बडादसैँ कि, विजयादशमी ?

हामीलाई यस्तो लागिरहेको छ कि, हामी सबैभन्दा ठूला क्रान्तिकारी बनिरहेका छौँ । हामी सबैभन्दा ठूला आधुनिकतावादी बन्दैछौँ । हामीले आधुनिकताको खोल ओढ्दै गर्दा यो बिर्सिनु हुँदैन कि, पश्चिमले कसरी विकास गर्यो ? आफ्ना धर्म, संस्कृति र सभ्यताको जगमा उभिएर नै पश्चिमको विकास सम्भव भएको हो । पश्चिमीकरणलाई गर्वका साथ आत्मसात गरिनु आफ्नो अस्तित्व निमिट्यान्न पार्नु हो ।

अञ्जु कार्की

यतिबेला हामी नेपाली पहिलो ठूलो चाड बडादसैँ मनाइरहेका छौँ । अबको केही दिनपछि दोस्रो ठूलो चाड तिहार मनाउँदैछौँ, त्यस पछि छठ । हुन त चाडपर्वहरू कोही ठूला या कोही साना भन्ने हुँदैनन् । सबैका आ–आफ्ना विशेषता र महत्व छन्, तर सहभागिताका हिसाबले दसैँ, तिहार र छठलाई ठूला चाड भन्ने गरिएको छ ।

हामी चाडपर्वका दृष्टिले धनी छौँ तर हाम्रा धेरै धार्मिक चाडपर्व एवं संस्कृतिहरू विदेशी अतिक्रमणमा परिसकेका छन् । उदाहरणका लागि हामीले वडादसैँ बिर्सेर विजयादशमी भन्न थालेका छौँ । तिहार बिर्सेर दीपावली भन्न थालेका छौँ । हाम्रो आफ्नै मौलिक संवत् नेपाल संवतलाई हामीले धार्मिक क्रियाकलापका तिथिमा मात्रै सीमित राखेर विदेशबाट विक्रम सम्बत र इस्वी सम्बतलाई टपक्क टिपेर मनाउन थालेका छौँ । हाम्रो नेपाल संवत् अब धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा पनि रहँदैन कि जस्तो देखिएको छ ।

उदाहरणका लागि जन्मदिवसलाई नै लिउँ । ‘बर्थ डे’ भन्दै हामी विक्रम सम्बत र इस्वी सम्बत मितिमा जन्म दिवस मनाउन थालेका छौँ । यसरी नै अतिक्रमण बढ्दै गयो भने भोलि हामीले पितृ श्राद्ध पनि नेपाल सम्बतको तिथिलाई बिर्सेर विक्रम तथा इस्वी संवतको मितिमा गर्न बेर छैन ।
५ दिनसम्म मनाइने तिहार पर्वभित्र पनि विभिन्न चाडहरू छन् । पहिलो दिन त्रयोदशीका तिथिमा चलाख पक्षी कागको पूजा गरी तिहार आरम्भ गरिन्छ । यो दिनलाई काग तिहार भन्ने चलन छ । दोस्रो दिन चतुर्दशी तिथिमा आज्ञाकारी जनावर कुकुरको पूजा गन्छि । त्यसैले यस दिनलाई कुकुर तिहार भन्ने गरिन्छ । तेस्रो दिन औँशी तिथिमा लक्ष्मीको अवतार गाईको पूजा गरिन्छ । जसलाई लक्ष्मी पूजा पनि भन्ने गरिन्छ । खास गरी व्यापारिक वर्गले लक्ष्मी पूजालाई विशेष महत्व दिन्छन् । रातभरी घर आँगन झिलिमिलि उज्यालो बनाएमा लक्ष्मी प्रवेश गर्छिन् भन्ने मान्यता छ । त्यसकारण व्यापारी वर्गले तिहारलाई दीपावलीसमेत भन्ने गरेका छन् ।

