प्राडा सुरेन्द्र केसीको बौद्धिक समीक्षण

कतिपयचाहिँ दन्तबजान गर्नकै लागि मिडियामा आइरहेको देखिन्छ । देश र जनतामा चरम निराशा फैलाउन आतुर र व्यग्र देखिन्छन् । टीके प्रधानमन्त्री बनाउन अपहत्ते गर्ने कथित प्राडा नामका दुई सिङे वकिलको अझै मति बुद्धि आएको देखिन्न । अर्का नेपाल थरि मुखमा आएजति बोल्न कत्ति पनि लाज सरम नमान्ने पनि कथित विश्लेषक पनि देखिन्छन् । अर्काथरि दीक्षित र दाहालले पनि मिडियामा बारबार अमर्यादित बेतुकी रूपमा थुतुनो बजाइरहेको देखिन्छ ।

प्राडा बद्रीविशाल पोखरेल

जननेता मदन भण्डारीको विद्यार्थी कालमा नै बनारसमा पूर्ण प्रकाश नेपाल यात्रीसित भेट भएको थियो । त्यसबेला भण्डारीले नेपाललाई समीक्षा र समालोचनाको अंश होइन समग्रताको अर्थ सन्दर्भ र व्याख्या गर्नुभएको थियो । भण्डारीका अनुसार जीवन जगत्कै विवेचना विश्लेषण गर्नु समीक्षा हो । त्यसैले अहिले म प्रसिद्ध राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसीको सांगोपांग समीक्षामा यो लेख केन्द्रित रहेको छ ।

प्रसिद्ध लेखक तथा विश्लेषकहरू सौरभ, प्राडा भाष्करदत्त पन्त, पी खरेललगायत विश्लेषकहरू मिहिनेतपूर्वक समसामयिक राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा व्याख्यान गरिरहनुहुन्छ । तर, कतिपयचाहिँ दन्तबजान गर्नकै लागि मिडियामा आइरहेको देखिन्छ । देश र जनतामा चरम निराशा फैलाउन आतुर र व्यग्र देखिन्छन् । टीके प्रधानमन्त्री बनाउन अपहत्ते गर्ने कथित प्राड. नामका दुई सिङे वकिलको अझै मति बुद्धि आएको देखिन्न । अर्का नेपाल थरि मुखमा आएजति बोल्न कत्ति पनि लाजसरम नमान्ने पनि कथित विश्लेषक पनि देखिन्छन् । अर्काथरि दीक्षित र दाहालले पनि मिडियामा बारबार अमर्यादित बेतुकी रूपमा थुतुनो बजाइरहेको देखिन्छ ।

यतिका व्यक्तिले आफूले बोलेका कुरा पानीका फोका झैँ छिनछिनमा फुट्ने विश्लेषणका नाममा बोलेर के हुन्छ । तर, अहिले विश्लेषककै लहरमा देखापर्नु भएका प्राडा केसी अहिले यस लेखको केन्द्रमा हुनुहुन्छ । उहाँको समीक्षा निर्मम हुनसक्छ । किनभने सिकारु, सिर्जनशील र ज्येष्ठ र श्रेष्ठ भएका र भनिएकाहरूलाई समान ढंगको समीक्षा हुनसक्तैन र हुनुहुँदैन ।

केसीजी मिडियामा छाइरहनुहुन्छ । राष्ट्रिय स्तरका समसामयिक विषयमा बारबार विश्लेषण गर्नुहुन्छ । अनेक विषयका बारेको सूचना पनि उहाँबाट थाहा हुन्छ । केसीका जे जति सकारात्मक विश्लेषण छन् तिनको प्रशंसा नै गर्नुपर्छ र गरिन्छ तर उहाँका कतिपय विश्लेषण विषय, व्यक्ति र सन्दर्भ भने अत्यन्त हल्का देखिन्छन् ।

