो संभावना किन छैन भने सबै वामपन्थी दलहरूका सबै अध्यक्षहरू धर्मगुरुजस्ता छन्, पादरीजस्ता छन, शंकराचार्यजस्ता छन्, हाजी–मौलवीजस्ता छन् । मानौँ सबैको मन शुद्ध छ, वचन पवित्र छ । बोली अकाट्य छन्, हरेक कर्महरू प्रश्नको घेराभन्दा बाहिर छन्, आस्थाले भरिएका, ज्ञानले पूर्ण छन्, सत्यनिष्ठा र नैतिकताले भरिएका छन् मानौँ आदर्शका प्रतिमूर्ति हुन् ।

यस्तो अवस्थाबाट गुज्रिरहेका दलहरूमा शुद्धीकरण र सुदृढीकरण हुनसक्छ भन्नेकुरा सोच्न पनि सकिन्न । यदि कसैले यो काम अनैतिक हो, यस्तो गर्नु हुँदैन भनेर बोल्छन् भने तिनीहरूको हालत पहिले टंक कार्कीको जस्तो पारिन्थ्यो । अहिले १० भाइलाई जस्तो पारिन्छ, भीम रावल र घनश्याम भुसाललाई जस्तो पारिन्छ, जनार्दन शर्मालाई जस्तो पारिन्छ ।

नैतिकता, सच्चरित्रता, इमानजमानजस्ता कुरालाई बकवासजस्तो, मजाकजस्तो बनाइएको छ भन्दा फरक पर्दैन । स्याटेलाइटबाट बिजुली बेच्ने कुरा गरे पनि, बेनीमा चुच्चे रेलको स्टेस्न बनाउने कुरा गरे पनि अथवा ७० करोड हान्देकै हो भनेर छाती ठोकेर भन्दा पनि तालीठोक्नेहरू भएपछि बकवास नबनेर के बन्छ त ? बकवास नभनेर के भन्ने त ? अध्यक्षहरूका शीरदेखि पाउसम्मका पोसाक नै करोडौँ मूल्यका छन् भनेपछि त्यो सर्वहारा वर्गीय जीवनपद्धति भयो कि बुर्जुवा भयो ? माइक्रोसफ्टका मालिकले उही सर्टपाइन्ट वर्षौं लगाउँदा हुने, तर तल्लो, बर्गबाट उठेको हुँ भन्ने, सर्वहारा वर्गको नेता हुँ भनेर भन्ने नेताहरूले करोडौँको घडी र लाखौँको सुट र जुत्ता लगाउन किन परेको होला ? कतिले त मेकअप गरेको पनि देखियो । यो त खासमा बुर्जुवा पनि नभएर सामन्ती पारा पो हो त ।

हामीले बिचार गर्नुपर्छ हिजो को कस्ता थिए र कस्ता भए आज भनेर । मान्छे चिन्ने बोली वचनलाई हेरेर होइन । किनभने चिप्ला कुरा गरेर लरक्कै पार्दिन्छन् । हामीले चिन्ने र परख गर्ने उसको आर्थिक अवस्थामा आएको परिवर्तन र त्यसले उसमा ल्याएको आचरणगत बदलावलाई हेरेर हो । हाम्रो भनाइ झुत्रा कपडा लाएका, लुखुरलुखुर बाटोमा हिँडिरहेका हाम्रा नेता होउन् भन्ने चाहाना होइन । लेनिनले टाई लगाउँथे तर उनको आलोचना यसलाई लिएर कहिल्यै भएन । किनभने त्यसमा अनैतिक आय जोडिएको थिएन ।

हाम्रा नेताहरूले पनि सफा, राम्रो सुट वा दौरासुरुवाल र टोपी लगाएर हिँड्दा आलोचना कसैले पनि गर्दैन । तर हेरौँ त कस्तो छ लवाइ, हिँडाइ र जीवनशैली, मार्कोसलाई पछाडि पार्ने कसिमको छ । कुनै पनि गुटको मिटिङ हेर्नुस् त कहाँ हुन्छ, भेला हेर्नुस् त कहाँ गर्छन् र भेटघाट हेर्नुस् त कहाँ गर्छन् ? आँखीभुइँ उचालिने मात्रै होइन कि आफसेआफ जिब्रो नै टोकिन्छ । हामीले राम्रोसँग जानेका, हामीसँगै हिँडेका कैयौँ आज ठुलानेता बनेका छन्, उनीहरू हामीसित छोटो समय पनि बिताउन अफ्ठ्यारो मान्छन् । उनीहरूलाई हामीसित बस्दा ग्लानीजस्तो महसुस हुनेगर्छ । उनीहरूको वर्ग परिवर्तन हुन गएको छ र हामी यस्तो किन भयो भनेर प्रश्न गर्छौं, असन्तुष्टि पोख्छौँ र विरोधसमेत गर्छौं ।