तिहारे औँशीकै तिथिबाट नेपाल सम्वतको नयाँ वर्ष सुरु हुन्छ । नेपालसम्वतको नयाँ वर्ष नेवार समुदायको मुख्य चाड हो । तिहारको चौथो दिन प्रतिपदा तिथिमा गोवर्धन पूजा गरिन्छ । जसलाई गोरु तिहार भन्ने चलन छ । यसैगरी तिहारको अन्तिम दिन अर्थात द्वितीया तिथिमा दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै विशेष पूजा गरी सप्तरंगी टीका तथा फूलमाला लगाइदिन्छन् । यस दिनलाई भाइटीका भन्ने गरिन्छ । तिहारका ५ दिनमध्ये नेपालमा भाइटीकाको महत्व सर्वाधिक छ । तिहार र भाइटीकालाई एकअर्काका पर्याय मानिन्छ । उता भारतको हिन्दू समुदायमा भने भाइटीकाको चलन छैन । भारतीय हिन्दूहरू लक्ष्मीपूजालाई नै तिहारको पर्याय मान्छन् । त्यसैले भारतमा तिहार पर्वलाई दीपावली भन्ने गरिन्छ ।

भारतकै देखासिखीका कारण नेपालमा पनि केहीले तिहार पर्वलाई दीपावली पर्व भन्ने गरेको पाइन्छ । तर, दीपावली भनेको तिहार पर्वका ५ वटा चाड मध्ये एउटा चाड हो भन्ने हेक्का हामी नेपालीले राख्नै पर्छ । संस्कृत भाषा लोप गराएर हामीले धेरै कुरा गुमाएका हौँ । संस्कृत भाषाको वैदिक सनातन शब्दलाई त्याग्दै फारसी भाषाको हिन्दू शब्दलाई भारतीयहरूले अँगाल्नुको निश्चित कारण छ । त्यो कारण हो, संस्कृत भाषा लोप हुनु । नेपालको सन्दर्भमा संस्कृत भाषा जनजिब्रोमा लोप भए पनि ब्राह्मणहरूले आफ्नो कर्मकाण्डी पेसालाई जोगाउन भए पनि निरन्तरता दिइरहेका थिए ।
कम्तीमा पनि संस्कृतको एउटा विषय सरकारी शिक्षाको निमावी तहमा अनिवार्य गरिएको थियो । संस्कृत पढ्नेहरूले नेपाली भाषालाई जीवन्तता दिँदै आएका थिए तर माओवादी ‘जनयुद्ध’ का नाममा संस्कृत पढ्ने बटुकहरूको टुप्पी काट्ने अभियान सुरु गरियो । संस्कृतका पाठ्यपुस्तक जलाउन थालियो । पाणिनी संस्कृत मावि लमजुङका प्रधानाध्यानपक मुक्तिनाथ अधिकारीलाई त झन् जिउँदै रुखमा बाँधेर घाँटी रेटी हत्या नै गरियो । आवरण माओवादीको भए पनि हाम्रो भाषा र संस्कृतिमाथि शत्रुहरूले गरेको विभत्स हमला थियो यो । यो हमला करिब १० वर्ष चल्यो ।

अतिक्रमण, भूगोलमा मात्र होइन भाषा र संस्कृतिमा पनि हुन्छ । भूगोलको अतिक्रमण जति खतरनाक हुन्छ, भाषा र संस्कृतिको अतिक्रमण त्यो भन्दा बढी खतरनाक हुन्छ । भूगोलमाथिको अतिक्रमण आफू सक्षम हुँदा फिर्ता गर्न सकिन्छ भने भाषा र संस्कृतिमाथिको अतिक्रमण कुनै हालतमा फिर्ता गर्न सकिँदैन । यसमाथि एकपटक अतिक्रमण भएपछि फर्काउन निकै चुनौतीपूर्ण हुन्छ ।

उदाहरणका लागि हामी नेपाली वैदिक सनातनी हौँ, तर हाम्रो यतिबेलाको पहिचान हिन्दूका रूपमा भएको छ । अब साविककै वैदिक सनातनीका रूपमा परिचित हुन हामी नेपालीलाई सम्भव छैन । किनकी विद्यमान समयमा नेपालको नाम हिन्दूराज्यका रूपमा राख्नुपर्ने माग उठिरहेको छ र यसको समर्थन गर्नेहरूको संख्या दिनानुदिन बढिरहेको छ ।