यसै क्रममा उहाँले केही दिनअघि दसैँ विषयमा व्यक्त गरेका विचार उहाँको इतिहास र संस्कृतिको औपचारिक ज्ञान अनुकूल नभएको स्पष्ट भयो । मेरो अध्ययन र खोज अनुसार नेपालीको यो चाडको नाम विजया र बडा होइन, दसैँ मात्र हो । यस चाडको प्रारम्भ कृषियुगको आरम्भसँगै भएको प्रमाण जौबाट थाहा हुन्छ । जौलाई आदि अन्न भनिन्छ । ओडार र झुप्रामा बस्ने हाम्रा पुर्खाले चराचुरुंगीले बिस्ट्याएर उम्रिएको र फलेको जौ चिने र चाखे । अनि यसको आफ्ना वरपरको जमिनमा रोपर परीक्षण गरे । रोपेको जौ उम्रियो र लहलह भयो । यस खुसियालीमा तिनले जौ शीरमा र कानमा सिउरिए ।

न्वागी खानेजस्ता पर्वले कृषिजन्य अनेक चाडलाई प्रमाणित गर्छन् । कृषिलगायत श्रमले थाकेर र गलेर माटो भएपछि पुनर्ताजगी प्राप्त गर्न यस्ता चाडबाड सुरु गरिएका हुन् । शारीरिक पुनर्ताजगीका लागि पोषिलो कुरा खाने र आराम गर्ने अनि मानसिक थकान हटाउन नाचगान र रामरमितो गर्ने सन्दर्भमा प्रायः चाडहरू आरम्भ भएका हुन् । तर, त्यतिबेला दसैँ नामकरण भएको थिएन । दसैँ महिषासुर बधसित पनि जोडिएको देखिन्छ । देव र दानव दलको चर्चा रहेको छ । दिति र अदितिजस्ता एउटै दिदीबहिनीका सन्तानलाई दानव र देव भन्ने कुरा नै समीक्षाको विषय हो ।

दसैँको नामकरणचाहिँ राम र रावण युद्धकालदेखि सुरु भएको मान्ने आधार पर्याप्त छन् । युद्ध भन्दाअघि १० दिनसम्म शक्ति स्वरूपा आदि माता देवी भगवती र हात हतियारको पनि पूजाआजा, आराधना र न्यास ध्यान गरेर रावण बध गर्ने अभियान आरम्भ गरेको र यसमा विजय प्राप्त गरेको अर्थ र सन्दर्भसित दसैँ नामकरण प्रमाणित हुन्छ । पूजा, पाठ, न्यास, ध्यान मनोबल उच्च बनाउने सन्दर्भसित सन्निकट छ । युद्धमा हातहतियार अपिहार्य हुन्छ, तर उच्च मनोबल पनि उत्तिकै अपरिहार्य हुन्छ । कमजोर मनोबल भए पनि शक्तिशाली र धारिलो हतियार मात्र कामयाव हुँदैन । तपाईं त दसैँलगायत चाडबाडसम्बन्धी यथार्थ सत्य कुरा आफ्नै अग्रज वा गुरुले नबताएकामा कटाक्ष गर्दै हुनुहुन्थ्यो । गुरुको पनि गुरु पुस्तक हुन नि होइन ? गुरुले पनि पढेर र सोधखोज गरेर नै ज्ञान प्राप्त गर्ने हो नि ।

एकातिर दसैँजस्ता चाडपर्वहरूलाई अझै पनि एक जात, धर्म र नश्लकरण गरिएको छ । यसमा हामी अलिअलि जानेबुझेका र बुझ्न सक्ने क्षमताका हामी सत्य, तथ्य नबताउने चुप लागेर बस्ने, तर समाजमा जात, जाति र सम्प्रदायका बीचमा अज्ञानताका कारण आपसी वैरभाव व्यापक हुने कुरा पटक्क मेल खाएन । अहिले पनि रावणलाई अनार्य, आदिवासी र जनजाति भनेर अपव्याख्या गरिएको देखिन्छ । जबकी रावणलाई ब्रम्हाजीको मानस पुत्र भनिन्छ र उनी पुलस्त्य मुनिका छोरा हुन् र उनका १० मुख वा १० प्रतिभा र क्षमता थिए । रावण त रामभन्दा विद्वान थिए । त्यसैले विगत कालमा विजयादशमी भनिए पनि फेरिएको अहिलेको परिस्थितिमा विजयादशमी भन्न मिल्दैन ।