उनीहरूलाई हाम्रो कुरा, हाम्रो प्रश्न, हाम्रो विरोध, हाम्रो सल्लाह मन पर्दैन । किनभने उनीहरू हामीलाई त्यागेर बतास ग्रुपका बनिसकेका छन्, यती ग्रुपका बनिसकेका छन्, भाटभटेनी ग्रुपका बनिसकेका छन् । उनीहरू हाम्रो नभएर भट्टका मान्छे हुन्, अधिकारीका मान्छे हुन्, पौडेलका मान्छे हुन् । उनीहरू जनताका मान्छे होइनन् , जनताको मान्छे हुन छोडेको धेरै भइसकेको छ । यो आजको यथार्थ हो । सित्तैमा ब्यापारीले किन लाखौँ भाडा आउने घर दिन्छ नेतालाई ? किन पार्टीको निम्ति अर्ब खर्च गरेर ओतलाग्ने पौवा (?) बनाइदिन्छ ? किन उपचार खर्च बेहोर्छ ? किन जहाज चार्टर गरिदिन्छ ?

हिमालयन एयरले चीनमा प्रधानमन्त्रीलाई बामपन्थी उद्योगपति भएकोले लगेको हो ? त्यो महँगो घडी सर्वहाराको नेतालाई जरुरी छ भनेर उपहार गरेको हो ? जसले गरेको भए पनि ? माथिका कुनै पनि कारणले सहयोग गरेका, उपहार दिएका होइनन् । यो विशुद्ध ब्यापारीक साँठगाँठ हो ब्यापारी र नेताको बीचको । यसलाई ब्यापार र राजनीतिको नेक्सस् पनि भनिन्छ । यसलाई तोड्न सक्ने सामथ्र्य हाललाई कसैसँग पनि देखिएन । प्राकृतिक प्रकोप (राजनीतिक) आएर विध्वंस नपारेसम्म बदलाव आउने छाँटकाँट पनि छैन ।

पार्टीमा शुद्धीकरण र सुदृढीकरण चाहिन्छ भन्नेहरू पनि विकल्प दिन असमर्थ छन् । यिनीहरू मध्ये कसैलाई मन्त्री हुन पाइन्छ कि भन्ने लालच देखिन्छ, कसैलाई केन्द्रीय पदाधिकारी बन्ने लालच देखिन्छ, कतिलाई उपाध्यक्ष र महासचिव बन्ने लालच देखिन्छ । यस्तो लालचको पोको बोकेर बसेकाहरूले समय काट्नेबाहेक केही उल्लेख्य योगदान गर्नेछन् पार्टीको पुननिर्माणमा भनेर आशागरेर बस्नु भनेको हामीले पनि आफ्नो अमूल्य समयलाई बर्वाद गरिरहेका छौँ भनेर मान्दा हुन्छ ।

मैले सानो कुरा लेखेर बिट मार्छु । सिपीलाई झुठो चार्ज लगाएर महासचिवबाट अपदस्थ गरिएको थियोे भनेर भन्छन् । उनले अपदस्थ हुन मञ्जुर गरे त्यसको प्रतिवाद वा विद्रोह गर्ने हिम्मत गरेनन् । आज उनी असान्दर्भिक भएका छन्, उनको जेल फोरेको इतिहास कथामा परिणत भएको छ । मदन भण्डारीले पहलकदमी लिएका कारण जबज जस्तोसुकै किन नहोस् उनको नाम नलिई नेपालको बाम राजनीति अगाडि बढ्नै सक्दैन । शंकर पोखरेल वा घनश्याम भुसाल पार्टीको महासचिव भएर पनि पार्टीको चरित्र परिवर्तन हुन सक्दैन भनेर भन्न कुनै साइन्स पढ्नु पर्दैन । राजनीतिक पहलकदमी लिने र नेतृत्व छिन्ने साहस नभएका कोही पनि नेता बुख्याँचा मात्रै हुन् हेर्दा मात्रै केही गर्छन् कि जस्तो भान हुने । यथार्थमा यिनीहरू सबै आफ्नो निम्ति ठाउँ बनाउने संझौतापरस्त नेता हुन् जसले हाम्रो आशा र भरोसामाथि चिसोपानी खन्याइरहेका छन् ।

प्रतिक्रिया