वास्तवमा हिन्दू भनेको कुनै धर्मको नाम नभएर निश्चित भूगोलमा बस्नेहरूको नाम हो । अर्थात नेपाल उपत्यकामा बस्नेहरूलाई नेपाली भनिएजस्तै प्राचीन समयमा सिन्धु उपत्यकामा बस्नेहरूलाई हिन्दू भन्न थालियो । त्यतिबेला सिन्धु नदीभन्दा पश्चिममा बोलिने फारसी भाषामा ‘स’ को उच्चारण ‘ह’ गरिन्थ्यो । त्यसैले त्यो बेला सिन्धु नदी पूर्वका बासिन्दालाई फारसीहरूले हिन्दू भन्न थाले । केही शताब्दीको अन्तरालमा भारतका सम्पूर्ण बासिन्दालाई हिन्दू र उनीहरूले बोल्ने मुख्य भाषालाई हिन्दी भन्न थालियो ।

भारतको सट्टा हिन्दूस्थान भन्न थालियो । हुँदा हुँदा उनीहरूले मानिआएको धर्म तथा संस्कृतिलाई पनि हिन्दू भन्न थालियो । पहिले मुसलमान र त्यसपछि इसाइहरूले ओढाइदिएको ‘हिन्दू’ पगरी भारतीयहरूले सहजै ग्रहण गरे । तर कालान्तरमा त्यसको बाछिटा बिस्तारै नेपालसम्म पुग्यो । राजा महेन्द्रले पञ्चायती व्यवस्थालाई हिन्दूस्थानको समर्थन दिलाउने नियतका साथ नेपाललाई हिन्दू अधिराज्य नामकरण गरिदिएको पाइन्छ ।

नेपालीहरूलाई आफूले मानिआएको धर्म वैदिक सनातन लेख्न दिइएन । जबरजस्ती हिन्दू लेख्न बाध्य बनाइयो । लामो समयसम्म एउटै अभ्यास भइसकेपछि त्यसलाई त्याग्न गाह्रो हुँदो रहेछ । त्यतिबेला हिन्दू लेख्न बाध्य बनाइएका हामी नेपालीहरू यतिबेला वैदिक सनातनी अर्थात आफ्नो वास्तविक पहिचान खुलाउन हच्किएका छौँ । हिन्दूका रूपमै आफूलाई चिनाउन गौरव गर्ने अवस्थामा पुगिसकेका छौँ ।

हाम्रा जुन धार्मिक तथा पौराणिक ग्रन्थ छन्, ती ग्रन्थमा हिन्दू भन्ने शब्द कहीँ कतै उल्लेख छैन् । हाम्रा धार्मिक तथा पौराणिक ग्रन्थहरू संस्कृत भाषामा लेखिएका छन् तर संस्कृत भाषाले हिन्दू भन्ने शब्दलाई चिन्दैन । र पनि भनिरहेका छौँ, ‘हामी हिन्दू हौँ ।’ हाम्रो पहिचानमाथि भएको अतिक्रमण भनेको वास्तवमा यही हो । वास्तवमा कालापानी अतिक्रमणभन्दा पनि दुःखदायी यो हो, हाम्रो पहिचानमाथिको यस्तो अतिक्रमण ।

हाम्रो भाषा तथा संस्कृति माथिको अतिक्रमणमा मुख्य भूमिका भारुको छ कि डलरको भन्ने विषय अनुसन्धानको छुट्टै पाटो हुनसक्छ । संस्कृत र सभ्यताको इतिहास हेर्दा विश्वमा जीवित पुराना सभ्यताहरू मध्ये पूर्वीय दर्शनबाट प्रभावित नेपाली सभ्यता प्रमुख हो । तर, विभिन्न नाममा हाम्रो सभ्यतामाथि हमला भइरहेको छ । हामी मौन मात्र छैनौँ बरु त्यसैमा रमाइरहेका छौँ ।