विजया भन्ने हो भने काम, क्रोध, लोभ, मोह, इष्र्या द्वेषजस्ता कुप्रवृत्तिजस्ता अमानवीय प्रवृत्ति उपर विजय हासिल गर्ने सन्दर्भमा भन्न मिल्छ । अज्ञानीसित रिसाउनु हुँदैन । त्यसैले दसैँलगायत चाडवाडमा विद्यमान एक जात, धर्म र संस्कृतीकरणलाई सचेततापूर्वक हामीले हटाउन थाल्नुपर्छ । त्यसैले आजको र अबको सन्दर्भमा विजयादशमी भन्न सुहाउँदैन । र यस्ता चाडपर्वका बेला रावण दहनजस्ता कार्यक्रम गर्न हुँदैन । धर्म, संस्कार र संस्कृतिमार्फत् राज्य, शाषक र सत्ताले आफ्नो वर्ग स्वार्थ अनुकूल राजनीतिलाई भरपूर संरक्षण गरेको हुन्छ । संघीय लोकतान्त्रिक गणतान्त्रिक शाषनकालमा सबै चाड र पर्वका सारमा विद्यमान सामन्ती सांस्कृतिक अर्थ आशय र सन्दर्भलाई परित्याग गर्नुपर्छ । यस्ता विषयमा तपाईंजस्ता इतिहास र संस्कृति विषयका विद्वानको अगुवाइ अपरिहार्य हुन्छ ।
मेरा अध्ययन र जानकारीमा वडादसैँ पहिलेदेखि थिएन । वडादसैँ पूर्वराजा वीरेन्द्र शाहका पालादेखि सुरु भएको हुनुपर्छ । चैते दसैँ सानो अनि असोजको दसैँ वडा भन्ने अर्थ लगाएको पनि सुनियो । राजा महाराजका श्रीमती, छोरा, छोरी, लुगाफाटा, घर सबै वडा मानिन्छन् र हुन्छन् । उनले मान्ने धर्म संस्कार र संस्कृतिलाई पनि विशेष महत्व दिइन्छ वा वडा भन्ने गरिएको हो । अझ त्यसमा पनि वैदिक सनातन वा हिन्दू धर्मले राजालाई साक्षत् देवताको अवतार मान्ने भएकाले यस धर्म र संस्कृतिलाई काखी च्यापेको स्पष्ट हुन्छ । तसर्थ यो कालका र अब दसैँ वडा छठ पर्व छोटा भन्न मिल्दैन र हुँदैन ।

यही असोज १९ गते एमाले कोसी प्रदेशको कला, साहित्य र संस्कृति विभागले दसैँ विषयक परिचर्चा कार्यक्रममा उपर्युक्त सन्दर्भ प्रस्तुत गरेको थिएँ । एमालेका केन्द्रीय उपाध्यक्ष गुरु बरालका प्रमुख आतिथ्यमा, खेम नेपालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुप्रसिद्ध संस्कृतिविद् प्राडा गणेश क्षेत्रीसहित विषयविज्ञहरूको विचार प्रस्त्ुति रहेको थियो । यस कार्यक्रममा मैले नेताहरूमा उहिल्यै आउने बुद्धि अहिले यति अबेर आए पनि जाती नै भयो भनेको थिएँ । बेलैमा यस्तो बुद्धि आएको भए प्राप्त उपलब्धि अलिक सबल हुने थियो । यी सब काम हामीले गर्दा होइन तपार्इं एमालेलगायत प्रमुख पार्टीका कारण भएको हो भन्ने तीतो सत्य बताउँदा गोष्ठीको माहौल गर्माएको थियो ।

सबै विषयमा आफँै मात्र जान्ने हुँदा समस्या गम्भीर हुन गएको हो । त्यसैले डा. केसीले सबै खालका अतिवाद र अन्धवादलाई परास्त गर्ने खालका विचार पनि प्रवाह गर्नुपर्छ भन्ने मेरो सुझाव हो । तपाईंका अभिव्यक्तिमा हामी पनि कहीँ न कहीँ जोडिन्छौँ । तपाईंका तलमाथि खालका अभिव्यक्तिले हामीलाई छुने गर्छ । त्यसैले विश्लेषण गर्दा सबै प्राडाको शीर उठ्ने खालको अभिव्यक्ति दिनु जाती हुन्छ । बर्खे पानीका फोका झैँ छिनभरमा फुट्ने अभिव्यक्ति पटक्क सुहाउँदैन ।