हामीलाई यस्तो लागिरहेको छ कि, हामी सबैभन्दा ठूला क्रान्तिकारी बनिरहेका छौँ । हामी सबैभन्दा ठूला आधुनिकतावादी बन्दैछौँ । हामीले आधुनिकताको खोल ओढ्दै गर्दा यो बिर्सिनु हुँदैन कि, पश्चिमले कसरी विकास गर्यो ? आफ्ना धर्म, संस्कृति र सभ्यताको जगमा उभिएर नै पश्चिमको विकास सम्भव भएको हो । पश्चिमीकरणलाई गर्वका साथ आत्मसात गरिनु आफ्नो अस्तित्व निमिट्यान्न पार्नु हो ।

उनीहरूले पृथ्वी चेप्टो छ भनेर भन्दै गर्दा हाम्रा पूर्वजहरू पृथ्वी एक पिण्ड हो, नौ ग्रह छ भन्ने ठाउँमा थिए । हाम्रा पूर्वजहरू एस्ट्रोलजीका ज्ञाता थिए भन्ने कुरा यसैबाट प्रमाणित पनि हुन्छ । हाम्रो सभ्यता अनि संस्कृति धेरै वैज्ञानिक रहेको, कहिले पनि अन्धभक्त नभएको र जहिले पनि अनुसन्धान तथा सोधखोजमा आधारित रहेको देखिन्छ । तर हामीले त्यसलाई निरन्तरता दिन सकेनौँ । त्यो नै हाम्रो सबैभन्दा ठूलो दुर्भाग्य हुन पुग्यो ।

जनयुद्धको नाममा संस्कृत भाषालाई विस्थापित गर्ने प्रयासमा पश्चिमाहरूको हात छ भन्ने कुरामा कुनै सन्देह छैन । कुनै समय अंग्रेजी, नेपाली गणितजस्तै विद्यालयमा अनिवार्य रूपमा पढाइ हुने संस्कृत अहिले कहाँ पढ्न पाइन्छ ? भनेर खोज्दै हिँड्नुपर्ने अवस्था छ । नेपालमा मात्र होइन, विश्वव्यापी रूपमा सबै मौलिक सभ्यता र संस्कृतिमाथि पश्चिमाहरूको नियन्त्रण छ । उनीहरू कुनै पनि राज्यलाई आफ्नो नियन्त्रणमा लिनका लागि युद्धनीति मात्र प्रयोग हँुदैन, जहाँ युद्ध नीति प्रयोग गर्दैनन्, त्यहाँ कूटनीति पनि प्रयोग हुने गरेको छ ।

आज संसार पश्चिमी कूटनीतिको परिबन्धमा बाँधिएको छ । त्यो परिबन्धबाट नेपाल उम्कने त सम्भव नै भएन । कुनै राज्य, ठाउँ वा मानिसको फरक परिचय उसको विचार, संस्कृति, धर्म, भाषा अनि सभ्यताको आधारमा हुन्छ । जब कुनै राष्ट्रका भाषा, धर्म, संस्कृति अनि सभ्यतामाथि अतिक्रमण गर्न सकिन्छ तब त्यो देश तहसनहस हुनु स्वभाविकै हुन्छ ।

हामी नेपालीहरू जानी नजानी लहडैमा आफ्नो भाषा, धर्म र संस्कृतिमाथिको हस्तक्षेपलाई आधुनिकताको परिभाषा दिँदै गर्व महसुस गरिरहन्छौँ । पश्चिमाहरूको भन्दा हाम्रो फरक अस्तित्व छ । यति मात्रै होइन भारतको भन्दा पनि हाम्रो भाषा, धर्म र संस्कृतिको समेत भिन्नै अस्तित्व छ । हाम्रो यसप्रकारको फरक अस्तित्वलाई निम्ट्यान्न पार्न कतै हामी आपैmँ त लागिरहेका छैनौँ । गम्भीर बन्नुपर्ने बेला आइसकेको छ ।

हाम्रो भाषा दोहोरो चपेटामा छ, एकातर्फ अंग्रेजीकरणको र अर्कोतर्फ हिन्दीको । नेपालमा भारतीय हिन्दी टेलिभिजन च्यानलहरूको बिगबिगी छ । भारतीय फिल्महरूको बिगबिगी छ । हामी नेपाली छाडेर हिन्दी टेलिभिजन तथा सिनेमा हेर्न गौरव गर्छौं । हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसकेका छौँ । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रेजी ।

प्रतिक्रिया