हामीमा जे जस्ता सोच, समझ र संस्कारहरू छन् ती प्रायः परम्परागत प्रभावका कारक हुन् । पुरानै शाषक र शासन व्यवस्थाका संस्कार र संस्कृतिको जवर्जस्त प्रभाव हामीमा रहेको छ । प्रायः नेताहरूमा पनि उपर्युक्त प्रभाव व्याप्त भएकै कारण देशले अपेक्षित प्रगति हुन नसकेको हो । कसैले गर्न खोजे पनि त्यसैको खुट्टा तान्ने कुसंस्कारका कारण सरकार र विकास निर्माणले स्थिरता प्राप्त गर्न नसकेको हो । तर, सापेक्षताका आधारमा सही मूल्यांकन नगरी सबैलाई चोर भन्न र सुन्न बानी परेका छौँ । विशिष्ट विद्वानको पगरी गुथे पनि हामी पितृतन्त्री ग्रन्थीबाट ग्रसित छौँ । आफ्नै घरमा बुबाका अगाडि अदबमा बस्ने हामी आमालाई अलिकति भए पनि हेला नै गर्ने परिपाटीमा हुर्कियौँ । त्यसैले प्रथम महिला राष्ट्रपति विद्या भण्डारीलाई जननेता मदन भण्डारीकी पत्नीका रूपमा मात्र हेर्न मन पराउँछौँ । प्रसिद्ध कलाकार करिश्मा केसीका पतिलाई पत्नीका नामबाट परिचित हुने लाछी भन्न रुचाउँछौँ ।

नेपाली समाजमा वितृष्णा मात्र बढाउने काम मात्र त गर्नु भएन नि । विश्लेषणका नाममा हचुवा खालका र तिललाई ताड बनाएर जनतामा चरम निराशा मात्र प्रवाह गर्नु भएन । तपार्इंले एक भीम उपाध्यायको फेक फेसबुकमा अमेरिकामा प्रधानमन्त्री ओलीलाई जुत्ताले हिर्काए भनेर एक कार्यक्रममा हाहा गरेर हाँस्नुभयो, तर केही छिनमा तपाईं आफैँ मरिच झैँ चाउरिनुभयो । हाम्रा पुर्खाले बोल्न पाइयो भनेर प्याच्च नबोल्नु र बस्न पाइयो भने थ्याच्च नबस्नु भनेर अर्ती गरेको यादै गर्नु भएन ।

तपार्इंले राम, रावण आदि पौराणिक सन्दर्भलाई मिथक भन्ने भ्रान्त धारणा व्यक्त गर्नुभयो । राम र रावणका शाखा सन्तान र तिनको वंशावली त्यहीँ भारतमा पाइन्छ । बुद्धको बेलैमा उत्खनन् नभएको भए बुद्ध नै मिथक हुन्थे होलान् । पूर्वका व्यास भनेर भनिनुभएका पं.छविलाल पोखरेलले विधर्मीहरूले कसरी हाम्रा धार्मिक पौराणिक सन्दर्भहरूलाई कोरा कल्पना वा मिथक भनेर उल्टो व्याख्या गरे ? भन्ने कुरा बताउनुभएको छ । त्यसै हो भने तिनले गणेशको वाहन सुगुर भनेर किन लेख्नुपरेको हो ? प्रसिद्ध लेखक मोहन बन्जाडेले विधर्मीहरूले लेखेर फैलाएका भ्रान्त धारणाका बारेमा दैनिक पत्रिकाहरूमा धेरै लेखहरू लेख्नुभएको थियो । अनि तपार्इंले त ओलीले राम र सीता तथा अयोध्याका बारेमा उल्लेख गरेका सही सत्य र प्रामाणिक विषयलाई उपेक्षापूर्वक हाहा गरेर उडाउनुभयो । कृपया देशलाई केन्द्र बनाएर विश्लेषण गर्नु जाती हुन्छ । चरम निराशा मात्र फैलाएर देश र देशवासीको कल्याण हुँदैन ।

प्रतिक्रिया